पोखरा जेसीजको वर्ष २०२५ को अध्यक्षमा भाइराज राना मगर सर्वसम्मत चयन भएका छन् ।   पोखरा जेसीजको ४५ औं शाखा अधिवेशन तथा ५० औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन ...

शुक्रबार बिहानदेखि पोखरामा पृथ्वी राजमार्गको सडक सञ्जाल टुटेको छ । तनहुँको आँबुखैरेनी ४ मा सडक भाँस्सिएपछि पोखरा र गण्डकी क्षेत्रमा अत्यावश्यक सामग्रीको अभाव हुन नदिन आज जिल्ला प्रशासन कार्यालयको रोहबरमा आपतकालीन बैठक बसेको छ ।    बैठकमा मूलतः औषधिजन्य सामग्री, उपभोग्य वस्तु र पेट्रोल एवं डिजेलको अभाव हुन नदिन सम्बन्धित निकायका प्रमुखसँग छलफल चलाइएको प्रशासन कार्यालयले जनाएको छ ।   सडक सम्पर्क विच्छेद भएपछि अत्यावश्यक वस्तुको कृतिम अभाव र मूल्यवृद्धि हुन नदिन अनुगमन सुरु गरिएको बैठकमा सहभागी उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपीलनाथ कोइरालाले जनाएका छन् ।    काेइरालाको अनुसार गण्डकी क्षेत्रमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने डीपोमा हाल २ सय ८० (केएल) किलोलिटर पेट्रोल र १४ सय केएल डिजल स्टक रहेको छ । हालको मागअनुसार यस क्षेत्रमा दैनिक १ सय केएल पेट्रोल र २ सय केएल डिजलको माग रहेको छ । आज शनिबार परेकाले दैनिक खपतमा केही कमी हुने प्रशासनको विश्वास छ ।    सडक भाँस्सिएको स्थानमा मर्मत गर्न सडक डिभिजन कार्यालय पोखराले ४ दिनको समय मागेको छ । उक्त ४ दिन पोखरामा आपूर्ति अवरुद्ध नहोस् भन्ने हेतुले बैठक बसेको हो । ४ दिनभन्दा बढी समय लागे पेट्रोल र डिजल सिद्धार्थ राजमार्ग हुँदै पोखरा र आसपासका जिल्लामा ढुवानी गर्नुपर्ने हुन्छ ।    तर सिद्धार्थ राजमार्गबाट ढुवानी गर्न ठूला ट्यांकरमार्फत सम्भव छैन । यस राजमार्गको राम्दीखण्डमा रहेको पुलले अत्यधिक भारवहन गर्न नसक्ने हुँदा १० टन भारवहन क्षमताको ट्यांकरबाट ढुवानी गर्नुपर्ने हुन्छ ।    बैठकमा सहभागीहरुले सडक ४ दिनभित्र सुचारु हुने र अत्यावश्यक वस्तुको अभाव हुन नदिने भन्दै अत्यधिक मात्रामा पेट्रोल डिजल खरिद गरी भण्डारण नगर्न अनुरोधसमेत गरेको छ । भण्डारण गर्दा अनावश्यक क्षति हुने र बजारमा अभाव देखिने भन्दै प्रशासन कार्यालयले आग्रह गरेको हो ।    त्यस्तै पेट्रोल पम्प सञ्चालकहरुलाई पनि जर्किन एवं अन्य भाँडामा भण्डारण गर्ने उद्देश्यले पेट्रोल एवं डिजल नदिन जानकारी गराइसकिएको छ ।    बैठकमा नेपाल प्रहरी, नेपाली सेना उपभोक्ता मञ्च एवं सरोकारवालाहरुका सहभागिता थियो । 

काठमाडौँ :      नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन । नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ ।   विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यावसायी र कक्षा ४ देखि १० सम्म सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएका छन् ।    निजी क्षेत्रले माथिल्लो तहका पाठ्यपुस्तक पनि छपाइ गरिरहेका छन् । विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको विषय सङ्घीय संसद् र सञ्चारमाध्यममा दैनिकजसो उठिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र भने आफूले छाप्न बाँकी रहेकाबाहेक छापिइसकेका पुुस्तक पनि सम्बन्धित विद्यालयमा नपुगेको जनाइरहेका छन् ।    मन्त्रालयका सचिव एवं केन्द्रको सञ्चालक समितिका यादवप्रसाद कोइरालाले आज केन्द्रका अधिकारीलाई अपुग भएका क्षेत्रबाट तथ्याङ्क लिएर छिटोछरितोरुपमा बिक्रीवितरण गर्न निर्देशन दिनुभएको छ । चालू शैक्षिकसत्रका लागि कक्षा ४ देखि १० सम्म कूल एक करोड ९८ लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकामा आजसम्म १ करोड ८० लाख थान (करिब ९० प्रतिशत) उत्पादन भइकेको केन्द्रको भनाइ छ । छपाइ भइसकेकामध्ये कतिपय पुस्तक ढुवानीका क्रममा रहेको र विद्यालयमा पुग्न बाँकी रहेकाले नपुग भएको गुनासो आएको केन्द्रका प्रवक्ता चित्र आचार्यले बताउनुभयो ।    