काठमाडौं: भारत सरकारबाट नेपाललाई वस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार भारतबाट आज बाँकेको जमुनाहा नाका हुँदै ती राँगा नेपाल भित्रिएका छन् । उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपाल ल्याउन नेपाल सरकारले लामो प्रयास गरिरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भएको थियो । विद्यमान क्वारेन्टिन प्रक्रिया पूरा गरी नेपाल ल्याइका राँगा लहान पोखरा र गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा व्यवस्थापन गरिने पशु सेवा विभागले जनाएको छ । भारतबाट प्राप्त राँगामध्ये राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा सात, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जमा तीन वटा राखिने छ ।
काठमाडौं: चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको महत्व तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनालगायत भाइरसबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा श्यामबाबु यादव बताउनुहुन्छ । कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भए अनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना विष्णु क्षीर सागरमा सुतेकाले विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरी भेगमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । वर्षमा एक दिनअर्थात् आजका दिन यी चार नारायण मन्दिरमा धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले चारै मन्दिरमा विशेष व्यवस्था गरिएको जनाइएको छ ।
पोखरा: गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा यहि मंसिर ८ देखि ९ गतेसम्म ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार–२०२३’ हुदैछ । खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञानको बृद्धिविकास, ग्रामीण क्षेत्रमा खेलकुदको बिकाससंगै ढोरपाटनको पर्यटन प्रर्वद्धन गर्ने, तेक्वान्दो आईटीएफÞ खेलको महत्व जनमानजमा पुर्याउने लक्ष्यकासाथ बाग्लुङको ढोरपाटनमा सेमिनारमाको आयोजना गर्न लागिएको हो । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय, गण्डकी प्रदेश तेक्वान्दो संघ (आईटीएफ) को आयोजना तथा ढोरपाटन नगरपालिकाको सहयोगमा आयोजना गरिएको सेमिनारमा देशका विभिन्न जिल्ला र प्रदेशबाट करिब ४ सय खेलाडीको सहभागिता हुदैछ । यसैविषयमा कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघका केन्द्रिय महासचिव घम थापासंग गरिएको छोटो कुराकानी । सेमिनारबाट के अपेक्षा गरिएको छ ? नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासघसँग आबद्ध खेलाडी र प्रशिक्षकको प्राबिधिक ज्ञानको अभिबृद्धि गर्न यस्ता खाले प्रशिक्षणको निरन्तर आवश्यक पर्दछ । यस्तै खेलकुदका गतिविधिहरु ग्रामिण क्षेत्रमा गर्न सके यसको पहुँच र बिकास गर्ने मद्धत पुग्नेछ भन्ने हाम्रो विश्वास छ । साथै देशभरीबाट त्यहाँ आएका हाम्रा खेलाडीहरुलाई प्रशिक्षणकै क्रममा ढोरपाटन जस्तो सुन्दर स्थानको अवलकन गराउने पनि हाम्रो चहाना हो । ढोरपाटन म आफु जन्मिएको स्थान पनि हो,अनि म व्यवसायिक रुपमै खेलकुदको विकासमा लागि परेको व्यक्ति हुनाले यस स्थानलाई खेल पर्यटन मार्फत विकास र प्रवद्धन गर्नुपर्छ भन्ने उद्धेश्यले यस सेमिनारले महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने अपेक्षा लिएको छु । बागलुङ खेलाडी उत्पादन गर्ने उर्वर जिल्ला पनि हो, खेलाडीहरुको अवस्था कस्तो छ ? हाम्रा खेलाडीको प्राविधिक ज्ञानको अबस्थाको कुरा गर्ने हो भने देशैगरि नै राम्रा मान्नुपर्दछ । साउथ एसियामा पदकका हिसाबले हेर्ने हो भने आईटिएफ तेक्वान्दो विधा दोस्रो स्थानमा छ । एसियाकै दृष्टिकोणबाट नियाल्ने हो भने पनि हामी पदक जित्ने क्षेमता राखदछौ । तर विश्व प्रतियोगितामा हाम्रो प्रदर्शन कमजोर छ । भविष्यमा नेपालका लागी पदक जित्ने हाम्रो मिसन हो । यस्लाई नै मध्यनजर गरेर हामीले समय समयमा अन्तराष्ट्रिय प्रशिक्षकहरु मार्फत हाम्रा खेलाडीहरुलाई प्रशिक्षण दिईरहेका हुन्छौ । बागलुङ जिल्लाको हकमा प्राबिधिक तर्फ धेरै राम्रो ज्ञान भएका खेलाडी छन् । आर्थिक अबस्थाको कुरा गर्ने हो भने हाम्रा प्रशिक्षकहरुले क्लव सञ्चालन गरेर वा स्कुलहरुमा प्रशिक्षण गरि आफ्नो आधारभुत आवश्यक्ता पूरा गर्ने क्षेमता राख्नु हुन्छ जसका कारण यो विधाका खेलाडीहरु व्यवसायीक रुपमा खेल क्षेत्रमा आवद्ध रहेका धेरै छन्,यस गतिविधिले म र हाम्रो महासंघ खुसी र गर्भ गर्दछ । अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीताको अबस्थाको कुरा गर्ने हो भने हाम्रा खेलाडीहरुलाई पर्याप्त अवसर सिर्जना भएको छ । फलस्वरुप राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता भएका छन् । र समाजमा आत्मासम्मानित भएर बाचेका छन् । उनीहरू जिल्ला प्रदेश र केन्द्रीय तहसम्म नेतृत्व गर्ने सक्षम छन्,त्यस प्रति गर्भ लाग्दछ । यद्यपी यति भनिरहदा राजनैतिक र संगठनात्मक चेतनामा भने कमजोर नै छ । त्यस कारण धेरै ठाँउमा चुक्नुपर्ने अवस्था रहेको छ । तर खेलाडी र प्रशिक्षकले राजानिति गर्नु पर्दछ भन्ने मेरो मान्यता होइन । खेलाडी तथा प्रशिक्षकमा नेतृत्व बिकास हुनु पर्दछ र नेतृत्व बिना कुनै क्षेत्रको बिकास रुपान्तरण सम्भव छैन र दिगो हुदैन भन्ने मेरो बुझाइ हो। तर समाजमा खेलकुदको महत्व र शिक्षा को अभाव छ । जसकारण खेलाडी तथा प्रशिक्षकले समाज र राज्यबाट पर्याप्त साथ सहयोग पाएको छैन,त्यो सत्य कुरा हो । त्यसर्थ कठिनाइ पनि छ । संख्यात्मक रुपमा देशैभरी हाम्रो विधामा करिव २० हजार खेलाडी छौ । तपाई खेलाडी भएर खेल्न सुरु गरेदेखि अहिले यो पदमा रहेर काम गरिरहदा समाजको सोचमा कतिको परिवर्तन पाउनु भएको छ ? म खेलकुद क्षेत्रमा लाग्दा बिशेष गरेर मार्शलआर्ट खेलकुद प्रति समाजको दृष्टिकोण गलत थियो । मार्शल अर्थात गलत उद्धेश्यले खेलिन्छ भन्ने बुझाइ थियो । खेलकुदले युवायुवती विग्रन्छन भन्ने बुझाइ थियो । ग्रामीण क्षेत्रको कुरा त के कुरा गर्ने विकसित सहरहरुमा पनि त्यस्तै सोच थियो । तर अहिले सोच बदलिएर अहिले खेल स्वास्थ,अनुशासन, मनोरञ्जन लगाएतका दृष्टिकोणले ठिक छ सिक्नु पर्दछ भन्ने चेतना सम्म आईपुगेको छ समाज,तर खेलको भावना,मर्म ,मार्ग दर्शन र यसले व्यक्ति , समाज र देशलाई पुर्याउने सकरात्मक योगदान बारे अनविज्ञ नै छ । यी सवै समस्याका समाधानको हुन्छ भन्ने लक्ष्य लिएर यो सेमिनार ढोरपाटन जस्तो स्थानमा गर्न लागिएको हो । स्टेफन हकिनले दोस्रो विश्व युद्धको समयमा बेलयातमा जन्म लिए पछि उनका बुवा आमाले उनलाई स्कुल भर्ना गरिदिए । र उनि स्कुलमा सधैं दोस्रो र अन्तिम हुन्थे । तर उनको चाहना र क्षमता अन्तै हुन्थ्यो । पछि उनि विश्व प्रसिद्ध वैज्ञानिक हुन सफल भए । त्यसैले बालबालिकाको क्षमता र चहाना बिभिन्न क्षेत्रमा हुन सक्छ र त्यस क्षेत्रबाट आफ्नो जीवन मात्र होइन समाज र देश लाई नै रुपान्तरण गर्न सक्दछ्न भन्ने कुरा पनि सामाजले बुझ्न आवश्यक छ । कार्यक्रम गर्ने मात्रै गर्नुहुन्छ कि यसको प्रभावकारीताका विषयमा अनुगमन गर्ने गर्नु भएको छ ? मेरो बुझाइ कार्यक्रम बिना खेलाडी प्रशिक्षक र खेल पनि दिगो बिकास र भविष्य छैन । कार्यक्रमले नै निखारता ल्याउछ । कार्यक्रमले सङ्गठनलाई र सङ्गठनमा आबद्ध सदस्यलाई चलयमान र गतिशिल गराउदछ । अवसर प्रदान गर्दछ । यो प्रक्रिया निरन्तर हुनु पर्दछ भन्ने कुरामा म सय प्रतिशत विश्वस्त छु । त्यही बुझाइको धरातलबाट म यहाँसम्म आइपुगे को हुँ। त्यही सिकाई र कर्मबाट हामीले खेलाडी उत्पादन, खेलको दिगो बिकास लगाएतका उपलब्धि हासिल गर्न सफल भएका हौ। त्यसर्थ हामीले गरेका कार्यक्रम कृत्रिम हुदैन । कार्यक्रम पश्चात यसको रिजल्टमा पनि अनुगमन गर्ने गरेका छौ । व्यवसायीक खेलाडी बन्नका लागि सम्भावना र चुनौति केके छन् ? व्यवसायी खेलाडी बन्नको लागी धेरै सम्भावना छ । यस्तै सम्भावनाहरुलाई पछ्याउदै अहिले सम्म म यो क्षेत्रमा क्रियाशिल छु । यसको लागी सम्बन्धित खेल संघ र त्यस संघको नेतृत्व र त्यसले लिने कार्ययोजना नीति तथा कार्यक्रममा भर पर्दछ । हामीलाई सामाजिक तथा राजनैतिक साथ आवश्यक पर्दछ । त्यसको लागी खेलकुद सम्बन्धि चेतना र दिगो बिकासको लक्ष्य आवश्यक छ । चुनौतिको कुरा गर्दा सरकारले खेलाडीहरुको लागि रचनात्मक कार्यक्रम ल्याउन नसक्दा विदेश पलायन र यस क्षेत्रलाई विट मार्ने गरेका छन्,यो निकै दुखद कुरा हो । खेलाडी र खेलकुद विकासका लागि गरिने यस्ता कार्यक्रमहरु आयोजना गर्न आर्थिक जुटाउन कत्तिको चुनौति छ ? यहाँले गरेँको प्रश्न निकै सान्दर्भिक छ, रहेक कार्यक्रमको आयोजना गर्न आर्थिक पक्ष मूख्य चुनौतीका रुपमा रहेको छ । अहिले सम्म हामीले जतिपनि खेलाडी र खेलकुद क्षेत्रमा कार्यक्रमहरु गर्दै आएका छौ यो सवै स्थानीय सरकार, खेलकुदका विभिन्न निकय, हाम्रा व्यक्तिगत सुभचिन्तकको सहयोग तथा संघको आन्तरिक स्रोतबाट नै सम्भव भएको छ । हरेक कार्यक्रमको एउटा लक्ष्य र मिसन हुन्छ र हुनु पर्दछ । हामीले गर्ने कार्यक्रम पनि मिसन र लक्ष्य बिनाको हुदैन भन्ने लग्छ । त्यसैले हामीले अहिलेसम्म कार्यक्रमहरु सफल बनाउन सम्भाव भएको छ । राज्यका तिनै तहका सरकारबाट अहिलेसम्म कति साथ पाउनु भएको छ र अपेक्षा राख्नुहुन्छ ? अहिलेसम्म मेरो व्यक्तिगत पहल र संघको तर्फबाट प्रयास गरिएको हो । जसबाट राम्रो परिणाम आईरहेको छ,समग्रमा सरकारले सोचे अनुसार साथ त दिएको छैन तर पनि अवको नीतिमा सरकारले खेलाडी र खेल क्षेत्रलाई देशको अर्थतन्त्रसंग जोड्न आवश्यक छ । खेल पर्यटन मार्फत हामीले पनि महत्वपुर्ण जिम्मेवार निभाउन सक्छौ भन्ने सरकारले विश्वास गरिदिनुपर्दछ । देशभरिका कुरालाई मूल्यांकन गर्ने हो भने हामीले इमानदारी पूर्वक गरेका काम, हाम्रो योजना तथा कार्यक्रम र त्यसको उद्धेश्य र खेल बिकासमा गरेका परिवर्तन र उपलब्धिबारे बुझेर मूल्यांकनका आधारमा पर्याप्त साथ सहयोगको अपेक्षा गर्दछु ।
काठमाडौं: नेकपा (एमाले)ले राष्ट्रिय युवा सङ्घलाई बिहीबार शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न निर्देशन दिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “जनवर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घले गर्ने विरोध प्रदर्शन भव्य र सभ्य ढङ्गले तीनकुनेमा उपस्थित भएर शालीनतापूर्वक सम्पन्न गर्न एमालेले जिम्मेवारी लिएको छ । राज्यले निषेधित घोषणा गरेको क्षेत्र तोड्न लाग्ने छैनौँ भन्ने पूर्व अडान नै हो, यो पहिले नै सार्वजनिक गरेका छौँ । त्यस्तो गतिविधिलाई पार्टीले कडा कारबाही गर्छ ।” यसैगरी, उनले आजको बैठकले मङ्सिर १४ गतेदेखि सुरु हुने पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीय अभियानको विस्तृत कार्ययोजना पास गरेको जानकारी दिए । उनले भने, “मङ्सिर १४ गते तीन हप्तासम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा लिने निर्णय गरेको छ । यो महत्त्वपूर्ण निर्णय हो ।” सो दिन बिहान ८ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तोलन गरेर पदयात्रा सुरु हुने उनको भनाइ छ । यसैगरी, जाजरकोट र रुकुमपश्चिम लगायतका भूकम्प प्रभावित क्षेत्रमा आवासविहीनलाई राज्यले उचित ध्यान दिन नसकेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको पनि उनले बताए ।
मुस्ताङ: मुस्ताङको तीनवटा स्थानीय तहले आफ्नो भूगोललाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताउनुभयो । “उपल्लो मुस्ताङलाई निषेधित क्षेत्र कायम राख्न पर्यटक आगमनमा कमी भई यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ,” उहाँले भन्नुभयो, “शुल्कसमेत अत्यधिक बढी भएकाले उक्त निषेधित क्षेत्रलाई हटाउन माग गरेका हौँ ।” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र वन तथा वातावरणमन्त्री डा। वीरेन्द्रकुमार महतोसँग तीन स्थानीय तहका अध्यक्षले निषेधित क्षेत्र हटाउनका लागि स्थानीयवासी, होटल व्यवसायी र गाउँपालिकाको निर्णयसहितको निवेदन बुझाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गत असोज र कात्तिकमा उहाँहरू मुस्ताङ आएका समयमा ज्ञापनपत्र बुझाइएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा समेटिएको उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले दश दिनका लागि पाँच सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु ५० का दरले शुल्क तिर्नुपर्ने नियम छ । मुस्ताङका साथै मनाङ र गोरखाका केही भूगोललाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्र कायम गरेका कारण विदेशीहरू सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा मुस्ताङमा ७१ हजार सात सय सातजना विदेशी पर्यटक आएकामा अर्ध निषेधित क्षेत्रका रूपमा रहेको उपल्लो मुस्ताङमा तीन हजार तीन सय ८८ पर्यटकले भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन आयोजनाले जनाएको छ । सन् २०२३ को नौ महिनाको अवधिमा पनि उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या तीन हजारभन्दा बढी रहेको एक्याप जोमसोमले जनाएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा रहेको उपल्लो मुस्ताङलाई सरकारले अर्ध निषेधित क्षेत्र घोषणा गरेको छ । सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गरेको थियो । सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल हुने किसिमको शुल्क निर्धारण र प्रक्रिया बनाउन आवश्यक रहेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनुभयो । कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् ।
काठमाडौं: बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । बिहीबार भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरेका छन् । सोही प्रदर्शनले उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्रै बाहिर निस्कन अनुरोध गरेको हो । उक्त प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैगरी, ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०२ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफ.एम.९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ । सुरक्षा र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी सधान जुनसुकै ठाउँबाट डाइभर्सन गर्न सकिने पनि ट्राफिक प्रहरीले जनाएको छ ।
धनगढीमा कुहिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ। बुधबार दिउँसो धनगढी उपमहानगरपालिका–६ मट्यारीमा अन्दाजी ३३ वर्षकी एक जना महिलाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार महिलाको शव पहिचान भइसकेको छैन। उनको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ।
नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघले आफ्नो संगठनलाई बदनाम गर्न सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडिओ फैलाइएको बताएको छ। भक्तपुरको एक पार्टी प्यालेसबाट मंगलबार बेलुकी बास बसिरहेका महिलाहरूलाई निकालिएको घटनामा आफ्नो संगठनको नाम मुछिएपछि युवा संघले प्रष्टिकरणसहित बुधबार विज्ञप्ति जारी गरेको छ। संघका अध्यक्ष क्षितिज थेवेले आफूहरूले संविधान र विधिको शासनलाई स्वीकार गर्ने बताउँदै लोकतान्त्रिक मूल्य मान्यता र आचरणसहित आफूहरूले गतिविधि गरिरहेको उल्लेख गरेका छन्। ‘मंसिर ७ गते आयोजना गरिने युवा(विद्यार्थी विशेष कार्यक्रमलाई विथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गरिरहेको हामीले आशंका गरिरहेका छौं। घुसपैठबारे हामीले आन्तरिक रूपमा छानबिन गरिरहेको व्यहोरा जानकारी गराउँदछौं। यस्ता खालको कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता खालका गतिविधि नगरिएको जानकारी गराइन्छ,’ उनले भनेका छन्। यस्तै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उक्त घटनामा आफूहरूको संलग्नता नरहेको स्पष्ट पारेको छ। अनेरास्ववियुका अध्यक्ष समिक बडालले निकालेको विज्ञप्तीमा ‘भ्रष्टाचार, अनियमितता नियन्त्रणमा सरकारको अकर्मन्यता तथा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने गतिविधिहरु विरुद्ध युवा विद्यार्थी विशेष प्रदर्शनको सम्मुखमा महिला आमा दिदीबहिनीहरु माथि भएको अमानवीय र अशोभनिय ज्यादतीको भिडियो सामाजिक संजालमा आइरहेकोमा उक्त मानवता विरोधि कार्यमा आयोजकको हिसाबले अनेरास्ववियुको कुनै संलग्नता नरहेको जानकारी गराउन चाहन्छौं।’ उक्त घटनाको सत्य तथ्य छानबिन गरी संलग्न जो कोहि भए पनि कानूनबमोजिम कडा कारबाही अगाडि बढाउन अनेरास्ववियु माग गरेको छ।
बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो। ‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ,’ उनले भने, ‘दुबै जनाको हात-खुट्टा बाँधिएका छन्। मुखमा टेप समेत लगाइएको छ।’ उनका अनुसार खोलामा एक व्यक्ति माछा मार्न पुगेका थिए। गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए। शवको सनाखत भइसकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ।

