काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। रविले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन्। उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलनबाट हेर्न र सुन्न सबैमा आग्रह समेत गरेका छन्। 'पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,'उनले लेखेका छन्। पुन:नागरिकता लिएपछि लामिछाने गृहमन्त्रालयमा दावी गर्दै आएका छन्। लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहबाहेक अन्य मन्त्रालय दिनसक्ने बताएपछि थप निर्णय लिने रास्वपाले केहीबेरमा केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाएको छ। गृहमन्त्री नपाउने भएपछि सरकार छोड्ने चेतावनी रास्वपाले दिएको छ। सोही विषयमा टुंगो आजको बैठकले लगाउने जनाएको छ। नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरिदिएपछि लामिछानेको उप्रधान,गृह र सांसद पद गुमेको छ।
भोजपुर: बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ । रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन् । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए । अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ । “बाँदरका कारण बस्ती नै खाली भएको छ”, उनले भने, “वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन ।” दश–बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतङ्क बढेको टेम्केमैयुङ–६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए । बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उनको भनाइ छ । “बाँदरले हामीलाई अति नै समस्यामा पारेको छ”, उनले भने, “बारीमा लगाएको हिउँदेबाली सम्पूर्ण नष्ट पारेको अवस्था छ । बाँदरले लगाएको बाली नष्ट पारेपछि यस वर्ष खेतमा गहुँ छरिन्, अन्नबाली जोगाउन अति नै समस्या छ ।” बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका–५ का स्थानीय धनबहादुर थापाले जानकारी दिए । “बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला–पहिला त भाग्थे”, उनले भने, “अहिले त धपाउँदा टेर्दैनन् । भगाउन पनि गाह्रो छ । दशदेखि पन्ध्र मिनेटमात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन् । बाँदरले हैरान बनाएको छ ।” बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ–दश वर्षमा धेरै बस्ती खाली हुने प्रधानको भनाइ छ । “बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ ।” बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् । “बाँदरको उपद्रो बढ्दो छ”, उनले भने, “एक घण्टामात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ । बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ । गाउँबस्ती नै आतङ्कित बनेको छ ।” बाँदर आतङ्कका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । यहाँका २० भन्दा बढी घर परिवार बाँदरका कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ । “मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ”, वडाध्यक्ष नेपालले भने, “यहाँको मुख्य समस्या नै बाँदर बनेको छ । नियन्त्रण गर्न धेरै उपाय लगाइयो । दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ । बाँदरले धेरै दुःख दिएपछि स्थानीयवासीले बस्ती नै छाडेको अवस्था छ ।” बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए । “धेरै किसानको मुख्य समस्या नै बाँदर बनेको अवस्था छ”, उनले भने, “स्थानीयस्तरबाट नियन्त्रण सम्भव छैन । दैनिकजसो स्थानीयको गुनासो आउँछ । बाँदरले बस्ती उजाड बनाएको अवस्था छ । उर्वरभूमि बाँझो बसेका छन् । राज्यले उचित विकल्पको खोजी गर्न आवश्यक छ ।” बाँदरको कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ ।
