कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिपालमुनि रहेका जाजरकोटका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित रहेको बताएका छन्।   राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजका बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि अस्थायी आवास निर्माणमा सुरक्षा निकाय  परिचालन गर्ने निर्णय भएको बताए। चिसोका समयमा त्रिपालमुनि बसेका भूकम्पपीडित थप समस्यामा नपरुन् भनेर नै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको उनको भनाइ छ।   सम्बन्धित जिल्लास्थित जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा अङ्गलाई आवश्यकतानुसार परिचालित गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले थप जनशक्ति आवश्यक परेको खण्डमा उपलब्ध गराउन सरकार तयार रहेको समेत बताए।   भूकम्पबाट प्रभावित नागरिकलाई सहायता पुर्‍याउन सरकारले तत्कालै तीन चरणको काम अघि बढाएको उल्लेख गर्दै उद्धार, राहत र आवास पुनःनिर्माणलाई प्राथमिकतामा राखिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए। ‘भूकम्पपछि प्रधानमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर उद्धारको नेतृत्व गर्नुभयो,’ उनले भने, ‘घाइतेको पहिचान गरी तत्काल उपचारका लागि लगिएको थियो, घाइते उपचारविहीन बन्नु परेन।’ गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ गरी कुल एक सय ५४ जनाको मृत्यु र तीन सय ६६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, प्यूठान, अछाम र जाजरकोटमा क्षति पुगेको थियो। िप्राप्त तथ्याङ्कअनुसार भूकम्पबाट २६ हजार पाँच सय ५७ घर पूर्ण क्षति, ३५ हजार चार सय ५५ घर आंक्षिक क्षति भएका छन्। यस्तै १६ सरकारी कार्यालय पूर्ण र ३४ सार्वजनिक भवन आंक्षिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ।   भूकम्पको दोस्रो दिनदेखि सरकारले राहत वितरणलाई प्रभावकारी बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अब अस्थायी आवास निर्माण र पुनःनिर्माणमा ध्यान केन्द्रित भएको बताए।अस्थायी आवास निर्माण गर्न दुई किस्तामा प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने निर्णय कार्यान्वयनमा गइसकेको उल्लेख गर्दै प्रभावितले पहिलो किस्तास्वरुप रु २५ हजार पाउने र आवास निर्माण थालेपछि थप रु २५ हजार उपलब्ध गराइने बताए।   उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण गर्न मात्रै रु पाँच अर्ब बढी रकम आवश्यक पर्ने अनुमान गरिएको बताए। ‘प्रभावित क्षेत्रमा निजी आवास तथा सरकारी संरचनाको पुनःनिर्माण गर्न ठूलो रकम खर्च हुने अनुमान गरिएको छ,’ उनले भने, ‘पुनःनिर्माणका लागि दातृ राष्ट्रसँग छलफल भइरहेको छ।’   भूकम्प प्रभावित क्षेत्रका नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न अन्तरमन्त्रालय समन्वय भइरहेको जानकारी दिँदै उनले प्रदेश सरकारसँग पनि आवश्यक समन्वय भइरहेको बताए। बैठकमा सांसदहरुले भूकम्पबाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा सरकारको सक्रियताप्रति धन्यवाद दिँदै अस्थायी आवास निर्माण र आवास पुनःनिर्माणमा ध्यान केन्द्रित गर्न सुझाव दिएका थिए।   त्रिपालमुनि बसेका कतिपय भूकम्प पीडितको चिसोका कारण मृत्यु भएको, एकल महिलाका लागि अस्थायी आवास निर्माणमा सहयोग गर्न तथा भूकम्प प्रभावितको स्वास्थ्यवस्थाबारे ध्यान दिन सरकारसँग आग्रह गरेको थियो ।

बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।   मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए।   उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो।   सो दुर्घटनामा घाइते हुनेमा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी रहेको प्रहरी निरीक्षक ऐरीले बताए। जीपमा चालकसहित चार जना सवार रहेका बताइएको छ। जीपका चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।   जीपचालक खत्याड –९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ।   गत असोज ३० गते स्काइ अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्‍याएको थियो।   ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीनतले भवनमा पुर्‍याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरर्जस्ती लगाउने प्रयास गरेको थियो।   पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उनले बताइन्।  कम्पनीका सञ्चालकले मुख थुनेर शारीरिक यातना समेत दिने गरेको उनले सुनाइन्। सञ्जिताले यो खबर नेपालस्थित आफ्नो परिवारसम्म पुर्‍याएपछि झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूतावासले उनको सकुशल उद्धार गरेको हो।   सञ्जिताले ओमानमा सकसपूर्ण ४० दिन बिताएकी थिइन्। उद्धारपछि यही मंसिर ११ गते उनी घर आइपुगेकी हुन्। घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन्। ‘ओमानमा मलाई चार तले भवनको अँध्यारो कोठामा एक्लै राखेर पर्यटकलाई नुहाइदिने काम गर्न जबरर्जस्ती गरे,’ उनले भने, ‘ब्यूटीपार्लरको काम दिने भनेर ल्याएको हो, यस्तो काम गर्दिन भनेर मैले ठाडै अस्वीकार गरेँ। त्यसपछि मलाई उनीहरुले बन्धक बनाएर तनाव दिए,’ उनले भनिन्। उनले मसाजको काम नगर्ने स्पष्ट पार्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्दा रोजगारदाता कम्पनी अल लुल्लाह अल मिथल्ता ट्रेडिङका सञ्चालकले २ लाख ५० हजार माग गरेको बताइन्। ‘तिमीलाई दुई लाख ५० हजारमा हामीले किनेर ल्याएको हो, त्यो पैसा घरबाट ल्याएर हामीलाई देउ अनि मात्र घर फर्किन पाउँछौँ भन्यो,’ रोजगारदाता कम्पनीबाट पाएको सास्ती सुनाउँदै उनले भनिन्, ‘त्यसपछि मैले बाँच्ने आशा मारिसकेको थिएँ। उनी ‘हेयर स्टाइलिस्ट’को काम गर्ने लिखित सम्झौतासहित स्काई अफ दी वर्ल्ड म्यानपावर कम्पनीको विर्तामोड शाखामार्फत ओमान पुगेकी थिइन्।    विर्तामोडमा रहेको अप्सरा ब्यूटीपार्लरमा काम सिक्दा पार्लरकी सञ्चालक ललिता अधिकारीले स्काई म्यानपावरमार्फत आफूलाई ओमान जान प्रलोभन देखाएको सञ्जिताले सुनाइन्। ओमानमा अलपत्र परेपछि सञ्जिताका परिवारका सदस्यहरुले उद्धारका लागि स्काइ मेनपावर कम्पनी र अप्सरा ब्यूटीपार्लर गुहारेका थिए। दुबै पक्षले आफूले जिम्मेवारी नलिने बताएपछि सञ्जिताका काका वृक्षलाल राजबंशी सांसद विश्वप्रकाश शर्मालाई भेट्न गएका थिए।   ‘मलाई कम्पनीले अलपत्र पार्‍यो, छिटो उद्धार भएन भने म झुण्डिएर मर्छु भनेर भतिजीले म्यासेज पठाएपछि हामी अत्तालियौं,’ सञ्जिताका काका राजबंशीले भने, ‘जसले ओमान पठाएको हो, त्यही म्यानपावर र ब्यूटीपार्लरमा जाँदा केही पनि जान्दैनौं भनेर फर्काइदिए।’   सांसद् शर्माले ओमानस्थित नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको शीघ्र उद्धार भएको थियो। ओमान जाँदा एक लाख ५० हजार म्यानपावर कम्पनीले लिएको सञ्जिताले बताइन्। उद्धारपछि घर फर्किदा निःशुल्क आउन पाएको उनले बताइन्।

