विराटनगर:   धरानका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई लक्षित स्ट्याटस लेख्दै आलोचना गरेका छन् ।   सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर साम्पाङले जनताको शक्तिलाई ...

काठमाडौँ:  उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी छन् ।    मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी हुन् ।      उनले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरुले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरुको क्षतिपूर्ति उनीहरुले दिनुपर्ने बताइन् । उनले नेपाल दुई ठूला देशहरुको बीचमा रहेकाले आणविक रुपमा नेपाललाई खतरा रहेको पनि उल्लेख गरिन् । त्यस्तै उनले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरु खेप्नुपरेको बताइन् । उब्जनी नहुने तथा पानीका मूलहरू सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्था समेत आउन थालेको उनले बताइन् ।     प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपालले आणविक कानुन बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनुपर्ने बताए । उनले पञ्चशिलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका मुख्य अंशहरुलाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेपाल कुनै पनि प्रकारको युद्धमा सहभागी नहुने र कुनैपनि युद्धलाई सहयोग समेत नगर्ने स्पष्ट पारे ।     प्रतिनिधि सभा सदस्य भट्टराईले नेपाल दुई ठूला छिमेकी देशहरु चिन र भारको बीचमा रहेको भन्दै कानुन बनाउँदा ठूला देशको बीचमा हुँदाको फाइदा र अपm्ठ्याराहरुका बारेमा पनि विचार गर्नुपर्ने बताए । उनले भूराजनीतिक अवस्थालाई पनि हेर्नुपर्ने बताए ।  

गोरखा:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बताउनु भएको छ । गोरखाको पन्थडिही कटहरे हर्मी साहिलटार सडक स्तरोन्ती कार्यको शिलान्यास गर्दै उहाँले अब पुरानै गठबन्धन कायम भएको बताउनुभयो ।   ‘हिजोबाट एउटा राजनीतिक वातावरण बनेको छ, राजनीतिले लय पक्रिएको छ,’ उहाँले भन्नुभयो, ‘सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मत सहित अब हामी सरकारलाई पूर्णता दिने पक्रियामा छौँ । आज बिहानदेखि नेपाली कांग्रेस र अन्य पार्टीहरुसँग गम्भीर सम्वाद छलफल सुरु भएको छ ।’ सोमबार आफूले विश्वासको मत पाएँ सरकार पुर्नगठनबारे दलहरुसँग छलफल समेत सुरु भएको उहाँले बताउनुभयो ।   संघ सरकारदेखि प्रदेश सरकार पुर्नगठन र आलोपालोका विषयमा दलहरुसँग छलफल सुरु भएको उहाँको भनाइ छ । अब निर्वाचन पूर्व जनतामा गरिएका प्रतिवद्धताअनुसार काम हुने उहाँले बताउनुभयो । सत्ता साझेदार सबै दल र साझेदार निकायबीच छिट्टै छलफल गरि विकासको मोडालिटी तय गरेर काम अगाडि बढाउने प्रधानमन्त्रीको भनाइ छ ।   सडक विकासको पहिलो आधारशिला भएको भन्दै उहाँले देशभरका रणनैतिक सडकहरु प्राथमिकताका साथ स्तरोन्नती गर्ने सरकारको योजना रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उपप्रधान तथा भौतिक पूर्वाधार विकास मन्त्री नारायणकाजी श्रेष्ठले जनताको भावनाअनुसार काम गर्न सरकार प्रतिवद्ध भएको बताउनुभयो ।   ‘यो सडकको शिलान्यास मात्र होइन, जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्ने कार्यको उद्घाटन पनि हो,’ उहाँले भन्नुभयो, ‘अब सरकारले दृढताका साथ विकास निर्माणका काम अघि बढाउँछ ।’    यसैगरी, पूर्व उपप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त सडकले यो क्षेत्रको विकासमा सम्भावना खोल्ने बताउनुभयो । गोरखा र लम्जुङलाई जोड्ने रणनीतिक सडकले जनताको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।   ‘मेरो लागि सबैभन्दा खुसीको क्षण हो । म आफैँ अर्थमन्त्री हुँदा यो बाटो स्तरोन्नतीको कार्य सुरु गरेको थिएँ,’ उहाँले भन्नुभयो,‘तर बारम्बार पहल गर्दा पनि यसले पूर्णता पाउन सकेको थिएन ।’   यही क्षेत्रका जनप्रतिनिधि समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल प्रचण्डद्वारा सडक शिलान्यास गराउनु पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगमा २०.३ किलोमिटर सडक कालोपत्र गर्न लागिएको सडक विभागका महानिर्देशक सुशिल ढकालले जानकारी दिनुभयो ।   त्यसको लागि ८१ करोड ६१ लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । गोरखाको पालुङटार १ को पन्थडिहीबाट लम्जुङको साहलटारसम्म सकड कालोपत्रे हुने बताइएको छ । 

