पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाँदर आतंकले बाँझो रहेका गाउँका पाखाहरुमा गाँजा खेती गर्नुपर्ने तर्क गरेका छन् । पोखराको नयाँबजारमा आजदेखि सुरु भएको समृद्धि स्टिल्स ३२ औं राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकार गाँजा खेती र घरेलु मदिरा उत्पादनलाई वैधानिकता दिने तयारीमा रहेको पनि बताएका हुन् । अहिले गाउँहरु पूरा रित्तो छन् । बारीहरु बाँझो छन् । दिनदिनै गाउँका साथीहरु आउनुहुन्छ, गाउँका मान्छेको एउटै आवाज छ, बाँदर धपाइदे । बाँदर रोक्दे । बाँदर रोक्ने उपाय छैन,’बिहीबारबाट पोखरामा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले भने,‘ कम्तिमा बाँदरले गाँजा खाँदैन हेर्नुहोस् । मैले बुझेको यत्ति हो । त्यसैले बाँझो बारीमा गाँजा उत्पादन हुनसक्छ । त्यहाँ गाँजा रोप्ने हो । त्यसबाट औषधिजन्य उद्योग खोल्ने हो ।’ उनले प्रदेश सरकारको अवको अधिवेशनमा गाँजा खेती र घरेलु मदिरालाई वैधानिकता दिने दुई विधेयक दर्ता गरिने जानकारी दिए । बाँदर आतंकबारे बोल्ने क्रममा उनी त्यत्तिकै रोकिएन् । उनले थपे,‘ दुईवटा कुरा मैले नीति तथा कार्यक्रममा पनि भनेको छु, आज पनि भन्छु । एउटा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने र अर्को गाजा खेतीलाई वैधानिकता दिने । गाँजा लागुपदार्थमात्र हैन । यहाँ दुईजना डीआइजी र सिडिओ साब पनि हुनुहुन्छ । म फेरि दोहो¥याएर भन्छु, गाँजा लागुपदार्थमात्र हैन, यो औषधिजन्य पदार्थ हो । यसको डाँठबाट औद्योगिक उत्पादन पनि हुँदो रहेछ हामीलाई चिन्ता छ कि, यसको दुरुपयोग नहोस् । एउटा मस्यौदा बनेको छ । घरेलु मदिरालाई कानूनी मान्यता दिने र गाँजालाई कानूनी मान्यता दिँदै औषधिजन्य र औद्योगिक उत्पादनमा प्रयोग गर्ने । सरोकारवाला निकायसँग अन्तिम छलफल गर्छौं । मेरो चाहना त, अस्ति नै एकजना मन्त्रीले भन्नुभयो, पत्रकारले उडाँइदिनुभयो । श्रीलंकाले अहिले बाँदरको व्यापार गर्छ । खसीको व्यापार गर्न हुन्छ, बाख्राको व्यापार गर्न हुन्छ, बाँदरको किन हुँदैन ? मलाई पनि लागेको हो । बाँदर पनि पशु नै हो आखिर । त्यसको व्यापार किन गर्न किन नहुने । कतिमात्रामा गर्ने ? यहाँ पशु अधिकारकर्मी पनि हुनुहुन्छ । उहाँको कुरा पनि सुन्नुपर्ने होला । कति गर्न सकिन्छ ।’ उनले विश्वका धेरै देशले आफ्नो मौलिक मदिराको उत्पादनलाई वैधानिकता दिँदै प्रवद्र्धन गरेको दृष्टान्त दिँदै घरेलु मदिराले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना र आत्मनिर्भरता दिलाउने भएकाले वैधानिकताको पहल गरिएको पनि बताए । उनले आफ्नो भनाइको पुष्टि गर्ने क्रममा भने,‘ घरेलु मदिराको ब्राण्ड्रिङ,धेरै देशले गरेका छन् । चीनको माओथाइ रक्सी ब्राण्डिङ छ । जापानको छ । कि नेपालमा अरु रक्सी उत्पादन गर्न नपाइने भन्नुप¥यो । हैन भने किन घरेलु मदिरा उत्पादन गर्न नहुने ? हामी घरेलु रक्सीको ठूला उद्योग खोल्ने भनेको हैन । सानासाना घरेलु उद्योग खोल्ने भनेको हो । अहिले पनि लुकेर उत्पादन गरेको छ, लुकेर खाएको छ । धेरै मान्छेको जीविकोपार्जन भइरहेको छ । गुणस्तर नभएर कहिलेकाहिँ घरेलु रक्सी खाएर यति म¥यो भन्ने सुन्छौँ तर हामी त्यसलाई गुणस्तरीय उत्पादन गरी आत्मनिर्भर बनाउन चाहन्छौँ ।’ संघलाई पर्खदैनौं, कानून बनाउँछौं मुख्यमन्त्री पाण्डेले संघीयताले परिकल्पना गरे अनुसारका कानून निर्माणमा ढिलाइ भएको बताउँदै अव संघको मुख नताक्ने र आवश्यक कानून बनाउने उद्घोष पनि गरे । ‘संघीयता त आएको छ तर कानूनहरु संघीयताले अपेक्षा गरेअनुरुप बनाउन सकिएको छैन । तर हामीले एउटा संकल्प गरेका छौँ , संघको कानून पर्खेर बस्ने हो भने हाम्रो पर्फमेन्स र लक्ष्य प्राप्ति हुँदैन,’उनले. भने,‘ अव संघ सरकारले कानून बनाएन भने पनि हामी बनाउँछौं । त्यसलाई अक्षरशः पालना गर्छ । बाझिएछ भने त्यो बेला जे गर्नुपर्छ गरौँला । ’ रोजगारी सिर्जनामा चुनौती मुख्यमन्त्री पाण्डेले २०४६ सालको परिवर्तनपछि खानेपानी, बाटो,शिक्षा,स्वास्थ्यको विकासमा देशले फड्को मारे पनि देशमा रोजगारी सिर्जनामा चुक्दा समस्या उत्पन्न भएको जिकिर पनि गरे । ‘गाउँमा अहिले दक्ष र अदक्ष दुवैखालको जनशक्ति छैनन्, सवैभन्दा ठूलो चिन्ता यहीँनेर छ । हाम्रा क्रियाकलापहरु रोजगारी सिर्जनामा लक्षित हुनुपर्छ । त्यो गर्न सकेमात्र हामी आत्मनिर्भर बन्नसक्छौं । समुन्नत प्रदेश बनाउन सक्छौं,’उनले थपे । उनले गण्डकी प्रदेश सरकार पर्यटनलाई केन्द्रमा राखेर अगाडि बढिरहेको बताउँदै पर्यटन उद्योगलाई कसरी माथि लैजान सकिन्छ भन्नेबारे प्रदेश सरकारले गम्भीर रहेको पनि बताए । कुनै कानूनले पर्यटन उद्योगमा अवरोध सिर्जना गरेको छ भने प्रदेश सरकार सहजीकरण गर्न तयार रहेको मुख्यमन्त्रीको भनाइ थियो । ‘ हाम्रा कानूनका कारण भएका समस्या छन् भने खुलेर छलफल गर्न तयार छौँ । हामी छिट्टै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न तयार छौँ । राजधानी घोषणा भइसकेपछिका आवश्यकता के–के ह्ुन् भन्ने रिपोर्ट आइसकेपछि घोषणा गरिन्छ । त्यसले हुने त केही हैन तर आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने मेरो भनाइ हो,’उनले थपे । उनले फेवाताल संरक्षणबारे सर्वोच्च अदालतले दिएको फैसला कार्यान्वयन गर्नु आफ्नो कर्तव्य भएको बताउँदै आदेश कार्यान्वयनमा सहजीकरण गर्न आफ्नै संयोजकत्वमा समिति बनाइएको प्रष्ट पारे । ‘अदालतले दिएको आदेशलाई पालना गर्नुपर्ने हाम्रो कर्तव्य हो । अवैध संरचना जति छन्, खाली गराउनू र वैध संरचनाको क्षतिपूर्ति दिने भनेको छ । फेवातालको जति बढी सौन्दर्यकरण गरिन्छ,पर्यटन उद्योग त्यति नै फस्टाउँछ । त्यसैले फेवाको संरक्षण गर्नु हाम्रो सामाजिक दायित्व हो,’उनले भने ।
पोखरा: नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा बर्सेनि मनाउँदै आएको पर्वतीय महोत्सव शुक्रबारबाट पोखरामा सुरु हुँदैछ । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ५ दिनसम्म चल्ने महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस पनि हुने भएको छ । महोत्सवको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नेछन् । आयोजक नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारका अनुसार महोत्सवको पहिलो दिन शुक्रबार नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइनेछ । ‘गिद्धको महत्व र उपयोगिता देखाइनेबारे बालबालिकाले नै नाटकबाट प्रस्तुत गर्नेछन्,’ उनले भने । महोत्सवमा किम्फसँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र देखाइने सिन्दुराकारले जानकारी दिए । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुनेछन् । महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे पनि बहस हुने भएको छ । ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ ?’ शीर्षकमा डब्लुडब्लु एफका डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दिक्षितले वार्तालाप गर्नेछन् । उक्त बहस डिसेम्बर ११ मा दिउँसो १ बजेदेखि सुरु हुनेछ । महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्वीर पनि प्रर्दशनमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ उनले भनिन् ।
पोखराः नेकपा (एमाले)ले यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को कास्की आइपुगेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली कास्की प्रवेश गरेको हो । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को टोलीलाई कास्की र पर्वतको सिमाना नयाँपुलमा स्वागत गरिएको एमाले कास्कीका उप–सचिव एवम् प्रचारप्रचार विभाग प्रमुख दर्शन लामाले जानकारी दिए । नयाँपुलपछि अन्नपूर्ण गाउँपालिकाका नागडाँडामा स्वागत र पोखरा महानगरपालिका २५ मिलचोक हेम्जामा स्वागत एवम् भेटघाटको कार्यतालिका रहेको छ ।
गोरखा: गोरखामा एक महिलाको शव फेला परेको छ। पालुङटार नगरपालिका वडाा नम्बर ६ कुमालटारीस्थित गोरेटो बाटोमा बिहीबार एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जिल्ला प्रहरी गोरखाका अनुसार गोरेटोको छेउमा करिब २४२५ वर्षीया महिलाको शव फेला परेको हो। प्रहरीका अनुसार शवको पहिचान हुन सकेको छैन् ।
स्याङ्जा: स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक चालक तानसेन नगरपालिका वडा नम्बर ७ धोबीघाट पाल्पाका ३२ वर्षीय केशव घिमिरे गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । सिद्धार्थ राजमार्गमा बुटवलबाट स्याङ्जातर्फ आउँदै गरेको लु २ ख ५७५५ नम्बरको मिनी ट्रक सडकबाट दुई सय मिटर तल खसेको हो । घाइते चालक घिमिरेलको ढाड र बायाँ खुट्टा, टाउको लगायतका ठाउँमा चोट लागेको छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं: सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो । सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका नाममा छ, टेकप्रसाद ढुङ्गानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिनुभयो । उहाँका अनुसार सिफारिस भएका न्यायाधीशमा महेश शर्मा पौड्याल, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाममा कुनै पनि उजुरी परेको छैन । समितिका सदस्यहरुले उजुरीउपर र कार्ययोजनाको विषयमा विस्तृतरुपमा अध्ययन गर्नुपर्ने भएकाले केही दिन समय दिनुपर्ने माग गरेपछि अध्ययन समितिले सिफारिस भएका न्यायाधीशहरुको सुनुवाइका लागि यही मङ्सिर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै, आजको बैठकमा सुनुवाइका लागि मङ्सिर २९, आगामी पुस १ र २ गते दुई÷दुई जनाको गर्ने निर्णय भएको हो । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि यही मङ्सिर ५ गते छ जनाको नाम सिफारिस गरेको थियो । पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार संसदीय सुनुवाइ समितिको आजको बैठकले पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस हुनु भएका शनिल नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने भएको छ । समितिका सभापति जबराले आज उहाँविरुद्ध एक उजुरी परेको जानकारी दिँदै उहाँको सुनुवाइ भोलि ९शुक्रबार० २ः३० बजेका लागि तय भएको जानकारी दिनुभयो । बैठकमा मुलुक आर्थिक सङ्कटमा परिरहेको अवस्थामा के कारणले त्यहाँ दूतावास खोल्नुपरेको हो सोको कारणबारे समितिका सदस्य महेश बर्तौलाले सरकारका तर्फबाट जानकारी गराउनुपर्र्ने माग गर्नुभएको थियो । सोही विषयमा समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विषयमा परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर छलफल गर्नुपर्ने कुरा राख्नुभयो । उक्त विषयलाई लिएर समितिका सभापति जबराले राजदूतको सुनुवाइ हुनुभन्दा अगाडि परराष्ट्रमन्त्रीलाई बोलाएर उक्त विषयमा जानकारी लिने बैठकमा जानकारी दिनुभयो ।
धरान: नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित आज बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत बिमल खनाल र चार्टर्ड एकाउण्टेण्ट अनिल बस्नेत सदस्य रहेको टोली गठन गरिएको थियो । बुधबार धरान आइपुगेको टोलीले उपमहानगरपालिकामा छलफल गरेपश्चात आज स्थलगत अध्ययन सुरु गरेको हो । अध्ययन टोलीका संयोजक थापाले विगतमा भएका अध्ययन प्रतिवेदनलाई नै आधार मानेर अध्ययन अघि बढाइएको बताए । सोही स्थानमा विमानस्थल निर्माणका लागि भनेर प्राधिकरणले पहिला पनि अध्ययन गरेको थियो । प्राधिकरणले २०७४ असार १ गते धरान उपमहानगरपालिकालाई पत्र पठाउँदै एटीआर ४२ सिट क्षमताको जहाजका लागि विमानस्थल निर्माण गर्न करिब ९३ दशमलव २५ बिघा जग्गा आवश्यक पर्ने उल्लेख गरेको थियो । अध्ययन टोलीका संयोजक थापाले हाल नेपालमा ७२ सिट क्षमताका जहाज प्रचलनमा रहेकाले उक्त जहाजका लागि विमानस्थल बनाउन अझै धेरै जग्गा आवश्यक पर्ने बताए । डाँडा घोपामा निजी कम्पनी यति इन्कर्पोरेट प्रालिले विमानस्थल निर्माण गर्ने भनेर २०६० सालमा करिब सात बिघा जग्गा खरिद गरेको थियो । निजी कम्पनीले विमानस्थल निर्माण गर्न पाउने स्पष्ट कानुन नरहेकाले विमानस्थल बन्न सकेको छैन । तत्कालीन समयमा विमानस्थलका लागि सस्तो मूल्यमा जग्गा बिक्री गरेका स्थानीय भने विमानस्थल नबन्ने भए आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । आज स्थलगत अध्ययनमा पुगेको टोली समक्ष पनि स्थानीयले विमानस्थल निर्माण गर्ने भए तुरुन्तै सुरु गर्न र नबन्ने हो भने जग्गा फिर्ता गर्न माग गरेका छन् । उपमहानगरपालिकाका प्रमुख राईले स्थानीयलाई सम्बोधन गर्दै यति इन्कर्पोरेटको नाममा रहेको जग्गा पनि उपमहानगरको नाममा ल्याएर विमानस्थल निर्माणको काम छिट्टै अघि बढाउने बताए । उनले भने,“प्राविधिक टोलीले नापजाँच गरेपछि कस्तो प्रतिवेदन आउँछ, त्यसअनुसार श्रमदान गरेर भए पनि विमानस्थल बनाउँछौँ ।”
