पोखरा: काठमाडौंमा सम्पन्न ४१ आइजिपी रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी च्याम्पियन भएको छ । नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सम्पन्न भएको फाइनल खेलमा प्रहरी प्रधान कार्यालयको टोलीलाई १-० को गोल अन्तरले पराजित गर्दै गण्डकी प्रहरी च्याम्पियन बनेको हो । गण्डकीलाई च्याम्पियन बनाउनका लागि प्रतियोगिताकै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक आशिष थारुले निर्णायक गोल गरे । थारुले प्रतियोगितामा ६ गोल गरेका थिए । यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डका रुपमा क्रमश गण्डकीकै प्रहरी नायव निरीक्षक सन्तोष सुवेदी, प्रहरी जवान शिशिर चौधरी र प्रहरी सहायक निरीक्षक विवेक गुरुङ घोषित भए । च्याम्पियन बनेको गण्डकीले समुह चरणको पहिलो खेलमा लुम्बनी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई २-१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बागमति प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई ५-० र सेमिफाईनलमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीलाई ४-२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यस अघि गण्डकी प्रदेश प्रहरी कार्यालयको फुटबल टोलीले २०६७ सालमा आइजिपी कपको उपाधि जितेको थियो ।
पोखरा: पोखरामा सम्पन्न भएको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी– त्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । उपाधि जितेको मधेश प्रदेशले ५ लाख पुरस्कार पायो भने, उपविजेता भएको त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । मधेश प्रदेशले दिएको १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट बनाउँदै १ सय २४ मात्र बनाउन सक्यो । आर्मीका लागि विवेक यादव २५ र सोमपाल कामी १६रनमा अविजित रहे । आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए । बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए । यसअघि पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए । बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३–३, सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।मधेशले समूह चरणमा पुलिसलाई नेटरनरेटले पछि पार्दै सेमिफाइनल खेलेको थियो । सेमिफाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । मधेशले कुनैपनि प्रतियोगिता जितेको यो पहिलो पटक हो । देश प्रदेश संरचनामा गएपछि मधेशले यसअघि कुनैपनि प्रतियोगिता फाइनल समेत खेल्न सकेको थिएन । हरिशंकर सर्वोत्कृष्ट, रित र सन्दीप उत्कृष्ट मधेश प्रदेशका कप्तान हरिशंकर शाह केपी ओली कपमा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) घोषित भएका छन् । आर्मीलाई फाइनलमा ११ रनले हराउन सानदार अलराउन्ड प्रदर्शन गरेका हरिशंकर सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।ख सर्वोत्कृष्ट बापत उनले ३५ हजार प्राप्त गरे । बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने प्रतियोगिता उत्कृष्ट बलर चुनिए । सन्दीपले ३ खेलमा १० विकेट लिएका थिए । उता रित गौतम प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । रितले तीन खेलमा २ अर्धशतकसहित कुल १ सय ७० रन बनाएका थिए । रित र सन्दीप दुबैले समान २० हजार रुपैयाँ प्राप्त गरे ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइ राख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । पार्टीको महाकाली—मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अमरसिंह थापाजस्ता योद्धाहरूले लडेर बनाएको देशको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डतालाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले हरेक नागरिकले आफूभन्दा पहिला देश सोच्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अमरसिंह गढी नाम राखिएको यो गढी तत्कालीन प्रधानसेनापति उहाँको ७३–७४ वर्षको उमेरमा किल्ला बनाउनुभएको थियो । यो किल्लाले त्यसबेला महत्त्वपूर्ण भूमिका खेलेको थियो । यो किल्ला राम्रा, सुन्दर र सुरक्षित किल्लामध्येको एउटा हो । अमरसिंह थापा एउटा यस्तो योद्धा हो जसको १८१५ को ब्रिटिस इण्डियासँगको नेपालको आत्मरक्षा र न्यायको लडाइ थियो । अमरसिंह थापा प्रधान सेनापति, भीमसेन थापा उहाँका छोरा त्यसबेला पाल्पाको कमाण्डमा थिए र सबैभन्दा बाहिरी किल्लामा अमर सिंहका माहिला छोराका छोरा बुटवल गढीको रक्षा गर्न तैनाथ रहेका थिए । “अङ्ग्रेज सेनालाई लखेटेर खासमा भन्ने हो भने नेपालको विजयी भयो । अमरसिंह थापा महान् देशभक्त, महान् योद्धा, महान् जनरल र वास्तवमा देशका लागि समर्पित र आफू मात्रै नभई पुस्तौँपुस्ता समर्पित हुनुहुन्थ्यो । आफू पछाडि नभई अघि बढेर कमाण्ड गर्नुहुन्थ्यो । सिपाहीभन्दा अघि बढ्नुहुन्थ्यो” उहाँले थप्नुभयो, “अमरसिंह थापा हामी सबैका निम्ति अत्यन्त आदरणीय हुनुहुन्छ । उहाँजस्ता योद्धाले लडेर बचाएको, बनाएको देश आज यसको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डताका लागि उहाँहरू लड्नुभयो, त्यसलाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नु छ ।” अध्यक्ष ओलीले अमरसिंह थापा सबै नेपालीका निम्ति आदरणीय रहेको र सदैव रहनुहुने चर्चा गर्नुभयो । अमरसिंह थापाको सालिकमा माल्यार्पण र फूल अर्पण गरेपछि उहाँले केहीबेर मिडियाकर्मीसँग कुरा गर्नुभएको थियो ।
