कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।   आज सुनको मूल्य तोलामा ६ सय र चाँदी तोलामा ३५ रुपियाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १६ हजार नौ सय, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ३५० र चाँदीको मूल्य एक हजार ४८५ रुपियाँमा कारोबार भइरहेको छ ।   शुक्रबार एक लाख १६ हजार तीन सय रुपियाँमा छापावाल सुन, एक लाख १५ हजार ७५० रुपियाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

पोखरा महानगरपालिका वडा नंं. १५ कार्यालयले शनिबार आयोजना गरेको अन्तर विद्यालय सडक दौड प्रतियोगितामा छात्रतर्फ शुभतारा थ्री एन्जल्सका प्रकाश डाँगी र छात्रातर्फ भ्यू पोइन्ट स्कूलकी सजिना सुनार प्रथम भएकी छन् ।   वडाका १५ विद्यालयका करिब २५० विद्यार्थीले भाग लिएको प्रतियोगितामा छात्रतर्फ केल्स एकेडेमीका देव कुँवर द्वितीय, एसओएस हर्मन माइनरका टिजन बुढामगर तृतीय भए भने गौरब बुढामगर र गणेश भट्टचनले सान्त्वना स्थान प्राप्त गरे । छात्रतर्फ मात्रै करिब १ सय ५० विद्यार्थी सहभागी थिए ।   यस्तै, करिब एक सय छात्रा सहभागी प्रतियोगितामा शुभतारा थ्री एन्जल्सकी अप्सरा बिक द्वितीय, सिद्ध माविकी रचना चौधरी तृतीय र सिद्धकै श्रेया थापा र कृतिका भण्डारी सान्त्वना भइन् । छात्र तथा छात्रा दुवैतर्फ प्रथम हुनेलाई नगद १० हजार, द्वितीयलाई नगद ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई २ हजार साथमा मेडल र प्रमाणपत्रले पुरस्कृत गरियो ।  प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले वडा नं. १५ खेलकुद गतिवधिमा अग्रपंक्तिमा रहेको बताए । उनले धेरै बजेट खेलकुदमा छुट्याएर विभिन्न प्रतियोगिता गर्दै वडालाई स्वस्थ र युवा, विद्यार्थीमैत्री बनाएकोमा खुशी व्यक्त गरे । सांसद बरालले स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा भएकाले यसले स्वस्थ समाजसँगै राष्ट्र निर्माणमा टेवा पुग्ने बताए ।   वडा नं. १५ का अध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधार विकासमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई जोडेर लगे मात्र मानवीय विकास सम्भव हुने बताए।   उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि घोकन्ते विद्यालाई मात्र अगाडि नबढाई मानसिक, बौद्धिक र शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने भन्दै यस्ता प्रतियोगिताले वडामा रहेका विद्यालय र विद्यार्थीबीच आपसी सम्बन्ध बढाउने बताए । कार्यक्रमका संयोजक तथा पोखरा १५ का सदस्य आशिष भण्डारीले गत वर्ष पनि संविधान दिवसको अवसर पारेर विद्यार्थीहरूबीच यही प्रतियोगिता गरेको र अहिले पनि निरन्तरता दिएको बताए ।   यस्ता प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउँदै स्वच्छ र शान्त वडा बनाउनको निम्ति सन्देश प्रवाह गर्ने उनको भनाइ थियो ।कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियार, सदस्य बलराम पौडेल, सेतीमाया गुरुङ, निवर्तमान वडा अध्यक्ष प्रकाश पौडेल लगायतको सहभागिता रहेको थियो।  

