काठमाडौं: नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकामा आज बुधवार दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह कानुनी रूपमा दर्ता भएको हो ।गाउँपालिकाको वडा नम्बर २ ले समलिङ्गी विवाहको प्रमाणपत्र दिएको छ । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको हो । नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र र लमजुङको दोर्दी गाउँपालिका–२ का रामबहादुरले विवाह गरेका हुन् । यसअघि गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि रामबहादुर र सुरेन्द्रले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।
तनहुँ: तनहुँको भिमाद नगरपालिका–६ मा आज सम्पन्न खेलमा भिमाद अर्ना कपको उपाधि पोखराको एलजी एशोसिएसनले जितेको छ । आयोजक भिमाद युवा क्लब (रातो) लाई पराजित गर्दै एलजीले उपाधि हात पारेको हो । फाइनल खेलको निर्धारित समयमा दुवै टोली गोल गर्नबाट वञ्चित भए । अतिरिक्त समयमा पनि गोल हुन पाएन र टुङ्गो ट्राइबेकरबाट लिनुपरेको थियो । ट्राइबेकरमा एलजीले भिमादलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । एलजी एशोसिएसन तनहुँ ११ लाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै आयोजक भीमाद युवा क्लबले सङ्गम एफसी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो । उपाधिसँगै एलजीले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । हरिबोधनी एकादशीको अवसर पारेर सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
पोखरा: नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको हो । आठौं संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागेको महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिए । यसवर्षको महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रर्दशन मुख्य आकर्षणको रुपमा रहनेछ । आयोजक नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालका अनुसार उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड युथ फस्र्टका विद्यार्थीले मञ्चन गर्नेछन् । ‘विद्यार्थीहरुले स्टेजमा गिद्धहरुको भेषमा मास्क लगाई गिद्धको महत्वबारे साथसाथै नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पु¥याउनेछ,’ लम्सालले भने, ‘यो कार्यक्रमको संरक्षणबारे जानकारी दिने विश्वास लिएका छौं ।’ त्यस्तै, महोत्सवमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन गरिने भएको छ । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुनेछन् । महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ उनले भनिन् ।
पोखरा: फेवातालको ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । बुधबार पोखरामा बसेको गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवातालको मापदण्ड कार्यन्वयन गर्न गण्डकीका मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी सरकारकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, पृतनापति दीपककुमार बानियाँ, गण्डकीका मुख्य न्यायाधिवक्ता रामचन्द्र उपाध्याय, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे रहेका छन् । त्यस्तै गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी वुद्धिराज गुरुङ, सशत्र प्रहरीका डीआईजी कालिदास धौवजी, राष्ट्रिय अनुसन्धान निर्देशक कृष्ण खनाल, पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र ताल प्राधिकरण गण्डकीकी निर्देशक कल्पना देवकोटा पनि सदस्य छन् । सर्वोच्च अदालतबाट २०८० साल असोज ९ गते फेवातालको मापदण्ड कार्यान्वयन गर्ने सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो । पूर्णपाठमा फैसला अनुसार फेवातालको मापदण्ड ६ महिनाभित्र कायम गरेर संरक्षण गर्न भनिएको छ ।
काठमाडौं: नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरे। उनले भने, “पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज÷अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ ।” प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण निवेदन दिन पनि अनुरोध गरेको छ । पछिल्लो समयमा अनलाइन कारोबार फस्टाएर ग्राहकलाई सजिलो बनाए पनि त्यसबाट विकृति भने बढ्दो छ । आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर घर आइपुग्दा कमसल मल प्राप्त हुने गरेको गुनासो यसअघि पटकपटक सार्वजनिक भइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सहित सबै सांसद केन्द्रीय समितिमा मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो। रास्वपामा ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए। स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपाली केन्द्रीय सदस्यमा मनोनीत भएको एक नेताले जानकारी दिए। यसअघि रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय थियो। मोहन थापाले ढाकाकुमार श्रेष्ठले अडियो प्रकरणमा नाम मुछेकाले राजीनामा दिएका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको यो पदक यस वर्षदेखि वितरण नगरिने भएको हो । त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेस्टर प्रणालीअनुसार सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिनुभयो । ‘स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ’, उहाँले भन्नुभयो, ‘सेमेस्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोत्कृष्ट भन्ने छुट्याउन समस्या भएको हो ।’ ‘पदकका लागि विद्यार्थी छनोट गर्दा प्राप्ताङ्कको प्रतिशतका आधारमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने एक जना विद्यार्थी छनोट गरिन्थ्यो’, जोशीले भन्नुभयो, ‘अहिले सेमेस्टरअन्तर्गत ग्रेडिङ प्रणालीअनुसार मूल्याङ्न गरिने हुँदा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि पदक नदिने निर्णय भएको हो ।’ कुलपति पदक नौ वटै सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइएको थियो । पदकमा तीन तोला सुनसहित र प्रमाणपत्र हुने गरेको उहाँको भनाइ थियो । दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ । उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ । त्रिविको ४९ औँ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । त्रिविका रजिस्ट्रार प्रा। डा। पेशल दाहालले स्नातकोत्तर तहमा सबै विषयमा ग्रेडिङ पद्दति लागू भइसकेकाले सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि कुलपति पदकका लागि सिफारिस गर्न नसकिएको बताउनुभयो । ‘पहिला वार्षिक परीक्षामा विद्यार्थीले प्राप्ताङ्कको आधारमा सर्वोत्कृष्ट विद्यार्थीको हो भनेर सजिलै छुट्याउन सकिन्थ्यो’, उहाँले भन्नुभयो, ‘स्नातकोत्तर तहमा सबै ग्रडिङ पद्दति लागू भइसकेकाले सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन सकिँदैन । ९० देखि ९९ अङ्क पाउने एउटै ग्रेडमा रहन्छन् ।’ दाहालले विश्वमा नै ग्रेडिङ पद्धति लागू भइसकेको अवस्थामा नेपालमा पनि लागू गरिएको बताउनुभयो । उहाँले बिस्तारै स्नातक तहमा पनि ग्रेडिङ पद्दति लागू हुने बताउनुभयो ।
काठमाडौं: देशभर कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागको तथ्यांक अनुसार असोजको तुलनामा कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ । असोजको तुलनामा कात्तिकमा देशभर घरजग्गा कारोबार ३४ प्रतिशतले कमी आएको छ । असोज महिनामा देशभर ३९ हजार ८८१ को संख्यामा घरजग्गा कारोबार भए पनि कात्तिक महिनामा घटेर २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्षको कात्तिकको तुलनामा यस वर्षको कात्तिकमा भने समग्रमा ६ प्रतिशतले मात्र घरजग्गा कारोबारमा कमी आएको हो । गत वर्षको कात्तिक महिनामा २७ हजार ९३९ संख्यामा घरजग्गा कारोबार भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अधिकारी बलराम काफ्लेका अनुसार कात्तिक महिनामा चाडपर्वको समय भएका कारण घरजग्गा कारोबार बढ्न नसकेको हो । उनले भने, ‘कात्तिक महिना चाडपर्वको महिना भएका कारण घरजग्गा कारोबार बढ्न नसकेको हो । अब मङ्सिर महिनामा बढ्छ ।’ उनका अनुसार गत आर्थिक वर्षको तथ्यांकमा पनि मंसिरदेखि चैत्रसम्मको समयमा घरजग्गाको कारोबार बढ्दै गएको थियो । घरजग्गाको कारोबार घटेसँगै राजस्व संकलनमा समेत कमी आएको आएको छ । कात्तिकमा घरजग्गा कारोबारको सेवा कर, रजिस्ट्रेसन दस्तुर र पुँजीगत समेत २ अर्ब १६ करोड ३१ लाख ६१ हजार राजस्व संकलन भएको छ । जसमध्ये सेवा कर २० करोड १५ लाख ३५ हजार रजिस्ट्रेसन दस्तुर १ अर्ब ३७ करोड ८ लाख ४४ हजार, पुँजीगत लाभकर ७७ करोड ९ लाख १६ हजार लाभकर संकलन भएको विभागको तथ्यांक छ । कात्तिकमा मात्रै सरकारले २० करोड २२ लाख ९० हजार राजस्व छुट दिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब २० करोड ६१ लाख ६४ हजार राजस्व संकलन भएको छ । असोजमा ४ अर्ब ८ करोड ६६ लाख २९ हजार राजस्व संकलन भएकोमा भदौमा ३ अर्ब ४ करोड ५९ लाख ४७ हजार र साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको यही अवधिमा सकारले घरजग्गाको कारोबारबाट ११ अर्ब ८७ करोड ७१ लाख २२ हजार राजस्व संकलन गरेको थियो । कात्तिकमा मात्रै ३ अर्ब ७६ लाख २६ हजार राजस्व संकलन भएको थियो । असोजमा २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार राजस्व संकलन हुँदा भदौमा ३ अर्ब ५६ करोड २९ लाख ७ हजार र साउनमा २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार राजस्व संकलन भएको थियो ।
बुटवलको दिपनगरमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथी कुटपिट भएको छ। अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न वार्ता भइरहेको अवस्थामा बस्यालमाथी कुटपिट भएको हो। मृतकका आफन्तको कुटपिटबाट गम्भीर घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गएराती २ बजे उनलाई अस्पताल पुर्याइएको थियो। अहिले सघन उपचार कक्ष (आईसियु)मा उपचार भइरहेको अस्पतालले जनाएको छ। ती सुत्केरी भएको दुई दिनमै महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ। गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार अस्पतालमा मृत्यु भएको थियो। उनले सोही अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो। तर, सोमबार बिहान शय्याबाट उठाउने क्रममा ढलेर भवानीको मृत्यु भएको थियो। उनका आफन्तले शव बुझिसकेर लैजान लाग्दा अचानक उत्तेजक समुहको भिड अस्पतालमा पसेर तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ। तोडफोड भएपछि मृतकका आफन्त, अस्पताल प्रशासन र प्रहरीसहित वार्ता भएको थियो। छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। उनीहरूले कुर्ची र टेबलका खुट्टा भाँचेर बस्यालको टाउको र छात्तिमा प्रहार गरेको घटनास्थलमा उपस्थित एक चिकित्सकले जानकारी दिए। मेसुमाथि कुटपिट भएपछि अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको छ। बिहानैदेखि अस्पताल आएका बिरामीहरूलाई गेटबाटै फर्काइएको छ। अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरु हेर्ने बाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ। मृतक महिलाको शव भने शववाहनमै रहेको प्रहरीले जनाएको छ।

