गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका–४ सेउघाका १९ वर्षीय विवेक झाँक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आज सोमवार बिहान सदरमुकाम तम्घासमा रहेको विद्यालयबाट घर जाने क्रममा रेसुङ्गा–४ अर्खलेमा लु ८७ प ९८१ नम्बरको मोटरसाइकललाई विपरीत दिशावाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभएको छ । तम्घासको महेन्द्र नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत मगर बिहानको पढाइ सकेर घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
मुस्ताङ: उपल्लो मुस्ताङको न्हेछुङमा रहेको भन्सार कार्यालयबाट १ सातामै करिब १ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ । करिब ४ वर्षपछि खुलेको कोरला नाकाबाट घरायसी समाग्री खरिदगर्न चीन प्रवेश गर्नेको सँख्या बढेसँगै राजस्व संकलनमासमेत वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार हालसम्म कात्तिक २७ गते यता करिब १ हजार २ सय जना चीन प्रवेश गरेका छन् । कोरला नाका खुलेपनि चीन प्रवेशका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई मात्रै खुला गरिएको थियो । प्रवेश अनुमति पत्र भएकाहरु मात्रै चीन प्रवेश गर्न पाउने प्रावधार रहेको छ । यद्यपी उल्लेखित गाउँपालिका बाहेकका नागरिकलाई भने प्रवेश निषेध छ ।
पाेखरा: तेह्रथुमको आठराईमा जन्मेर झापा बसाई सरेका दुर्गाप्रसाद प्रसाई झापा आन्दोलनका बेला भर्खर जन्मेका थिए । नागरिकता अनुसार उनको जन्म २०२८ साल बैशाख २० गते भएको हो । हाल अर्जुनधारा नगरपालिकाको बसपार्क नजिकै दुर्गा प्रसाईको परिवारको बसोबास थियो । उनीहरु खेतीपाती गर्थे । प्रसाईँले कक्षा ८ भन्दा बढी पढ्न सकेनन् । हाल बीएण्डसी अस्पताल रहेको स्थानमा यसअघि खेत थियो । करिब चार बिघा खेतको बीचमा गिरी परिवारको एउटा काठे घर थियो । श्रीमान् सौतासँग अर्कै घरमा बस्थे, खेतको घरमा आमा र छोराछोरीहरुमात्रै बस्थे । अन्ततः दुर्गा प्रसाईले सोही घरकी कन्यासँग बिहे गरे । झापामा गिरीबन्धु टी स्टेट चलाएर बसेका खलकसँग दुर्गा प्रसाईको कुटुम्बेरी साइनो जोडियो । तर, आफ्नी सासूआमा र सालासालीलाई ससुरा बाले अंश नदिएर हेलाहोचो गरेका थिए । आफूले भोगचलन गरेको काठे घर र चार बिघा खेत राजीनामा पास गरिदिन तारन्तार गरेका माग सुनुवाइ नभएको प्रसाईँले थाहा पाए । त्यसपछि उनी ससुरा बासँग ‘न्यायको लडाइँ’मा होमिए । ससुरालीलाई ‘भाटे कारवाही’ गर्न उनले माओवादी लडाकुको सहारा लिए । त्यसो त, माओवादीमा लाग्नुअघि प्रसाईलाई वैदेशिक रोजगारीमा जाने सोचाइ पलायो । उनी प्रक्रिया मिलाएर युरोप भासिए । करिब एक वर्षमै स्वदेश फर्केका प्रसाईले पोल्याण्डमा कृषि फार्ममा काम सिकेर आएको भन्दै झापामा भैंसी पालन व्यवसाय शुरु गरे । सुसरालीको उही खेतमा भैंसी फार्म बन्यो । भारतबाट मुर्रा भैंसीहरु ल्याए । झापामा त्यसबेला दुर्गा प्रसाईको भैंसी पालन व्यवसाय राम्रैसँग फस्टाएको र चर्चामा आयोग त्यसबेलाका जानकारहरु बताउँछन् । नजिकबाट चिन्नेहरु प्रसाईलाई दुस्साहसी व्यक्ति ठान्छन् । उनी जोखिम मोल्न आँट गर्ने मानिस हुन् । उनले त्यसबेला भारतको हरियाणाबाट भैंसी ल्याएर पालेका थिए । फर्ममा छिर्ने ठाउँमा गेट लगाएका थिए । हरियाणाबाट एक जना भारतीय भैंसीको पैसा नतिरेको भन्दै धाइरहन्थे । एक दिन उनी गेटबाट रुँदै र खुट्टो खोच्याउँदै बाहिरिएका थिए, त्यसपछि कहिल्यै झापा फर्किएर आएनन् । प्रसाईँले सुरुमा मोटर साइकलमा राखेर दूध बेचे । त्यसपछि गाडी किनेर गाडीमा दूध बेच्न थाले । उनी मेचीपुल तरेर भारतमा पनि दूध बेच्न जान्थे । बोल्न सिपालु भएकाले प्रसाईको व्यापार राम्रैसँग फस्टायो । माओवादीले जनयुद्ध शुरु गरिसकेका बेला प्रसाईको भैंसीपालन राम्रोसँग चलिरहेको थियो । उनले दूधको ट्यामीसँगै गाडीमा माओवादीलाई हालेर ओसार्न थाले । माओवादीका