पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

राष्ट्रिय फुटबल टिमका दुई खेलाडी भारतीय महिला लिग खेल्नका लागि भारत प्रस्थान गरेका छन् ।   राष्ट्रिय टिमकी पहिलो रोजाइकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता राना मगर आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।  एञ्जिलाले सम्झौता नवीकरण गरेकी हुन् । गीताको भने पहिलो संस्करण हो । यस अघिको सिजनमा ६ जना नेपाली खेलाडीले भारतीय महिला लिग खेलेका थिए ।

निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ । सोका लागि आयोगले यही मङ्सिर ३० गते मतदाता नामावली प्रकाशन, आगामी पुस १६ गते निर्वाचन  अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गराउने गरी निर्वाचन कार्यक्रम ल्याउने तयारी गरेको छ ।   आयोगको परामर्शमा यही मङ्सिर १३ गते नेपाल सरकारबाट निर्वाचनको मिति तोकिएपछि आफूहरू तयारीमा लागेको र आयोगबाट मङ्सिर १४ गते निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता सालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो । स्वीकृत कार्यतालिकाअनुसार यही मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ ।    राजनीतिक दल दर्ता भएपछि आगामी पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइनेछ ।    नेपालको संविधानको धारा ८६ को उपधारा ९३० बमोजिम राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले ९माघ १५ गते सम्म० निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।    आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ । निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ ।

पोखरा:    डा.कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०८० सालका लागि तीन विधामा घोषणा गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज पुरस्कार घोषणा गरिएको हो । यसवर्षको अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार गोरखाको अमरज्योति जनता माविका शिक्षक किशोरकुमार श्रेष्ठ, अन्तर्दृष्टि हातेमालो पुरस्कार अमरज्योति माविकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी समीर गुरुङलाई र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार रेडियोकर्मी अच्युत घिमिरेलाई प्रदान गर्ने निर्णय भएको संयोजक होमनाथ अर्यालले जानकारी दिए ।   पुरस्कारको राशि रु. २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको राशि रु. १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको राशि रु. १० हजार रहेको छ । पुरस्कार बसन्तपञ्चमीका दिन प्रदान गरिनेछ । 

दोलखा:    दोलखामा भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ । तामाकोशी गाउँपालिका–२ झुलेस्थित डाँडावारी जम्बोटे जङ्गलमा सिकार खेल्न गएका सोही ठाउँ बस्ने २० वर्षीय सन्जीव सार्कीको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । सन्जीव समेतका सात जना शनिबार राति उक्त जङ्गल गएको, सन्जिबले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिई फायर हुँदा छर्राले लागेर सन्जीव घाइते भएका थिए । तामाकोशी अस्पताल दोलखामा सामान्य उपचार पश्चात थप उपचारका लागि पशुपति चौलागाँई स्मृति अस्पताल चरिकोटमा आइतबार बिहान सन्जीवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

नवलपरासी:  बुबाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ परेका छन् ।   कुचोको डाँठले हिर्काएर ६० वर्षीय बुबा होमबहादुर दराईको हत्या गरेको अभियोगमा ३५ छोरा वर्षीय रुपेश दराईलाई प्रहरीले पक्राउ गरेको हो ।   मध्यविन्दु नगरपालिका–१० टाँडी बस्ने रुपेशले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका हुनुभएको थियो । गम्भीर घाइते होमबहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो ।   प्रहरी चौकी अरुणखालाबाट खटिएको प्रहरीले रुपेशलाई पक्राउ गरेको हो । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न  यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ ।   पार्टीले आगामी माघ महिनामा महाधिवेशन आयोजना गर्ने तय गरेको थियो ।  सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।   पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सो बैठकमा अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उहाँले बताउनुभयो ।    पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने जनाइएको छ  ।   बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल  र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो । 

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।   शनिबार साँझ करिब ५ बजे बागमती नगरपालिका-४ पुरानो चौकी नजिकको सडकमा दुई मोटरसाइकल ठोक्किएको थियो।   सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियारका अनुसार प्र २-०३-००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किँदा प्र २-०३-००६ प ६७ नम्बरको मोटरसाइकलको पछाडि रहेका व्यक्ति उछिट्टिएर सडकमा पछारिएका थिए। सडकमा पछारिएका ती व्यक्तिलाई मलंगवाबाट काठमाडौं जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले चेपेपछि घटनास्थलमै उनको मृत्यु भएको हो । ठोक्किएकोमध्ये बा २ ब ५७६६ नम्बरको मोटरसाइकल प्रहरीले चलाएको थियो। विपरीत दिसाबाट तीव्र गतिमा आएको अर्को मोटरसाइकलले प्रहरीले चलाएको मोटरसाइलकललाई ठक्कर दिएको डिएसपी पञ्जियारले जानकारी दिए।   उनका अनुसार दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको परिचय अहिलेसम्म खुलेको छैन। उनी चढेको मोटरसाइकलका चालक फरार रहेकाले मृतकको परिचय खुलाउन नसकिएकए डिएसपी पञ्जियारले जानकारी दिए। बसका चालक रौतहट चन्द्रपुरका रामहरी चौधरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स यूएई गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै हुनुहुन्छ । जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पारेको प्रभावको एजेन्डा लिएर नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड गएको १३ गते दुबई जानुभएको थियो ।   हिजो जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान लगभग शून्यमा भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताउनु भएको थियो ।   जलवायु परिवर्तनबाट हिमनदी सकिँदै गएको र तल्लोतटीय क्षेत्रका अर्बौँ मानिसको जीविकोपार्जनमा नकारात्मक असर परेको भन्दै उहाँले विश्व समुदायलाई ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले बढ्दो तापक्रमले हिमाललाई यातना दिएको भन्दै बचाउन आह्वान गर्दै जलवायु परिवर्तनबाट हुने हानि र क्षतिका लागि स्थापना गरिएका कोष अल्पविकसित र हिमाली देशका लागि सरलीकृत र पर्याप्त हुनुपर्नेमा जोड दिनु भएको थियो ।

काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो बिहानको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियो ।   काठमाण्डौमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सफा हुने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।   उहाँका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आंशिक बदली हुने सम्भावना छ । आज पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन्  ।