सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष आजकै दिन मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो । चुनाव भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता बढ्दो छ । यसबीचमा सरकार र संसद्को काम प्रभावकारी हुन नसकेको सांसदहरुले नै गुनासो गरेका छन् । गएको वर्षको चुनावमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका थिए । कांग्रेसलगायतका दलहरुसँग गठबन्धन गरेर तेस्रो स्थान हासिल गरेको माओवादीको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । शुरुमा एमालेको साथ पाएर प्रधानमन्त्री नियुक्त हुनुभएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछि फेरि सत्ता समीकरण परिवर्तन गरी पहिलेकै गठबन्धनलाई निरन्तरता दिनुभएको छ । गएको वर्षको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो शक्तिको रुपमा उदाएको थियो ।
दाङमा दुई वटा माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । दाङकाे ग्वारखाेलामा रा ४ प ८४६४ र रा ७ प ६५५४ नम्बरका मोटरसाइकल ठाेक्किएका हुन् । दुर्घटनामा रा ७ प ६५५४ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय अमृत केसीको ज्यान गएकाे छ । उहाँकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गएराति ज्यान गएकाे हाे । यस्तै, अर्काे माेटरसाइकलका चालक दिनेश बुढाथोकी र पछाडि बसेका कमल केसी घाइते भएका प्रहरीले जनाएकाे छ । उनीहरुकाे उपचार भइरहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयाे ।
काठमाडौं: चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर हालसम्म मधेश प्रदेशका २१ सहित २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार हालसम्म सात सय ३० पालिकाले मात्रै आफ्नो वार्षिक बजेट ल्याएको विवरण बुझाएका छन् । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा २१ पालिकाले बजेट ल्याएको विवरण बुझाएका छैनन् । त्यस्तै, कोशी प्रदेशको एउटा र बागमती प्रदेशको एउटा पालिकाले यस्तो जानकारी मन्त्रालयलाई गराएका छैनन् । बजेटको विवरण प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण बुझाउन मन्त्रालयले पटक–पटक परिपत्रसमेत गरेको छ । सङ्घीय मामिला मन्त्रालयले पहिलो पटक गत असार ३० गतै सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको थियो । केही पालिकाले बजेट पारित गरिसकेर पनि विवरण बुझाउन बाँकी रहेको, केही पालिकामा बजेट पेस भएको तर गाउँसभा तथा नगरसभाबाट पारित हुन नसकेकोलगायत कारण हालसम्म सबै पालिकाको विवरण अद्यावधिक हुन सकेको छैन । चितवनको राप्ती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले नगरसभाबाट बजेट पारित भइरकेको तर बजेट स्वीकृत भएको विवरण मन्त्रालयको पोर्टलमा प्रविष्ट हुन नसकेको बताउनुभयो । त्यस्तै तेह्रथुमको आठराई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नीराज शर्माले बजेट ल्याइसकेको भए पनि मन्त्रालयको वेभसाइटमा विवरण प्रविष्ट नभएको बताउनुभयो । मन्त्रालयको विवरणअनुसार हालसम्म सप्तरीको कञ्चनरुप नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका, रुपनी गाउँपालिका, औरही गाउँपालिका र भगवानपुर गाउँपालिकाले आफ्नो वार्षिक बजेट पेस गरेको विवरण बुझाएका छैनन् । धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिकाको बजेट पेस गरेको विवरण मन्त्रालयको पोर्टलमा देखिँदैन । बाराको सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र पर्साको सखुवा प्रसौनी गाउँपालिले पनि बजेट पेस गरेको विवरण बुझाउन सकेका छैनन् ।
काठमाडौँ: लोकप्रिय ब्यान्ड १९७४ एडी लामो समयपछि गुञ्जने भएको छ । नोभेम्बर १९ देखि दार्जिलिङको खर्साङमा हुने 'द फाइन ट्रि फेस्टिभल'बाट सुरु हुने कन्सर्टको ‘मिनी टुर लिस्ट’ नै सार्वजनिक भएको छ । ब्यान्डका भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन, भोकलिस्ट/ड्रमर एड्रियन प्रधान र फ्लुटिस्ट मनोज सिंह कन्सर्टका लागि अमेरिकाबाट नेपाल आइसकेका छन् । नेपालमा रहेका संस्थापक तथा बेसिस्ट निराकार याकथुम्बा, लिड गिटारिस्ट मनोजकुमार केसी र पर्कसनिस्ट सञ्जय श्रेष्ठसहित ब्यान्डका सबै सदस्य मिलेर कन्सर्टका लागि अभ्यास गरिसकेका छन् । खर्साङको टुर सकिएसँगै डिसेम्बर २ मा दुबई, डिसेम्बर ३ मा अबुधाबी, डिसेम्बर ९ मा पोखरा (मंसिर २३ गते ), डिसेम्बर ११ मा बिर्तामोड र डिसेम्बर १५ मा काठमाडौंमा कन्सर्ट हुने बताइएको छ । सन् १९९४ मा झम्सिखेलबाट स्थापना भएको १९७४ एडीले ९ एल्बम निकालिसक्यो । ब्यान्डका थुप्रै गीत दर्शकको मन मुटूमा बस्न सफल छन् । त्यसमध्ये ‘सम्झी बस्छु’, ‘शताब्दी’, ‘जङ्गी निशान’, ‘पिँजडाको सुँगा’ ‘सम्झी बस्छु’, ’मुटु भरि भरि’, ‘यो मन त मेरो नेपाली हो’, ‘सम्बोधन’, ‘हिँड्दा हिँड्दै’, ‘गुँराश फुल्यो’, ‘धेरै धेरै आउँछ मनमा’ जस्ता गीत निकै चर्चित छन् ।
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीकी रक्षक गीता रानाले सेथु एफसीबाट आईलिग खेल्ने भएकी छन् । सेथुले गीतालाई २०२३–२४ सिजनका लागि अनुबन्ध गरेको छ । सेथुले सामाजिक सञ्जालमार्फत गीतालाई अनुबन्ध गरेको जानकारी गराएको छ। गीता जारी सिजन सेथुमा अनुबन्ध हुने दोस्रो खेलाडी हुन् । गत महिना मात्र सेथुले नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पे सुब्बासँग सम्झौता नविकरण गरेको थियो । गतसिजन एन्जिलाले सेथुको कप्तानी सम्हालेकी थिइन् । त्यतिबेला क्लबले गीतालाई पनि अनुबन्ध गरेको थियो । तर, भुवनेश्वरमा भारतसँग भएको मैत्रीपूर्ण खेलका दौरान गीताले घुँडाको चोट बोक्न पुगेकी थिइन् । जसका कारण गीता लिग खेल्न बन्चित भएकी थिइन् । अघिल्लो सिजन सेथु सेमिफाइनलमा नेपाली टोलीकी मिडफिल्डर सरु लिम्बुसम्मिलित किक स्टार्ससँग पराजित भएको थियो । त्यसअघि खेलेको आठ खेलमा टोली अपराजित रहेको थियो । आईलिगको पहिलो खेलमा सेथुले डिसेम्बर ८ मा साविक विजेता गोकुलम केरेलासँग खेल्नेछ । दोस्रो खेल भने इष्ट बंगानसँग रहेको छ । गतसिजन सावित्रा भण्डारीसम्मिलित गोकुलम च्याम्पियन भएको थियो । यसपटक सात टोलीमात्रै लिगमा हुनेछन् । गोकुलम र सेथुसँगै किक स्टार्स, उडिसा एफसी, इष्ट बंगाल, होप्स एफसी र स्पोर्टस् उडिसाले सहभागिता जनाउनेछन् । लिग मार्चसम्म चल्नेछ ।
काठमाडौं: यसवर्षको मिस युनिभर्स २०२३ मा नेपालको यात्रा अन्तिम २० मा पुगेर टुंगिएको छ । मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’को रुपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलेपनि आफ्नै मुलुकको रेकर्ड भने तोड्न सकिनन् । दीपिका अन्तिम २० मा छनोट भएपनि अन्तिम १० मा पुग्न सकिनन् । सन् २०१८ मा मनिता देवकोटा अन्तिम १० मा छनोट भएकी थिइन् । तर, दीपिकाको जस्तो प्रसिद्धी सम्भवतः नेपाली ब्युटी पेजेन्टको इतिहासमा यसअघि कसैले पनि पाएको देखिएन । सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका थिए । हुन पनि उनले मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रचिन् । उनको आत्मविश्वासको पनि चर्चा भैरहेको छ । खासगरि, मिस युनिभर्सको प्रारम्भिक चरणमा दीपिकाको प्रशंसा खुबै भयो । परिचय, नेसनल कस्ट्युमदेखि स्वीमसुट राउण्डमा उनको उपलब्धि हेर्दा उनी फाइनलिस्ट बन्ने अपेक्षा गरिएको थियो । ल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।
काठमाडौँ: आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठको दोस्रो दिन हिजो खरना विधि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको हाे । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ ।
काठमाडौं: हङकङमा जारी महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपाल तेस्रो भएको छ । जापानलाई ४५ रनले हराउँदै नेपाल प्रतियोगितामा तेस्रो बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले ६ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो । जापानकी अकारी निशिमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चन्देलले ११ रन बनाईन् । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालकी संगिता राई, इन्दु वर्मा, सिता राना मगर, खुसी डंगोल, सोनी पाख्रिनले समान एक एक विकेट लिए । सुरुआती ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतीमा १ सय १५ रन बनाएको थियो । पुजा महतोले ४३ रन बनाएको इनिङ्समा रोमाले २२ र रुबिना क्षेत्रीले २१ रन बनाईन् । कप्तान इन्दुरी वर्माले १२, सिता राना मगरले ५ रनको योगदान दिईन् । काजल श्रेष्ठ ३ तथा अश्मिना कर्मचार्य २ रनमा अविजित रहिन् । जापानकी अहिल्या चन्देल, एरिका टोगुनी क्विन र अयुमी फुजिकावाले समान एक एक विकेट लिईन् । चारदेश सम्मिलित सिरिजमा नेपालले तान्जानिया र हङकङसँग पराजित भएको थियो ।
पोखरा: पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो । तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धीले सहभागि जनाउने छन् । ‘८८ जनाले शुरुवाती दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्नेछन् । अर्को ठाउँमा प्रतियोगिताको मिति जुधेको कारण केही खेलाडीले शुरुवाती दर्ता गरेपनि सहभागि हुन नसकेका हुन् ।’ –उनले भने । प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माको दावी छ । खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रवन्ध निर्देशक छिमी उक्रेन गुरुङले जनाए । सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैँया लगानी भैसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी लाग्ने गुरुङको भनाई छ । ‘प्रत्येक वर्ष वर्षमा प्रतियोगितालाई निरन्तरता दिने योजना भएपनि ६–६ महिनामा गर्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौं ।’ उनले भने । तीन दिन हुने प्रतियोगितामा मंसिर ७ र ८ गते अभ्यास खेल हुनेछभने ९ गते प्रतियोगिता हुनेछ । प्रतियोगिता समुन्द्री सतहबाट १३६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । उक्त एन्ड्युरो प्रतियोगिताले आगामी दिनहरुमा विश्वभर ठुलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरु आकर्षित भई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ । उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयले समन्वय गरेको छ ।