दैनिक एक लाख पाठ्यपुस्तक उत्पादन गर्दै आएको केन्द्रबाट आज मात्रै सुर्खेत र चितवनका लागि पाठ्यपुस्तक ढुवानी भएको छ । आचार्यले अबको १५ दिन (असार १० गतेभित्र)  बाँकी सबै (करिब १५ लाख थान) पुस्तक छपाइ सम्पन्न गरिने जनाउँदै बजारमा समानुपातिक वितरण नहुँदा यो समस्या आएको बताउनुभयो । हाल कक्षा ६ र ८ का सामाजिक, अङ्ग्रेजी र नेपाली विषयका पुस्तक बढी अभाव देखिएको छ । ती पुस्तक निजी क्षेत्रले पनि उत्पादन गरेकाले केन्द्र र निजी क्षेत्रबीचको समन्वय नहुँदा कहाँ कति विद्यार्थीका लागि कसले कति उत्पादन र वितरण गर्ने भन्ने तथ्याङ्कको अभाव पनि देखिएको छ ।    कक्षा ५, ८ र १० का पाठ्यपुस्तक आगामी शैक्षिकसत्रमा परिवर्तन (कोर्स आउट) हुने भएकाले पनि केन्द्रले भण्डारमा नरहने गरी यस वर्षका लागि आवश्यक सङ्ख्यामा मात्रै उत्पादन गरिरहेको छ । यस्तै पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ४, ७ र ९ का अनुदित (अंग्रेजी माध्यम) का पाठ्यपुस्तकको मुद्रणीयप्रति (सिआरसी) प्राप्त नभएकाले पनि माग भए पनि आफूहरुले अनुदित पुस्तक दिन नसकिएको केन्द्रको भनाइ छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पनि पढाइ हुन थालेको र कति विद्यालयमा अनुदित पुस्तक चाहिने भन्ने तथ्याङ्क पनि सरकारी नियकासँग उपलब्ध छैन ।   कतिपय सन्दर्भमा स्थानीय बिक्रेताले केन्द्रका प्रादेशिक कार्यालयबाट समयमा नलैजाने, बिक्रेतासँग उपलब्ध हुँदाहुँदै पनि विद्यालयले समयमा खरिद नगर्नेजस्ता कारणले विगतमा पनि विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको देखिन्छ ।   केन्द्रले सार्वजनिक सूचना जारी गरी स्थानीय बिक्रेताकोमा पाठ्यपुस्तक उपलब्ध नभए कक्षा र विषय खुलाइ स्थानीय बिक्रेतामार्फत् केन्द्रका प्रादेशिक कार्यालयका साथै सम्बन्धित तह, शिक्षा विकास तथा समन्वय इकाइ र जनक शिक्षाको केन्द्रीय कार्यालय सानोठिमीमा जानकारी गराउन आग्रह गरेको छ ।    केन्द्रले स्थानीय बिक्रेतामार्फत ७७ वटै जिल्लामा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक ढुवानी गरी यही जेठ ५ गतेदेखि बिक्री वितरण गर्दै आएको छ । पाठ्यपुस्तक छपाइ र वितरणमा निजी क्षेत्रबाट संलग्न मुद्रण व्यावसायी दीपक भण्डारीले आफूहरुलाई प्राप्त भएको अभावको सूचनाका आधारमा प्रदेशगतरुपमा पनि समन्वय गरी उपलब्ध गराउने गरिएको बताउनुभयो ।    उहाँले हालै आफूले हुम्ला, डोल्पा र विराटनगरमा समन्वय गरी अभावको समस्या समाधान गरेको जनाउनुभयो ।  

काठमाडौँः     “छोरीले जन्म लिनु नै पाप हो त ! दिनानुदिन सुनिनसक्नु, हेरिनसक्नु घटना बढिरहेका छन्”, महिला हिंसा, हत्या र बलात्कारका घटनाप्रति लक्ष्य गर्दै भावुक मुद्रामा सांसद आशाकुमारी विकले प्रश्न गर्नुभयो, “हिजो मात्रै सुर्खेतमा सात वर्षीया बालिका गृश्म विक चार दिनपछि मृत फेला परेको र बाँकेको खजुरामा जन्मदिन मनाउन गएकाको सामूहिक बलात्कार जस्ता जघन्य अपराध गर्ने दोषीलाई कारबाही गर्नुको साटो सरकार किन टुलुटुलु हेरेर बसिरहेको छ ?”      जनताका आवाजलाई जनप्रतिनिधिले मुखरित गर्ने सार्वभौम संसद्मा सांसदहरुले निकै गम्भीरतापूर्वक यस्ता प्रश्न उठाइरहेका छन् । संसदीय प्रणालीअनुसार व्यवस्थापिकाको जिम्मेवारी पाएको संसद्मा उठेका आवाज र दिइएका निर्देशनलाई कार्यान्वयन गर्नु कार्यपालिका (सरकार) को दायित्व हुन्छ ।             बाँकेको राप्तीसोनारी निवासी १६ वर्षीया किशोरीमाथि बाँकेकै वैजनाथ बस्ने हेमराज थारूले आफ्नो जन्मदिनको कार्यक्रममा आमन्त्रण गरी अन्य छजना साथीहरुसँग फूलबारी भन्ने स्थानमा लगेर सामूहिक बलात्कार गरेका थिए । त्यसो त गृहमन्त्री बालकृष्ण खाँणले महिला हिंसाका तीलगायत छवटा घटनाबारे सभामुखको रुलिङबमोजिम प्रतिनिधिसभामा मङ्गलबार जानकारी गराउनुभएको थियो ।    