काठमाडौं: विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन् । नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । नेपालमा ट्रेकिङको सम्भावना र महत्त्व देखेर नै विश्वका नागरिक यहाँ यसैका लागि आउने गर्दछन् । तर पनि यसको अस्तित्व जोगाउन भने हम्मेहम्मे परिरहेको देखिन्छ । अर्कातर्फ साहसिक पर्यटन भएकाले पनि व्यक्तिगत शारीरिक तथा स्वास्थ्य समस्या अर्को ठुलो चुनौती हो । जोखिम मोलेरै गर्ने यात्रा हो ट्रेकिङ । यसबाट प्राप्त हुने मजा भने हरेक व्यक्तिले फरकफरकरुपमा लिन सक्दछन् । प्रकृतिले दिएको अनुपम उपहारको फाइदा उठाइरहँदा त्यसको संरक्षणमा जुट्नु सम्बद्ध निकायको दायित्व हो । तर पनि यसको सट्टा पदमार्ग रुट एकपछि अर्को गरी खण्डहर बनाउने काम जारी छ । यसका कारण नेपाली पर्यटनको मौलिकता हराइरहेको छ । सडक निर्माणका कारण अर्ग्यानिक ट्रेकिङ रुट हराउँदैछन् । कतिपय स्थानमा न्यूनतम पूर्वाधारको पनि अभाव छ । जथाभावीरुपमा शुल्क उठाउने प्रवृत्ति र आधुनिकताका नाममा अघि सारिएका निर्माण र व्यवहारले ट्रेकिङ क्षेत्रको मानमर्दन गरिरहेको पनि देखिएको छ । त्यसमा पनि व्यवसायीका कतिपय नकारात्मक गतिविधिलेसमेत असर गरिरहेको त छँदैछ । जे भिल नेपाल ट्रेकिङ एण्ड एक्सपेडिसनका सञ्चालक होमनाथ भट्टराई शुल्क तिरेअनुसार चाहिने खास पूर्वाधार नभएकाले पैसा उठाउने मात्रै नीतिले समस्या परिरहेको बताउनुहुन्छ । उहाँका अनुसार अन्नपूर्णमा परमिट लिन्छ । लाङटाङ, मनास्लु पनि छ । मुस्ताङमा त ५०० अमेरिकी डलर नै लिन्छ । डोल्पोमा पनि प्रतिदिन शुल्क लिने गरेको छ । त्यो सबै संरक्षण क्षेत्रले लिन्छ । तर पूर्वाधार केही नभएको उहाँले बताउनुभयो । टानका सचिवसमेत रहनुभएका उहाँले भन्नुभयो, “बाटो अलिअलि बनाएका छन् अरू केही छैन । अप्ठ्यारो पर्दा हेलीमा उठाएर लैजानेभन्दा अरू विकल्प नै छैन । त्यसरी पैसा लिने गरेपछि बिमा पनि गरे हुन्थ्यो । पर्यटनलाई केन्द्रित गरेर सहयोग गरौँ भन्ने नै देखिँदैन । सल्लाह दिन खोज्यो कुन पार्टीको मान्छे हो भनेर हेर्ने गरिन्छ ।” उहाँका अनुसार मनास्लु जानुपर्यो भने त्यसको छट्टै कर छ, अलिकति अन्नपूर्ण छुन्छ, त्यहाँ छुट्टै लिन्छ । लजका आफ्नै मूल्य छन् । दुई लिटर पानी उमालेर दिएको रु पाँच सय तिर्नुपर्छ । एउटा अण्डाको रु पाँच सय तिरेर खानुपर्ने अवस्था पनि छ । उहाँले विदेशको अनुभव सुनाउँदै बाहिर पैसा लिने गरे पनि त्यहीअनुसारको पूर्वाधार राम्रो हुने गरेको र सुविधा दिने गरेको बताउनुभयो । अहिले त धेरै ठाउँमा बाटो पुगिसकेकाले त्यो ठाउँमा ट्रेकिङ हुन्न । रुट पनि सकिने अवस्थामा छन् । नयाँ रुट खोज्नुपर्ने र गाडी हिँड्ने रुट फरकफरक हुनुपर्ने उहाँको सुझाव छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का अनुसार ट्रेकिङ नेपालको उत्कृष्ट गन्तव्य हो । धेरै पर्यटक यसैका लागि नेपाल आउँछन् । तर सम्भावना भएर पनि चुनौती थपिँदै गएको टानको भनाइ छ । यो मौसममा मनमोहक दृश्य देखिन्छ तर हिमपात सुरु भएकाले प्राकृतिक चुनौती पनि उत्तिकै छ । टानका महासचिव विनोद सापकोटाका अनुसार यसपालि अब ट्रेकिङको याम सकिने