टिनएजर्सलाई धुवाँ र मदिराको ‘लत’मा लठ्याउँदैछन् लाउञ्ज र बार

पाेखरा | माघ २०, २०७९

टिनएजर्सलाई धुवाँ र मदिराको ‘लत’मा लठ्याउँदैछन् लाउञ्ज र बार

अन्य दिनमा भन्दा शुक्रबारको साँझ लेकसाइडले मादक शैलीमा निम्ता दिन्छ पोखरेली र बाह्य पर्यटकलाई । यद्यपि, लाउञ्ज र बारहरुमा स्थानीय किशोर किशोरीको जमघट बढी हुन्छ । त्यसो त सबै उमेर समूहका ‘पार्टी गोएर्स’ भेटिन्छन् ताल किनारमा तर युवावस्थामा पाइँला राख्दै गरेका समूहको मस्ती लोभलाग्दो अनि ‘घातक’ छ । 

 

देशभर चल्तीमा रहेका रेष्टुरेन्ट, बार र लाउन्जहरुले किशोर उमेरका केटाकेटी र युवा युवतीमाझ खुल्लमखुल्ला मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य चुरोट एवं हुक्काको प्रचार प्रसार गरिरहेछ ।

 

सम्बन्धित व्यापारिक संस्थाले आफ्नो फेसबुक पेज र प्रायोजित पेजमार्फत देशैभर आकर्षक विज्ञापन र तस्बिरका माध्यमबाट गर्ने प्रचारले अचेल बार र लाउञ्जमा युवायुवती झुम्मिएको देखिनु सामान्य भएको छ । आयमूलक कर्ममा लाग्नु अगावै ‘पार्टी एनिमल’ बन्ने बाटोमा लाग्न यस्तै पेजहरुले उत्प्रेरक भूमिका खेलेका छन् ।

 

पोखराको लेकसाइड र पामे क्षेत्रमा खुलेका रेष्टुरेन्ट र बारहरुले सामाजिक सञ्जालमा छरपस्ट फिँजाएको तस्बिर हेर्दा त्यहाँ यस्तै उमेर समूहको बाहुल्यता देखिन्छ । यस्तै तस्बिरले उनीहरुको व्यापार, व्यवसायको प्रचारमात्र गर्दैन भर्खर युवावस्थामा लाग्दै गरेका समूहलाई पनि ‘लत’ बसाइरहेको छ ।

 

जुनसुकै व्यापार/व्यवसायलाई प्रवद्र्धन गर्न बिना विज्ञापन सम्भव छैन । विज्ञापनको संसारमा अहिले सामाजिक सञ्जाल अगाडी छ । यही सञ्जालको मुख्य प्रयोगकर्तामा युवा वर्गको बाहुल्यता छ । यही सञ्जालमार्फत आउने गर्छन् धुवाँ र मदिरामा लट्ठिएका युवा/युवतीहरुको तस्बिर ।

 

कपिलनाथ कोइराला अध्यक्ष, उपभोक्ता मञ्च गण्डकी प्रदेश

 

सामाजिक सञ्जालमा प्रायोजितरुपमा आउने विज्ञापन र तस्बिरलाई निश्चित स्थान र उमेर समूहलाई लक्षित गरी प्रचारप्रसार गर्न मिल्ने हुँदा नचाहँदैमा कसैले त्यसलाई हेर्नबाट रोक्न मिल्दैन । सोही कारण यस्ता पेजहरु बढी प्रभावकारी भएका छन् ।

 

रेष्टुरेन्ट एवं बारका यस्ता प्रचारमूलक सामग्री आफुले पनि सामाजिक सञ्जालमा निरन्तर देखेको बताउँदै उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले यसलाई ‘जटिल विषय’को संज्ञा दिए ।

 

