पोखराः आज बिहान काठमाण्डौबाट पोखरा उडेको यति एयरलाइन्सको जहाजमा पोखरा–२५ हेमजाका ४ जना सवार भएको जानकारी प्राप्त भएको छ । हेमजाका स्थानीयवासीले दिएको जानकारी अनुसार पोखरा आउन लागेका यात्रुमा भगवती कुँवर, जितेन्द्रबहादुर कुँवर, अनिशा बाँनिया र राजन सापकोटा सवार थिए । जसमध्ये, भगवति–जितेन्द्र र अनिशा–राजन दम्पत्ति रहेको जनाइएको छ । दुबै जोडी यतिको कलसाइन नाइन एन–एएनसीमा सवार थिए । उक्त कलसाइनको विमान बिहान पोखराको सेती खोंचमा दुर्घटनामा परेको छ । विमानमा चालकदलका ४ सहित ६८ जना सवार थिए ।
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता हाम्रो साझा पहिचान भएको बताउनुभएको छ । थारू समुदायको चाड माघी तथा माघेसङ्क्रान्ति (मकर सङ्क्रान्ति)को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “नेपालका जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व छन् । यी चाडपर्वले एकापसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।” उहाँको सन्देशमा भनिएको छ, “यस अवसरमा सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरका रूपमा मनाउन हार्दिक अपिल गर्दछु ।” प्रधानमन्त्री प्रचण्डले माघी पर्वले सम्पूर्ण नेपालीबीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृति निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ । माघ १ गते मनाइने माघी पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडका रूपमा मनाउँछन् । नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्नो परम्परा र विशेषताअनुसार मनाउँदै आएको पाइन्छ ।
पोखराः रेडक्रम सोसाइटी कास्की शाखाको शनिबार आयोजित १० औं निर्वाचन अधिवेशनबाट सभापतिमा डण्डराज शर्मा निर्विरोध निर्वाचित भएका एका छन् । शर्मा यसअघि सभापति रहेका थिए । त्यस्तै, उपसभापति खुलामा धर्मराज अधिकारी, उपसभापति महिलामा उर्मिला खड्का, मन्त्री सुरेन्द्र गुरुङ र उपमन्त्री रमा कोइराला निर्विरोध भएको रेडक्रस सोसाइटीले जनाएको छ । रेडक्रस सोसाइटी कास्की शाखाको कोषाध्यक्ष, उपकोषाध्यक्ष, कार्यसमितितर्फ महिला सदस्य र खुला सदस्यका लागि भने सर्वसम्मत हुन नसकेपछि मतदान भएको छ । कोषाध्यक्ष र उपकोषाध्यक्षमा २÷२ जनाको उम्मेद्वारी परेको छ । महिला सदस्य ३ जनाका लागि ६ जना र खुला सदस्य ६ जनाका लागि २३ जनाको उम्मेद्वारी परेको छ । ४८ उपशाखा रहेको कास्कीमा कूल मतदाता २ सय ६६ जना छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीलाई मुख्यमन्त्रीमा ‘हुन्छ’ भनेर ३१ जनाले विश्वासको पक्षमा मत दिए । अधिकारीको विपक्षमा २७ मत परेको छ । अधिकारीले प्राप्त गरेको मतमा नेकपा एमालेको २१, नेकपा माओवादी केन्द्रको ८ र राप्रपाको २ मत रहेको छ । विपक्षमा नेपाली कांग्रेसले मतदान गरेको छ । प्रदेश अधिवेशनको दोसो सभामा मुख्यमन्त्री अधिकारीले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका सांसदलाई समेत मतको अपील गरेका थिए । ६० सदस्य रहेको सभामा मुख्यमन्त्री अधिकारीलाई ३१ मत आवश्यक रहेको थियो । सभाका अर्का सदस्य राजीव गुरुङ भने अनुपस्थित रहे ।