११ देशका खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सम्पन्न भएको छ । जसमा पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले हात पारेका छन् । उनले ५ स्टेज (ट्रयाक)को ११.९२० किमीको दुरी ९ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे ।   विभिन्न ७ विधामध्ये इलिट पुरुष तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद रु ५० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यसैगरि सोही बिधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान बनाउन सफल भए । किलिङले सोही दुरी १० मिनट १६ सेकेण्ड ९७ मिलिसेकेण्डमा पार गरेभने प्रचितले १० मिनट ३६ सेकेण्ड १३ मिलिसेकेण्डमा पार गरे । यससँगै किलिङले नगद रु ३० हजार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे भने प्रचितले नगद रु २० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे ।   त्यस्तै महिला तर्फ भने नेपालकी लक्ष्मी मगरले प्रथम, नेपालकै मिङ्गमा याङ्जी सेर्पाले दोस्रो र सिंगापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गर्न सफल भए । उनीहरुले १० किमी ५०० मिटरको दुरी क्रमशः ९ मिनट ५३ सेकेण्ड ४८ मिलिसेकेण्ड, ११ मिनट २५ सेकेण्ड ३१ मिलिसेकेण्ड र १५ मिनट ३५ सेकेण्ड ३६ मिलिसेकेण्डमा पार गरे । योसँगै उनीहरुले क्रमशः नगद रु ३५ हजार, २५ हजार र १५ हजार सहित प्रमाणपत्र, मेडर र गिफ्ट ह्याम्पर प्राप्त गरे ।   अर्को विधा १८ वर्षसम्मका पुरुष जुनियर तर्फ नेपालका बिपुल थापा प्रथम हुन सफल भए । उनलाई पछ्याउदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । त्यस्तै ३० देखि ३९ वर्ष समुहका लागि मास्टर्स ‘क’ विधामा राजन भण्डारी प्रथम, मंगल लामा दोस्रो र कुंगा वोसेर तेस्रो हुन सफल रहे । तीनै जना नेपालका खेलाडीले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।   त्यसैगरि अर्को विधा ४० देखि ४९ वर्षसम्मका लागि मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले प्रथम, रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो स्थान बनाउन सफल भए । उनीहरु सबै नेपाली हुन् । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । त्यस्तै ५० वर्षभन्दा माथीका समूहका लागि भेट्रान विधा तर्फ लाल आले, सुलोचन राजभण्डारी र सैशव प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । नेपालका उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।   नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रशन्न गौतम प्रथम हुन सफल भएभने विश्वास मोदी दोस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा तीन दिनसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा (महाप्रभु धाम)मा प्रतियोगिता सम्पन्न भएको हो । विगत ४ वर्षदेखि आर्वामा तयारी गर्दै आएको थियो । उक्त स्थानमा प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।   प्रतियोगितामा नेपालसहिति ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए । उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयले समन्वय गरेको थियो ।  

पाेखरा:  मणिपाल अस्पतालमा उपचारका क्रममा असोज ८ गते ५७ वर्षीया सुकमाया दुराको मृत्युपछि भएको तोडफोडमा संलग्न मानिएका १० जना आरोपीलाई कास्की प्रहरीले अझै फेला पार्न सकेको छैन ।    लमजुङ सुन्दरबजार निवासी दुराको उपचारकाक्रममा निधन भएपछि उनका आफन्तजन आक्रोशित भई विरोधमा उत्रिएका थिए । आफन्तलाई साथ दिँदै अस्पताल तोडफोड गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले १९ जनालाई दोषी करार गरेको थियो ।    उक्त १९ जनामध्ये ९ जनालाई पक्राउ गरी कास्की प्रहरीले मुद्धा चलाएको थियो । जसमध्ये सातजना धरौटीमा छुटिसकेका छन् भने २ जना पुर्पक्षमा रहेका छन् । जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्रवणकुमार विकले १० अझै फरार रहेको बताए ।    फरारको सूचीमा पोखरा ८ का गौरव बराल, पोखरा २ का गिरे हिपहप भनिने गिरबहादुर पुन, पोखरा १५ का प्रेमलाल पुन, पोखरा ६ का सागर परियार, पोखरा १७ का पशुपति भट्टराई, पोखरा ९ का हम्पे भनिने नवीन लामा, पोखरा ३ का सुजन अधिकारी, पोखरा १० का चुमन गुरुङ, पोखरा ११ का पागल अर्थात आशिष भनिने कार्लोस गुरुङ र पोखरा २३ का उत्तम भण्डारी रहेका छन् ।    अस्पताल तोडफोडपछि पीडितका आफन्त र चिकित्सक पक्षबीच अस्पताल प्रशासनको रोहबरमा ६ बुँदे सहमति भएको थियो ।   त्यसका बाबजुद कास्की प्रहरीले असोज ८ गते असोज १२ तथा अन्य मितिमा गरेर ९ जनालाई पक्राउ गरेको थियो । मणिपाल प्रकरणमा १९ जना दोषी देखिएपछि कास्की प्रहरीले जिल्ला अदालतबाट १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।     यसैबीच, मणिपालको सोही प्रकरणमा चिकित्सक कुटिएको घटनामा जिल्ला अदालत कास्कीले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन परेको छ । उच्च सरकारी वकिलको कार्यालयले चिकित्सक कुटपिट गर्ने ७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालतले दिएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएको हो ।   जिल्ला अदालतले ७ जनालाई पुर्पक्षका लागि पठाउने पर्याप्त आधार हुँदाहुँदै धरौटीमा छाडिएको भन्दै मंसिर ७ गते उच्च अदालत पोखरामा निवेदन परेको हो ।   उक्त निवेदन उपर आदेश गर्दै शुक्रबार उच्चका न्यायाधीश धनसिंह महराको इजलासले जिल्ला अदालतसँग कैफियत माग गर्ने आदेश गरेको उच्चका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विश्व अर्यालले जानकारी दिए ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबारदेखि सुरू हुने भएको छ।   महामन्त्री मुकल ढकालले दिएको जानकारीअनुसार महोत्तरीको जलेश्वरमा सोमबार, मंगलबार र बुधबार बैठक चल्नेछ। रास्वपाले केन्द्रीय समिति र संसदीय दल बैठक संयुक्त रूपमा गर्न लागेको हो।   बैठकमा सातै प्रदेशका सभापतिहरूको पनि सहभागिता रहने महामन्त्री ढकालले जानकारी दिए। केन्द्रीय अनुशासन र लेखा तथा प्रदेशहरूबाट सांगठानिक र राजनीतिक प्रतिवेदनसमेत बैठकमा पेश हुनेछ। पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूको तथा संसदीय कार्यको समीक्षा गर्ने तयारी पनि छ।   महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अबलम्बन गर्ने नीतिका बारेमा पनि संयुक्त बैठकमा छलफल हुने पार्टीले जनाएको छ।