नेपाल सरकारबाट २०७६ सालमा मानार्थ नेपाली नागरिकता पाएका पुतली बाजे (कलिन स्मिथ) उपचारार्थ अस्पताल भर्ना भएको आज १४ दिन भएको छ ।    बाजेको हरियोखर्क अस्पतालमा उपचार भइरहेको र हाल स्वास्थ्य अवस्था सुधारोन्मुख भएको अस्पताल प्रशासनले जनाएको छ । उनमा पिसाबको संक्रमण देखिएको र वान्ता आइरहने समस्या छ ।    ८७ वर्षे बाजे पोखरामा रहेर पुतली संकलनमा लागेकैकारण उनी पुतली बाजेकारुपमा चिनिन्छन् । उनले नेपाल सरकारबाट २०७६ सालमा मानार्थ नेपाली नागरिकता पाएका हुन् ।    हाल पोखरा महानगरले वडा १८ ग्यारजातीमा घर बनाइदिएपछि त्यही रहँदै आएका बाजे १९९३ साल मंसिरमा लण्डनमा जन्मिएका हुन् ।    ग्लास्गो युनिभर्सिटीमा अध्यापन गरिरहेका बाजे युनाइटेड मिसन टु नेपालले पोखरामा विद्यालय खोल्ने भएपछि ०२२ माघमा पोखरा आएका थिए ।    नेपालको ४० जिल्लामा पुगेर उनले करिब २५ हजार पुतली संग्रह गरेका छन् ।    अस्पतालका अनुसार उनको उपचार खर्च इन्टरनेशनल नेपाल फेलोशीप (आइएनएफ)ले ब्यहोर्नेछ । यसअघि पनि गत असारमा उनी बिरामी भएर अस्पताल भर्ना भएका थिए ।    मानार्थ नेपाली नागरिकता प्राप्त गरेपछि बाजेले नेपाल सरकारबाट वृद्धभत्तासमेत पाउँदै आएका छन् । 

फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तान बनेका छन्।   यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको हो।   एम्बाप्पे पेरिस सेन्ट जर्मन (पिएसजी) क्लबबाट व्यवसायिक फुटबल खेल्छन्।   सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्‍याएका थिए।  

काठमाडौँ:  बुधवारदेखि घरेलु मैदानमा हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको छनोट भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।   नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनासीले छनोट गरिएका नेपाली टोलीलाई प्रशिक्षणमा बोलाइसकेको एन्फा स्रोतले बताएको छ । श्रम स्वीकृतको समस्याका कारण मुख्य प्रशिक्षकले नेपाली टोली भने आधिकारीक रूपमा घोषणा गरेका छैनन् । उनले एन्फालाई नेपाली टोलीको लिष्ट दिसकेका छन् एन्फा स्रोतले बतायो ।    नेपाली टोलीमा गोलरक्षकका रूपमा किरण चेम्जोङ, दीप कार्की र अभिषेक बराल रहेका छन् । यस्तै डिफेन्डरमा  रोहित चन्द, रन्दीप पौडेल, आदित्य चौधरी, अनन्त तामाङ, निशान खड्का, विकास तामाङ र  पदम भट्टराई रहेका छन् ।    यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, आयूस घलान, एरिक विष्ट, सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, सनिस श्रेष्ठ र कमल थापा तथा स्ट्राइकरमा भरत खवास, मनिष डाँगी, दिपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट रहेका छन् । 

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मानव सभ्यता विकासका लागि जातीय विभेद र छुवाछुत बाधक रहेकाले यस्ता विकृतिका अन्त्य गर्नुपर्ने बताए।   अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले छुवाछुत र जातीय हिंसाविरुद्ध सबै एकजुट भएर सामाजिक न्याय,समानता,स्वतन्त्रताका माध्यमबाट शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने उल्लेख गरे।    शिष्ट र सभ्य समाज निर्माणका लागि जातीय हिंसा, छुवाछूतजस्ता विसङ्गतिको अन्त्य गर्नुपर्नेमा सन्देशमा जोड दिइएको छ । नेपाली समाजलाई यस्ता हिंसा र विभेदबाट मुक्त गरी समानता कायम गर्न आफ्नो पार्टीले लामो समयदेखि राजनीतिक गतिविधि गरेको भन्दै जातीय हिंसालगायत विकृतिविरूद्ध चेतनामूलक अभियानको खाँचो औँल्याइएको छ ।   संयक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो । यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् ।   अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिंदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् ।   ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु-संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भने । 

