पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

काठमाडौं:   संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनु भएको छ। मङ्सिर १३ गते राति ९ बजे युएई जानुभएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको हो।  उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गर्नुभएको छ। शनिबार जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताउनुभएको थियो। उहाँले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको थियो। सम्मेलनमा उहाँले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो।

पोखरा:   “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएकोे छ । अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा ¥याली सहित कार्यक्रम गरी मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा पोखरा महानगरको गेटबाट सुरु भएको ¥याली पोखरा सभागृहमा पुुगेर कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रतिनिधि र अपांगता भएका ब्यक्तिहरुको सहभागीता रहेको थियो । ¥यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज अचार्यले महानगरले निर्माण गर्ने पूर्वाधारहरु अपांगमैत्री बन्ने बताउनुभयो । विगतमा के भए थाहा नभएन उहाँले भन्नुभयो,“महानगरले अव निर्माण गर्ने सबै संरचना अपांगमैत्री बन्छ ।” उहाँले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी  र समाधान गर्ने तर्फ ध्यान केन्द्रीत गर्ने उल्लेख गर्नुभयो । उहाँले महानगरबाट विनियोजन हुने रकमलाई कार्यविधि बनाएर प्राथमिकताका आधारमा विनियोजन गर्ने समेत बताउनुभयो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले अपांगता भएकाहरुलाई हेर्ने ब्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिनुुभएको छ । उहाँले  समाजले अपांगता भएका ब्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो । उपप्रमुख गुुरुङले महानगरले अपांगता भएका ब्यक्तिहरुका लागि ऐन, कानुन निर्माण गरेको र केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र ब्यक्तिहरुको सुुझावका आधारमा परिमार्जन गरेर जान सकिने बताउनुभयो । उहाँले अपांगता भएका ब्यक्ति वा परिवार पाल्नुपर्ने महिलाहरुलाई उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत सस्तो ब्याजमा ऋण उपलब्ध गराउदै आएको बताउनुभयो । कार्यक्रममा महानगरपालिका अपांग परिचपत्र वितरण समितिका सदस्य अञ्जना केसी, कोसिस कास्कीका अर्जुन  सुनार, बालहितकारी परियोजना नेपालका निर्देशक ठाकुर प्रसाद चापागाईं, डिडा नेपालका संस्थापक अध्यक्ष  गिरधारी सुवेदी,  धनराज आचार्य हेमोफिलिया सोसाइटि गण्डकी प्रदेशका अध्यक्ष  गोविन्द भण्डारी, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, हरियो खर्क अस्पतालका परियोजना ब्यवस्थापक विष्णु गिरी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुकुन्द लम्साल लगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोल्नुभएको थियो । कार्यक्रम पोखरा महानगरपालिका अपांगता भएकाको सञ्चालका अध्यक्ष   गंगा बहादुर खड्का अध्यक्षतामा भएको थियो ।

बागलुङ:   बागलुङमा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा जिल्लाको बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको हो । ५० वर्षीया श्रीमती सितली शाहीको हत्या आरोपमा जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई आईतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले बताए । उनले शाहीको टाउँको र दायाँ खुट्टामा गम्भिर चोट लागेको अवस्थामा श्रीमान र स्थानीयहरुले धौलागिरी अस्पताल बागलुङमा ल्याएको ल्याएको बताए । ‘वडाअध्यक्ष नारायणप्रसाद पौडेलले इलाका प्रहरी कार्यालय बलेवामा खबर गरेपछि प्रहरी सँगै गम्भिर घाईते शाहीलाई अस्पताल ल्याइपु¥याएको थियो,’ डिएसपि केसीले भने,‘शाहीलाई धौलागिरी अस्पताल बागलुङले मृत्त घोषणा गरेको छ । प्रारम्भिक अनुसन्धान र स्थानीयहरुले श्रीमानको कुटपिटबाट हत्या भएको हुनसक्ने बयान दिएपछि नेपालीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छौं ।’ श्रीमान नेपालीले लडेर घाईते भएको बयान दिएपनि घटनाको प्रारम्भिक अनुसन्धानले कुटपिटबाटै हत्या भएको देखिएको डिएसपि केसीले बताए । घट्नाबारे अनुसन्धान सुरु भएको र अहिले नै सबै कुरा खुलिनसकेको प्रहरी भनाइ छ । नेपालीलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको डिएसपि केसिले जानकारी दिए ।