गण्डकी प्रदेशसभाको पहिलो अधिवेशनको दोस्रो बैठकमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम चलिरहँदा सांसद राजीव गुरुङ् अनुपस्थित भएका छन् । मनाङको ‘ख’बाट निर्विरोध निर्वाचित प्रदेश सांसद राजीव गुरुङले बिहीबार नै मुख्यमन्त्रीलाई मत नदिने बताएका थिए । स्वतन्त्र सांसदबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका गुरुङले आफुले मत नदिएपनि मुख्यमन्त्री खगराज अधिकारीसँग ३२ मत रहेको भन्दै आज अनुपस्थित भएका हुन् ।
गण्डकी प्रदेशमा नेकपा एमालेले ५ वर्ष मुख्यमन्त्री चलाउने सुनिश्चित भएको छ । यहाँ एमालेले मुख्यमन्त्री लिएपछि नेकपा माओवादी केन्द्रले सभामुख पाउने सहमति भइसकेको एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले स्पष्ट पारेका छन् । राजधानीबाट प्रसारित योहो टेलिभिजनको संवाद कार्यक्रममा भनाई राख्दै गुरुङले गण्डकीमा खगराज अधिकारी नै पूर्णसमय मुख्यमन्त्री रहने दाबी गरेका हुन् । त्यस्तै, प्रदेश १ र लुम्बिनीमा पनि पाँचै वर्ष एमालेकै मुख्यमन्त्री र सभामुख माओवादी केन्द्रको हुने सहमति भएको जनाएका छन् । गुरुङका अनुसार मधेशमा एमाले र माकेबीच आलोपालो हुनेछ भने कर्णालीमा माओवादीले ५ वर्ष मुख्यमन्त्री र एमालेले सभामुख लिने सहमति भएको छ । त्यस्तै, सुदूरमा एमाले र माकेबीच आलोपालो हुनेछ । बहसकैक्रममा गुरुङले हालै सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९० देखि १०० सिट जित्ने प्रचार गरेपनि ६० सिट जित्ने आंकलन गरेको खुलाए । ‘बाहिर प्रचार गर्नु पार्टीको रणनीति थियो तर हाम्रो अनुमान ६० को हाराहारीमा थियो ।’ त्यस्तै, शनिबारसम्म मन्त्रीपरिषद् विस्तार गर्ने जानकारीसमेत गुरुङले दिएका छन् । गण्डकीका पूर्वमुख्यमन्त्री रहेका गुरुङ लमजुङबाट निर्वाचत सांसद हुन् ।
हेटौँडा: नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार १७ डीआईजीको सरुवा गरेको हो । मन्त्रालयले डीआईजीहरु नलप्रसाद उपाध्यक्ष, मोहनकुमार आचार्य, मसाउल आलम खाँ, बसन्तबहादुर कुवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र सुदीप गिरिको सरुवा भएको छ । यसैगरी भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ र दुर्गा सिंहको पनि काज सरुवा भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