गृहमन्त्री खाणले बाँकेको राप्तीसोनारी निवासी १६ वर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारको घटना ज्यादै दुःखद र निन्दनीय भएको उल्लेख गर्दै उहाँले बलात्कारमा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइसकेको बताउनुभएको थियो । उहाँले खजुराको धनौजीको प्रहरी चौकीले घटनामा संलग्न सात जनालाई पक्राउ गरेको र स्थानीय प्रशासनको सहयोगमा पीडित किशोरीको उपचार भइरहेको जानकारी दिनुभएको थियो ।       “यौन हिंसालाई दुरुत्साहन गर्ने, बलात्कार र सामूहिक बलात्कारमा प्रताडित भएका नारीलाई सम्मानजनक जीवनयापनका लागि वातावरण तयार गर्नुपर्ने र त्यसका लागि आवश्यक कानुनी प्रावधानलाई संशोधन र परिमार्जन गर्नुपर्ने आवाजसँग सहमत छु”, गृहमन्त्रीको भनाइ थियो । सरकारको उक्त प्रतिबद्धतालाई स्मरण गराउँदै आज पनि सांसदहरुले ती घटनामा प्रश्न उठाएका हुन् ।        आजको बैठकमा सांसद गङ्गा चौधरी (सत्गौवा) ले मुलुकमा हत्या, बलात्कार लगायतका घटना बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । “बर्दियाको मधुवनकी अस्मिता थारू खेतमा पानी पु¥याउन गएकी घाइते भएर उपचाररत हुनुहुन्छ, जेठ १० गते कौशिल्या सिंहको पनि बाघको आक्रमणबाट मृत्यु भएको छ, पटक पटक गरेर २३ जनाको हत्या भइसक्दा पनि सम्बन्धित निकाय मौन बसेपछि जनताले आवाज उठाउँदा उनीहरुप्रति प्रहरी प्रशासनले हस्तक्षेप गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँछु”, उहाँले भन्नुभयो ।     सांसद अमृता थापाले देशमा बालिका र किशोरीले बाँच्न पाउनुपर्ने वातावरण सिर्जना हुनुपर्ने बताउनुभयो । हालै इटहरीमा १५ वर्षीया किशोरीलाई विराटनगरका २३ वर्षीय विनोदकुमार मण्डलले गाडी चडाउने बाहनामा बेपत्ता बनाएको घटनाको अहिलेसम्म प्रहरी प्रशासनले चासो नदिएको भन्दै उहाँले तत्काल सत्यतथ्य पत्तालगाई दोषीमाथि कारवाही गर्न माग गर्नुभयो ।       शून्य समयमा बोल्ने सांसदले देशमा हत्या, हिंसा, बलात्कारलगायतका घटना दिनप्रतिदिन बढिरहेको तथा परीक्षाको मुखमा पनि देशभरका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । जघन्य अपराधका दोषीलाई कडा कारवाही गर्न र तत्काल पाठ्यपुस्तक छापेर देशभरका विद्यालयमा पुर्याउने व्यवस्था मिलाउन जोडदार माग गर्नुभयो । सांसद् उमाशंकर अरगरियाले किसानलाई मल नभएकामा चिन्ता व्यक्त गर्दै वर्षेनी यस्तो समस्या किन आउँछ भनेर प्रश्न गर्नुभयो ।       सांसदहरुले कृषिसँग सम्बन्धित विषयमा सरकारले बजेटमा केही राम्रा योजना ल्याएको भन्दै त्यसको व्यवहारिक कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । आज विभिन्न चार मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले कृषि उत्पादन प्रवद्र्धन र प्रोत्साहनसम्बन्धी कार्यक्रमलाई कार्यान्वयनको चरणमा लैजान माग गर्नुभयो ।    उहाँले बजेटमा लोकप्रिय कार्यक्रमको रुपमा किसान पेन्सनको अवधारणा ल्याइएकामा सरकारलाई धन्यवाद दिँदै कतिवर्षसम्मका किसानलाई यस्तो पेन्सान दिने भन्ने व्यवस्था अपुष्ट रहेको बताउनुभयो । उहाँले किसानले पेन्सन पाउन उनीहरुको सूचिकरण र वर्गीकरण गरिनु अपरिहार्य भएको उल्लेख गर्नुभयो । सांसद भट्टराईले वर्षायाम सुरु भइसक्दा पनि अहिले किसानले मल पाउने अवस्था नरहेको भन्दै तत्काल व्यवस्था गर्न माग गर्नुभयो ।       