कपिलवस्तु: कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले जानकारी दिए । समझदारीपत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले हस्ताक्षर गरेका छन् । प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति निर्माण हुने भएपछि आफूलाई खुसी लागेको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले बताए । विश्वको सबैभन्दा ठूलो मूर्ति नगरमा बन्नु गर्वको विषय भएको उनले बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले कपिलवस्तुको विकासमा मूर्ति निर्माणले नयाँ आयाम थपिने बताए ।
काठमाडौं: नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ । मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैं (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ । यस्,तै सम्बन्धित धर्म, संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने गरी भदौ ७ गते गौरा पर्व, भदौ १४ गते गाईजात्रा र सिरुवा पावनी पर्वका लागि बिदा निर्धारण गरिएको छ । असोज १ गते तीज (सबै महिला) र असोज २० गते (जितिया पर्व मनाउने महिला) कर्मचारीका लागि मात्रै बिदा तोकिएको छ । शिक्षण संस्थाका लागि फागुन २ गते वसन्तपञ्चमीका दिन र काठमाडौं उपत्यकामा भदौ १४ गते गाईजात्रा, असोज ११ गते इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन र चैत २६ गते घोडेजात्राका लागि बिदा दिइएको राजपत्रमा उल्लेख गरिएको छ । दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसका दिन सबै कर्मचारीका लागि सार्वजनिक बिदा दिइएको छ । साथै अपाङ्गता भएका कर्मचारीका लागि मङ्सिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा बिदा तोकिएको छ । यस्तै, बुद्ध जयन्ती, पृथ्वी जयन्ती, फाल्गुनानन्द, मोमम्द, गुरु नानक जयन्तीका दिन सम्बन्धित धर्मावलम्बीहरूका लागि बिदा दिने निर्णय भएको छ । राष्ट्रियरूपमा मनाइने तर कार्यालय खोल्ने बिदा मन्त्रालयले राष्ट्रियरूपमा मनाइने तर कार्यालय खुला रहने बिदासमेत तोकेको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस जेठ ११ गते मनाइने छ । भदौ २२ गते निजामती सेवा दिवस र माघ १६ गते सहिद दिवस मनाइने राजपत्रमा उल्लेख छ । जारी सूचनामा विदेशस्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकका लागि सार्वजनिक बिदालाई दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाइएको छ । सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थासमेत गरेको छ । जसअनुसार उभौली पर्व–चण्डी पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उधौली पर्व, योमरी पुन्हि– ज्यापू दिवस (धान्य पूर्णिमा), तमू ल्होसार, माघी पर्व/माघे सङ्क्रान्ति, सोनम ल्होसार, महाशिवरात्रि, ग्याल्पो ल्होसार, इद (इद उल फित्र), बकर इद (इद उल अजहा), गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा, गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा सार्वजनिक बिदा भए पनि तोकिएका सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक प्रबन्ध मिलाउनुपर्ने छ । जन्मयजन्ती बिदाअन्तर्गत बुद्ध जयन्ती र पृथ्वी जयन्तीमा समेत सेवा प्रवाह गर्नुपर्ने छ । उल्लेखित बिदाका दिनमा नागरिकता, राहदानी, कन्सुलर, भन्सार तथा राजस्वसम्बन्धी सेवा (राजस्व अनुसन्धानसमेत), क्वारेन्टिनसम्बन्धी, सवारी अनुमतिपत्र, सवारीसाधन दर्ता तथा नवीकरणलगायत