-प्रकाशचन्द्र परियार नेपाल एकीकरणको महानायक पृथ्वीनारायण शाहबारे बहुकोणिय चर्चा-परिचर्चा, बहस-पैरबी भइरहँदा महायज्ञका अन्य नायक र योद्धाहरुको नियोजित नामोनिसान किन हुन्छ भनेर छिटपुट सन्दर्भ-प्रसंग-सवाल उठाउने दुस्प्रयास आज उप्रान्त जारी छ। नेपाली राजकीय सम्मानको सबैभन्दा ठुलो भारी बोकेका पृथ्वीनारायण शाह नेपाली आधुनिक इतिहासमा सदा बढी पढिने, तारिफ गरिने र देवत्वकरण गरिने पात्रहरुको अग्रसूचीमा अनवरत छँदैछन, कतिपयले दानबीकरण गरे पनि, फरक तवरले प्रस्तुत गरे पनि अर्थात अस्विकार गरे पनि । यो आलेख नेपाल एकीकरणको महायज्ञमा सरिक भएका नायक विशे नगर्चीको उल्लेख्य योगदानको बाबजुद कसरी दरबारीयाहरुको आँखामा परेनन्? कसरी पंचहरुको इन्कारीमा परे, लोकतन्त्र र गणतन्त्रको ताप र रापमा पनि कसरी उपेक्षित हुनु पर्यो भन्ने विषयमा अलि बढी केन्द्रित हुनेछ। बिशे नगर्ची, पृथ्वी सपना र गोरखा: बिशे नगर्ची कथित ‘अछूत’ जस्ले नेपाल विस्तारको सपना बोकेका पृथ्वीनारायण शाहलाई बिपनामा रुपान्तरण गर्न कस्तो सल्लाह दिए? उनको सल्लाह कसरी शिरोपर हुन सक्यो? सल्लाहले साकार पाए पनि उनका सन्तान दर सन्तान जातिय विभेदको चक्रमा कसरी सँधै रुमल्लिन वाध्य पारियो, बहुत अन्वेषण र विश्लेषणको विषय हुँदै हो । विक्रम संवत् १८४६ को लालमोहरमा बिस्या नगर्ची उल्लेख गरिएका बिशे नगर्चीको खाश नाम विश्वेश्वर नगर्ची रहेको योगी नरहरिनाथले लेखेका छन। दमाई जातिको सम्मानसूचक पदवी नगर्ची पछिसम्मै कायम थियो परियारका रुपमा उदाउनु भन्दा अघिसम्म। बिशेको विराट विशेषता भनेकै राजकीय सवालमा अत्यावश्यक र ब्यवहारिक सल्लाह दिनुनै रहेको अन्वेषक रामशरण दर्नालले लिपिबद्ध गरिसकेका छन्। २१ वर्षीय पृथ्वीनारायण शाह भन्दा एक दर्जन बढी भोटो फटाएका बिशेको ख्यातीबारे गोरखा दरबार सुचितै थियो। जतिसुकै ख्याति कमाए पनि तत्कालीन ‘अछूत’ को बिल्ला भिर्नु परेको नगर्चीको सल्लाह माग्नु पर्ने अवस्थामा पृथ्वीनारायण शाह पुग्नुलाई उनको एकीकरणको सपना र जुनुननै सबैभन्दा ठुलो कडी थियो। जब उनले कान्तिपुर दखल गर्नका लागि पहिले नुवाकोट सर गर्न खोजे तर असमर्थ भएर फर्किए। तब हात हतियार गोला बारुद संग्रहका लागि काशीतिर जाने सोच बनाए। त्यतिबेला उनी आर्थिक संकट ब्यहोरिरहेका थिए,राज्यकोषमा पनि पैसाको संचिति थिएन।आफ्ना भाइ भारदारसंगको परामर्शले उनलाई आँट आएन। राज्य र समाजको नजरमा ‘अछूत’नै मानिए पनि उद्धमशीलता र अब्बल सर सल्लाहमा ख्याति कमाएका बिशे नगर्चीको दैलो टेकेको नाटककार भीमनिधि तिवारी कृत ‘बिशे नगर्ची एकांकी नाटकमा उल्लेख छ। के थियो पृथ्वीलाई विशेको सामरिक सल्लाह ? नरभूपाल शाहकै पालामा चर्चित विशे नगर्चीबारे पृथ्वीनारायण शाहको खाश आशा बढेमान युद्ध कौशलतामा केही विशिष्ट सुझाव होला कि भन्नेनै थियो। जब विशेको फरक धारको तर अति ब्यवहारिक सल्लाह आयो पृथ्वीनारायणको एकीकरणको धोको सपनाबाट विपनामा रुपान्तरण हुन सजिलो भयो। एकीकरण, विस्तार, युद्ध जे भने पनि सबैभन्दा पहिले प्रजाको सामुहिक सहभागिता चाहिन्छ र राज्य एक्लैले भन्दा पनि सारा प्रजाहरुले राज्य ढुकुटीमा गच्छे अनुसारको सहयोग हुनै पर्छ त्यसको शुरुवात कोही न कोहीबाट गर्नै पर्छ भन्दै