सांसद गगनकुमार थापाले बजेटले कृषिलाई उच्च प्राथमिकता दिइनु प्रसंशनीय विषय रहेको भन्दै उत्पादनमूलक उद्योग प्रवद्र्धन र निर्यातजन्य वस्तुको प्रोत्साहनमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि उत्पादन बढाउन किसानलाई प्रयाप्त मल, आधुनिक उपकरणको सहजिकरणजस्ता विषयलाई सरकारले सहुलियत दिनुपर्ने खाँचो औंल्याउनुभयो । मल मौज्दात सीमित भएको, हरेक सरकारको पालामा मलको समस्या उस्तै रहने गरेको भन्दै यसको दीर्घकालीन समाधानका लागि विशेष कार्यक्रम ल्याइनुपर्ने उहाँले बताउनुभयो । सांसद अमनलाल मोदीले बजेटले किसानलाई उत्साहित बजाएको भन्दै कृषि उपज खपत र बजारीकरणमा ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो ।              मन्त्रीहरु नदेखिँदा     बैठकमा सांसद विमला विकले संसद् भवनभित्र जहिल्यै पाँच मिनेट घण्टी बज्नुपर्नेमा २५ मिनेटसम्म बज्दा घडी बिग्रियो कि भनेर हेर्दा मन्त्री नआएर लामो समय घण्टी बजेको थाहा लागेको भन्दै व्यङ्ग्य गर्नुभयो ।    सांसद् डा विजय सुब्बाले सम्बन्धित मन्त्रालयका मन्त्रीहरु पनि उपस्थित नहुँदा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलको कतिको सार्थकता हुन्छ भनेर प्रश्न गर्नुभयो । सांसद दिव्यमणि राजभण्डारीले प्रतिपक्षी सांसदले मन्त्रीहरुको अनुपस्थितिबारे प्रश्न उठाउँदा आफूहरु पनि नाजवाफ हुनु परेको अनुभव सुनाउनुभयो ।      आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल जारी रहेको छ ।  

 म्याग्दी:     यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जङ्गलमा ऐँसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो लगायतका जङ्गली फलफूल पाकेका छन् । तर, गाउँघर युवाविहीन भएका र सहर बजारबाट मानिस गाउँ नउक्लिएकाले पौष्टिकताले युक्त स्वादिष्ट ‘अग्र्यानिक’ जङ्गली फलफूल जङ्गलमा नै कुहेर खेर गइरहेका छन् ।   विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गाउँ पुगेका युवा जङ्गली फलफूलको स्वादमा रमाएका भए पनि यस वर्ष भने ती फलफूल चराको आहारा र कुहेर खेर गएको स्थानीयले बताएका छन् ।   गत दुई वर्ष विदेश र शहरबाट आएका युवाको गाउँको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको थियो । “यस वर्ष जङ्गलमा तीजु पाकेर खेर गए, अहिले चुत्रो र ऐँसेलु पाकेको छ, तर खाने मान्छे नहुँदा ती फलफूल त्यत्तिकै जङ्गलमा खेर गइरहेका छन्”, गौश्वाराका चन्द्रकान्त रिजालले भन्नुभयो, “पछिल्लो समय गाउँका बस्ती सुनसान भएका छन् । जङ्गलमा पाकेका मौसमी फलफूल त्यत्तिकै खेर गइरहेका छन् ।”   वनस्पति, कृषि र मानवस्वास्थ्यमा पछिल्लो समय जलवायु परिवर्तनका असर प्रत्यक्षरुपमा देखिन थालेका छन् । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुले । त्यसैगरी काफल र ऐँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको स्थानीय बताउँछन् ।   फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका थिए । जिल्लाका जङ्गलमा पुसदेखि नै लालीगुराँस फुल्नाका साथै जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका थिए । यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमानअर्थात जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरण संरक्षणकर्मी चन्द्रमणि सापकोटाले बताउनुभयो ।      सापकोटाका अनुसार समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।   अन्य, फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा समेतमा यसको असर देखिएको मङ्गला गाउँपालिकाका हरिकृष्ण पौडेलले बताउनुभयो । “अहिले बेमौसममा नै काफल, तिजु लगायत जङ्गली फल पाकेको र अन्नबालीको फल लाग्ने र खेती गर्ने समय समेतमा नजाँनिदो गरी परिवर्तन आएको छ,” उहाँले भन्नुभयो ।

