नेपाली कांग्रेसका सांसद सीता मिजारको प्रतिनिधिसभामा प्रवेशसँगै परिपक्वताका साथै संवेदनशीलरूपमा प्रस्तुत हुने गरेको अनुभव छ । पहिलोपटक सङ्घीय सांसद बन्नुभएका उहाँले बाहिर सडकमा विद्यार्थी र पार्टीको राजनीति गरेभन्दा संसदीय राजनीति भिन्न भएको बताउनुभयो । सांसद मिजारले भन्नुभयो, “संसदीय राजनीतिको अनुभव फरक रहेछ, विद्यार्थी राजनीति गरेको जस्तो होइन, जिम्मेवारीबोध धेरै हुने, बोल्दा पनि हरेक शब्द चयनमा संवेदनशील हुनुपर्ने । आमजनताले प्रत्यक्ष सुन्ने र हेर्ने भएकाले पनि यथार्थपरक र प्रमाणित कुरामात्र बोल्नुपर्ने रहेछ ।” विसं २०४४ असार ७ गते नुवाकोटमा जन्मनुभएका उहाँले विद्यार्थी राजनीतिमा सडकमा नारा लगाएजस्तो संसद्मा नहुने बताउनुभयो । सांसदको प्रस्तुति राज्यले सुन्ने र जनताले पत्याउने खालको हुनुपर्ने उहाँले सुझाउनुभयो । सोह्र वर्षको उमेरमै पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको एकाइ सदस्य हुनुभएका सांसद मिजारले संसद्मा उठाएका विषय कार्यान्वयनका लागि निरन्तर सक्रियताका साथ लागिरहनुपर्ने उल्लेख गर्नुभयो । “संसद्मा बोलेका कुरा सुनुवाइ हुन्छन्, तर ‘फलोअप’ गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय विषय दीर्घकालीनरूपमा लागू हुने र कानुन नभएका कारण पनि समय लाग्छ । अर्को कुरा सत्तापक्षमा रहँदा बोल्ने पनि सीमा हुुन्छ ।” आफूले युवा र दलित र अल्पसङ्ख्यक समुदायका मुद्दालाई सदैव प्राथमिकताका साथ उठाउने गरेको उल्लेख गर्दै सांसद मिजारले राज्यले भने यी मुद्दामा अझै प्राथमिकता दिन नसकेको गुनासो गर्नुभयो । सदनमा सांसदहरूले बोल्दा कतिपय अवस्थामा कुनै समुदाय र लैङ्गिक विशेषलाई चोट पुग्ने शब्द चयन गर्ने गरेको र बोल्दा सामान्य हेक्कासमेत नराख्ने गरेको उहाँको भनाइ छ । फरक प्रसङ्गमा सांसद मिजारले संसद्मा कुनै मुद्दा उठेपछि वा कुनै विधेयकका सम्बन्धमा सबै पार्टीका र स्वतन्त्र सांसदले अनिवार्य बोल्नैपर्ने, कतिपय अवस्थामा विषयवस्तुभन्दा बाहिर बोल्ने प्रचलनले गर्दा पनि संसदीय प्रक्रिया लम्बिने गरेको उल्लेख गर्नुभयो । “संसद्को लामो प्रक्रियाका कारण कानुन बन्न ढिलाइ हुने गरेको छ, यस्ता नियमित विषय संसदीय समितिमार्फत बृहत् छलफल गर्दा राम्रो हुन्छ”, उहाँले भन्नुभयो । साना विषयमा पनि विपक्षी दलले सदन अवरोध गर्ने र सरकारले पर्याप्त बिजनेस दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उहाँको बुझाइ छ । आगामी दिनमा यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएका उहाँले मुलुकका भ्रष्टाचारका प्रकरण र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी त्यसमा संलग्न दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दल एकजुट हुनुपर्ने सुझाव दिनुभयो । कांग्रेसको १२औँ महाधिवेशनदेखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनिधि रहँदै आउनुभएका सांसद मिजारले भन्नुभयो, “सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ । मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, देश र जनताको समृद्धिमा सबै दल एक ठाउँमा उभिनैपर्छ ।” सांसदको प्रमुख काम कानुन निर्माण भए पनि जनताको अपेक्षा र जनताबीच गरेका वाचा पूरा गर्न पनि सांसदले केही विकास निर्माणका काममा लाग्नुपर्ने बाध्यता रहेको उहाँको तर्क छ । नेविसङ्घको जिल्ला सदस्य हुँदै पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुनुभएका उहाँसँग तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निजी सचिवालयमा काम गरेको अनुभवसमेत छ । केही दलका सांसदले सदनमा सस्तो लोकप्रियताका लागि गर्ने ‘प्रोपोगाण्डा’का सन्दर्भमा सांसद मिजारले आन्दोलनका क्रममा माहोल बनाउन र जनता परिचालन गर्न बोलेको विषयसँग तुलना गर्दै गर्नुभयो । उहाँले संसद्को मर्यादाका लागि सांसदहरूले विषयवस्तुमा आधारित रहेर सन्दर्भ र यथार्थपरकरूपमा बोल्नुुपर्ने सुझाव दिनुभयो । विसं २०६२–६३ को आन्दोलनका घाइतेसमेत हुनुभएका उहाँले जनताका प्रतिनिधिको सर्वोच्च थलो संसद्मा अनुशासित र संयमित भएर सांसदहरूले छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संसद्लाई प्रभावकारी बनाउन सांसदहरूले संयमरूपमा प्रस्तुत हुनुपर्ने, नैतिकवान बन्नुपर्ने र सरकारले पनि पर्याप्त बिजनेस र महत्व दिनुपर्ने सुझाव दिनुभयो ।
चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित एकजना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षकी भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । पक्राउ परेकी महिला इथियोपियाबाट कतारको दोहा हुँदै काठमाण्डौ विमानस्थलमा ओर्लिएकी र काठमाण्डौबाट भुटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेकी महिलाको साथबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले बताउनुभयो ।
