काठमाडौं: दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पार्दै अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ । बिहीबार भारतको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए । अष्ट्रेलियाका लागि महत्वपूर्ण पारी खेल्नुका साथै एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिएका हेड प्लेयर अफ दि म्याच बने । अष्ट्रेलियाको पारी हेड र वार्नरले राम्रो सुरुवात गरेका थिए । दुवैले पहिलो ६ ओभरमा ६० रन बनाएका थिए । तर थप ७७ रन जोड्दा ५ विकेट गुमाउन पुगेको थियो । सातौं ओभरको पहिलो बलमा एडन मार्करमले वार्नरलाई बोल्ड गरे भने अर्को ओभरमा कगिसो रबाडाले मिशेल मार्शलाई शून्यमा पभेलियन फर्काए । लगातार विकेट गुमाएपछि रनको रफ्तार कम भयो र पावर प्लेको १० ओभरमा २ विकेट गुमाएर ७४ रन बनायो । खेलको १५औं ओभरमा जब बवुमाले केशव महराजलाई बल दिए, उनले पहिलो बलमै ट्रेविस हेडलाई बोल्ड गरे । ४८ बलको सामना गरेका उनले ९ चौका र दुई छक्काको मदतमा ६२ रन बनाएका थिए । उनले स्मिथसँग तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । खेलको २२औं ओभरमा मार्नस लाबृशेनले स्मिथको विकेट लिए । दुई ओभरपछि शमसीले ग्लेन म्याक्सबेललाई आउट गरेपछि अष्ट्रेलियाले १३७ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुुमायो । त्यसपछिको १० ओभरमा उसले विकेट गुमाएन, रन पनि ३७ मात्र थप्न सक्यो । खेलको ३४औं मिनेटमा स्मिथ आउट भए । अन्तिममा कप्तान प्याट कमिन्सले आठौं विकेटका लागि मिचेल स्टार्कसँग अविजित २२ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई विश्वकपको फाइनलमा पुर्याएका छन् ।
चितवन: तिहारको सम्मुख पारेर तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा मारेका छन् । गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए । तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलकाे माटाे टाढा लगेर फालेको देखिन्छ । उनले व्यवसायिक व्यक्तिहरूले ठूलो याेजना बनाएर गैंडा मार्न सफल भएको बताए । सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैंडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो ।
नुवाकोट: बिदुर नगरपालिका-२ बिदुरस्थित जुवातास (कौडा) खेलिरहेका ३६ वर्षीय रबिन्द्र आचार्यसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नगद ६ लाख ५२ हजार १ सय ९२ रूपैयाँसहित गएराति पक्राउ गरेको हो । नर्थ भ्यू होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं: फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । पहिलो हाफमा यूएईले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरेपछि नेपाल ४-० ले पराजित भएको हो । घरेलु टोलीको जितमा कप्तान अलि मखबूटले दुई गोल गरे भने खलीफा अल-हम्मादि र फावियो लिमाले १-१ गोल थपे । खेल अवधिभर नै यूएईले नेपाललाई दबाबमा राखेको थियो । चोटका कारण लाकेन लिम्बुलाई गुमाएपछि उनको स्थानमा आएका अमृत श्रेष्ठका लागि खेल बिर्सनलायक बन्यो । १८ औं मिनेटमा मैदान प्रवेश गरेका अमृतले पहेंलो कार्ड र दुई गोलमा गल्ती गरेपछि हाफ टाइममा बाहिरिएका थिए । उनको स्थानमा योगेश गुरुङले अवसर पाएका थिए । दोस्रो हाफमा नेपालले दबाब खेपेपनि गोल भने खाएन । पहिलो हाफको तुलनाम दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा केहि अवसर पनि सिर्जना गरेको थियो । तर त्यसलाई गोलमा परिणत गर्न भने टोली असफल रह्यो । १० औं मिनेटमा युएईले खेलमा अग्रता लियो । अलि अम्रोको क्रसमा खलीफा अल-हम्मादिले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । १३ औं मिनेटमा नेपालका लेफ्ट ब्याक चौधरीले बक्स बाहिर बाट आफ्नो कमजोर खुट्टाले गरेको प्रहार पोस्टको