यातायात व्यवस्थापनसम्बन्धी सेवा, उद्योग, वाणिज्य र कम्पनी प्रशासनसम्बन्धी, वैदेशिक रोजगार सेवा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा, मालपोत तथा नापी, स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवाहरू दिने व्यवस्था मिलाउनुपर्ने छ । यस्तै भेटेरेनरी, खानेपानी, विद्युत्, सडक तथा ढल मर्मतसम्भारसम्बन्धी सेवा, खाद्य, गुणस्तर परीक्षण, विभिन्न निकाय तथा शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षा, वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा, नेपाल प्रहरीबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्रसम्बन्धी सेवा पनि नियमित गर्नुपर्ने छ । साथै सम्बन्धित मन्त्रालय वा निकायले तोकेका सार्वजनिक सेवासँग सम्बन्धित अन्य सेवा, प्रदेश सरकार र स्थानीय तहले तोकेका सार्वजनिक सेवा प्रवाहसम्बन्धी अन्य सेवा र बैंकिङ तथा बीमासम्बन्धी कारोबार पनि जारी राख्नुपर्ने राजपत्रमा उल्लेख छ । सधैँ खुला राख्नुपर्ने सेवाहरू राजपत्रमा उल्लेख भएअनुसार अस्पताल दूरसञ्चार, अध्यागमन, फोहरमैला व्यवस्थापन, फायरव्रिगेट, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् व्यवस्थापन आदि जस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिन दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्ने छ । त्यसरी खटिने कर्मचारीले खटिएवापत सट्टा बिदा पाउने छन् । कार्यालय हाजिर हुने र छुट्ने समय देशभरका सबै सरकारी कार्यालयमा आगामी वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि तोकिएको छ । यस्तै, कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय समय रहने उल्लेख छ । शुक्रबार १० देखि ३ बजेसम्म सेवा प्रवाह गर्नुपर्ने छ । यसका साथै तोकिएका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले प्रदेशको धर्म, संस्कृति रीतिरिवाजसमेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा छ दिनसम्मका लागि सार्वजनिक बिदा गर्न सक्नेछ । यसरी गरिएको बिदाबारे जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा जानकारी गराउनुपर्ने छ ।
काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाउन गएका सेयर लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल धितोपत्र बोर्डसँग यस अघि भएका सहमतिअनुसार नेप्सेले गर्नु पर्ने कार्य गर्न माग गर्दै नेप्से कार्यालय घेर्न पुगेका लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सेयर लगानीकर्ता तीलक कोइराला, अर्जुनकुमार कोइराला र नयन बास्तोलालाई प्रहरीले पक्रउ गरेको हो । पक्राउ परेका तीनै जनालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । तिलक कोइरालाले सामाजिक सञ्चालमार्फत नेप्से कार्यालय घेर्न उपस्थित हुन आह्वान गर्दै आएका थिए । शुक्रबार नेप्से परिसरमा होलाल्ला गर्दै पुगेपछि ३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजवालले बताए । उनिहरुलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखिएको उनले बताए ।
काठमाडौं: चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने जानकारी दिए । निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फको उम्मेद्वार रहेका छन् । त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४०२ जना मतदाता विद्यार्थी रहेका छन् । २१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।