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्तबुझ्दो नभएको बताउनुभएको छ । शनिबार विमानस्थलस्थित आन्तरिकतर्फको टर्मिनल अनुगमनका क्रममा उहाँले तुलनात्मक रूपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रूपमा सुधार हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “तुलनात्मक रूपमा सुधारका काम देखिए पनि चित्तबुझ्दो सुधार भएको देखिएको छैन।” माघ पहिलो साता अनुगमनका क्रममा विमानस्थलका शौचालय र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिनुभएका मन्त्री किराँतीले यसअघिको निर्देशन गरिएका कुरा चित्तबुझ्दो रूपमा कार्यान्वयन नभएको बताउनुभयो। यात्रुको सहजताका लागि थुपै्र सुधारका काम बाँकी रहेकाले सर्वसाधारणले अनुभूति गर्ने गरी तत्काल सुधारका काममा ध्यान दिन उहाँले निर्देशन दिनुभयो। विमानस्थलमा रहेका ट्रलीहरूमा ब्रेक नभएको भन्दै तत्काल सुधार गर्न उहाँले थप निर्देशन दिनुभयो। यसअघिको अनुगमनका क्रममा मन्त्री किराँतीले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष, लिफ्ट, स्केलेटर र इलिभेटरको अनुगमन गर्नुभएको थियो। विमानस्थलमा आगमनतर्फ अहिले तीनवटा लिफ्ट, एउटा स्केलेटर र एउटा इलिभेटर छ। डिजाइनमै त्रुटि देखिएको स्केलेटरमा हाल ट्रली लान निषेध गरिएको छ। उहाँको निर्देशनलाई ध्यानमा राख्दै आगमन कक्ष व्यवस्थापनको जिम्मा लिएको आईएमएस एयरपोर्ट सर्भिसेजले लिफ्ट थप्ने र यात्रु बाहिर निस्किने मार्ग, प्रतीक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउने प्रतिबद्धता जनाएको छ। कम्पनीले केही दिनअघि विज्ञप्तिमार्फत १० जना यात्रु क्षमताको नयाँ एलिभेटर थप्न लागेको जनाएको छ। त्यस्तै ट्राभलेटरलाई सुरक्षित रूपमा प्रयोग गर्न मिल्ने ह्विल लकिङ सिस्टम भएका नयाँ ट्रली खरिद गरेर उपलब्ध गराउँदै आएको र व्यवस्थापनमा पनि सहजीकरण गरेको कम्पनीको दाबी छ। निःशुल्क वाइफाई व्यवस्था गर्न निर्देशन नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमानस्थलमा निःशुल्क वाइफाईको व्यवस्था गर्न निर्देशन दिएको छ। प्राधिकरणले देशभरका ३६ वटा विमानस्थललाई पत्राचार गर्दै आवतजावत गर्ने यात्रु तथा आगन्तुकको सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न निर्देशन दिइएको जनाएको छ।
धनगढी: प्रत्येक दुुई वर्षको अन्तरालमा हुने प्राज्ञिकको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा हुने भएको छ । प्राज्ञिक विद्यार्थी परिषद, नेपालले आज शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । परिषद्ले आत्मनिर्भर अर्थतन्त्र र भष्ट्राचार नियन्त्रणका लागि नवौँ राष्ट्रिय अधिवेशन भन्ने मूूल ध्येयको साथ परिषद्को नवौँ राष्ट्रिय अधिवेशन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अधिवेशन आगामी चैत १८, १९ र २० गने सुदरपश्चिम प्रदेश धनगढीमा हुने छ । अधिवेशनमा उद्घाटन समारोह, शोभा यात्रा, खुल्ला अधिवेशन, प्रस्ताव सत्रहरु रहने छन् । भने राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय महासचिवको निर्वाचनसहित केन्द्रिय कार्यकारिणी समितिको घोषणा हुने जनाइएको छ । त्यस्तै अधिवेशनमा समाजसेवी युवाहरुलाई राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरुस्कारद्वारा सम्मान गरिने छ ।
