पोखरा: नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको संसदीय दलको तर्फबाट प्रदेश सांसदहरुको एक हप्ताको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुसुम बुढा पुनले सांसदको एक हप्ताको पारिश्रमिक रकम भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताईन् । यस्तै भूकम्प पीडितका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसदहरुले १५ दिनको तलव सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्र र एमालेका सांसदहरुले एक÷एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् । ६० सदस्य गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेको २२, माओवादी केन्द्रको सभामुख बाहेक ७,राप्रपाको २ सांसद र स्वतन्त्र निर्वाचित हाल एकिकृत समाजवादी प्रवेश गरेका एक जना सांसद रहेका छन् । कात्तिक १७ गते शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ठूलो क्षति भएको छ ।
नेपाली कांग्रेसले महासमिति बैठक फेरि सारेको छ। मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठकको नयाँ मिति तोकिएको जानकारी गराएका छन्। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा गत आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पुस २९, ३० र पुस १ र २ गते महासमिति बैठक गर्ने निर्णय गरेको थियो। त्यसअघि मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिबाट निर्णय भएको थियो। ‘राष्ट्रिय मेलमिलाप दिवस पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठक तोकिएको छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘ललितपुरको गोदावरीस्थित हलमा बैठक हुन्छ।’
पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलको बैठकले प्रदेश सांसदहरुको १५ दिनको तलव भूकम्प पीडित राहत कोषमा सहयोग गर्ने भएको छ । पोखरामा आज (मंगलबार) बसेको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको पदाधिकारीको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुको १५ दिनको तलव भूकम्प पीडित राहत कोषमा पठाउने निर्णय गरेको हो । नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तीमा भूकम्प पीडित राहत कोषमा प्रदेश सांसदको १५ दिनको तलव सहयोग गर्ने उल्लेख गरिएको छ । यस्तै नेकपा एमालेका गण्डकी प्रदेश सांसदहरुले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने बताएका छन् । कात्तिक १७ गते शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ठूलो क्षति भएको छ ।
चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने भएको छ । चौधरी फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने भएको हो । मंगलबार चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प बादीबीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौड्यालले जानकारी दिए । यसअघि फाउन्डेसनले २०७२ सालको भूकम्पमा ३ हजार यस्ता घर बनाएको थियो । तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहीन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’को अत्यन्तै खाँचो रहेको ग्रुपले उल्लेख गरेको छ । भत्किएका घर पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’ बनाएर घरविहीन भूकम्प प्रभावितहरूलाई ओतमुनि पुर्याउनु आवश्यक रहेको समेत ग्रुपको भनाइ छ । यो अवस्थालाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय लिएको बताएको छ । स्थानीय प्रशासन÷स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिने समूहको विज्ञप्तिमा उल्लेख छ । यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक पर्ने वित्तीय सहयोग चौधरी फाउन्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवम् श्रमको व्यवस्थापन गर्नेछन् । यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ ।
गलकोट: बागलुङमा गत वर्षदेखि निर्माण थालिएको बिपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । बिपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ । बिपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति भएको छ । सहयोग सङ्कलन गरिएको रु तीन करोडमध्ये रु ७५ लाख सरकारी निकायबाट हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको छ । गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ । अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा स्मृति भवन निर्माण भइरहेको छ । हालसम्म भवन निर्माणमा झण्डै रु। एक करोड खर्च भइसकेको अध्यक्ष आचार्यले बताउनुभयो । उक्त भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट रु ५० लाख, बागलुङ नगरपालिकाबाट रु। २० लाख र जैमिनी नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन भई फछ्र्योट भइसकेको छ । यस्तै जिल्लाका विभिन्न व्यक्ति, शुभेच्छुक तथा जनप्रतिनिधिबाट रु एक करोड ५९ लाख र जापानबाट रु ५० लाख सङ्कलन भएको छ । “सहयोग जुटाएरै आधुनिक भवन निर्माण थालिएको छ”, अध्यक्ष आचार्यले भन्नुभयो “अबको तीन वर्षमा भवनले सार्थकता पाउला भन्ने आशा छ, सहयोग उठ्ने क्रम जारी छ ।” नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनले सहयोग सङ्कलन अभियानलाई स्वदेशमा मात्रै नभएर विदेशमा समेत चलाइएको बताउनुभयो । शेरचन हालैमात्र जापान भ्रमणमा पुगेर भवन निर्माणका लागि रु। ६० लाख सहयोग सङ्कलन गरेर फर्कनुभएको छ । रु १० करोड सहयोग जुटाउने नेपाली कांग्रेसको अभियान छ । बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद गरेर भवन निर्माण थालिएको हो ।
रूपन्देही: नेकपा (माओवादी केन्द्र) ले टिकटकमा अनैतिक कार्य गरेर विवादित बनेकी शान्ति बराललाई कारबाही गरेको छ । नेकपा माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई साधारण सदस्यसमेत नरहनेगरी सम्पूर्ण जिम्मेवारीबाट हटाएको हो । उनी सो पार्टीको सैनामैना नगर कमिटीमा थिइन् । बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिक÷सांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा अनैतिक कार्य गरेकाले कारवाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्श तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् । भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । डा लीला देवकोटा, डा प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाता कमलाकुमारी डाँगीलगायतले अस्पतालमा सेवा दिइरहनुभएको छ । अस्पताल परिसरमा भूकम्प उपचार कक्षसमेत स्थापना गरिएको छ । बाहिरबाट प्राप्त सहयोगको व्यवस्थापनका लागि कक्षको स्थापना गरिएको हो । भेरी अस्पताल नेपालगञ्जमा अहिले ४६ भूकम्पपीडितको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये दुई जना घर फर्किएका छन् । एक जनाको निधन भएको छ । अहिले अस्पतालमा २० पुरुष र २६ महिलाको उपचार भइरहेको छ । अस्पतालमा जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितको उपचार भइरहेको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा अत्यधिक जनधनको क्षति भएको छ ।
नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिनुभयो । सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका बिषयमा छलफल हुने उहाँको भनाइ छ । रासस
दमौली: १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो ‘कङ्क्रिट’ मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो । सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुन: सेती नदीमा खसालिएको छ । सन् २०२१ देखि निर्माण सुरु भएको सुरुङमार्ग हालै सम्पन्न भएपछि नदी फर्काइएको हो । सेती नदी अब सुरुङमार्ग भएर बग्नेछ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले आज बेलुन उडाएर नदी फर्काउने कार्यको शुभारम्भ गरे । अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी ‘कङ्क्रिट’ बाँध निर्माण गरिएको छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । ‘नदी फर्काइएपछि अब बाँध निर्माणका लागि काम गर्न सहज हुन्छ । बाँध निर्माणका लागि जग खन्ने काम पनि अब सुरु हुन्छ,’ उनले भने । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण फड्को भएको बताए । विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए पनि अहिले नमूना आयोजनाका रुपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुपताकासाथ काम भइरहेको बताए । ०८३ असारभित्र सक्ने लक्ष्य आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको मुख्य निर्माण कार्यलाई तीन चरणमा विभाजन गरी काम भइरहेको छ । पहिलो चरण अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रा) लि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो । निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो चरणको निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनो हाइड्रोले विसं २०७५ माघ ६ देखि आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ । भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायत उपकरण जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ । तेस्रो चरणअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी. इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमलव ७ किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

