पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

पोखरा:   पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा आगामी पौष १४ देखि १६ गतेसम्म ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरूष भलिबल प्रतियोगिता’ हुने भएको छ ।  अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५ औं संस्करणको अवसरमा फेवाताल किनार बसुन्धरा पार्कमा भलिबल संघले प्रतियोगिता गर्न लागेको हो ।  प्रतियोगितामा पोखरा बाहिरका क्लब पनि सहभागी हुन पाउने र टिममा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाइने भलिबल संघका अध्यक्ष एवं खेल संयोजक रामबहादुर लामिछानेले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।  प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रूपैयाँ र उपविजेताले ७७ हजार ७७७ रूपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।     विधागत पुरस्कारतर्फ बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर (लिबेरो) ले ३/३ हजार रूपैयाँसहित कप र प्रमाणपत्र पाउने भलिबल संघका सचिव युवराज गुरूङले जानकारी दिए । उत्कृष्ट खेलाडीले १० हजार रूपैयाँसहित कप र प्रमाणपत्र पाउने छन् ।      पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामिछानेले स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।   सामुदायिक एवं संस्थागत विद्यालयमा रहेका भलिबल खेलाडीलाई प्रतियोगिताले भलिबलप्रति ऊर्जा भर्ने उनको दाबी थियो । पत्रकार सम्मेलनमा शिक्षा महाशाखा प्रमुख हेम आचार्य, रेबान पोखराका कार्यालय सचिव कमलराज कोइरालालगायतको उपस्थिति थियो ।  पोखरा महानगरपालिका, पोखरा महानगरपालिका खेलकुद विकास समिति, पोखरा महानगरपालिका शिक्षा महाशाखा, रेबान पोखरा, नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ कास्की, जिल्ला खेलकुद विकास समिति कास्की, प्रदेश भलिबल संघ गण्डकी, प्रदेश खेलकुद परिषद् गण्डकी, टाइगर ग्रुप पोखरा, वडा प्रहरी कार्यालय बैदाम प्रतियोगिताका सहयोगी संस्था हुन् ।   प्रतियोगितामा १२ वटा टिम सहभागी हुने आयोजकको अनुमान छ । 

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रिपब्लिक अफ पोल्यान्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेकी केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्यान्ड जान लागेकी निज महिला विमानस्थलमा जाँच गर्ने क्रममा एक सय दरको एक सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार पाँच सय अमेरिकी डलरसहित फेला पारी आइतबार पक्राउ गरिएको हो।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए।

मनाङ:    कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् ।  सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताउनुभयो । उहाँका अनुसार अक्टोबर महिनाम सबैभन्दा बढी पाँच हजार एक सय ९८ पर्यटक भित्रिएका छन् । साथै, सन् २०२३ को जनवरीमा एक सय ८४, फेब्रुअरीमा चार सय ९९, मार्चमा दुई हजार सात सय ३६, अप्रिलमा चार हजार दुई सय २१, मेमा एक हजार पाँच सय ७१, जुनमा दुई सय ५२, जुलाईमा दुई ५६, अगस्टमा तीन सय १६, सेप्टेम्बरमा दुई हजार दुई सय ५७, अक्टुबरमा पाँच हजार एक सय ९८ र नोभेम्बरमा तीन हजार दुई सय ४८ पर्यटक भित्रिएका छन् ।  सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरिक मनाङ भ्रमणमा आएका छन् । फ्रान्सका दुई हजार चार सय ८५, इजरायलका एक हजार ८३, जर्मनका एक हजार आठ सय ३७, बेलायतका एक हजार चार सय ७३, अमेरिकाका एक हजार दुई सय १३, रसियाका एक हजार एक सय ६७, अस्ट्रेलियाका एक हजार एक सय पाँच, नेदरल्याण्डसका नौ सय ७० र भारतका आठ सय ९७ पर्यटक भित्रिएको एक्याप मनाङले जनाएको छ । सन् २०२२ मा मनाङमा १५ हजार नौ सय तीन विदेशी पर्यटक भित्रिएका थिए । कोभिड महमारीको समयमा पनि सन् २०२० मा एक हजार नौ सय ७६ र सन् २०२१ मा दुई हजार तीन सय ७३ बाह्य पर्यटक भित्रिएका थिए । साथै सन् २०१९ मा २६ हजार छ सय ४७, सन् २०१८ मा २९ हजार चार सय ८४ र सन् २०१७ मा २७ हजार ६८ पर्यटक भित्रिएका थिए । कोभिड महामारीपछि मनाङमा हालसम्मकै बढी पर्यटक भित्रिएका हुन् ।  मनाङमा विशेष गरी साहसिक पदयात्राका लागि विदेशी पर्यटक आकर्षित हुन्छन् । विश्वकै १० औँ उच्च जोखिमपूर्ण यात्रा गर्न मनाङमा पर्यटक आकर्षित हुने गरेका छन् । रसियन पर्यटक लुले प्राकृतिक वातावरणको अनुभव गर्न नेपाल आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रविधिमार्फत एकै ठाउँमा बसेर धेरै स्थान पुग्न सक्छौँ । तर, शारीरिकरुपमै पुगेर प्रकृतिसँग रमाउनुको मज्जा नै छुट्टै छ ।नेपाल प्राकृतिकरुपमा धनी छ । यसको महसुस गर्न सक्नुपर्छ । सबै देशका मानिस एक नेपालको प्रकृतिसँग रमाउन आउनुपर्छ ।” उहाँ जस्तै अधिकांश विदेशी पर्यटक नेपालको रमणीय प्रकृतिसँग रमाउन आउने गरेका छन् । 