बागलुङ:        पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो ।     त्यसबेला आरक्षमा दुई हजार २०२ नाउर र ३८८ झारल भेटिएका थिए । हरेक पाँच वर्षमा आरक्षमा रहेका नाउर र झारलको गणना गर्ने गरिन्छ । कोभिड–१९ का कारण यसपटकको गणना एक वर्षपछि धकेलिएको थियो ।     गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा निर्धारण गर्ने गर्छ । बर्सेनि १९ देखि २४ सम्म नाउर र १४ देखि १९ सम्मको सङ्ख्यामा झारलको सिकार कोटा तोकिने गरिएको आरक्षका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिनुभयो ।      “नाउरको सङ्ख्या घटेको पाइएपछि यस वर्ष न्यूनतम १९ वटाको मात्र सिकार कोटा तोकियो, झारल पनि १४ मा सीमित भयो”, उहाँले भन्नुभयो, “गणनामा भेटिने नाउर र झारलको सङ्ख्या विश्लेषण गरेर सिकार कोटा निर्धारण गरिन्छ ।”     नाउरको सङ्ख्या घटेपछि विभागले सिकार कोटा पनि घटाएको देखिन्छ । केही वर्षअघिसम्म वार्षिक २२ देखि २४ सम्म नाउरको सिकार हुने गथ्र्यो । सहायक संरक्षण अधिकृत खड्काले आरक्षका सातै सिकार ‘ब्लक’मा पुगेर नाउर र झारलको गणना गरिएको बताउनुभयो ।      “झारल र नाउर समूहमा भेटिन्छन्, हेड काउन्ट नै गरिन्छ”, उहाँले भन्नुभयो, “हरेक सिकार ब्लकमा छुट्टाछुट्टै गणना हुन्छ, सिकार कोटा पनि त्यहीअनुसार तोकिन्छ ।” पछिल्लो नाउर र झारलको गणना राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत गरिएको आरक्ष कार्यालयले जनाएको छ ।      नाउर ढोरपाटनमा बढी सिकार हुने जनावरमा पर्छ । तीन हजार मिटरदेखि पाँच हजारमाथिसम्म पाइने नाउर हिमाली भेडाले पनि चिनिन्छ । नाउर बथानमा बस्छ । नाउरको आयु करिब १५ वर्ष हुन्छ । लाङ्टाङ, मकालु, बरुण राष्ट्रिय निकुञ्जलगायत अधिकांश हिमाली क्षेत्रमा नाउर पाइने भए पनि ढोरपाटनमा मात्र यसको वैधानिक सिकार गर्न पाइन्छ ।     झारल पनि बाख्रा प्रजातिमा पर्ने जनावर हो । नाउर र झारल सिकारका लागि बर्सेनि विख्यात विदेशी सिकारी ढोरपाटन आउने गर्छन् । लाखौँ खर्चेर सिकारको रोमाञ्चक अनुभव बटुल्न उनीहरु लालायीत हुन्छन् । स्वदेशी सिकार कम्पनीमार्फत विदेशी सिकार खेल्न जान्छन् ।      बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा ढोरपाटनमा सिकार खुला हुन्छ । चालू आवको दुवै याममा गरी १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ ।      सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्र्याक एण्ड ट्रेल्र्सले यस वर्ष सिकार खेलाएको थियो ।      अमेरिका, फ्रान्स, डेनमार्क, मेक्सिको, नर्वे, युक्रेन, स्पेनलगायत देशका पेशेवर सिकारीले नाउर र झारलको सिकार गरेका थिए । विद्युतीय बोलपत्रमार्फत छानिएका कम्पनीलाई मात्र विभागले सिकार खेलाउनका लागि अनुज्ञापत्र दिने गर्छ ।       कम्पनीले यस वर्षको दोस्रो सिकार याममा नाउर सिकारको न्यूनतम रु तीन लाख ५० हजारदेखि रु १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शमशेर पराजुलीले जानकारी दिनुभयो ।     कोभिड–१९ महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक देखिएको उहाँको भनाइ छ । बन्दाबन्दी र यात्रा प्रतिबन्धनका कारण महामारी सुरु भएको पहिलो वर्ष ढोरपाटनमा सिकार नै हुन सकेको थिएन । सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्छ । 

काठमाडौँ:    मुलुकको एक मात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ । २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नतिको गरिने भएको हो ।  भूकम्प र कोरोनामा मानिसमा मानसिक रोग, आत्महत्याजस्ता घटना बढ्न थालेपछि सरकारले यस अस्पतालप्रति चासो दिन थालेको हो । यसअघि सरकारले विसं २०५१ मा राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना ल्याए पनि अस्पतालको सुधार गर्न सकेको थिए । अहिले फेरि सरकारले अस्पतालको स्तरोन्नति गर्न राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना–२०७७ समेत ल्याएको छ ।   