एक रुँपैयाबाट मैले शुरु गरे भन्ने बिशेको त्यो अभियान पछि गोरखाको हरेक घरदैलोको साझा अभियान बन्यो । यो मुलुकले अहिले सहकारीमा एउटा फड्को मारेको छ सहकारीको शुरुवाती अभ्यासको श्रेय विशे नगर्चीलाईनै जान्छ। ‘राजाका भण्डार भन्याका रैतानहरु हुन्’ बिशेको विशिष्ट अवस्थामा आएको विशेष सुझावको जगमा नै पृथ्वी नारायण शाहको यो दिब्योपदेश आएको इतिहासकारहरुको भनाई छ। ‘विशे नगर्ची’ एकांकी नाटकमा नाटककार तिवारीले अर्थ संचय र जनसहभागिता विना नेपाल विस्तार सम्भव छैन भनेर एक रुँपैया पृथ्वीनारायण शाहलाई टक्राएपछि बिशे नबोलेको र पृथ्वी नारायण शाह पनि रिसाएको प्रसंग बढो मार्मिकताका साथ पस्किएका छन। जब मैले जस्तै एक रुपैयाँ गोरखाका हरेक घरधुरीले गच्छे अनुसार दिन्छन कति धेरै हुन्छ, प्रजाको सहभागिता र अपनत्वको वेली विस्तार लगाए पछि पृथ्वी नारायण शाहको आँट र विश्वास बढेर जान्छ त्यसैले नेपाल विस्तार सम्भव भयो। हुलाक टिकटमा पनि अटेनन् बिशे नगर्ची: ऐतिहासिक पात्रहरुलाई चीरस्मरणीय बनाउन राज्यले त्यस्ता पात्रहरुको शालिक राख्ने, स्मृति प्रतिष्ठान बनाउने, पाठ्यक्रममा राख्ने, पुरस्कार तथा सम्मान स्थापना गर्ने, चलचित्र बनाउने, हुलाक टिकटमा अंकित गर्ने गर्दछ। बिडम्बना ऐतिहासिक पात्र बिशे नगर्चीको सम्मानार्थ राजतन्त्र,पंचायत, लोकतन्त्र र गणतन्त्रको दशक पार हुँदा समेत एकथान हुलाक टिकटमा समेत अंकित गरिएको छैन। कालाबजारियाको परिचय बनाएका कतिपय ब्यापारीहरुको समेत संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरिएको छ।नेता,विचौलिया र कर्मचारीको मिलेमतोमा प्रकाशन भएका यस्ता हुलाक टिकटहरुले विशे नगर्चीहरुको योगदानलाई गिज्याईरहेको छ। के कथित ‘अछूत’ समुदायमा जन्म हुँदा तत्कालीन अवस्थामा बिशे नगर्चीको सामरिक सल्लाह शिरोपर गर्ने पृथ्वीनारायणका सन्तानहरुले उनको योगदानकोबारे सिन्का भाँचे ? दरबारका भाइभारदार, पुरोहित कसैले पनि किन सोचेनन् । न पंचायतमा उनी सम्झना योग्य पात्र बने न त ६२/६३ सालको आन्दोलन अघि सम्म उनको कुनै योगदानबारे शालिक राख्ने बहस चल्यो। महाराजाको भक्तिगान, प्रशस्ती र देवत्वकरण गर्ने लेखकहरुको आँखामा पर्ने त कुरै भएन । जन आन्दोलनमा बिशे ‘नगर्चीको बयान’: सात दल र तत्कालीन माओवादीको राजतन्त्र विरुद्धको आन्दोलनमा नेपाली मिडीयाले काँध थापेको थियो। नागरिक अगुवा, अधिकारकर्मी र कवि-कलाकारहरु अग्रमोर्चामै रहेर सत्ता विरुद्ध देखा परेका थिए । आन्दोलनको आगो दन्काउन कवि श्रवण मुकारुङको ‘बिशे नगर्चीको बयान’ झिल्को हुँदै मसालको रुपमा फैलियो। मालिक ! मान्छे बौलाएपछि आफैंसित पनि निहुँ खोज्दोरहेछ अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हुर्केका मेरा दरसन्तानहरू कहाँकहाँ पुगे - मैले खोज्न चाहें हुँला मेरा औंलामा खोपिएका छ्यान्द्रा र बगेका रगतहरूले मलाई उक्साए तरबारले आर्जेको