गण्डकी: सबराज छन्त्याल ३९ वर्षको हुनुभयो । एक्काइस वर्ष पहिले छन्त्यालका बुवा टीका पनि ३९ वर्षकै हुनुहुन्थ्यो । जनयुद्धको रापताप चलेको थियो । देशमा सङ्कटकाल घोषणा भयो । यो विसं २०५८ फागुन आखिरीतिरको कुरा हो । युद्धरत माओवादीलाई आश्रय दिएको आरोपमा सरकारी सुरक्षा फौजले बागलुङको देवीस्थानका टीकासहित रोशनध्वज मल्ल र डोरबहादुर छन्त्याललाई नियन्त्रणमा लियो । साता दिन यातना शिविरमा राखेपछि सुरक्षाकर्मीले उनीहरूलाई चैत १ गते हेलिकोप्टरबाट ताराखोला पु¥याए । अहिलेको ताराखोला गाउँपालिका–२ अर्गल, गयार भन्ने ठाउँमा तीनै जनाको सामूहिक हत्या गरेर एकै चिहानमा गाडे । उक्त आतातयी घटना भएको २१ वर्षपछि बुवाको चिहान खोज्दै सबराज र उहाँका भाइ भीषण बुधबार अर्गल पुग्नुभएको थियो । रोशनध्वजकी धर्मपत्नी गौमला, छोराहरु गामु, सुगम, डोरबहादुरकी धर्मपत्नी फूलमाया र छोरी सपना पनि सँगसँगै जानुभएको थियो । घटना भएकै दिन पारेर उहाँहरु निसीखोलाको देवीस्थानदेखि ताराखोलाको अर्गल पुग्नुभएको हो । “घटना भएकै ठाउँमा सानो शोकसभा ग¥यौँ, बुवाको स्मृतिमा धुपबत्ती बाल्यौँ”, सबराजले भन्नुभयो, “सहिद परिवारका हिसाबले पहिलोपटक त्यहाँ पुग्दा हामी सबै भावुक पनि भयौँ, नरमाइलो अनुभूति पनि भयो ।” परिवारजनले सहिदको चिहान भएको ठाउँमा पहिलेदेखि नै जाने इच्छा देखाउनुभएको थियो । यसपालि बेला जु¥यो । वार्षिक पुण्यतिथि पारेर उहाँहरू गयार पुग्नुभयो । निरापराध मारिएका आफ्ना प्रियजनको चिहान छेउ उभिएर मौनधारण गरे, सहिदको सम्मानमा श्रद्धाका फूल चढाए र पार्टीको झण्डा गाडे । सहिदको स्मृतिलाई चीरस्थायी बनाउन गयारमा केही गर्ने सङ्कल्प पनि लिए । “परिवारजनका तर्फबाट त्यहाँ स्मृति स्तम्भ या अरु कुनै संरचना बनाउने सोच बनाएका छौँ”, सबराजले भन्नुभयो, “गाउँपालिकाले पनि गयारमै सहिद उद्यान बनाउन थालेको रहेछ, त्यो सुखद् कुरा हो ।” उहाँले युद्धमा आफन्त गुमाएका परिवारले न्याय र उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्नुभयो । गाउँकै मान्छेले माओवादीका सुराकी भनेर गलत सूचना दिएपछि रोशनध्वज, टीका र डोरबहादुर सुरक्षाकर्मीको निशानामा पर्नुभएको थियो । माओवादीको सहयोगी बनेको आरोपमा ज्यानै गुमाउन पुगेका उहाँहरू खासमा भने राष्ट्रिय जनमोर्चामा आबद्ध हुनुहुन्थ्यो । राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेलले रोशनध्वज तत्कालीन जिल्ला सदस्य र अन्य दुई सक्रिय कार्यकर्ता रहेको बताउनुभयो । “माओवादीलाई खाना, बास दिएको भन्ने शङ्कामा निर्मम यातना दिएर उहाँहरूको हत्या गरिएको थियो”, सचिव पोखरेलले भन्नुभयो । हेलिकोप्टरबाट भातखाने डाँडामा ओरालेपछि सुरक्षाकर्मीले कुट्दै गयार भन्ने ठाउँमा लगेर हत्या गरी गाडेको उहाँले बताउनुभयो । ताराखोलाको केन्द्र भातखाने डाँडाबाट अझै उकालो चढेपछि गयार आइपुग्छ । गयारलाई युद्धताका माओवादी जनमुक्ति सेनाले तालिम केन्द्रका रूपमा प्रयोग गरेको थियो । त्यहाँ एकैसाथ मारिएका तीनै जनालाई माओवादी र जनमोर्चा दुवैले सहिदका रूपमा सम्मान दिँदै आएका छन् । सहिद रोशनध्वजकी धर्मपत्नी गौमला र टीकाका छोरा सबराज निसीखोलाको कार्यपालिका सदस्यसमेत रहनुभएको छ । जनमोर्चाका कार्यकर्ता भए पनि जनयुद्धका सहिदकै रूपमा सूचीकृत गरिएको नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे बताउनुभयो । “उहाँहरूको हत्या भएको