पोखरा:    युनाइटेड क्लब पोखराले आफ्नो सामाजिक कार्यक्रम अन्तर्गत भूकम्प प्रभावित क्षेत्रमा पुगेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकलाई सिरक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  देउसीभैलो कार्यक्रम गरी बचत भएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत युनाइटेड क्लबले कार्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० बिसौनीचौरका बासिन्दालाई मध्यनगर गरी सोही स्थानमा रहेको ऐश्वर्य आधारभुत आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र उनका अभिभावकहरुलाई सिरक वितरण गरिएको हो ।  सोे अवसरमा बिसौनीचौरका १ सय ५० जना बिद्यार्थीलाई न्यानो कपडा र विद्यार्थीका अभिभावक सहित असहय हरु गरी सय जनालाई सिरक वितरण गरिएको हो ।  कार्यक्रममा चौरजहारी नगरपालिका वडा नम्बर १० का अध्यक्ष विरेन्द्र रोकायाले सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले आफ्नो वडामा रहेका भुकम्प प्रभावितलाइ लक्षित गरी जाडो याममा न्यानो कपडा बितरण गरेर आफ्नो वडाका जनतालाई राहत प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे ।  त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाराम रोकायाले गण्डकी प्रदेशबाट भुकम्प प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवक मार्फत युनाइटेड क्लब संग सहकार्य गरी आफ्नो ठाउँमा सहयोग ल्याउन सफल भएको वताउदै युनाइटेड क्लबको सहयोगले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी र उनीहरुको अभिभावकलाई ठूलो टेवा पुगेको बताए ।  युनाइटेड क्लबका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लबले स्थापनाका कालदेखीनै सामाजिक काममा अगाडि बढिरहेको र अहिले आएर रुकुम पश्चिममा भुकम्प प्रभावितलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए ।  त्यस्तै युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले सामाजिक काममा अगाडि बढिरहदा बिपद ब्यवस्थापन कोष मार्फत नेपाल भरि कुनैपनि ठांउमा विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहदा हालै कार्तिकको १७ गते भुकम्पले तहस नहस गरेको रुकुम पश्चिममा आएर विद्यार्थी संगै अभिभावकहरुलाई समेत सहयोग गर्न पाउदा खुसी लागेको बताउदै आगामी दिनमा समेत यस्ता सहयोगलाई निरन्तरता दिने बताए ।  युनाइटेड क्लबका सदस्य जयराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा पूर्व विद्यालय निरीक्षक अतिराम वली, विद्यालयका प्रधानाध्यापक बलबहादुर केसी, गण्डकी प्रदेशका स्वयंसेवक पान बहादुर क्षेत्री लगायतले बोलेका थिए ।   

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ।   सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।   न्याय परिषद्को यही मंसिर ५ गते बसेको बैठकमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो।   सो बैठकले सदस्यहरुमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाशीश रितेन्द्र थापालाई सिफारिस गरेको थियो।

म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ। गाउँपालिकाले सातवटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गर्न लागेको हो।   संघीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा विपन्नको घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार सङ्घको समपूरक कोषमार्फत ५० लाख र गाउँपालिकाको रु ५० लाख गरी रु एक करोड लगानीमा २५ वटा घर निर्माण गरिनेछ।   उनले भने, ‘गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०र८१ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाअन्तर्गत आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रमअन्तर्गत घर बनाउन लागिएको हो।’ गाउँपालिका–१ देखि ७ मा रहेका लक्षित वर्ग, म्याग्दे गाउँपालिकाको आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रम कार्यविधि २०८० को दफा ९३० अनुरुप मापदण्ड तथा सूचीभित्र योग्यता पुगेका स्थानीय नागरिकलाई मङ्सिर २७ गतेभित्र निवेदन पेस गर्न सूचित गरिएको छ।   त्यसका लागि जग्गाधनी प्रमाणपुर्जा प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिससहित आवश्यक कागजात, सामान्य प्रकृतिका श्रमबाहेक परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएको, दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्नुपर्नेछ।   कार्यविधिबमोजिम विगतदेखि गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र स्थायीरुपमा बसोबास गर्दै आएको तर सरकारबाट सञ्चालित यस्तै कार्यक्रमबाट लाभ प्राप्त गरेका व्यक्ति लाभग्राही हुन नसक्ने मापदण्ड छ । अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत जाति, अल्पसङ्ख्यक जाति वा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए।

मोरङ​:  जंगली हात्तीको आक्रमणमा परेर मोरङ बेलबारीमा सोमबार एक जनाको ज्यान गएको छ।  \   लेटाङ-३ का  ५३ वर्षीय कमल माझीको हात्ती आक्रमणमा परेर मृत्यु भएको हो।   मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार  साइकलमा हिडिरहेका माझीलाई बेलबारी नगरपालिका–१० भाउन्नेमा पर्ने सिर्जना  सामुदायिक वन क्षेत्रमा आज बिहान  हात्तीले  आक्रमण गरेको थियो। माझी घरेलु मदिरा बनाउन प्रयोग गरिने मर्चा बोकेर बेलबारीतिर आउँदै थिए।   हात्तीको आक्रमणबाट गम्भीर घाइते उनको घटनास्थलमै मृत्यु भएको थियो। एक साता अघि मात्रै सुनसरीको  इटहरीमा एक जनाको र दमकमा एक जना भुटानी शरणार्थीको हात्ती आक्रमणमा मृत्यु भएको थियो।

धादिङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।   धुनिवेशी नगरपालिका-४ जीवनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। उनीमाथि आफ्नी २० वर्षीया श्रीमती पवित्रा बयलकोटीको हत्या गरेको आरोप छ।    सोही नगरपालिकाको वडा नम्बर १ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरी रामचन्द्र भागेका थिए।    इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जीवनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। उनी धुनिवेशी नगरपालिका-७ खानीखोला बजारमा फेला परेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।