मुलुकभन्दा मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला मालिक ! यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु म कसरी अराष्ट्रिय हुनसक्छु - म साँच्चै बौलाएँ मालिक ! साँच्चै बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमीन आकाशतिर आकाश जमीनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ - कहाँनिर छ बिसे नगर्ची - मालिक ! म बौलाएँ । कविवरले त्यतिबेला खुब स्यावासी पाए । आन्दोलन चर्कियो र सफल पनि भयो। कविवरलाई पुरस्कार र सम्मानको ओइरो लाग्यो।सम्भवत कवि दिनेश अधिकारी पछि पुरस्कार पाउनेमा उनी दर्ज भए। प्रझा प्रतिष्ठानको बाटो पनि खुल्यो। कविको दायरा जे थियो पूरा भयो। कुरो राज्यको हो, कुरो सोचको हो। गणतन्त्र दशक पार गरिसक्दा पनि हाम्रा शासकहरु ऐतिहासिक पात्र बिशे नगर्चीलाई एक थान हुलाक टिकट प्रकाशन गरेर राज्यको सम्मानको दायरामा ल्याँउन किन हिचकिचाउँछन। बिडम्बना बिशे नगर्चीका सन्तान, दरसन्तानहरु कथित ‘शुद्र’,‘अछूत’ हुँदै ‘दलित’ समुदायको पछिल्लो परिभाषामा आफ्ना योगदानको क्षतिपूर्ती माग्न राज्यलाई झिनो स्वरमा भए पनि खबरदारी गरिरहेका छन। तर राजाको ठाँउमा जनताका छोरा-छोरी पुग्दा पनि पहुँचविहीन,आवाजविहीन,राज्यबाट तिरस्कृत,समाजबाट अपहेलित,धर्मबाट बहिष्कृत विगतमा कानून बनाएरै दोहन गरिएका समुदायको सम्मान,संस्मरण र योगदानको कदरलाई रैती,रंक र प्रजा भन्दा पनि निम्नकोटीले उपेक्षा गरिरहनु नेपालको विकास र समतामूलक संवृद्धिको तगारो शिवाय केही हुन सक्दैन। यो सवालले राज्यले कसरी सिमान्तकृत समुदायको उच्च योगदानलाई कौडीमा पनि सम्वोधन गरिरहेको छैन भन्ने प्रश्नसंगै आउने मूल प्रश्न, राज्यको नेतृत्व कसले गरिरहेको छ, कस्ता मानिसहरु कसरी त्यहाँ पुगिरहेका छन् र पुर्याइन्छन, उनीहरु केबाट निर्देशित छन् ? किन अझै समयानुकुल चल्न चाँहदैनन् बढो गम्भिर प्रश्न छ। के नेपालमा राजतन्त्रको अन्त्य भए पनि जाततन्त्र जिउँदै छ ?
काठमाडौं: डान्सबारमा केटि मिलाइदिने वाहानामा संग्लन ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं ठमेल क्षेत्रमा केटी मिलाउने भन्दै सामाजिक अपराधमा संग्लन ६ जनालाई प्रहरीले पक्राउ गरेका हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय नारायण कार्की, नुवाकोट घर भएका २२ वर्षीय विशेष थापा, नुवाकोटकै ३१ वर्षीय दिपेश तामाङ, ललितपुर घर भएका २२ वर्षीय कृष्ण तामाङ, सिन्धुली घर भएका २८ वर्षीय अर्जुन कटुवाल र बैतडी घर भएका २५ वर्षीय यज्ञराज जोशी रहेका छन् । पक्राउ परेका उनीहरुले साँझको समयमा डान्सबारमा छिराइदिने, यौनजन्य कार्यको लागि केटि मिलाइदिने भन्दै सर्वसाधरणलाई दुःख दिदै आएका थिए । पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहार सम्बन्धि कसुरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त, लैनचोर पठाइएको छ ।