धेरै माथिबाट बाहिरियो । २६औं मिनेटमा अब्दल्लाह बेखितको थ्रु-पासमा काइओ कोरेयाको प्रहार किरण चेम्जोङले बक्सको छेउमा आएर बचाए । २९औं मिनेटमा फाबियो लिमाको फ्री-किक प्रहार किरण चेम्जोङले पुनः बचाए । त्यस लगत्तै उनकै बक्स बाहिरबाट गरेको प्रहारले भने पोस्टको दिशा लिन सकेन । ३४औं मिनेटमा लिमाको कर्नर किकमा कोरेयाको हेडर क्रसबारमा लागेर फर्कियो । ३५औं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर गर्ने सुनौलो अवसर प्राप्त गर्यो । अमृत श्रेष्ठले बेखिटमाथि फाउल गरेपछि युएईले पेनाल्टी पाएको थियो । युएईका कीर्तिमानी गोलकर्ता अलि मखबूटले पेनाल्टीमा सहजै गोल गर्दै अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा मखबूटले अर्को गोल थपे । जाएद अल-जाबिको हेडर पासमा मखबूटले हेडर मार्फत नै गोल गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरे । फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गरे । बेखिटको पासमा उनले सहजै फिनिश गरेका थिए । दोस्रो हाफमा पनि घरेलु टोलीले नै प्रभुत्व जमायो । ५०औं मिनेटमा मखबूटको प्रहार रोहित चन्दले ब्लक गरे। ५३औं मिनेटमा आशिष चौधरीको क्रसमा छिरिङ लामाको हेडर युएई खालिद अल-मेसमारीले सहजै बचाए । ७९औं मिनेटमा मोहम्मद अल-ब्लूशीको प्रहार किरणले सहजै बचाए । ८१औं मिनेटमा मनिष डाँगीले बक्सको छेउ बाट प्रहार गरेको हाफ-भली अल-मेसमारीले राम्रो बचाउ गरे । ८६औं मिनेटमा काईओ कोरेयाको प्रहार किरणले पुनः बचाए । खेलमा तीन खेलाडीले डेब्यु गरेका थिए । रक्षक छिरिङ लामाले सुरुवाती रोजाइमा रहेरै डेब्यु गरेका थिए भने रक्षकद्वय योगेश गुरुङ र अन्जन राईले बेन्चबाट मैदान प्रवेश गरे । नेपालले छनोटको दोस्रो खेलमा यमन विरुद्ध नोभेम्बर २१ मा काठमाडौंमा खेल्नेछ । यस समूहमा नेपालसँगै यमन, यूएई र बहराइन छन् ।
पोखरा: पोखरा महानगरपालिका-२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ । दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको हो । घर भाडामा लिएर अपांगता मैत्री समाजले सञ्चालन गरेको आश्रम, बिक्री गर्न राखिएका सामग्री, लत्ताकपडा र नगदसमेत जलेर नष्ट भएको छ । करिब एक लाख रुपैयाँ नगद आधा जलेको अवस्थामा फेला परेको छ । दृष्टिविहीनहरुले विभिन्न ठाउँमा पुगेर कलम, अगरबत्ती, हर्पिक, कपुरलगायतका सामग्री बेचेर जम्मा गरेको करिब ८ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको बताइएको छ ।
काठमाडौँ: हमास र इजरायलबिच युद्धका क्रममा इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले हालै एउटा तस्बिर जारी गरेको छ । उक्त तस्बिरमा इजरायली सैनिक हमासको संसद भवनमा देखिन्छन् । उक्त तस्बिरले गाजामा हमास निकै कमजोर भइसकेको सन्देश दिएको छ । जेरुसलेम पोस्टका अनुसार आइडीएफको गोलानी ब्रिगेडका सैनिकले सोमबार हमासको संसदमा इजरायली झण्डा फहराएको तस्बिर पोस्ट गरेका हुन् । इजरायली रक्षा मन्त्री योभ गेलेन्टले पछिल्लो अवस्थाको जानकारी लिनुका साथै गाजामा आइडीएफको उपलब्धिबारे चर्चा गरेका छन् । उनले भने, ‘आइडीएफ बल एउटा योजना अनुसार काम गरिरहेको छ र चुस्त गुप्तचर जानकारी उपयोग गर्दै सटिकता, घातकताका साथ हावा, समुद्र र स्थल सेनाका बिच तालमेल गरी मिसनलाई पूरा गरिरहेको छ ।’
काठमाडौं: फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् । वरीयताका आधारमा यूएई बलियो टोली हो । नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ । अबको आठ महिनामा नेपालले छनोटका ६ खेल खेल्नेछ र एक प्रकारले राष्ट्रिय टिम ब्यस्त जस्तै हुनेछ ।
अछाम: अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र १००१ ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