ठाउँमै गाउँपालिकाले सहिद उद्यान बनाइरहेको छ, पार्टीले पनि त्यसमा पहल लिइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसबेला जनमोर्चामा सक्रिय रहे पनि माओवादी आन्दोलनप्रति उहाँहरुको सदासयता र समर्थन थियो ।” युद्ध पर्यटनको नमूना योजनाका रूपमा गयारको सहिद उद्यानलाई अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत उद्यानमा पूर्वाधार निर्माणको काम भइरहेको छ । यसअघि त्यहाँ गण्डकी प्रदेश सरकारको बजेटबाट पदमार्ग, पोखरी र प्रतिक्षालय निर्माण गरिएको थियो । संरचना बनाउँदा स्थानीय सीप र प्रविधिको प्रयोग गरिएको छ । पदमार्गमा गाउँकै ‘स्लेट’ राखिएको छ । प्रतिक्षालय काठ र ढुङ्गाको बनाइएको छ । लामीडाँडा सामुदायिक वन क्षेत्रको एक हजार दुई सय ९१ वर्गमिटरमा उद्यानका संरचना बन्नेछन् । उद्यानमा सहिदका सालिक स्थापना, बगैँचा, विश्रामस्थल, धारा, शौचालयसहित अरु पूर्वाधार बन्न बाँकी नै छ । बजेटको स्रोत जुटाएर जतिसक्दो चाँडो उद्यान निर्माणलाई पूर्णता दिने योजनामा गाउँपालिका छ । जनयुद्धमा ताराखोला क्षेत्रबाट सहिद बनेका २१ जनाको सालिक उद्यानमा राखिनेछ । ताराखोला जनयुद्धबाट बढी प्रभावित ठाउँ हो । उद्यानमा युद्धकालीन समयलाई झल्काउने कलात्मक मूर्ति र नमूना युद्ध सामग्री पनि राखिने जनाइएको छ । युद्धबाट उठेको गाउँलाई पर्यटनका माध्यमबाट चिनाउन सहिद उद्यानले सघाउने विश्वास लिइएको छ । RSS
काठमाडौं: आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । नेपालले युएईलाई डिएल मेथोडमा ९ रनले हराउँदै विश्वकपमा छनोट भएको हो ।
काठमाडौं : आसिफ खानको आक्रमक अविजित शतकप्रेरित यूएईले आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गर्यो। यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले। त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्। नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए। सन्दीपले १० ओभरमा ८०, सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए। आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्। उनी आज दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए। उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति निजी निवासमा सरेको उनले बताए। शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।
पोखरा: पोखराको लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले सञ्चालनको १२ औं वर्ष पुरा गरेको छ । टिपिकल पश्चिमी नेपालको ढाँचा झल्किने डिजाइनमा बनेको रिसोर्ट स्विमीङ पुल, हेल्थ क्लव, स्पा, सेमिनार हल, रेष्टुरेण्ट, बार तथा सुन्दर बगैंचाले सजिएको छ । विभिन्न अन्र्तराष्ट्रिय सोसल मिडिया तथा साइटहरुले यो रिसोर्टलाई उत्कृष्ट रिसोर्टको सूचीमा राखेको छ । त्यस्तै, बुकिङ डट कमले पनि यो रिसोर्टलाई वर्षेनी उत्कृष्ट स्टार प्रदान गर्दै आएको छ । १३ आंै वर्ष प्रवेशका अवसरमा रिसोर्ट सञ्चालकहरुविच शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । रिसोर्ट सञ्चालन समितिमा बसन्त गौतम अध्यक्ष, चन्दन कायस्थ प्रवन्ध निर्देशक तथा निर्देशकहरुमा मोनिका ज्यान्तीले, रञ्जन कायस्थ, प्रेम श्रेष्ठ र विमल नहर्की रहनुभएको छ । रिसोर्टमा हाल सय बढी कर्मचारीहरु कार्यरत छन् । यसै अवसरमा रिसोर्टले कर्मचारीहरुमा उत्प्रेरणा जगाउन भेटघाट तथा छलफल एवं समिक्षात्मक कार्यक्रम पनि गरेको छ ।