केप क्यानाभेरल (फ्लोरिडा): खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा गत सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ । पत्ता लागेका नयाँ चन्द्रमा आकारमा ०.६ माइलदेखि दुई माइल सम्मका छन् । आगामी एप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ भने अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा) ले पनि आगामी वर्ष अर्को यान प्रक्षेपण गर्नेछ । खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् । बृहस्पतिका नयाँ चन्द्रमाको नामकरण हुन बाँकी छ । पत्ता लागेका नयाँ चन्द्रमामध्ये आधा धेरै साना छन् ।
तनहुँ: तनहुँको व्यास नगरपालिकाद्धारा सञ्चालित गौ संरक्षण केन्द्रले भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् । गौसंरक्षण केन्द्रमा बुढा भएर मरेका गाई तथा गोरु भोजनको लागि दिन थालेपछि गिद्धको बथान देख्न थालिएको हो । प्राकृतिक कुचीकारको रूपमा चिनिने गिद्ध संरक्षण गर्ने उद्देश्यले व्यास नगरपालिका–१०, दुम्सी, सिशुवा भतेरीमा गिद्धको लागि आहाराको व्यवस्था गरिएको छ । आहारा पाएपछि त्यस क्षेत्र वरपर विभिन्न प्रजातिका गिद्धहरूको बथान देख्न सकिन्छ । आहाराको कमी र विषाक्त आहारा भएकोले बिरामी हुने मर्ने जस्ता कारणले गिद्धहरू लोपहुँदै गएकाले गिद्धहरूको आहारको व्यवस्था गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । गाई संरक्षण केन्द्रको लागि तीन वटा कर्मचारीको व्यवस्था र वार्षिक १० देखि १५ लाख रुपियाँको पराल तथा चोकरको लागि दिइने गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । ‘‘प्रकृतिमा सबैले बाच्ने वातावरण पाउनु पर्छ खाना नभएपछि गिद्ध लोप भएर जाने अवस्था आएकोले गौ संरक्षण केन्द्र मार्फत आहाराको व्यवस्था गरेका छौँ’’ नगर प्रमुख न्यौपानेले भन्नुभयो । विद्युत हाइटेन्टन तारमा परेर गिद्धहरू मर्ने गरेकाले त्यसबाट जोगाउनको लागि नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराइएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । छाडा चौपायाले सडक अवरुद्ध गर्नुको साथै दुर्घटना समेत हुन थालेपछि व्यास नगरपालिकाको सहयोगमा स्थापना गरिएको शिवालय गौ संरक्षण केन्द्रमा मरेका गाईबस्तुलाई नगाडी सोही ठाउँ नजिकै मादी नदीको किनारको चौरमा यत्तिकै राखी दिन थालेपछि गिद्धहरू आउन थालेको निवर्तमान वडाध्यक्ष तथा शिवालय गौ संरक्षण केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । गौ संरक्षण गर्नु अघि गिद्धहरू देखिन कठिन हुने गरेपनि अहिले दैनिक विभिन्न प्रजातिका ६० देखि ७० वटा गिद्धहरू आउने गरेको सापकोटाले बताउनुभयो । ‘‘सबै गिद्धहरूको नाम त जान्दैनौँ सापकोटाले भन्नुभयो, घाँटी खुइले, हिमाली, गरुड, सेतो, राजा, घाँटी लामो भएका र स्थानीय जातका गरी करिब नौ प्रजातिका गिद्धहरू देखिन थालेका छन् । चार वर्ष अघिबाट गौ संरक्षण थालिएको हो ।’’ तीन वटा ब्लकमा गरी करिब तीन सय रोपनी सार्वजनिक क्षेत्रफलमा गौ संरक्षण गरिनुको साथै गाईको मल, मूत्र र कुहिने फोहोरलाई प्रयोग गरी बायोग्याँस प्लान्ट निर्माण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि गौ संरक्षण केन्द्रको लागि मद्दत गर्दै आएको छ । गाई बिरामी हुँदा पनि पशुचिकित्सको सल्लाहले सिनो खाने क्रममा गिद्ध नमर्ने औषधी खुवाउने गरिएको केन्द्रका प्रमुख डा।बालकुमार श्रेष्ठले बताउनुभयो । पाँच लाख रुपियाँको लागतमा गाइको आवासको लागि टहरो निर्माण गरिदिएको र औषधि उपचारमा मद्दत गरिएको केन्द्रका प्रमुख डा। श्रेष्ठ बताउनुहुन्छ । छाडा गाईबस्तुको पालन गर्नाले वातावरणीय सन्तुलन राख्नको लागि सहयोग पुग्ने हुँदा गौ पालनसँगै गिद्ध संरक्षणको लागि सहयोग पुगेको उहाँले बताउनुभयो । सरकारले पनि २०६३ साल जेठबाट ‘डाइक्लोफेनिक’ औषधि बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । उक्त औषधिले गिद्ध मर्ने र बाँच्न असजिलो हुने भएपछि प्रतिबन्ध लगाइएको केन्द्रले जनाएको छ । सो केन्द्रमा १०० वटा गाईलाई संरक्षण गर्दै आएको छ । व्यास नगरपालिकाले केन्द्रको लागि १२ लाख रुपियाँको लागतमा तारबार गरिदिएको केन्द्रले जनाएको छ । वातावरण प्रदूषण हुन नदिई मानव जातिलाई सन्तुलित वातावरण निर्माण गर्नु गिद्धको प्रमुख भूमिका हुने डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । गिद्ध संरक्षणको लागि व्यास नगरपालिकाले गरेको प्रयास उदाहरणीय भएको बताउनुभयो । ‘‘कोभिड लगायतका रोगहरू पनि वातावरणसँग सम्बन्धित छन्, प्रकृतिमैत्री तरिकाबाट विकास निर्माण गर्ने, खानाको व्यवस्थापन गर्नु जरुरी छ’’ काफ्लेले भन्नुभयो । केही वर्ष हराएपनि लोपोन्मुख अवस्थामा रहेको गिद्ध फेरि बथानमै देखिन थालेको सो ठाउँ स्थित शिसुवा भतेरी कृषि सहकारीका अध्यक्ष यज्ञ प्रसाद शर्माले जानकारी दिनुभयो । ‘‘आहारको व्यवस्थापन गर्नु अघि नदेखिएकोले गिद्ध जिल्लाबाट हराइसकेको जस्तो लागेको थियो अहिले बथानै देखिन थालेको छ । शर्माले भन्नुभयो, ‘‘सिनो हराएसँगै गिद्ध पनि हराएका थिए । आहार पाएपछि बढेका छन् । गाउँलेहरूले गाई गोरु मर्दा पनि गाड्न थालेपछि आहार नपाउने भएपछि गिद्ध हराएका थिए ।’’ २० वर्षअघि सिनो छाड्ने ठाउँमा प्रशस्त गिद्धहरू भेटिने गरेका थिए । अग्ला सिमलका रुखमा गुँड लगाएका देखिथ्ये । तर बीचमा हराए पनि हाल भोजन पाउन थालेपछि फेरि देखिन थालेको शर्माले बताउनुभयो । गिद्धलाई स्थानीयले वातावरण सरसफाइ र दुर्गन्ध रोकथामको प्रतीकका रूपमा लिने गर्छन् । गिद्धले गाउँसमाज र वातावरणमा भएको फोहरमैला, सिनोलगायत बस्तुलाई प्रमुख आहारका रूपमा खाने झाडा पखाल जस्ता रोग समाजमा नफैलिएको अध्यक्ष शर्मा बताउनुहुन्छ । विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकोमा एसियामा ९ र नेपालमा ८ प्रजातिका गिद्ध पाइने गरेका छन् । सानो खैरे, राज हिमाली, खैरे, हाडफोर डंगर, सुन र गोब्रे नेपाल पाइने बताइन्छ । गिद्धलाई वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कूचीकारका रूपमा लिने गरिन्छ ।
चितवन: स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् । उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरे । ‘यहाँ पालेको तरकारीमा किसानको पसिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन’ तरकारी किसान लेखनाथ भुसालले भने, ‘हाम्रो दुःख र पसिना यसै गयो ।’ उनले सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको गुनासो गरे । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको भुसालले बताए । तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए । लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग उनीहरुले गरे । किसानहरुको प्रर्दशनका कारणले केहीबेर राजमार्गमा सवारी साधान सञ्चालनमा समस्या भएको थियो । किसानहरुले थप शशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
