विराटनगर:   धरानका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई लक्षित स्ट्याटस लेख्दै आलोचना गरेका छन् ।   सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर साम्पाङले जनताको शक्तिलाई ...

 नयाँ दिल्ली : सन् २०२३ को ओस्कारमा भारतले दुईवटा अवार्ड पाएको छ ।   निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामा ओस्कार अवार्ड जितेको हो । 'नाटु-नातु' ओस्कार जित्ने पहिलो भारतीय प्रोडक्सनले बनाएको गीत हो।   गीत संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिँदै भने, ‘म सिकर्मीहरुको कुरा सुनेर हुर्केको मान्छेले आज ओस्कार जितेको छु ।'   यसअघि भारतको ‘द एलिफन्ट व्हिस्पर्स’ ले उत्कृष्ट वृत्तचित्र सर्ट फिल्मको लागि ओस्कार अवार्ड जितेको थियो।   ओस्कार अवार्डको स्टेजमा नाटु–नाटु गीत पनि प्रस्तुत गरिएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए ।

धादिङ:  सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङमार्गको समग्र भौतिक प्रगति ५०.१५ प्रतिशत पुगेको छ। आयोजनाले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार वित्तीय प्रगति ५४.३९ प्रतिशत छ।    आयोजनाको मुख्य सुरूङ दुई हजार ६ सय ८८ मिटर लामो छ। हाल यस सुरूङको पूर्व (काठमाडौं) तर्फ ८९३.८० मिटर र पश्चिम (नागढुंगा) तर्फ बाट ९७६ मिटर गरेर जम्मा १८६९.८० मिटर खनिसकिएको छ। सुरूङको मात्र भौतिक प्रगति ७६.३० प्रतिशत भएको आयोजनाको भनाइ छ।   त्यस्तै ‘इभ्याकुएसन’ सुरूङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ। यसको दुई हजार एक सय २७ मिटर सुरूङ खनिएको छ। त्यसमा एक हजार एक सय ४७.२० मिटर र पश्चिमबाट नौ सय ८०.६० मिटर सुरूङ खनिएको छ।   तीन वटा अन्डरपास निर्माण गर्नुपर्नेमा सबै पूरा भइसकेको आयोजनाले बताएको छ। त्यस्तै बक्स कलभर्ट चार वटै निर्माण सकिएको छ। एउटा ओभरपास पनि निर्माण भइसकेको छ। तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइओभर एउटा निर्माण गर्नुपर्नेमा यसको ९५ प्रतिशत काम सकिएको उल्लेख छ।   क्रस–प्यासेजको भने ७४.२० मिटर निर्माण भएको छ। त्यसको कुल लम्बाइ एक सय २८ मिटर छ। यो आयोजना २५ अप्रिल २०२४ सम्म निर्माण सक्ने गरी म्याद थपिएको छ।    आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो।   कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको आयोजनाले बताएको छ। कोभिडपछि पनि हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो।    आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो। म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो। यो अवधिमा पनि काम नसकिने भएपछि फेरि म्याद थपिएको हो।    अहिले काम भइरहेको छ। यसरी नै काम निरन्तर भयो भने थपिएको अवधिमा काम सकिने उल्लेख छ।    सुरूङ निर्माण मात्रै भने आगामी असारसम्म सक्ने तयारी आयोजनाको छ। यसअघि सुरूङ निर्माणमा पनि पटक पटक भौगर्भिक समस्या देखिएको थियो। यसकारण तोकिएको समयमा नसकिने हो कि भन्ने चिन्ता व्यक्त गरिएको थियो।    अहिले सुरूङ निर्माणमा त्यस्तो भौगर्भिक समस्या नदेखिएको आयोजनाले उल्लेख गरेको छ। यसअघि निर्माणका क्रममा सुरूङभित्र डिफर्मेसन (पहिरो जाने) समस्या थियो।    यो आयोजनालाई नेपालको पहिलो आधुनिक सुरूङमार्गको रूपमा लिइएको छ। नागढुंगा सुरूङमार्ग जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो।   आयोजनाको ठेक्का र मुआब्जा गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ। यसअघि २० अर्ब ६० करोड रूपैयाँमा अयोजना पूरा गर्ने उल्लेख थियो। जापानी येन बलियो हुँदै जाँदा लागत पनि बढेको हो।   कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराउनेछ। बाँकी ६ अर्बभन्दा बढी रकम नेपाल सरकारको हुनेछ। सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुने उल्लेख छ। जाइकाले उलब्ध गराएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ।   १२ मिटर चौडाइको सुरूङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एकरएक मिटर उल्लेख गरिएको छ।   आकस्मिक अवस्थाका लागि छुट्टै एक लेनको सहायक सुरूङ रहन्छ। सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ।   यो सुरूङमार्ग नेपाल आयल निगम थानकोट डिपो नजिकै निस्किन्छ र पुनः त्रिभुवन राजपथमा जोडिन्छ। त्यहाँबाट त्रिभुवन राजपथमा जोड्न २।२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड रहन्छ।   सुरूङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ। यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थ खपतमा कमी आउने र वायु प्रदूषण कम हुने पनि विश्वास छ।   अहिले धादिङ हुँदै काठमाडौं प्रवेश गर्नेहरूले नौबिसेदेखि नै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ। दैनिक तीनदेखि चार घन्टासम्मको जाम हुने यो स्थानमा सुरूङमार्ग सञ्चालन आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटसम्ममा आइपुग्ने दाबी सरकारी अधिकारीहरूको छ।  