लागू औषध (ब्राउन सुगर) सहित बर्दियाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।   गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्याप्रशाद धोवी पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार उनीहरुलाई शनिबार अपराह्न साढे ३ बजेतिर फक्राउ गरिएको हो।   उनीहरुको साथबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ। भे ३ प ८३७१ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई प्रहरीले बढैयाताल गाउँपालिका वडा नम्बर ८ पशुपति बजारबाट नियन्त्रणमा लिएको हो। लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्ज रर बर्दियाको प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

जनता समाजवादी पार्टी (जसपा)  नेपालको गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । पोखरामा आयोजित कार्यक्रमबाट गोपाल गुरुङको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो ।   समितिको उपाध्यक्षमा मधुकर न्यौपाने, मिमा गुरुङ मुख्य सचिव हेमन्त थापा मगर सचिव तिलकबहादुर गुरुङ, राम तामाङ, चन्द्र तामाङ मुस्कान र कोषाध्यक्षमा दिलिप गुरुङलाई चयन गरिएको प्रदेश समितिले जनाएको छ ।   पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समितिका इन्चार्ज शिवलाल थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न पुनर्गठन कार्यक्रममा प्रदेश समितिका सह इन्चार्जलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई चिसोबाट जोगाउन मुस्किल परेको छ । भूकम्प गएको झण्डै एक महिना हुन लाग्दा समेत प्रभावित क्षेत्रमा अस्थायी आवासको निर्माण हुन सकेको छैन।   गएको कात्तिक १७ गते भूकम्प गएपछि प्रभावितहरु त्रिपालमुनि बस्दै आएका छन् । उनीहरुलाई रुघाखोकी, ज्वरो, दम बढ्ने र पखला लाग्नेलगायतका समस्या देखिन थालेको छ । चिसो बढ्न थालेसँगै दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीलाई चिसोबाट जोगाउन मुस्किल पर्न थालेको छ ।   प्रभावित क्षेत्रमा पहिलो चरण अन्तरगतको राहत वितरण सकिएको जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमले जनाएका छन् । यस्तै, अस्थायी आवास बनाउनका लागि पनि तयारी थालिएको जिल्ला प्रशासन कार्यालयको दाबी छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार अस्थायी आवासको निर्माणका लागि लाभग्राहीलाई रकम पठाउने तयारी भएको छ ।    अस्थायी अवासका लागि प्रभावितले पहिलो चरणमा २५ हजार रुपैयाँ पाउने छन् भने त्यसपछि थप २५ हजार रुपैयाँ पाउने छन् । स्थानीय सरकारले सिफारिस गरेर स्थानीय विपद् व्यवस्थापन समितिले अनुमोदन गरेपछि  भूकम्प प्रभावितले अस्थायी आवासका लागि रकम पाउने छन् ।

चितवनको माडीमा नेपालकै अग्लाे चक्रशीला (शालिग्राम) स्थापना गरिएको छ। पर्वतको कुश्माबाट ल्याइएको चक्रशीला माडीको खैरहनीमा रहेकाे चक्रतीर्थ धाममा राखिएको हाे ।   १२ फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशीला कुश्मा नगरपालिका–१ सहश्रधारामा रहेकाे कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताउनुभयो ।   याे शिला मङ्सिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताउनुभयो । उहाँले पर्वतबाट रथयात्रामार्फत चक्रशीला माडी ल्याइएको बताउनुभयो ।   नेपालमा कालीगण्डकी नदी र माडीको मगुई खोलामा शालिग्राम पाइन्छ । उहाँले चक्रशीला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको बताउनुभयो ।    स्थानीय कृष्णबहादुर रानाभाटले देश–विदेशमा रहेका माडीवासीको सहयोगमा चक्रशीला स्थापना गरिएको बताउनुभयो । उहाँले यस क्षेत्रलाई चक्रतीर्थ धामका रूपमा विकास गर्न लागिएको भन्दै क्रमशः अन्य संरचना निर्माण हुने जानकारी दिनुभयो । उहाँले माडीका धार्मिक क्षेत्रलाई समेटेर एकीकृत विकास गर्नुपर्ने बताउनुभयो । माडीमा एक दर्जनभन्दा बढी धार्मिक क्षेत्र रहेका छन् । पछिल्लो समय माडीमा राम मन्दिरसमेत स्थापना भएपछि धार्मिक पर्यटक बढेका छन् ।