पोखरा:  कास्की प्रहरीले गएराती ५ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित ५ जनालाई गएराती पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ ।    उनीहरूको साथबाट नगद रु २९ हजार ३ सय ४० रूपैयाँ र तास बरामद गरेको छ ।   सो विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रक्तदान जीवनदान भन्ने नाराका  साथ पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको आदर्श युवा क्लवले  राखेको रक्तदानमा ७४ युनिट रगत संकलन भएको छ । क्लवका अध्यक्ष  पदम गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष  श्रीप्रसाद गुरुङ्गले पहिलो रक्तदाता खेलाडी रोशन पौडेललाई बल्ड ब्याग हस्तान्तरण गर्दै  समाजमा सकारात्मक सन्देश दिने गरी मानिसको शरीरबाट तीन ÷तीन महिनामा खेर जाने रगतलाई रक्तदान कार्यक्रम मार्फत संकलनु गर्नु राम्रो र उदाहरणीय काम भएको धारणा राखेका थिए । क्लवको २६औं वार्षिकोत्सव तथा २४ औं रक्तदानका अवसरमा शुभकामना मन्तव्य राख्दै क्लवका संस्थापक अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका वडा नं २९ का निवर्तमान वडाध्यक्ष चेतबहाुर गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी,ङयोए तमुधिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङ्ग,  भण्डारढिक टोल विकास संस्था,जनप्रकाश टोल विकास संस्था, सिद्धार्थ बुद्ध टोल विकास संस्थाका अध्यक्षहरु लगायतले रक्तदानको महत्ववारे बोलेका थिए । रक्त सञ्चार केन्द्र पोखराका शाखा अधिकृत महेन्द्र केसी नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको रक्तदान कार्यक्रममा संयोजक लक्ष्मण सुनारले स्वागत तथा सञ्चालन सदस्य सन्तोष गुरुङ्गले गरेका थिए । र

पोखरामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार (आज) फुटबल, कबड्डी, खोखोका खेल सुरु भएका छन् ।   संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा तेश्रो दिन छात्र मावीतर्फ फुटबल, छात्रा मावीतह खोखो र आधारभुत तह कक्षा १–५ अन्तर्गत छात्ररछात्रा कबड्डीका खेलहरु सुरु भएका हुन् ।   प्रतियोगितामा मावी छात्रतर्फ भएको फुटबलमा वेलनन एकेडेमी, स्माइल स्मल हेभन बोर्डिङ स्कुल, होली एन्जल र एकता अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगितामा फुटबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।   वेलननले शिलसिला लाई ६–० र पिनाकललाई टाइव्रेकरमा ३–१ गोलले पराजित गर्दै सेमीफाइनल यात्रा शुरक्षित गरेको हो । त्यस्तै एकताले टाइव्रेकरमा कालिकालाई ४–३ र होली एन्जलले माउन्ट हेभनलाई ६–० ले र गेफलाई ३–१ गोलले पराजित गरि सेमीफाइनलमा प्रवेश गरेको छ । फुटबलको सेमीफाइनल खेल भोली सञ्चालन हुने आयोजकले जनाएको छ ।   त्यस्तै मावी छात्रतर्फ भएको खोखो प्रतियोगितामा कालिका इङलिश सेकेण्डरी प्रथम, एकता दोश्रो, वेलनन तेश्रो र शिलसिला चौथो भएको छ । कालिकाले फाइनलमा एकतालाई १३–७ अंकले पराजित गर्न सफल भएको हो ।   आधारभुत तह (कक्षा १–५) छात्ररछात्रा कवड्डी अन्तर्गत आज पहिलो चरणका खेलहरु सम्पन्न भएको पाँचौ युनिप्स खेलकुद महोत्सव उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिएका छन् । कबड्डी छात्रतर्फ ६ र छात्रा तर्फ ५ गरि कुल १२ खेलहरु सम्पन्न भएका छन् । कवड्डीतर्फ कुल २४ टिमको सहभागिता रहेको छ ।   खेल महोत्सव अन्तर्गत बिहिबार मावी स्तरिय (कक्षा ९–१०) छात्र फुटबलको सेमीफाइनलका खेल र आधारभुत तह (कक्षा १–५) छात्ररछात्रा कवड्डीका खेलहरु जारी रहने युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिएका छन् । महोत्सवको औपचारिक उद्घाटन भोली १४ गते बिहिबार पोखरा रंगशालामा हुनेछ । जस अन्तर्गत एथलेटिक्सका खेल संगै मार्चपास समेत हुने अध्यक्ष गुरुङले बताए ।   प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका छन्  । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।   