अन्य दिनमा भन्दा शुक्रबारको साँझ लेकसाइडले मादक शैलीमा निम्ता दिन्छ पोखरेली र बाह्य पर्यटकलाई । यद्यपि, लाउञ्ज र बारहरुमा स्थानीय किशोर किशोरीको जमघट बढी हुन्छ । त्यसो त सबै उमेर समूहका ‘पार्टी गोएर्स’ भेटिन्छन् ताल किनारमा तर युवावस्थामा पाइँला राख्दै गरेका समूहको मस्ती लोभलाग्दो अनि ‘घातक’ छ । देशभर चल्तीमा रहेका रेष्टुरेन्ट, बार र लाउन्जहरुले किशोर उमेरका केटाकेटी र युवा युवतीमाझ खुल्लमखुल्ला मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य चुरोट एवं हुक्काको प्रचार प्रसार गरिरहेछ । सम्बन्धित व्यापारिक संस्थाले आफ्नो फेसबुक पेज र प्रायोजित पेजमार्फत देशैभर आकर्षक विज्ञापन र तस्बिरका माध्यमबाट गर्ने प्रचारले अचेल बार र लाउञ्जमा युवायुवती झुम्मिएको देखिनु सामान्य भएको छ । आयमूलक कर्ममा लाग्नु अगावै ‘पार्टी एनिमल’ बन्ने बाटोमा लाग्न यस्तै पेजहरुले उत्प्रेरक भूमिका खेलेका छन् । पोखराको लेकसाइड र पामे क्षेत्रमा खुलेका रेष्टुरेन्ट र बारहरुले सामाजिक सञ्जालमा छरपस्ट फिँजाएको तस्बिर हेर्दा त्यहाँ यस्तै उमेर समूहको बाहुल्यता देखिन्छ । यस्तै तस्बिरले उनीहरुको व्यापार, व्यवसायको प्रचारमात्र गर्दैन भर्खर युवावस्थामा लाग्दै गरेका समूहलाई पनि ‘लत’ बसाइरहेको छ । जुनसुकै व्यापार/व्यवसायलाई प्रवद्र्धन गर्न बिना विज्ञापन सम्भव छैन । विज्ञापनको संसारमा अहिले सामाजिक सञ्जाल अगाडी छ । यही सञ्जालको मुख्य प्रयोगकर्तामा युवा वर्गको बाहुल्यता छ । यही सञ्जालमार्फत आउने गर्छन् धुवाँ र मदिरामा लट्ठिएका युवा/युवतीहरुको तस्बिर । कपिलनाथ कोइराला अध्यक्ष, उपभोक्ता मञ्च गण्डकी प्रदेश सामाजिक सञ्जालमा प्रायोजितरुपमा आउने विज्ञापन र तस्बिरलाई निश्चित स्थान र उमेर समूहलाई लक्षित गरी प्रचारप्रसार गर्न मिल्ने हुँदा नचाहँदैमा कसैले त्यसलाई हेर्नबाट रोक्न मिल्दैन । सोही कारण यस्ता पेजहरु बढी प्रभावकारी भएका छन् । रेष्टुरेन्ट एवं बारका यस्ता प्रचारमूलक सामग्री आफुले पनि सामाजिक सञ्जालमा निरन्तर देखेको बताउँदै उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले यसलाई ‘जटिल विषय’को संज्ञा दिए । इन्टरनेटको माध्यमबाट आउने प्रायोजित विज्ञापनले एकातिर देशको पैसा बाहिरिने र अर्काेतिर सामाजिक क्षति बढ्ने उनको चेतावनी छ । ‘व्यवसायीले नाफा कमाउँदा सामाजिक र व्यक्तिगत घाटा बढेको छ’ कोइराला भन्छन् ‘विज्ञापनदाताले उपभोक्ताको स्वास्थ्यमा पारेको असरको क्षतिपुर्ति भर्नुपर्छ ।’ तस्बिर र भिडियोको प्रभावले उपभोक्ता कालान्तरमा दुव्र्यसनी भएको प्रशस्तै उदाहरण यही समाजमा भएको उनले दाबी गरे । सम्बन्धित निकायले विज्ञापन र व्यवसायको प्रकार र उसले गर्ने बजारीकरणको स्पष्ट मापदण्ड बनाउँन नसक्दा उपभोक्ताको स्वास्थ्यमा असर परेको बताउँदै उनले यस विषयमा जिल्लास्थित सरोकारवाला नियकासँग छिट्टै छलफल गर्ने बताए । बजार अनुगमन र नियमनलेमात्रै यस्ता प्रायोजित सामग्रीलाई रोक्न सकिने उनको ठहर छ । सामाजिक सञ्जालको प्रभाव सबैभन्दा बढी भएको स्वीकार्छन् वरिष्ठ मनोचिकित्सक निर्मल लामिछाने । ‘पहिले पहिले सञ्चारमाध्यममा रक्सी, चुरोटको विज्ञापन आउथ्यो’ लामिछानेले भने ‘सामाजिक र व्यक्तिगतरुपमा त्यसको दूरगामी असर परेको भएर नै रोकिएको हो ।’ निर्मल लामिछाने वरिष्ठ मनोचिकित्सक विश्वमै रोकिएको त्यस्तो विज्ञापन अहिले सामाजिक सञ्जालमा छरपस्ट हुनु चिन्ताको विषय भएको उनको ठम्याई छ । ‘सोसल मिडियालाई अनुशरण गर्ने, त्यहीबाट सिक्नेको संख्या ठूलो छ’ उनले भने ‘यही मिडियामा रक्सी र चुरोट सेवनको तस्बिरले युवावर्गलाई ध्वस्त बनाउँदैछ । ‘यस्ता पेज र विज्ञापन बन्द गर्नुपर्छ’ लामिछानेको सटिक भनाई छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रजिअ गुरुदत्त ढकाल भने यसमा नियमन गर्न आवश्यक भएको बताउँछन् । तर कसरी नियमन गर्ने भन्ने प्रश्नमा उनी लाचार सुनिए । प्रजिअ ढकाल भन्छन् ‘कम्पनी रजिष्ट्रार कार्यालय, कर कार्यालयले ठोस नीति बनाए सजिलो हुन्थ्यो, हामी शान्ति सुरक्षा दिने विषयमामात्र गम्भीर छौं ।’ प्रायोजित र लक्षित विज्ञापन सरकारी मापदण्ड विपरित भएपनि कुनै उजुरी नपरी एक्सनमा जान नमिल्ने ढकालको धारणा छ । व्यवसायीले कमसेकम मदिरा र सुर्तिजस्ता पदार्थको बिक्रीमा ‘वैधानिका प्रावधान’ उल्लेख गरेमात्रै पनि स्थिति भयावह नहुने केही अभिभावकाे धारणा छ ।
विराटनगर : लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित नेपाल प्रहरीका एक जना जुनियर अधिकृत विराटनगरबाट पक्राउ परेका छन्। भारतको जोगवनीदेखि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका-१५ रानीस्थित १ नम्बर ढाटबाट असइ (प्रहरी सहायक निरीक्षक) घनश्याम लाखे पक्राउ परेका हुन्। उदयपुरको कटारी नगरपालिका-५ घर भएका ३० वर्षीय लाखे प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकलमा सवार थिए। लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार दिउँसो ४:२० बजेतिर मोटरसाइकल रोकेर चेकजाँच गर्दा १.५२ ग्राम ब्राउन सुगर फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए। उनका अनुसार इलामको प्रहरी चौकी कर्फोक दरबन्दी भएका लाखे इलामकै इलाका प्रहरी कार्यालय मंगलबारेमा कार्यरत रहेको खुलेको छ। ब्राउन सुगर बरामद भएसँगै असइ लाखेले चलाएको मोटरसाइकलको पछाडि बसेका इलामको माङ्सेबुङ गाउँपालिका-२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ। दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी एसपी राईले दिए। उनका अनुसार घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान अघि बढाएको छ। ब्राउन सुगरको धन्दामा संलग्न रहेको पाइएपछि यसअघि गत मंगलबार पनि विराटनगरबाट नेपाल प्रहरीका सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका थिए। सुरुमा १ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका विराटनगर-१५ का २० वर्षीय नजाम खानले नाम लिएपछि हवल्दार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट भारतको जोगवनीदेखि नेपालतर्फ ब्राउन सुगर भित्राउन यादवले खानलाई भरियाको रूपमा प्रयोग गरेको खुलेको छ। विराटनगर-१४ मा बस्दै आएका यादव वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भई विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत थिए।