काठमाडौं: फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताउनुभयो । उहाँले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताउनुभयो । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो टोलीका खेलाडीहरु यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको बताउनुभयो । नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।
पोखरा: पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक दम्पतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ पट्नेरी स्थित खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनका श्रीमती ४६ वर्षीय सावित्री सुनार रहेको कास्की प्रहरीले जनाएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ४ बजेको समयमा सुनार दम्पती घाइतेको भएको सूचनापछि उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा ५ः२३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखाले तीन जनालाई ८ सय १२ चक्की नाइट्रोभ्याट लेखिएको लागू औषधसहित प्रकाउ गरेको हो । प्रहरीले पोखरा महानगरपालिका–८ आलुमाइला चोक स्थित सडकमा शंकास्पद अवस्थामा हिडिरहेका २३ वर्षीय जिवन बि.क.लाई चेकजाँच गर्ने क्रममा ५ चक्की नाइट्रोभ्याट लेखिएको लागू औषध बरामद गरेपछि अनुसन्धान गर्दै जाँदा प्रविण पौडेलको साथबाट ५०७ चक्की र कुशल विक्रम खाँण ठकुरीको साथबाट लागू औषध नाईट्रोभ्याट ३०० चक्की बरामद गरेको हो । प्रकाउ परेका तीन जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषधमुद्धामा दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
गण्डकी: राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आगामी पुस आठदेखि १५ गतेसम्म बागलुङको गलकोटमा आयोजना हुने भएको छ । पोखराको हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्द्वारा आयोजित सो प्रतियोगितामा तीन विभागीयसहित छ टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगिताका संयोजक मोहन केसीका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र गलकोट नगरपालिकाको टिमले उक्त प्रतियोगितामा भाग लिनेछन् । पहिलोपटक आयोजित प्रतियोगितामा प्रथम हुनेले नगद रु पाँच लाख, दोस्रो हुनेले रु दुई लाख ५० हजार र तेस्रो हुनेले रु एक लाख २५ हजार पुरस्कार पाउने उहाँले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु २० हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु दस हजार, उत्कृष्ट सेटरलाई रु छ हजार, उत्कृष्ट स्पाइकरलाई रु छ हजार, उत्कृष्ट ब्लकरलाई रु छ हजार, उत्कृष्ट डिफेन्डरलाई रु छ हजार, उत्कृष्ट सर्भरलाई रु छ हजार र म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद रु दुई हजार प्रदान गरिने संयोजक केसीले बताउनुभयो । गलकोट नगरपालिका र गलकोट नगर खेलकुद विकास समितिसँगको समन्वय तथा नेपाल भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ बागलुङ, गलकोट उद्योग वाणिज्य सङ्घ र नगर भलिबल सङ्घ गलकोटसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको उहाँको भनाइ छ । प्रतियोगिता गलकोट नगरपालिका–६ स्थित मजुवाफाँटमा सञ्चालन हुनेछ । सोही अवसरमा साङ्गीतिक कार्यक्रम, नृत्य प्रतियोगिता ‘गलकोट डान्स आइडल’, रमाइलो मेलालगायत सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभर नेपाली सङ्गीत क्षेत्रका विभिन्न कलाकारहरुको प्रस्तुती रहने संयोजक केसीले उल्लेख गर्नुभयो । “धवलागिरि क्षेत्रमै पहिलोपटक सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुँदैछ, खेल पर्यटनका माध्यमबाट गलकोटलाई थप चिनाउन यो प्रतियोगिता सहयोगी बन्नेछ”, उहाँले भन्नुभयो, “पहिलो दिनको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिइनेछ, त्यसपछिका खेल अवलोकनका लागि टिकट शुल्क तोक्छौँ ।”
सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको हो। जाजरकोट, रूकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्ला प्रशासन कार्यालयमा पैसा पठाइएको हो। जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड रुपैयाँ पठाइएको छ। बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो। प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ। भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि २०८० हालै जारी भएको थियो। भूकम्प पीडित प्रति परिवारलाई अस्थायी आवास बनाउन पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी कूल ५० हजार रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो। गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई तत्काल स्थानीय तहमा रकम पठाउन निर्देशनसमेत दिएको छ। भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिएलगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउनेछन्। साथै अस्थायी आवास निर्माण सम्पन्न भएपछि दोस्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ। गत कात्तिक १७ गतेको भूकम्पले जाजरकोटलगायत जिल्लामा जनधनको क्षति भएको थियो।