काठमाडौँ:  आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध लागातार सफलता हात पारेको छ ।  त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले छैटौं ओभरमा आफ्नो चौथो विकेट गुमाएको हो ।    नेपालका सोमपाल कामीले आसिफ खानलार्य पाँचौं ओभरको पहिलो बलमा ६ रनमा आउट गराएका हुन् ।  यसअघि ललित नारायाण राजवंसीले नेपालका लागि तेस्रो विकेट लिएका थिए ।

दमौली:  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ ।   मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो ।    उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएकामा फेरी २८ गतेदेखि चैत १२ गतेसम्मका लागि  सोही समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।   उक्त खण्डमा काम जारी रहेकाले थप १५ दिन दैनिक चार घण्टा बाटो बन्द गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको उनले बताए । राजमार्ग बन्द नगरे सवारीसाधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले थप १५ दिन बाटो बन्द गर्न अनुरोध भएपछि प्रशासन कार्यालयबाट निर्णय भएको मुग्लिन पोखरा सडक योजना पूर्वीखण्डका प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले जानकारी दिए ।   उनका अनुसार बाटो बन्द गरेर रातको समयमा भीर काट्ने काम भइरहेको छ । उक्त सडक विस्तार योजनाअन्तर्गत तनहुँमा दुई खण्ड विभाजन गरिएकामा आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्डमा राजमार्ग विस्तारको काम भइरहेको छ । दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत छ ।  पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५दशमलव पाँच प्रतिशत छ । उनका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत् पोल स्थानान्तरण नहुँदा काम सुस्त भएको इन्जिनियर सुवेदीले बताए । 

काठमाडौं : कप्तान रोहित पौडेलको अर्धशतकप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा यूएईलाई दुई सय ४९ रनको लक्ष्य दिएको छ।   त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ४८ रनको योगफल तयार गर्यो। आठौं ओभरमा दुवै ओपनरसहित तीन विकेट गुमाएको नेपालका लागि कप्तान रोहित र भीम सार्कीले ५४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए।   भीम ३७ बलमा चार चौकासहित २९ रन बनाएर आउट भए। पाँचौं नम्बरमा क्रिजमा उत्रिएका आरिफ शेखले रोहितसँग ८६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए।   रोहित एक सय १२ बलमा ९ चौकासहित ७७ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्के। आरिफ शेख ५२ बलमा पाँच चौकासहित ४३ रन जोडेर आउट हुँदा गुल्शन झाले ३२ बलमा एक चौका र तीन छक्कासहित ३७ रनको आक्रामक इनिङ खेले।   ओपनर आसिफ शेख शून्य, कुशल भुर्तेल आठ र कुशल मल्ल ९ रन बनाएर आउट भएका थिए। सन्दीप लामिछाने दुई रनमा आउटमा हुँदा दीपेन्द्रसिंह ऐरी १९ बलमा तीन चौका र दुई छक्कासहित ३४ रन जोडेर पभिलियन फर्के। ललित राजवंशी शून्यमा अविजित रहँदा सोमपाल कामी २ रन जोडेर पेभेलियन फर्के।   यूएईका लागि आयान खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई–दुई विकेट लिए। आर्यान लाक्रा र जुनेद सिद्धिक्वीले एक–एक विकेट लिए।   यो खेलमा जित निकाले नेपालले लिग २ का दुई खेल बाँकी रहँदै एकदिवसीय मान्यता जोगाउने छ। यो योगफल जोगाउन सके नेपालको शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहने छ।   आजको खेलमा पराजित भए यूएईले एक दिवसीय मान्यता गुमाउने छ।