लडाकूहरुलाई भूमिगत रुपमा बोर्डर कटाउनेदेखि बाहुनडाँगीसम्म ओसार–पसार गर्ने कार्यमा प्रसाईँको सहयोग रह्यो । भूमिगत कालमा माओवादी कार्यकर्ताले प्रसाईबाट लिनुसम्म फाइदा लिए । नडराउने स्वाभावका प्रसाईँले प्रहरी र सेनाको आँखा छलेर माओवादीलाई सहयोग गरे । यही क्रममा सेनाले उनलाई पक्राउ गर्यो । तर, पूर्वकांग्रेस भएका कारण कांग्रेस नेताहरुको साथ लिएर उनी छुटे । तैपनि उनले ब्यारेकमा चरम यातना भोगे । आफ्नी ल्याइते श्रीमती र छोराछोरीलाई अंश नदिएको भन्दै माओवादीले प्रसाईका सालो नाता पर्नेलाई अपहरण गरी मरणासन्न हुनेगरी कुटे । त्यसपछि प्रसाईकी सासू र सालासालीले अंश पाए । त्यही जमीन प्लटिङ गरेर बेचेपछि दुर्गा प्रसाई एकाएक अर्बपति बनेको स्थानीय बताउँछन् । यसरी उनको आर्थिक उत्थानमा माओवादीको ठूलो योगदान रह्यो । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि दुर्गा प्रसाईको रजगज राम्रै थियो । प्रचण्ड परिवारसँग उनको उठबस थियो । तर, झापामा धर्मशिला चापागाई लगायतका त्याग गरेर आएका नेताहरुले नवधनाढ्यको हालीमुहाली भएको भन्दै प्रसाईंको विरोध गर्न थाले । ०७० को चुनावपछि माओवादी पनि कमजोर बन्यो । अवसरको खोजीमा लागेका प्रसाईँ केपी ओली आफ्नै हजुरबुवा हुन् भन्दै एमालेमा प्रवेश गरे । एमालेमा रहँदा प्रसाईले झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्न चाहेका थिए । तर, ओलीले सो क्षेत्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिए । मेडिकल कलेजको सम्बन्धनमा पनि ओलीले चासो दिएनन् । साथै एमालेभित्रैबाट प्रसाईलाई कारवाही गरिनुपर्ने आवाज उठ्न थाल्यो । एमालेको कोशी प्रदेश कमिटीले औपचारिकरुपमै उनलाई कारवाही गर्न केन्द्रमा सिफारिस गर्यो । त्यही रिसमा प्रसाई व्यवस्थाकै विरोध गर्दै राजावादी बने । बैंकप्रति आक्रमक अभिव्यक्ति दिइरहेका प्रसाईँ विगतदेखि नै वित्तीय संस्थाप्रति रुष्ट थिए । भैंसी पालेका बेला नेपाल बैंक लिमिटेडले नपत्याएको भन्दै उनले बिर्तामोडस्थित बैंक परिसरमा दुई दर्जन भैंसी लगेर धर्ना दिएका थिए ।
जनकपुर: महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असइ निलम्बनमा परेका छन् । महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो । आइतबार अपराह्न असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले जानकारी दिए । डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्री भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए । अनलाइनखबरले यो घटना सार्वजनिक गरेपछि महोत्तरी प्रहरीले असई यादवलाई निलम्बन प्रक्रियाको लागि प्रदेश प्रहरी कार्यालय जनकपुरलाई पत्र पठाएको थियो । एक पाखुरामा गोली लागेर घाइते भएका जवानलाई असई यादवले घटना लुकाउन भारत उपचारमा पठाएका थिए । भरतीय प्रहरीले थाहा पाएपछि सप्तरी प्रहरीलाई खबर गरेका थिए । घाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई गत शुक्रबार जानकारी गराएको थियो ।
पोखरामा सम्पन्न फिसटेल रेसिङ कप २०२३ को उपाधि अजय तामाङले जितेका छन् । आइतबार पोखरा रंशगशालामा सम्पन्न ३८ जना वाइकर्सहरुलाई उछिन्दै अजयले उपाधि जितेका हुन् । उनले उपाधि संगै नगद १ लाखसहित ट्रफि र प्रमाणपत्र हात पारेका छ्न् । नेपाल रेसिङ स्पोर्टस एसोसियसनको आयोजना तथा भिआर ४६ को समन्वयमा तिन दिन सम्म भव्य रुपमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापा मगर दोश्रो भए । उनले नगद रु ७५ हजार हात पार्दा मोहमद फरहान तेश्रो हुँदै नगद रु २५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ ५ जना वाइकर्स सहभागि थिए । महिलातर्फको एक मात्र उपाधि वर्षा बस्नेतले जितिन् । उनले नगद रु २० हजारका साथमा ट्रफी प्राप्त गरिन् । नेपाल रेसिङ स्पोर्टस एसोसियसनले पहिलो पटक उक्त प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा बाइकर्सहरुले स्टन्ट गर्नुका साथै म्युजिकल शो समेत प्रदर्शनीको रुपमा आयोजना गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, राखेपका सदस्य राजेश गुरुङलगायतले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । पोखरा रंगशाला भित्रको पिच सडकलाई फिसटेल रेसिङ ट्रयाकको रुपमा घोषणा गरि निरन्तर रुपमा प्रतियोगिताहरु आयोजना गर्ने नेपाल रेसिङ स्पोर्टस एशोसियसनका अध्यक्ष माइकल थापाले जनाएका छन् । उनले भने–“यो सुरुवात मात्रै हो । हामी पोखरा सहित अन्य प्रदेशमा समेत यस्तै प्रतियोगिताहरु आयोजना गर्ने गरि अगाडी बढ्दैछौं ।
तराई भू–परिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नेबारे चितवनमा पाँच निकुञ्जको संयुक्त बैठक बसेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार आयोजना गरेको बैठकमा पाँच निकुञ्जका कार्यालय, सुरक्षाकर्मी र सरोवारवालाको उपस्थिति थियो। कसरास्थित प्रकृति संरक्षण शिक्षालयमा आयोजित बैठकमा विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले निकुञ्जको सुरक्षा व्यवस्था थप बलियो र प्रभावकारी बनाउन निकुञ्ज प्रशासन, सुरक्षाकर्मी र सरोकारवालालाई निर्देशन दिएका छन्। सबै पक्षको सहयोग भएमा वन्यजन्तु तथा वन पैदावरको चोरी निकासी नियन्त्रण गर्न सहज हुने उनको भनाइ छ। कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सहायक रथी सुन्दरकुमार पाण्डे, नेपाली सेना नम्बर २८ बाहिनीका सहायक रथी सानुकाजी थापा, ७ नम्बर बाहिनीका सहायक रथी लीलाबहादुर खनाल क्षेत्रीको समेत सहभागिता रहेको थियो। उनीहरूले निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापनमा सबै सुरक्षा निकाय, स्थानीय समुदाय र सरोकारवालाबीच आपसमा समन्वय गर्नुपर्ने खाँचो बैठकमा औंल्याएका थिए।
खोटाङ: खोटाङको साकेला गाउँपालिका– २ स्थित माछा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरधन राईको ३० महिनाकी छोरी आरिमा राई रहेकी छिन् । आइतबार हिजो दिउँसो साढे १ बजे बराहपोखरी गाउँपालिका– ६ स्थित मामा घरमा बस्दै आएकी उनी घर नजिकैको माछा पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयाले देखेका थिए । त्यसपछि उपचारको लागि साकेला आधारभुत अस्पताल लगेपछि मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुरमा दुइटा शव फेला परेको छ। लोथर खोला आसपासमा बेग्लाबेग्लै ठाउँमा शव फेला परेको हो। शवका केही भाग फेला नपरेकोले बाघले खाएको अनुमान छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीका अनुसार बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको पाइएको छ। बाघले आक्रमण गरी मानिस मारेको भन्ने सूचनाका आधारमा प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले बाघ खोजी गरेका थिए। सोही क्रममा सोमबार राति करिब ७ बजे र गत शुक्रबार पनि सोही ठाउँ नजिकै शव फेला परेको थियो। ‘बाघलाई सोमबार राति नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज लगिएको छ,’ डिएसपी भण्डारीले भने। प्रहरीका अनुसार शव फेला परेकामध्ये एक जनाको सनाखत भइसकेको छ। चितवनको राप्ति गाउँपालिका १ दुबिचौरका हरि पौडेलको शव फेला परेको हो।
पाेखरा: पोखरास्थित यातायात व्यवस्था कार्यालय कास्कीले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो । उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे । “इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन”, कार्यालय प्रमुख रिजालले भने, “अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।” कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ । “अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ”, कार्यालयको सूचनामा उल्लेख छ । प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए ।