अहिले ५० शय्या रहेको अस्पताललाई १५० शय्या पु¥याउने अस्पतालको तयारी रहेको छ । यसका लागि अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयसँग रकम विनियोजनका लागि आग्रह गरिसकेको छ । अस्पतालका निर्देशक डा अनन्तराज अधिकारीले आगामी वर्ष वहुवर्षीय योजनाअन्तर्गत अस्पतालको स्तरोन्नति गरिने जानकारी दिनुभयो ।   स्तरोन्नतिका लागि सहरी विकास तथा भवन निर्माण विभागले दुई अत्याधुनिक भवन निर्माण गर्न नक्शासमेत तयार पारिसकेको छ । “भूकम्प र कोरोना महामारीले मानिसमा मनोरोग, चिन्ताजस्ता समस्या देखिए” उहाँले भन्नुभयो, “त्यसपछि यस अस्पतालमा उपचार गराउन आउने बिरामी पनि बढ्न थालेपछि सरकारले पनि चासो दिन थाल्यो ।”   उहाँले स्तरोन्नति गरेपछि विधागत बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा बालमनोरोग सेवा, मानसिक रोग, लागुपदार्थ दुव्र्यसनी उपचार ९मौखिक प्रतिस्थापन विधि०, यौनरोग, मनोवैज्ञानिक उपचार, विद्युतीय उपचार पद्दति, चुम्बकीय उपचार पद्दतिबाट उपचार भइरहेको छ । चुम्बकीय उपचार पद्दतिमा अहिले अस्पतालमा चार जनाको नियमित उपचार भइरहेको छ ।   भवन विभागले एक पाँचतले र अर्को चारतले भवन बनाउन थालेको हो । पाँचतले प्रशासन भवनमा कक्षा, कर्मचारी, कर्मचारीको आवास र फार्मेसी सञ्चालन हुने छ । यस्तै चारतले भवनमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, शय्या र प्रयोगशाला कक्ष रहने छन् ।    बिरामीको चापअनुसार अस्पतालमा कम सङ्ख्यामा चिकित्सक रहेका छन् । अहिले नौ मनोचिकित्सक र ६ जना इन्र्टनसीप चिकित्सक रहेका छन् । निर्देशक डा अधिकारीका अनुसार मनोविद् चिकित्सकको दरबन्दी नरहेकोले अस्पताल विकास समितिले एक चिकित्सकलाई करारमा राखेको छ । उहाँले सवै सुविधा भए पनि कहिलेकाहीँ शय्या अभावले बिरामीलाई अयन्त्र पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।    उहाँले अर्को वर्ष बालमानसिक स्वास्थ्य उपचार सुरु गर्ने बताउनुभयो । कोरोना महामारीको बेला करिब ३५ हजार मानिस अस्पतालमा उपचारार्थ आएका थिए ।    नेपालमा मानसिक स्वास्थ्य सेवा २०१८ सालमा वीर अस्पतालको बहिरङ्ग सेवाबाट सुरु भएको हो । यो सेवा सैनिक अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै देशका ठूलाठूला अस्पतालमा विस्तार भएको छ । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखामा मानसिक स्वास्थ्य गठन गर्नुकासाथै प्रत्येक २०० शय्याका अस्पतालमा १० शय्या मानसिक रोगीका लागि छुटाउन निर्देशन दिएको छ । अहिले प्रत्येक २०० भन्दा बढी श्यया भएका अस्पतालमा मानसिक रोग विभाग रहेको छ ।    मानसिक स्वास्थ्यलाई चासो राख्दै विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सरकारले १५ जिल्लामा मानसिक स्वास्थ्य सेवा सञ्चालनसमेत गरेको छ । नेपालमा कूल नसर्नेरोगको समस्यामध्ये १८ प्रतिशत मानसिक रोग लाग्ने गरेको छ । अपाङ्गता गराउने प्रमुख १० कारकमध्ये चारवटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन् ।    राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को नतिजाअनुसार नेपालमा १३ देखि १७ वर्षका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्य समास्या देखिएको छ । जसमा २ दशमलव ८ प्रतिशतमा चिन्ताजन्य समस्या, ० दशमलव ६ प्रतिशतमा मानसिक रोगको समस्या पाइएको छ र ३ दशमलव ९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच रहेको पाइएको छ ।    यस्तै १८ वर्षमाथिका व्यक्तिमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २ दशमलव ९ प्रतिशतमा मासिक रोग, ० दशमलव २ प्रतिशतमा साइकोसिस र ७ दशमलव २ प्रतिशतमा आत्महत्यासम्बन्धी सोचको अवस्था देखिएको छ ।    महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले प्रत्येक पाँच जनामध्ये एक जना मानसिक रोगी रहेकाले सरकारले मानसिक स्वास्थ्यको सेवा बढाउनुपर्ने बताउनुहुन्छ । “भूकम्प र कोरोना महामारीले नेपालमा मानसिक रोगी बढेका छन्” उहाँले भन्नुभयो, “सरकारले मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्नुपर्दछ ।”   शाखाले प्रत्येक प्रदेशमा मानसिक स्वास्थ्य उपचारका औषधि खरिद गर्न वार्षिक ५० लाखका दरले रकम उपलब्ध गराउँदै आएको छ । नेपालमा प्रत्येक दिन १८ देखि २० जनाद्वारा आत्महत्या हुने गरेको तथ्याङ्क छ । त्यसको मुख्य कारण मानसिक रोग नै रहेको पाइएको छ । बरालले मानसिक स्वास्थ्य उपचार गर्न दक्ष स्वास्थ्यकर्मी नभएकाले मानसिक उपचारका लागि स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धी ६ प्रकारका तालिमसमेत दिइरहेको जानकारी दिनुभयो ।    उहाँले सरकारले स्वास्थ्यकर्मीको सङ्गठन तथा  व्यवस्थापन सर्वेक्षण  ९ओएनएम० गरेर मानसिक सम्बन्धी स्वास्थ्यकर्मीको दरबन्दी थप्नुपर्ने बताउनुहुन्छ । “मानसिक स्वास्थ्य उपचार गर्न स्वास्थ्यकर्मी र चिकित्सक अत्यन्तै कम छन्” उहाँले भन्नुभयो, “नयाँ दरबन्दी थपेर मनोरोग विशेषज्ञ राख्नुपर्दछ ।”

भक्तपुर​:       आज जुन ५, विश्व वातावरण दिवस । बिहान १०ः१५ बजे विद्यालयको पोसाकमा पञ्जा लगाइएको हातमा झाडु, साबेल र बाल्टीका साथ लामबद्ध थिए विद्यार्थी । लाममा रहेका विद्यार्थीसँग तिनका शिक्षक भन्दै थिए, “हामीले आफ्नो वरपरको वातावरण सफा राख्नुपर्छ र सबै जना हरेक सम्पदाको संरक्षणमा लाग्नुपर्छ ।”           कापी र किताबले भरिएका झोला बोकेर विद्यालय जाने विद्यार्थी आज भने हातमा पञ्जा लगाएर कुचो, साबेल र फोहर राख्ने भाँडो लिएर सडकमा थिए । सडक पेटीमा रहेका विद्यार्थीमध्ये कोही सडक र सँगैका नालामा रहेका फोहर टिप्दै डस्टबिनमा हाल्दै थिए भने कोही ढुङ्गेधारामा जमेको फोहर सफा गर्दै थिए ।      भक्तपुर नगरपालिकाको सल्लाघारीस्थित अक्सफोर्ड स्कुलमा अध्ययन गर्दै आएका विद्यार्थीले आज सल्लाघारी क्षेत्रको सडक तथा सम्पदामा सरसफाइ गरे । उनीहरूले यस क्षेत्रमा रहेका नाला, पाटी, ढुङ्गेधारा, मन्दिरलगायतमा रहेको फोहर सफा गरे ।   विद्यालयले पढाइका अतिरिक्त प्रत्यक्षरूपमा सरोकार राख्ने यस्ता विषयवस्तुका क्षेत्रमा विद्यार्थी स्वयंको प्रत्यक्ष संलग्नता रहोस् र पढाइका साथै सामाजिक काममा लाग्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयकी शिक्षिका इन्दु दुवाल बताउनुहुन्छ ।      विश्व वातावरण दिवसका अवसरमा आयोजित सरसफाइ कार्यक्रममा विद्यार्थीलाई यस क्षेत्र वरपर रहेका मन्दिर, पाटीपौवा, ढुङ्गेधाराजस्ता सम्पदाको सरसफाइका साथै तिनका बारेमा जानकारी दिँदै सम्पदाको महत्व र संरक्षण गर्नुपर्ने कारणका बारेमा जानकारीसमेत दिइएको थियो ।           नगरपालिकाले यहाँका विद्यालयमा यस क्षेत्रमा पर्ने सम्पदा, यहाँका परम्परा, संस्कृतिलगायत विषयवस्तु समावेश गरी पाठ्यक्रम नै बनाएर विद्यार्थीलाई सचेत बनाउन खोजेको देखिन्छ । अध्ययनका साथै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सकारात्मक प्रभाव परेको देखिन्छ ।   सरसफाइमा सहभागी विद्यार्थीले अबदेखि आफूले सार्वजनिक ठाउँमा फोहर नगर्ने र अरूलाई समेत गर्न हुँदैन भनेर सिकाउने बताए । सरसफाइका क्रममा वरपरका फोहर टिप्दै त्यहाँ रहेका मानिसलाई सम्पदा वरपर फोहर नगर्न र सरसफाइमा ध्यान दिनसमेत कक्षा ७ र ८ मा अध्ययनरत सहभागी विद्यार्थीले आग्रह गरिरहेका थिए ।             सो अवसरमा विद्यार्थीले सरसफाइका साथ वरपर वृक्षरोपणसमेत गरेका थिए । यस वर्ष विश्वमा ‘केबल एक पृथ्वी’ तथा नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापनः  पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आइरहेको छ । 