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु कोप- २८ मा सहभागी हुन नेपाल एयरलाइन्सले समय अगाडि सार्दा ३१ जना यात्रु छुटेका छन्।    बुधबार राति साढे ९ बजे प्रधानमन्त्री प्रचण्डसहित २५० जना यात्रु दुबईका लागि उडेका थिए। प्रधानमन्त्री प्रचण्ड कोप(२८ मा सहभागी हुन त्यहाँ गएका हुन्। नेपाल एयरलाइन्सको राति साढे ११ बजे नियमित उडान हुन्छ। त्यसअनुसार नै बुधबारका लागि पनि त्यही समयको टिकट बुकिङ भइसकेको थियो।    तर भिभिआइपीको भ्रमण हुने भएकाले उक्त समय अगाडि सारिएको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। समय अगाडि सार्दा ३१ जना यात्रु छुटे। उनीहरूलाई एयरलाइन्सले काठमाडौंका होटलहरूमा राखेको छ। उनीहरूलाई बिहीबार दिनभरको फ्लाइटमा दुबई पठाइने पौडलले बताए।   ‘आज राति पनि त्यस समयमा फ्लाइट छ। दिनभरि हुने अन्य फ्लाइटहरूमा मिलाएर उहाँहरूलाई राखेर पठाउँछौं,’ पौडेलले भने, ‘उहाँहरू छुट्नुभएकोमा हामीलाई दुस्ख लागेको छ।’​फ्लाइट छुटेका प्रज्वल विक्रम रानाले सामाजिक सञ्जालमा भिडिओ राख्दै नेपाल एयरलाइन्सको लापर्वाहीले आफूहरू छुटेको बताएका छन्।   ‘काठमाडौंबाट दुबई साढे ११ बजेको फ्लाइटमा जान लागिरहेको थिएँ। सोही फ्लाइटमा हाम्रो सम्माननीय प्रधानमन्त्री पनि जान लाग्नुभएको रहेछ। सोही कारणले फ्लाइटलाई दुई घण्टा अगाडि सारेको रहेछ,’ उनले भनेका छन्, ‘तर नेपाल एयरलाइन्सले हामी धेरै जना यात्रुहरूलाई जानकारी पनि दिएन।’ उनी साढे ८ बजे एयरपोर्टमा पुगेका थिए। उनी त्यहाँ पुग्दा कर्मचारीहरू प्रधानमन्त्रीको बिदाइका लागि गएको र करिब एक घण्टापछि ड्युटी अफिसर आएर माथिको आदेश अनुसार सारिएको भन्ने जानकारी दिएको उनले बताए। ‘जानकारी गराउनुपर्ने कुरामा आफ्नो जिम्मेवारी हो भन्ने खालको व्यवहार पनि गर्नुभएन। र पछि एउटा पत्र दिइयो,’ उनले भने।   ‘हामीले उहाँहरूको इमेल राखेका हुन्छौं। फोन नम्बर राखेका हुन्छौं। मंसिर ८ गतेदेखि नै यस्तो हुँदैछ भनेर जानकारी गराएका थियौं। तर पनि केही छुट्नुभएको छ। त्यसमा दुस्ख लागेको छ,’ उनले भने, ‘अरू २५० जना यात्रुहरूले चाहिँ सूचना पाएर छिटो आइपुग्नुभयो। उहाँहरू कसरी छुट्नुभयो भन्ने हामी छानबिन गर्छौं।’

तनहुँ:  जिल्ला प्रहरी कार्यालय तनहुँले फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा व्यास नगरपालिका– १३ बेलबासका २१ वर्षीय शिवराज थापा रहेका छन् ।    तनहुँ प्रहरीका अनुसार उनी विगत ५ महिनादेखि फरार थिए ।     थापालाई जिल्ला अदालत तनहुँले २०८० साल जेठ ३२ गते अपराधिक उपद्र मुद्धामा ३० दिन कैद, र २ हजार रुपैयाँ (दुई हजार) जरिवाना तोकेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ।   निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए। अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो।   गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन्।   गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ। निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ। निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो। घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको थियो।   आज राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिँदै छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पत्रकार सम्मेलनमा निकुञ्ज विभागका महानिर्देशक ढुङ्गाना, ब्यूरोका प्रवक्ता नवराज अधिकारी, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका अधिकारीसमेतको उपस्थिति रहनेछ।   सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए। पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो। कतिपय वर्षमा  निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो।