पोखरा: मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटमा मदन भण्डारी स्पोर्टस क्लब (रातो)ले टस जितेर बागमति प्रदेश विरुद्ध फिल्डिङ गर्ने निर्णया गरेको छ । पोखरा रंगशालामा मदन भण्डारी स्पोर्टस क्लब (रातो)ले टस जितेर बागमति प्रदेशलाई ब्याटिङको निम्तो दिएको हो । पोखरा रंगशालामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रतियोगिता मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ । आज एक खेल मात्र हुने आयोजकले जनाएको छ । प्रतियोगिता सात प्रदेशका सात टिम,विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब र मदन भण्डारी स्पोर्टस एकेडेमीका २ टिम गरी १२ समूहको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, आईसिसीको नियम अनुसार सञ्चालन हुने टी–२० क्रिकेट प्रतियोगिताको म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २०/२० हजार र म्यान अफ द म्याच घोषित खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । मदन भण्डारी स्पोर्टस क्लब (रातो)को प्लेइङ: ११ (कप्तान)अमर मिश्र, अंकित बिएम, सुमित पराजुली, निर्मल थापा, निञ्चल गवाती, आरिफ खान, विजय प्रजापति, सन्तोष यादव, विप्रसन केसी, महेश बार, सन्देश थापा, सन्दिम मौरिया, सिजात आलम र रोशन गौतम । बागमति प्रदेशको प्लेइङ: ११ कप्तान)सन्दिप लामिछाने, शुभ कंशकार, आसुतोष गैरिया, रित गौतम, गौरव खड्का, रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इसान पाण्डे, सुवास खत्री, प्रतिक जिसी, रिजन ढकाल, रामनरेश गिरी र दिपेश श्रेष्ठ ।
बसन्तपुर डबलीको दक्षिणतर्फ रहेको नेृपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दे आएको जीर्ण भवन भत्काउन सिफारिस गरिएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भएको जनाउँदै प्राविधिक प्रतिवेदनका आधारमा भत्काउन मंगलबार मेयर बालेन शाहसमक्ष सिफारिस गरेको हो । ११ फागुन २०७९मा बसेको महानगरपालिकाको १३ औं कार्यपालिका बैठकले उपप्रमुख डंगोलको संयोजकत्वमा वडा नम्बर ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा नं। २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो । समितिलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम रहेको भवन महानगरपालिकाको मातहतमा ल्याउन र वडानम्बर ५ हाँडीगाउँमा रहेको सार्वजनिक जग्गाको भोगाधिकार प्राप्त गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको थियो । सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ को व्यवस्थाबमोजिम जग्गा तथा भवन महानगरपालिका मातहतमा ल्याउन समिति गठन गरिएको महानगरले जनाएको छ । व्यवस्था बमोजिम कुनै सरकारी निकायको नाममा दर्ता रहेको जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा जग्गा माग गर्ने निकायको केन्द्रीय निकाय, दर्तावाला निकायको केन्द्रीय निकाय र सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रालयले माग गर्ने सरकारी निकायलाई जग्गा उपयोग गर्न स्वीकृति दिन सक्ने उपप्रमुख डंगोलले जानकारी दिएकी छिन् । यही प्रावधानलाई टेकेर डंगोलले १२ भदौ २०८० मा त्रिवि उपकुलपतिको कार्यालयलाई पत्र लेख्दै दर्तावालाका तर्फबाट केन्द्रीय समिति गठन गरेर संयुक्त बैठकको माग गरेकी थिइन् । २७ भदौमा दुवै पक्षका अधिकारीबिच संयुक्त बैठक बसेर समितिले काम गर्ने अधिकार लिएको थियो । जनधनको क्षति रोक्न भत्काइने जीर्ण भवन भत्काएर सम्भावित जनधनको क्षति रोक्न स्थानीय ३२ जनाले हस्ताक्षर गरेर १९ कात्तिक वडामा निवेदन बुझाएका थिए । निवेदन वडाबाट प्रमुख, प्रमुखबाट प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतबाट सहरी व्यवस्थापन विभागमा पुगेको थियो । सोही अनुसार विभागले भवनको अवस्थालाई प्राविधिक अध्ययन गर्न इञ्जिनियर जीवन रेग्मी, आर्किटेक्ट इञ्जिनियर अमित बज्राचार्य र आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठ रहेको ३ सदस्यीय समिति गठन गरेर जिम्मेवारी दियो । यो समितिले ४ मंसिरमा प्रतिवेदन दिएको छ । प्रतिवेदनमा २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको जनाएको छ । पुरानो भवन दक्षिणतर्फ पहिलो तलामा रहेको झ्याल खसेको, उत्तर र दक्षिणतर्फको जमिन तलामा गाह्रो भत्किएको, पूर्वतर्फको पहिलो र दोस्रो तलाको गाह्रो ठाउँ ठाउँमा चिरा परेको, उत्तरतर्फको झ्याल वरपर ठाउँ ठाउँमा चर्किएको, छानाबाट पानी चुहिने हुँदा काठको मुसिं, ढलिः आदि मक्किएको देखिएको उल्लेख छ । प्रतिवेदनमा भवन कुनै पनि समयमा भत्किन सक्ने र जनधनको क्षति हुन सक्ने हुँदा जीर्ण भवनको तत्काल व्यवस्थापन गर्नुपर्ने देखिन्छ, भन्ने राय दिइएको छ । यो भवन वडा नंं २३ को सिट नं। १०२-११०४-१२, कित्ता नं। ३४८ मा ४ आना १ पैसा २ दाम -०-४-१-२ क्षेत्रफलमा रहेको विभागले जानकारी दिएको छ । जग्गा अनुसार त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम देखिने भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो । भवन कसले किन बनायो भन्ने संस्कृत विश्वविद्यालय र त्रिविलेसमेत जवाफ दिन नसकेको भन्दै महानगरले अभिलेख भवन भित्रै रहेको हुन सक्ने भन्दै भत्काउँदा संकलन गर्ने जनाएको छ । कहिले निर्माण भयो भन्न्ने अभिलेख नै नभएको भन्दै महानगरले संरचनामा नै सम्बन्धित कागजात हुनसक्ने भएपनि छिर्न सक्ने अवस्था नरहेको जनाएको छ ।
धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षौँदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् । धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ । गङ्गाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । यस वर्ष बुधवार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरेका छन् । तेह्र सय वर्ष अगाडि गङ्गा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएका र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौँ, हाम्रो यही पूजापाठ गर्नुहोला भनेपछि उनै गङ्गा र जमुनाको सम्झनामा हरेक वर्ष गङ्गाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ । गङ्गाजमुना गाउँपालिका–५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गङ्गा र जमुना नामका दुई झरना छन् । तीन सय मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर आर्शीवाद माग्ने चलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ । एकादशीको दिन बिहान गङ्गाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेका भगवान् गङ्गाजमुनाको दर्शन गरी फर्किने चलन छ । गङ्गाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ । भक्तजनले गङ्गाजमुना कुण्डमा नुहाउँदा रोगव्याधी निको हुने तथा परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहिआएको गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले बताउनुभयो । गङ्गाजमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको घुइँचो लाग्छ । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि कुकुरधारोमा नुहाउने चलन रहेको छ । मेला भर्न धादिङका विभिन्न ठाउँका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाण्डौलगायत ठाउँबाट भक्तजन यहाँ आउने गर्छन् । स्थानीय सिंहबहादुर तामाङ भन्नुहुन्छ, एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ–आफ्नो भेषभुषा र पहिरनअनुसारको कला देखाउँछन् । बिहान झरनामा स्नान गरी पूजापाठ गरेर फर्कन्छन् । यो जात्रा धादिङको गङ्गाजमुना गाउँपालिकामा रहेको फूलखर्कमा छ । यहाँबाट घाम अस्ताएको र उदाएको दृष्य निकै रोमाञ्चक देखिन्छ । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रिकालीन साङ्गितिक कार्यक्रम आयोजना गर्दै आएको छ । लङ्गुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो ।
काठमाण्डौ: राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा काठमाण्डौमा छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । युवा सङ्घले तीनकुनेमा र प्रसाईँ समूहले बल्खुमा प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनको लागि दुवै समूहको छुट्टाछुट्टै र्याली शुरु हुँदैछ । जुलुस र प्रदर्शन हुँदा पनि गाडीको आवतजावत र दैनिक कामधन्दामा असर नपर्नेगरी आवश्यक व्यवस्था मिलाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । यस्तै, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पनि जुलुस र प्रदर्शनलाई सडकको एकातिर केन्द्रित गरेर अर्कोतिरबाट गाडी आवागमनको व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिनुभयो । दुवै समूहको प्रदर्शनलाई चक्रपथभित्र पस्न नदिने प्रशासनको योजना छ । यस्तै, दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको पनि प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरेमा कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो। बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। आजको बैठक नियमित समेत रहेको उनले बताए।
धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए । डिएसपी महर्जनका अनुसार उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् । प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । छोरी र छिमेकीका अनुसार श्रीमान–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो । त्यसपछि घरमा तीन जना मृत फेला परेका थिए । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । मृत्युको कारण खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आत्महत्याजस्तो देखिएको डिएसपी महर्जनले बताए । ‘घाउचोट देखिएको छैन, मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि थाहा होला,’ महर्जनले भने ।
कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा भोलि बिहीवार काठमाण्डौ आउनुहुने भएको छ । भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । राज्यमन्त्री अल–मुरैखीस भ्रमण सकेर शुक्रवार काठमाण्डौबाट प्रस्थान गर्नुहुनेछ ।
सिरहा नगरपालिका–१९ सन्हैठामा बुधवार हिजो दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । स २ प ४५३१ र प्रदेश २–०१–००१ प १८५० नम्बरका मोटरसाइकल ठोक्किँदा सिरहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहको ज्यान गएको हो । दुवै मोटरसाइकलका चालकले हेलमेट नलगाएका पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गए राति नै विराटनगर लगिएको जानकारी दिनुभयो ।
पोखरा: पोखरामा आजदेखि केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टालीले प्रतिस्पर्धा गर्ने छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हुन लागेको केपी ओली कप राष्ट्रिय टी– २० प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोली सहभागि हुनेछन् । जसअन्तर्गत समूह ‘ए’ मा बागमती, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समूह ‘सी’ मा नेपाल पुलिस, मधेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी निलो रहेका छन् । हरेक समूहको समूह विजेता मात्र सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मंसिर १५ गते हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले ३० हजार, ‘बेस्ट बलर’ ले २० हजार तथा ‘म्यान अफ द म्याच’ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