काठमाडौंमा गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको निशान गाडीले बागमती प्रदेश ०२-०३२ प ३३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। बिहीबार राति उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका-८ साँखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक घाइते छन्। गाडीका चालक फरार छन्।
झापामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मेचीनगर नगरपालिका-६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगतमणि आचार्य पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो। आचार्यले ती बालिकालाई मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा जगतमणिका दाइ ३७ वर्षीय बालकुमार आचार्यले बालिकालाई ललाइफकाइ भेटाएको भन्ने खुल्न आएकाले उनलाईसमेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै हुनुहुन्थ्यो । उहाँले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोकसंस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रँगाउँदै हुनुहुन्थ्यो । कैलालीको जानकी गाउँपालिका–३ घर भएका ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गर्नुभएको छ । माटाका मूर्ति बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लैजानुभयो । चित्रकलाको चारवर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रुपमा उहाँले काम गर्दै आउनुभएको छ छ । मित्थुले विशेष २५ हजार पाएको उहाँले बताउनुभयो । “अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्तेचित्र बनाएको थिएँ । त्यसबाट रू। २५ हजार पाएको थिएँ”, मित्थुले भन्नुभयो । उहाँका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक रू। ७० हजारदेखि एक लाखसम्म हुने गर्दछ । यतिबेला उहाँले बाँकेको बैजनाग गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै हुनुहुन्छ । उहाँले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी (अप्सरा), थारुका राजा (दगीशरण), भेंवाँ (भीम), ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहनुभएको छ । मूर्तिको विशेषता हेरेर मूल्य निर्धारण हुने भएकाले एउटा मूर्ति कुँदेबापत रू। २५ देखि ३० हजारसम्म लिने गरेको मित्थुको भनाइ थियो । व्यावसायिक रुपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उहाँले बताउनुभयो । मित्थुले दाङको दगीशरण–३ चखौरा गाउँमा थारु संस्कृति सङ्ग्रहालयमा चित्र र मूर्ति बनाइरहनुभएको छ । थारु संस्कृति जागरणकै लागि आफूले यो काम रोजेर व्यावसायिक रुपमा अघि बढेको उहाँको भनाइ थियो । रासस
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हल्दीबारी गाउँपालिका(३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेका हुन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वनमा पुगेका बेला जंगलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो। उक्त खबरपछि प्रहरीको टोली खटिएको छ। घटनास्थललाई सुरक्षित राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो । रुकुम पश्चिममा मङ्गलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरण गर्न सुरु गरिसकेका छन् । शिवालयमा तीन हजार तीनसय नौ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले रु। आठ करोड २७ लाख २५ हजार पठाइएको छ । पालिकाले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ । शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताउनुभयो । “वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएका छौँ, यीमध्ये पनि कसैका दुईवटा घर हुनसक्छ, कोही लाभग्राही सूचीमै नपरेका पनि हुनसक्छन्”, उहाँले भन्नुभयो, “त्यसैले फेरि फारम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौँ, यसका लागि दुई–तीन दिन लाग्न सक्छ ।” लेखापाल उपाध्यायले अन्य गाउँपालिकाबाट भने लाभग्राही विवरण प्राप्त हुन नसकेको बताउनुभयो । विवरण प्राप्त भएलगत्तै स्थानीय तहमा रकम पठाइने बताउनुभयो । शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने जनाइएको छ । जिल्लामा ३४ हजार चार सय ९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुग्नुभएका प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरुले भोग्नुपरेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताउनुभयो । प्रधानमन्त्री दाहालले आफू आफ्ना एजेण्डा राख्ने तयारीका साथ सम्मेलनमा आएको बताउनुभयो । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गर्नुभएको स्वागत कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिका रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढङ्गबाट उठाउने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाइएको छ । दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री दाहालले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भइरहेको जानकारी गराउनुभएको थियो । विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्नुहुँदै प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताउनुभयो । सो अवसरमा युएईका लागि नेपाली राजदूत क्षेत्रीले युएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्नसकेमा नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