इन्टरनेटको माध्यमबाट आउने प्रायोजित विज्ञापनले एकातिर देशको पैसा बाहिरिने र अर्काेतिर सामाजिक क्षति बढ्ने उनको चेतावनी छ ।

 

‘व्यवसायीले नाफा कमाउँदा सामाजिक र व्यक्तिगत घाटा बढेको छ’ कोइराला भन्छन् ‘विज्ञापनदाताले उपभोक्ताको स्वास्थ्यमा पारेको असरको क्षतिपुर्ति भर्नुपर्छ ।’ तस्बिर र भिडियोको प्रभावले उपभोक्ता कालान्तरमा दुव्र्यसनी भएको प्रशस्तै उदाहरण यही समाजमा भएको उनले दाबी गरे ।

 

सम्बन्धित निकायले विज्ञापन र व्यवसायको प्रकार र उसले गर्ने बजारीकरणको स्पष्ट मापदण्ड बनाउँन नसक्दा उपभोक्ताको स्वास्थ्यमा असर परेको बताउँदै उनले यस विषयमा जिल्लास्थित सरोकारवाला नियकासँग छिट्टै छलफल गर्ने बताए ।

 

बजार अनुगमन र नियमनलेमात्रै यस्ता प्रायोजित सामग्रीलाई रोक्न सकिने उनको ठहर छ ।

 

सामाजिक सञ्जालको प्रभाव सबैभन्दा बढी भएको स्वीकार्छन् वरिष्ठ मनोचिकित्सक निर्मल लामिछाने ।

 

‘पहिले पहिले सञ्चारमाध्यममा रक्सी, चुरोटको विज्ञापन आउथ्यो’ लामिछानेले भने ‘सामाजिक र व्यक्तिगतरुपमा त्यसको दूरगामी असर परेको भएर नै रोकिएको हो ।’

निर्मल लामिछाने वरिष्ठ मनोचिकित्सक

 

विश्वमै रोकिएको त्यस्तो विज्ञापन अहिले सामाजिक सञ्जालमा छरपस्ट हुनु चिन्ताको विषय भएको उनको ठम्याई छ ।

 

‘सोसल मिडियालाई अनुशरण गर्ने, त्यहीबाट सिक्नेको संख्या ठूलो छ’ उनले भने ‘यही मिडियामा रक्सी र चुरोट सेवनको तस्बिरले युवावर्गलाई ध्वस्त बनाउँदैछ । ‘यस्ता पेज र विज्ञापन बन्द गर्नुपर्छ’ लामिछानेको सटिक भनाई छ ।

 

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रजिअ गुरुदत्त ढकाल भने यसमा नियमन गर्न आवश्यक भएको बताउँछन् । तर कसरी नियमन गर्ने भन्ने प्रश्नमा उनी लाचार सुनिए । 

 

प्रजिअ ढकाल भन्छन् ‘कम्पनी रजिष्ट्रार कार्यालय, कर कार्यालयले ठोस नीति बनाए सजिलो हुन्थ्यो, हामी शान्ति सुरक्षा दिने विषयमामात्र गम्भीर छौं ।’

 

प्रायोजित र लक्षित विज्ञापन सरकारी मापदण्ड विपरित भएपनि कुनै उजुरी नपरी एक्सनमा जान नमिल्ने ढकालको धारणा छ । 

 

व्यवसायीले कमसेकम मदिरा र सुर्तिजस्ता पदार्थको बिक्रीमा ‘वैधानिका प्रावधान’ उल्लेख गरेमात्रै पनि स्थिति भयावह नहुने केही अभिभावकाे धारणा छ ।

खोटाङ:    हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ टोली सहभागी हुने भएका छन् ।  लैङ्गिक हिङ्साविरुद्धको १६ दिने अभियानको अवसर पारेर नगरपालिकाले आयोजना...

थप पढ्नुहोस्

तनहुँ:    मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो ।  ...

थप पढ्नुहोस्

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।           ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल...

थप पढ्नुहोस्