काठमाण्डौँः      नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताउनुभएको छ । उहाँले जुनसुकै देशको भविष्य पनि त्यस देशका युवाको हातमा रहेको भन्दै नेपालजस्तो युवा जनशक्तिको बाहुल्यता रहेको देशको आर्थिक समृद्धि र विकास पनि उनीहरुकै हातमा छ भन्नुभयो ।       नेपाली युवा उद्यमी मञ्च, चितवनको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै ढकालले उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आउन पनि युवाहरुलाई आह्वान गर्नुभयो । उहाँले पहिलेजस्तो नभएर अहिले देशमा व्यवसाय गर्न सजह भएको र बैंक तथा वित्तीय संस्थाहरुले राम्रो साथ दिएको भन्दै देशका समग्र युवालाई देशभित्रै कुनै न कुनै व्यवसाय गर्न सुझाव दिनुभयो ।       वरिष्ठ उपाध्यक्ष ढकालले हाल देशमा व्यावसायिक वातावरण निर्माण भएको र देश विकास गर्नसक्ने क्षमताका युवाहरु उद्यमशीलतामा सहभागी हुँदा अझै राम्रो वातावरण बन्न जाने भन्दै नेपालका युवा व्यवसायीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।      कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष उदीप श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष शिरिष पन्त, नेपाल युवा उद्यमी मञ्चका प्रथम उपाध्यक्ष रितेश लामिछाने, उपाध्यक्ष सुवोधमान सैंजु, चितवन शाखाका अध्यक्ष राजेश गौतम लगायतले नेपालमा युवा उद्यमशीलताको वर्तमान अवस्था र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।      यसैबीच शुक्रबार साँझ सम्पन्न सो अधिवेशनले चितवन शाखाको अध्यक्षमा सूर्यभक्त अधिकारीलाई चयन गरेको छ । अधिकारी चितवनका इलेक्ट्रोनिक्स व्यवसायी हुनुहुन्छ । त्यसैगरी अधिवेशनले सो मञ्चको प्रथम उपाध्यक्षमा विकल दाहाल, द्वितीय उपाध्यक्षमा उमेश श्रेष्ठ, सदस्यहरुमा अजय गौतम, गोपाल, गौतम, निशान पौडेल, ई दीपक खनाल, राजन पौडेल र दिलीप पौडेल चयन हुनुभएको छ । 

काठमाण्डौँः      प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ ।        कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उहाँले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताउनुभयो ।    प्रधानमन्त्री देउवा ले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिको समस्या सारा संसारले भोग्दै आएको छ । हामीले पनि मौसम परिवर्तनका कारण विभिन्न समस्या भोग्न थालेका छौँ । बेमौसमी बाढी पहिरोका साथै हाम्रा हिमाल पग्लने समस्याले हिमशृङ्खला नाङ्गिँदै गएका छन् भने  नदी प्रणालीमा समेत असर गर्दै आएको देखिन्छ ।”     प्रधानमन्त्री देउवाले मौसम परिवर्तनले दीर्घकालमा मानवजीवनलाई नै गम्भीर असर सिर्जना गर्नसक्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै वातावरण दिवसको पूर्वसन्ध्यामा हुने यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकस्तरमा वातावरणको महत्व बुझाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।        “वातावरण दिवसको सन्दर्भ पारेर आयोजना गरिएको यस हाफ म्याराथनले वातावरणको महत्वको विषयमा सचेतना दिन सहयोग पुग्ने छ भन्ने मैले विश्वास लिएको छु । शारीरिक व्यायामका कार्यक्रम तपाई हामी सबैका लागि आवश्यक छन् । स्वस्थ जीवननै मानिसको अमूल्य सम्पति हो । त्यसका लागि यस्ता शारीरिक व्यायाम हुने कार्यक्रम आयोजना हुन आवश्यक छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।      कान्तिपुर मिडिया ग्रुपले जलवायु परिवर्तन सङ्कटको प्रभाव र नियन्त्रणको आवश्यकताबारे सचेतना जगाउन ‘रन द कान्तिपुर हाफ म्याराथन २०२२’ आयोजना गरेको जनाएको छ । ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करण सुरु भएको हो ।