पोखरा: फागुन २७ गते देशभरका ७ सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रम आयोजना गरेर स्थानीय सरकार दिवस मनाए । तर, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने १५ गाउँपालिकाले भने खुशी साट्न सकेनन् ।  गाउँपालिकाको खुशीमा बाधक बनेर आएको छ एक्याप । एक्याप भित्र रहेका गाउँपालिकाका प्रमुखहरुको सामुहिक स्वर छ ‘एक्यापले आम्दानीको स्रोत खोस्यो ।’ उनीहरुले माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा जम्मा भएर भनेका छन् ‘देशमा संघीयता कार्यान्वयन भएपछि एक्याप पनि ‘सरकार’ भइदियो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार स्थापना भएको ‘एक्याप’को नीति नियमप्रति गाउँपालिकको चित्त दुखाई छ ।  कास्कीको माछापुच्छ्रे गाउँपालिकाका मीनबहादुर गुरुङले एक्याप क्षेत्रभित्र प्राकृतिक स्रोत साधनको दोहन गरेको आरोपमा मुद्धा खेप्दै आएको बताए ।  उनका अनुसार गाउँपालिकाले ०७५/०७६मा ९ घाटबाट १ करोड ९२ लाख राजश्व संकलन गरेको थियो । ०७६/०७७ मा ५ वटा घाटमा ठेक्का लगाउँदा ३ करोड राजश्व संकलन गरेको गाउँपालिकाले ०७७/०७८मा पुनः ५ वटा घाटमा ठेक्का लगाउने सम्झौतामा हस्ताक्षर गरेको गाउापालिका विरुद्ध उत्खननका सामग्रीलाई लिएर उच्च अदालमा मुद्धा प¥यो । ठेकेदारले दिएको बैंक ग्यारेन्टी फिर्ता गर्न र घाट सञ्चालन नगर्न ‘स्टे अर्डर’ आयो । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एक्याप क्षेत्राधिकार पर्ने भन्दै कालीगण्डकीको ढुङ्गा, गिट्टी र बालुवाले झुलुङ्गे पुल छुन लागेको बताए ।  ‘माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष ज्युले भन्नु भयो एक्याप क्षेत्रभित्र पर्ने प्राकृतिक स्रोत साधनको उत्खनन गर्न पाइएन भन्ने गुनासो गर्नु भयो हाम्रो पालिकामा गण्डकीको बालुवा ढुङ्गाले पुल छुन लागेको छ अब के गर्ने ?’ उनले भने ।  उनले तीन तहको सरकार माथि एक्यापको रजाई चल्दा घरपझोङ गाउँपालिकाको वस्तीमाथि गण्डकी बग्न थालेको बताए । ‘प्राकृतिको संरक्षण गर्न नजिकको स्थानीय सरकार तयार छ, उनले भने, ‘गण्डकी वस्तीमाथि बग्न थालेको छ, स्थानीय स्रोत सधानको सदुपयोग र संरक्षण गर्ने पाउने अधिकार स्थानीय तहलाई नै दिनुपर्छ ।’ यस्तै मुस्ताङको थासाङ गाउँपालिकाले १५ शैयाको अस्पतालमा बनाउने स्थानमा एक्याप नै बाधक बनेको थियो । गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले गुनासो पोख्दै भने, ‘स्वास्थ्य जस्तो संवेदनशील जस्तो विषयमा एक्याप निरह बन्यो, ४ वटा पिल्लर राख्न केही रुखले अवरोध ग¥यो कार्यालयको हाकिमलाई फकाएर निर्माणको कामलाई अगाडी बढायौं यसरी कसरी अगाडि बढ्न सकिन्छ ?’  उनले राजनीतिक पार्टीहरु प्रमुख बाधक भन्दा एक्यापको अधिकार स्थानीय तहले पाउन नसकेको जिकिर गरे ।‘निर्वाचन हुन्छ सकिन्छ तर हामी सबैमा राजनीति पार्टीहरु प्रमुख बाधक बन्दै गएका छन् राम्रो नराम्रो छुट्याएर अगाडि बढौं न ।’ गाउँपालिका अध्यक्ष गौचनले अहिले गण्डकीमा बालुवा र ढुङ्गा कारण वस्ती जोखिममा परेको पुनः गुनासो पोखे ।  कार्यक्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका, मनाङको चामे गाउँपालिका, नासो गाउँपालिकाका अध्यक्षहरुले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को राजश्व संकलन गर्ने अधिकार स्थानीय तहलाई नदिदा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको बताएका छन् ।  उनीहरुले नदीजन्य पदार्थको राजश्व प्रदेश सरकारले दिएन भन्ने गुनासो पोखेको भन्दै स्थानीय तहले समेत राजश्व संकलन गर्न नपाएको उल्टो गुनासो नै पोखे ।  मनाङको नार्पाभूमि गाउँपालिकाका योजना अधिकृत उज्वल बास्तोलाले यार्सागुम्बा, जिम्मुलगायत जडिबुटीबाट राजश्व संकलन गर्न नपाउँदा लाखौं राजश्व एक्यापलाई सुम्पिनुपरेको गुनासो पोखे । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’भित्र गण्डकीका कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी गरी ५ जिल्लाका १५ वटा गाउँपालिका पर्छन् । १५ गाउँपालिकाको ६ बुँदे घोषणापत्र कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एक्यापबारे छलफल गर्न बसको १५ गाउँपालिकाको अन्तरपालिकास्तरीय भेलाले ६ बुँदे ‘माछापुच्छ्रे घोषणापत्र’ जारी गरेको छ । बैठकले अन्नपूर्ण संरक्षण क्षेत्र स्थानीयलाई नै हस्तान्तरण गर्न माग गरेको छ । ‘वन तथा भूसंरक्षण मन्त्रालयले २०७१ साल फागुन २५ गतेको राजपत्रमा अन्नपूर्ण संरक्षण क्षेत्रलाई स्थानीय समुदायलाई हस्तान्तरण गर्न प्रकाशित भएकोमा हालसम्म पनि कार्यान्वयनमा आएको छैन’, घोषणा पत्रमा भनिएको छ, ‘सो राजपत्रको सूचना कार्यान्वयनका लागि बैठकले जोडदार माग गर्दछ ।’ घोषणा पत्रमा संविधान बमोजिम अर्थिक अधिकार र राजश्व स्रोतको बाँडफाँडमा पूर्ण स्वतन्त्रता पनि माग गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय सरकारलाई अंकुश लगाउने गरी भएका कानुनहरु संशोधन गर्न पनि घोषणा पत्रमा माग गरिएको छ । त्यस्तै, संघीयताको मूल मर्मअनुसार स्थानीय सरकारलाई दिइएको २२ वटा एकल र अन्य साझा अधिकारमा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन बैठकको माग छ ।   बैठकमा पारित उक्त घोषणा पत्र माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गर्ने र गण्डकी प्रदेश तथा संघीय सरकारलाई बुझाउने पनि निर्णय गरेको छ ।    