क्रममा छ । सेप्टेम्बर, अक्टोबर नोभेम्बर, मार्च, अप्रिल, मे मुख्य ‘सिजन’ हो । तर अहिले नजाने भन्ने होइन । विदेशी अहिले कम जान्छन् भने आन्तरिक पर्यटक बढी गइरहेका छन् । सावधानी अपनाउँदा भने ट्रेकिङ गर्नलाई जुनसुकै समयमा पनि समस्या नहुने उहाँ बताउनुहुन्छ । त्यसरी जाने पनि छन् । अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ । सगरमाथा बेसक्याम्प, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा क्षेत्र ट्रेकिङका लागि राम्रा गन्तव्य हुन् । नेपालमा अनुमानित दुई लाख बढीले ट्रेकिङ गर्ने गरेका बताइन्छ तर यकिन तथ्याङ्क भने छैन । नेपालमा ट्रेकिङ क्षेत्रमा पनि पर्यटक बढ्न थालेकाले व्यवसायी हर्षित भएका छन् । व्यवसायी संसारको सबैभन्दा राम्रो टे«किङ गन्तव्य नेपाल भएको दाबी गर्छन् । नेपालमा अझै पनि दुई सय ५० जति सम्भावित टे«किङ क्षेत्र रहेका बताइन्छ । त्यसमध्ये नौर१० वटाबाट मात्र फाइदा लिन सकिएको छ । अन्नपूर्ण, सगरमाथा, लाङटाङ, मुस्ताङ अनि डोल्पालगायत आकर्षक गन्तव्यका रूपमा चिनिन्छ । केही नयाँ रुटको प्रचार हुन सकेको छैन । चिसोमा ट्रेकिङ: मजा र जोखिम दुवै केही दिनदेखि हिमपात भएको र चिसो बढी हुन थालेकाले यो बेलामा विशेष सावधानी अपनाउनुपर्ने महासचिव सापकोटाले बताउनुभयो । विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित छ भने कतिपय ठाउँमा यातायातसमेत अवरुद्ध हुन पुगेकाले ट्रेकिङमा जानेले विशेष सावधानी अपनाउनुपर्ने यस क्षेत्रका जानकारहरूले बताउँछन् । यसपालि गत वर्षकोभन्दा चाँडो चिसो बढेकाले जाडो बढी नै हुने अनुमान गरिएको छ । तपाईँमा बाक्लो हुस्सु लागेर चिसो बढ्ने क्रममा रहेको छ । देशैभरको मौसम चिसो हुँदा प्रत्यक्ष प्रभाव ट्रेकिङ क्षेत्रमा पनि हुन्छ । ट्रेकिङको मौसम करिब सकिएको भए पनि साहसिक पर्यटक नियमितजसो नै जाने गर्छन् । अहिले पनि सयौँ पर्यटक ट्रेकिङमा छन् । महासचिव सापकोटा हिमपात भएसँगै ठुला हिमालमा हिउँ थपिने र दिउँसो घाम लागेर हिमपहिरो आउने, हिमपात हुने बताउनुहुन्छ । यस्तो समयमा बढी जोखिम हुन्छ । त्यसैले त्यस्तो जोखिम क्षेत्र पहिचान गरेर हिँड्नुपर्छ । अनुभवी व्यक्ति विना ट्रेकिङ जानु हुन्न । हिमाली क्षेत्रबाहेक अन्य क्षेत्रमा जाँदा पनि चिसोबाट जोगिने उपायसहित जाँदा राम्रो हुन्छ । “यसरी जाँदा कपडा पनि क्षेत्रअनुसार सुहाउँदो लगाउनुपर्छ, हिउँ परेर बाटो पुरिएको हुनसक्छ, बाटो चिनेको मान्छेसँग हिँड्नुपर्छ । पर्यटक एक्लै पनि हिँड्ने गर्छन्, त्यसरी हिँड्नु थप जोखिम हुन्छ”, सापकोटा भन्नुहुन्छ, “यतिबेला माथिल्लो लेयरमा हिउँ पर्छ । एउटा लेयर जमेर बसेको हुन्छ । त्यसमाथि नयाँ हिउँ गएर थपिन्छ, जब घाम लाग्छ, अनि पानी छिरेर लेयर छुटाइदिन्छ र माथिल्लो भाग झर्नसक्छ त्यसकारण हिउँ खस्ने सम्भावित क्षेत्र हो भनेर पहिचान भएका व्यक्ति लिएर जानुपर्छ ।” त्यहीअनुसार हिउँमा हिँड्न मिल्ने जुत्ता, हिउँबाट जोगिने कपडा लगाउनुपर्ने उहाँको सुझाव छ । नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य एवं कोरियन आल्पाइन फेडेरेशनका नेपाल प्रतिनिधि ङावा ङिमा शेर्पा मनोराम दृश्य