चितवन:   गतमंसिर ६ गते चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको अझै पहिचान हुन सकेको छैन। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडक खण्डको कल्भर्टमुनि पुरूष र महिलाको शव फेला परेको थियो।  दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्‍थामा शव फेला परेको थियो। तर शवको पहिचान हुन नसक्दा प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भइरहेको छ। प्रहरीले केही दिन अगाडि मृतकको कपडा सार्वजनिक गरेपछि आज (आइतबार) पुरूष र महिलाको पहिचानका लागि स्केच बनाएर सार्वजनिक पनि गरेको छ। शवको सनाखत हुन नसकेपछि स्केच सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। स्केच हेरेर उनीहरूको पहिचान हुन सकेमा सम्पर्कमा आउन परिवार तथा आफन्तलाई प्रहरीले आग्रह गरेको छ। प्रहरीले परिवारका कोही सदस्य, आफन्त तथा साथीहरू हराइरहेको भए, घर कोठामा डेरा गरी बस्ने मानिस सम्पर्कमा नआए, उद्योग कलकारखाना, पसल लगायतमा काम गर्ने सम्पर्कबिहीन भए वा यससँग सम्बन्धित सूचना भए खबर गर्न पनि आग्रह गरेको छ।

पाेखरा:   चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा गएको साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्।   साउनदेखि मंसिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ।   घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ।   साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मंसिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिए।   उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ।   पहिले विदेशी पर्यटकको तथ्यांक मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्यांक राख्ने गरिएको छ। घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारसम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन्।   घोडेपानीमा असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन्।   विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर पुनले बताए।   ‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ, केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ,’ होटल व्यवसायी गर्वुजाले भने।   ४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन्। घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ।   समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ। पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ।   यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ।   मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता हुने भएको छ।   निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस २३ मा उम्मेदवारी दर्ताका लागि समय तोकिएको हो।   आयोगले पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको हो।   माघ ११ मा राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ।   पुस २० गते मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोधको उजुरी दिनका लागि छुट्टाछुट्टै समय तोकिएको छ। मतदाता नामावली बिहान १० बजेदेखि ११ बजेभित्र प्रकाशन हुनेछ भने ११ बजेदेखि ४ बजेसम्म दाबी विरोधको उजुरी दिन समय तोकिएको छ।    पुस २१ र २२ गते निवेदन तथा उजुरीमाथि छानबिन र कारबाही गर्ने तथा अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।    पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन अपराह्न ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको सुन्दर हरैचा नगर समिति पुनर्गठन भएको छ । गछियास्थित नगर समितिको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट शंकर देवानको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन भएको हो ।    समितिको उपाध्यक्षमा बलिराम राई, सचिव भोगेन्द्र याम्फु, कोषाध्यक्ष आरती राई सह कोषाध्यक्ष विक्रम याम्फु चयन हुनुभएको छ । पुनर्गठन कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रीय सदस्य कुन्ता राई रहनुभएको थियो । जसपाको कोशी प्रदेशस्तरीय बैठकबाट पार्टीका केन्द्रीय सदस्यहरुलाई नगर र गाउँ समिति पुनर्गठनको जिम्मेवारीमा खटाएको छ ।  

सशस्त्र प्रहरीले सिरहास्थित नेपाल-भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको ८ लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।   सिरहाको बरियापट्टी गाउँपालिका-२ श्रीपुरका ४२ वर्षीय महोमद फिरोजलाई शनिबार बरियापट्टीकै वडा नम्बर ३ चमारटोलबाट ८ लाख रूपैयाँसहित पक्राउ गरेको हो।   सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार भारतबाट साइकलमा आउँदै गरेका उनलाई गस्तीमा खटिएको सिमा सुरक्षा बलको टोलीले चेकजाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको थियो।   फिरोजले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने स्रोत खुलाउन नसेकपछि उनलाई नियन्त्रणमा लिएको प्रवक्ता थापाले जानकारी दिएका छन्।   नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाएको छ ।