पृथ्वीनारायण क्याम्पसमा चैत ५ गते हुने स्ववियुको चुनाव रोकिएको छ । चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन समितिले शनिबार क्याम्पस प्रशासनसमक्ष निवेदन पेश गरी असहजता प्रकट गरेपछि अब निर्धारित समितिमा निर्वाचन नहुने भएको छ ।    त्रिविको तालिका अनुसार शनिबार उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको थियो । तर ३ दिन अघिदेखि नै केही विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यालया तालाबन्दी गरेपछि स्थिति असहज बनेको थियो ।    विद्यार्थी संगठनहरुले गरेको तालाबन्दी खुलाउन गरेको अथक प्रयास सफल नभएपछि मनोनयन दर्ता हुन सकेन । यहीबीच समितिका पदाधिकारीले प्रत्यक्ष–अप्रत्यक्षरुपमा धाकधम्की र भौतिक आक्रमणको चेतावनी भएपछि क्याम्पस प्रमुखसमक्ष विषम परिस्थितिकाकारण जिम्मेवारी पुरा गर्न असम्भव भएको भन्दै निवेदन दिएका थिए ।    समितिका सदस्य–सचिव रहेका बोधराज ढकालले केही विद्यार्थी संगठन तोडफोड र भौतिक आक्रमणमै उत्रन खोजेपछि प्रशासनसमक्ष निवेदन दिएर बाहिरिएको बताए । क्याम्पसको विद्यार्थी कल्याण प्रमुख रहेका ढकालले समितिले नियमसंगत गरेको कामप्रति आरोप लगाउने, तालाबन्दी गर्ने र आक्रमणकै धम्की दिएपछि स्थिति असहज बनेको प्रष्ट्याए ।   ‘समितिमा रहेका १३ सदस्य निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीमा खटेका थियौं’ ढकालले भने ‘अनवरत काम गरिरहँदा पनि समितिमाथि बाराम्बार थ्रेट आउने र तालाबन्दी गरी कामै गर्न नदिइएपछि सबै सदस्यको सहमतिमा निवेदन दिएका हौं ।’   समितिको शनिबारै बसेको पूर्ण बैठकबाट निर्णय गरी प्रशासनसमक्ष निवेदन दिइएको ढकालले जनाए । ‘दायित्व र जिम्मेवारी सबैको हो, समितिमात्रै खटेर सम्भव भएन’ उनले भने ।    गत २५ गते अखिल क्रान्तिकारी, अखिल छैठौं, अखिल क्रान्तिकारी (विप्लव) र अखिल क्रान्तिकारी (संयुक्त)ले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए ।    शनिबार मनोनयन दर्ता नभएर चुनाव हुन नसक्ने भएपछि अखिल क्रान्तिकारीले तालाबन्दी फिर्ता लिएको छ ।    यस विषयमा क्याम्पस प्रमुख डा.सरोज कोइरालाले देशभर २६ क्याम्पसमा निर्वाचन रोकिएको जनाउँदै अब त्रिभुवन विश्वविद्यालयको निर्णयानुसार तालिका बन्ने र सोही अनुसार हुने प्रतिक्रिया दिएका छन् । 