हेर्ने पर्यटकका लागि अहिले उपयुक्त मौसम भए पनि जोखिम भने बढी हुने बताउनुहुन्छ । उहाँका अनुसार यस्तो बेलामा हिमपहिरो आउने सम्भावना हुनेहुँदा बिहानै घाम लाग्नुभन्दा पहिला नै गन्तव्यमा पुग्नुपर्ने हुन्छ । “बेलुका चिसोले हिउँ सेट भएको हुन्छ । दशदेखि ४ बजेसम्म हिउँ पग्लिँने हुँदा जोखिम बढी हुन्छ । त्यही भएर पथप्रदर्शकले ख्याल गर्नुपर्यो । अनुभवी पथप्रदर्शक ‘गाइड’को निर्देशनमा हिँड्नुपर्छ”, ट्रेकिङ क्षेत्रका अनुभवी शेर्पा भन्नुहुन्छ, “अर्को जोखिम भनेको हिउँ परिहाल्यो भने बाटो भुल्न सक्छ, खाल्डोमा पर्न सकिन्छ । अनि हिउँ परिरह्यो भने चिसो बढेर बिरामी बनाउन सक्छ । कपडा न्यानो लगाउनुपर्यो खाना त्यहीअनुसार तातो खानुपर्छ र वासस्थानको पनि सोहीअनुसार व्यवस्थापन गर्नुपर्छ ।” उहाँले यो समयमा होटल पनि बन्द गरिने भएकाले राम्रो अध्ययन गरेर होटल छन्, छैनन् सबै यकिन गरेर मात्रै पदमार्गमा जानुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले चिसो बढेकाले विशेष गरी ट्रेकिङमा जानेहरूले सावधानी अपनाउनुपर्ने जनाएको छ । तराई क्षेत्रमा हुस्सु बढ्न थालेको छ । शीतलहरूसमेत सुरु हुने भएकाले अब हिमाली क्षेत्रको हिमपात, तपाई क्षेत्रको शीतलहर र पहाडी क्षेत्रको उच्च चिसोबाट जोगिन विपद् व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाडो छल्न आगो ताप्ने क्रममा आगलागी हुने भएकाले त्यसतर्फ पनि ख्याल गर्न अनुरोध गर्नुभएको छ । जनस्वास्थ्यविद्को सुझाव जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेका अनुसार ट्रेकिङमा जाँदा ठुलो कुरा अक्सिजनको अभाव हुन्छ । जति उचाइमा जान्छौँ अक्सिजनको मात्रा कम हुने गर्छ । जाडोमा चिसो पनि धेरै हुन्छ । त्यसकारण पर्याप्त तयारी गर्नुपर्छ । श्वाससम्बन्धी वा दीर्घ रोग छ भने पर्याप्त औषधी लैजान भुल्नु हुन्न । हिमपात, हिमपहिरा खस्ने र बाटो पुरिने पनि हुन्छ । यस्ता विषयमा पहिले नै ध्यान दिनुपर्छ । यस्ता ठाउँमा जाँदा हिमाल चढिरहेका विज्ञ पथप्रदर्शकसँगै जानुपर्ने हुन्छ । हिमाल चढ्दा धेरै दुर्घटना हुने गरेको छन् । “चिसोले, अक्सिजनको कमीका कारण विभिन्न समस्या आउने, निलो भएर झमझमाउने, अचेत हुने, ‘सेन्स’ हराउने पनि हुन्छ । जति तापक्रममा जान्छौँ, त्यहीअनुसारका कपडा लगाउनुपर्ने हुन्छ । अक्सिजन पनि आवश्यकताभन्दा बढी लिएर जाँदा राम्रो हुन्छ”, डा पाण्डेले भन्नुभयो । हिमपात नहुने क्षेत्रमा तातोपानी र तातो खाना खानुपर्छ । रुघाखोकी लाग्ने हुँदा चिसोबाट जोगिने र औषधि लैजाने गर्नुपर्छ । श्वास फेर्न समस्या हुनसक्ने भएकाले त्यहीअनुसारको तयारी गर्नुपर्छ र चिप्लिने सम्भावना हुने भएकाले त्यहीअनुसारका कपडा र जुत्ता प्रयोग गर्नुपर्छ । यस्तो अवस्थामा एक्लै नभई समूहमा हिँड्न पनि उहाँले सुझाव दिनुहुन्छ । यस्तो छ मौसम हाल नेपालमा पश्चिमी वायुका साथै आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ्ग’ नामक सामुन्द्रिक आँधीकोसमेत आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, मधेस प्रदेश साथै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाइएको छ । कोशी प्रदेशका र मधेस प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ । काठमाडौँको न्यूनतम तापक्रम यसपालि ७.४ सम्म झरिसकेको छ । जोमसोममा सबैभन्दा कम माइनस ५.५ डिग्रीमा तापक्रम झरेको छ । दोलखाको जिरीमा १ डिग्री, जुम्लामा माइनस ३.८ सम्म झरेको छ । मनाङमा दैनिक हेर्ने स्टेसन नभएकाले कति भनेर यकिन भन्न सकिने अवस्था नभएको विभागले जनाएको छ । चिसो बढ्ने क्रममा रहेको जनाइएको छ ।