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार ३७५ सवारीसाधन कारबाहीमा परेका छन्।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो।   कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार आठ सय ९६ सवारी कारबाहीमा परेका छन्।   यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार नौ सय ६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार आठ सय १७, वानवेमा सवारी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार आठ सय ९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार दुई सय ४७ सवारीलाई कारबाही गरेको हो।   पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार नौ सय ८१, लापरवाही साथ सवारी चलाउने ७२ हजार एक सय ४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार छ सय ६५, जथाभावी हर्न बजाउने १२ हजार छ सय २२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार दुई सय ६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार सात सय ८२ सवारीसाधन कारबाहीमा परेका छन्। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिए। 'ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौँ',  उनले भने।   हाल  काठमाडौँ उपत्यकाभित्र २० लाख हाराहारीमा सवारीसाधन आवतजावत हुँदै आएको जनाइएको छ। उक्त सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक कार्यालयबाट एक हजार सात सय ट्राफिक प्रहरी परिचालन हुँदै आएको छ।

गत माघ २३ गते तामझामकासाथ पोखरामा सुरु भएको सशूल्क पार्किङ्मा सवारीधनीहरुले अझै रुचि देखाएका छैनन् ।    उक्त दिन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्यूरोडस्थित पुर्णिमा चलचित्र हल पछाडीको भागमा पार्किङ् उद्घाटन गरेका थिए । उद्घाटनका दौरान मेयर आचार्यले सुन्दर पोखराको योजना साकार पार्न पोखरेलीलाई सडक किनारमा पार्किङ् नगरिदिन अनुरोधसमेत गरे ।    मेयरले अनुरोध गरेपनि स्थानीयले सडक किनारमै पार्किङ् गर्न नछाडेपछि ट्राफिक प्रहरीले बिहानैदेखि रोक लगाउँदै आएको छ । तर बिहानजस्तै दिनभर प्रहरी खट्न नसकेपछि सडक किनारमा अझैपनि पार्किङ् भइरहेको छ ।    निजी सवारीचालकले अटेर गरेपछि पार्किङ् सञ्चालक भने मर्कामा परेका छन् । सशूल्क पार्किङ् सञ्चालनको जिम्मेवारी लिएका प्रदिप बस्नेतका अनुसार नजिकै पार्किङ् भएपनि आमरुपमा सडक किनारमै सवारी पार्किङ् गर्ने बानी अझै हटेको छैन ।    ‘महानगरको योजनालाई सहयोग गर्ने उद्देश्यले पार्किङ् सञ्चालनमा अग्रसर भएको हुँ’ सञ्चालक पौडेल भन्छन् ‘पहिलो महिना भाडा तिर्न सकिएन तर कमाउने भन्दा पनि व्यवस्थित पोखराका लागि काम गरेको हुँ ।’   पौडेलका अनुसार ४–५ लाख रुपैयाँ लगानी गरी पार्किङ् स्थान बनाइएको हो । स्थलमा सुरक्षा गार्डसहित ३ कर्मचारी व्यवस्थापनमा जुटेका छन् ।    त्यस्तै, करुणनिधि कोइरालाको जग्गा जो महानगरले मुद्दा जितेर स्वामित्वमा लिइएको भनिएको छ, त्यहाँपनि सशूल्क पार्किङ् सुरु भएको छ ।    उक्त स्थानमा २ हप्ता अघिदेखि पार्किङ् सुरु भएको संघर्ष कोइरालाले जनाए । उक्त जग्गामा पार्किङ् सञ्चालन गर्न कोइराला परिवारले महानगरसँग कुनैपनि सम्झौता गरेको छैन ।    सञ्चालक कोइरालाका अनुसार उक्त जग्गाको मुद्दा अझैपनि उच्च अदालतमा रहेको छ । जसकारण पार्किङ् सञ्चालन गरिएको हो । ‘हामीसँग लालपुर्जा छ’ कोइरालाले भने ‘हामी कानूनी लडाई लडिरहेका छौं ।’   यद्यपि, अब महानगरसँग यस विषयमा सम्झौता गर्ने कोइरालाले जानकारी दिए । उक्त स्थानमा भने सवारीसाधनहरु पार्किङमा आउने गरेको उनको भनाई छ ।      न्यूरोड क्षेत्रमा यसबाहेक महानगरले खोप्लाङेको जग्गामा निशूल्क पार्किङ दिएको छ । तरपनि दिउँसोको समयमा स्थानाभावकाकारण सडकमै पार्किङ भइरहेको छ ।    पार्किङ् शूल्क २ पाङ्ग्रेका प्रतिघण्टा १० रुपैयाँ रहेको छ । त्यस्तै, चारपाङ्ग्रको हकमा प्रतिघण्टा ५० र ७० रुपैयाँ रहेको छ ।    महानगरले निर्धारित गरिदिएको शूल्कको दर भने यसअघि पोखरेलीले तिर्दै आएको भन्दै अत्यधिक हो । मोटरसाइकल वा स्कुटर पार्किङ् गर्ने कुनैपनि जागिरे वा व्यवसायी एवं गाडी भएकाले दैनिक ६ घण्टा सेवा लिँदा तिर्नुपर्ने मूल्य निकै बढी हुन आउँछ ।