काठमाडौं:  चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रु २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रु ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रु नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।   सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा रु ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण रु २० खर्ब १३ अर्ब थियो । जसमध्ये बाह्य ऋण रु १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण रु नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर थियो । चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा रु ७६ अर्ब ६६ करोड ९९ लाख बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा रु १९ अर्ब ४३ करोडले घटेको छ ।   नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२ दशमलव ६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन रु ४८ खर्ब ५१ अर्ब ६२ करोड बराबर छ । जिडिपी अनुपातमा आन्तरिक ऋण १९ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव ७२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।   चालु आवको पुस मसान्तसम्म नेपालले रु ४७ अर्ब २७ करोड बराबर ऋण उठाएको छ । जसमध्ये रु ३० अर्ब आन्तरिक र रु १७ अर्ब २७ करोड बाह्य ऋण उठाएको हो । यही अवधिमा रु ४५ अर्ब ६१ करोड बराबर साँवा ब्याज भुक्तानी गरेको छ । पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा रु २८ अर्ब ३० करोड र ब्याज रु १७ अर्ब ३१ करोड बराबर छ ।   यो अवधिमा आन्तरिक ऋणको साँवा रु १९ अर्ब ५९ करोड २५ लाख र ब्याज रु १५ अर्ब ६५ करोड ९६ लाख गरी कूल रु ३५ अर्ब २५ करोड भुक्तानी भएको छ भने बाह्य ऋणको साँवा रु आठ अर्ब ७१ करोड र ब्याज रु एक अर्ब ६५ करोड गरी रु १० अर्ब ३६ करोड भुक्तानी भएको छ । कूल साँवा ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७ दशमलव २८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२ दशमलव ७२ प्रतिशत बराबर छ । 

काठमाडौं:  नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताउनुभएको छ।    काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। नेपाली भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको उहाँको भनाइ छ।    अध्यक्ष ओलीले नेपालीहरू बहादुरमात्रै नभई बुद्धिमानी पनि रहेको बताउनुभयो। उहाँले नेपालका पुर्खाहरू जति विद्वान अन्य कतै नरहेको दाबीसमेत गर्नुभयो। उहाँले वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरूको बारेमा नेपालीहरूलाई बुझाउन आवश्यक रहेको बताउनुभयो।    ओलीले नेपाल इतिहासमा पनि विद्वानहरूको भूमि भएको र भविष्यमा पनि विद्वानको भूमि हुने बताउनुभयो। उहाँले नेपाल ज्ञानको उत्पत्ति बिन्दु भए पनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको बताउनुभयो।     उहाँले भन्नुभयो, ‘‘नेपालीलाई बहादुर मात्रै भनिएको छ। तर बहादुर मात्रै होइन, नेपालीहरू विद्वान पनि छन्। हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन्। वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे। २६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए। पाणिनी अर्घाखाँचीका थिए। यस्ता अनेक विद्वान यहाँका छन् तर छोप्न खोजिएको छ। यो इतिहासमा पनि विद्वानको भूमि हो। भविष्यमा पनि विद्वानहरूको भूमि हुनेछ।’’   अध्यक्ष ओलीले नेपाल जस्तो पवित्र भूमि र ज्ञानको प्रारम्भ भएकाले नेपाल ऐतिहासिक भूमि भएको बताउनुभयो।