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका(१ ले अनिश्चितकालका लागि वडा कार्यालय बन्दको घोषणा गरेको छ । गाउँपालिकाले वडा नम्बर १ लाई विभेदपूर्ण व्यवहार गरेको भन्दै वडाका सम्पूर्ण जनप्रतिनिधिले निर्णय नै गरेर अनिश्चित कालका लागि वडाको सेवा बन्द गर्ने निर्णय गरेको हो । बुधबार बसेको वडा समितिको बैठकले गाउँपालिकाको विभेदपूर्ण व्यवहारप्रति खेद प्रकट गर्दै जायज माग सम्बोधन नभएसम्मका लागि वडाको सबै कामकाज बन्द गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय सरकार ऐन २०७४ दफा १२ ले दिएको काम, कर्तव्य र अधिकार तथा गाउँपालिको सम्बन्ध ऐन, कार्याविधी सम्मत वडा समितिको काम, कर्तव्य र अधिकार गाउँपालिकाबाट हनन भइरहेकोले काम गर्न वडा समितिलाई असहज महसुस भएको ठहर गरेको छ । गाउँपालिकाबाट भएको गाउँसभा तथा कार्यापालिकाको निर्णय,निर्देशन,कानुन सम्बन्धमा वडा कार्यालयलाई थाहा नदिने,वडा समितिबाट टोल स्तरीय योजनाको माग प्रथमिकीकरण र योजना छनौट सिफारिस गर्दा चालु आर्तिक वर्षको योजनाको सिलिङ बजेटबाट करिब १७ लाख काटाएको र महालेखाबाट गाउँपालिकाको लेखापरीक्षणको प्रतिवेदन कार्यपालिका सदस्यलाई थाहा नदिने,संघ,प्रदेशस्तरीय अयोजनामा वडा समितिलाई जानकारी,सहभागी,सहकार्य नगरी योजना कार्यान्वयन गर्ने जस्ता कार्य भइरहेकोले वडा समितिलाई विभेदपूर्ण तरिकाले काम गरिएको भन्दै खेद प्रकट गरेको छ । वडा समितिलाई विभेदपूर्ण तरिकाबाट गरिने व्यवहार र प्रवित्ति नगर्न पटकपटक अनुरोध तथा निर्णय गर्दा समेत सो अवस्था बन्द हुन नसकेको भन्दै वडा कार्यालयबाट अनिश्चित कालका लागि वडा कार्यालयको दैनिक तथा योजना सम्झैता लगायतको प्रशासनिक कार्य गर्न नसकिने निर्णय गर्दै उक्त जानकारी जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति,खुम्बु पासाङल्हामु गाउँपालिकालाई पत्रचार गर्ने समेत सर्वसमितिबाट निर्णय गरेको जनाएको छ । आफूहरु निर्वाचित भएपछि गाउँ कार्यपालिकाको २७ वटा बैठक बसे पनि उक्त बैठकमा भएका कुनै पनि निर्णयहरु सार्वजनिक नगर्ने तथा गुपचुपमा सही गराउने गरेको खरिखोलाका वडाध्यक्ष फुनुरु शेर्पाको आरोप छ । यता गाउँपालिकाले भने वडाले लगाएको सबै आरोपमा कुनै सत्यता नभएको दाबी गरेको छ । पालिकाको निर्णय र कार्यसम्पादनप्रति असन्तुष्टि भए निखितरुपमा पेश गर्न चुनौती दिँदै कपोकल्पित आरोपले कुनै फरक नपर्ने गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । पालिकाका सबै वडालाई आफूहरुले समान व्यवहार गरेको भन्दै असन्तुष्ट भए सो विषयमा छलफल र संवादको माध्यमबाट माग सम्बोधन गर्न आफू तयार रहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।

