काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उहाँले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तकका रुपमा रहनुभएको बताउनुभयो । नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याउनुभएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसाल्नुभएको जनाउनुभएको छ । आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उहाँले नेपाल संवत्ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं: नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”–उहाँले भन्नुभयो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ । म्हः (आत्म) पूजा आजैको दिन नेवार समुदायमा म्ह:[आत्मे] पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म [म्ह:] पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णय अनुसार यसो गरिएको हो । देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः [आत्मे] पूजा गर्दै छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म [म्हः] पूजा आज गर्नुपर्ने जनाएको छ । शास्त्रसम्मत् रुपमा आजै दुवै पर्व मनाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।
काठमाडौं: सरकारले देशभरि भिडियो शेयरिङ एप टिकटक चल्न नदिने भएको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको उहाँले बताउनुभयो । मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ने बताउनुभयो । यसअघि सरकारले टिकटक मुख्यालयका प्रतिनिधिसँग सामाजिक सद्भाव भड्काउने सामग्री स्वतः हट्ने र त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्ने विषयमा छलफल गरेको थियो । भारत, अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, क्यानडा, अफगानिस्तान, ताइवान, नेदरल्यान्ड्सलगायतका देशमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।
बर्दिया: बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या भएको हो। गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए। गएराति दुई समूहबीच झडप भएको थियो। त्यसक्रममा उनीमाथि खुकुरी प्रहार भएको हो। झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पोखरा: पब्लिक फोर के टेलिभिजनले भूकम्पपीडितलाइ राहत वितरण गरेको छ । रुकुमको आठविसकोट नगरपालिकाका भूकम्पपीडितलाई टेलिभिजनले राहत वितरण गरेको हो । शनिबार आठविसकोटका भूकम्पले प्रभावित १ सय परिवारलाई राहत वितरण गरेको टेलिभिजनका प्रबन्ध निर्देशन मन क्षेत्रीले बताए । १० लाख रुपैयाँ बराबरको राहत सामाग्री बाँडेको उनले जानकारी दिए । भूकम्पले घरबार गुमाएर राहत अतिआवश्यक परिवारलाई छनोट गरेर दिएको उनले जानकारी दिए । ‘तत्काललाई खान र बस्नमिल्ने खालको राहत वितरण गरेका छौं’, क्षेत्रीले भने । उनका अनुसार त्रिपाल ब्ल्यांकेट, पिफर्म, तन्नासँगै ३० केजी चामाल, दाल, चना, नुन, तेल, बेसार, मसला, साबुन लगायतका दैनिक उपभोग्य बस्तु राहत प्याकेजमा वितरण गरिएको हो । स्वास्थ्य सामाग्रीसमेत नगरपालिकालाई हस्तान्तरण गरिएको छ । राहत लिएर पुगेको टेलिभिजनको टोलीले केही गाउँमा नगरपालिकाको समन्वयमा राहत आफैं वितरण ग¥यो भने केही ठाउँका लागि नगरपालिकामार्फत हस्तान्तरण गरेको छ । टेलिभिजन सर्वसाधारणको सुखदुखको सारथी बन्ने उद्घोषका साथ सञ्चालन गरिएकाले भूकम्पपीडितलाई राहत वितरण गरेको अध्यक्ष सविन भट्टले बताए । उनले आगमी दिनमा पनि सामाजिक कार्यमा जोडिने बताए । आठबिसकोट नगरपालिका–१३ भल्मामा राहत वितरण गर्दै नगर प्रमुख रवि केसीले सञ्चार माध्यमले समाचार सम्प्रेषणसँगै भूकम्पपीडितको घाउमा मलम लगाउनुपर्ने बताए । ‘क्यामेरामा यहाँको दुख खिचेर देखाएर मात्रै हुदैन । मिडियाले पिडामा परेका नागरिकको घाउमा मलमपनि लगाउन सक्नुपर्छ । पब्लिक टिभीले राहतसमेत लिएर आएर प्रशसंनीय काम गरेको छ’, उनले भने । नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको नगर प्रमुख केसीको भनाइ छ । आठविसकोट १३, भल्माका गोपालजंग मल्लले सिंगो घर पुरिएको अवस्थामा प्याकेजसहित पाएको राहतले खुशी दिलाएको बताए । उनले अब अस्थायी बासको व्यवस्था आवश्यक रहेको सुनाए । ‘अहिलेलाई अस्थायी बासको व्यवस्था भए हुन्थ्यो । पछि त सरकारले पुननिर्माण गर्ला’, उनले भने । जाजरकोट केन्द्रविन्दु भइ गएको भूकम्पले आठविसकोटमा ४२ जनाको मृत्यु भएको छ । ८० जना घाइते भएका छन् । ४ हजार २७५ घरमा पूर्ण क्षति भएको प्रारम्भिक तथ्याङ्क छ । २ हजार ३३७ घरमा आंशिक क्षति भएको छ । भुकम्पबाट १ हजार ७११ घरमा सामान्य क्षति भएको छ । पब्लिक टेलिभिजनसँग राहत वितरणका लागि ह्वाइट पर्ल लाइट रिक्रुटमेन्ट प्राली, आकाश बन्जारा, टिएच कन्सल्टिङ सर्भिसेस ह्युमन रिर्सोसेज, सांगा बुदुकोन्स्टी प्लस डिओओले, संगीता रौनियार, सन्तोषि श्रेष्ठ (स्याङजा), विनोदकुमार श्रेष्ठ, पारु गुरुङ, सुजन गुरुङ, ढुवानी व्यवसायी महासंघ मोनिका ट्रान्सपोर्ट, दर्शन ट्रान्सपोर्ट, तिवारी गोरखा टे«डर्स पोखराका सञ्चालक पर्शुराम तिवारी, श्रीकृष्ण राइस मिल, टिकाराम पौडेल लगायतले सहकार्य गरेका छन् ।
मोरङ: मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये चार जना प्रहरीहरू पनि छन् । राती १० बजेतिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा घाइते भएकाहरूको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भई रहेको छ । लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूमध्ये ९ जनालाई विराटनगर, र १० जनfलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते उनीहरू घाइते भएका थिए । घाइते मध्य केहीको अवस्था गम्भीर छ । घटनाबारे विस्तृत विवरण आउन समय लाग्ने मोरङ प्रहरीले जनाएको छ । आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।
काठमाडौं: आजदेखि कोरला नाका दुवैतर्फ सञ्चालनमा आउँदै छ । माथिल्लो मुस्ताङका दुई स्थानीयहरुलाई लक्षित गरी आज विहान १० बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाकाको उद्घाटन गर्ने लागेका हुन् । चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षितगरी नाका सञ्चालन गर्न लागेको हो । चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरु ल्याएका छन् । चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले पाँचवटा कन्टेनर उपलब्ध गराएको छ । नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको छ । नाकामा आवतजावतका लागि एक महिनाअघि अनुमतिपत्र वितरण गरिएको छ । अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधरणहरु कोरला नाकामा आवतजावत गर्न पाउने छन् । कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला हुन लागेको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको जनजीवन प्रभावित हुँदै आएको थियो । यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।
काठमाडौँ: कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।
पोखरा: बडा दशैंपछि तिहारलाई विशेष प्राथमिकताका साथ मान्ने गरिन्छ । विशेषगरि दशैंमा गाउँघरमा चहलपहल हुन्छ भने तिहारमा शहरमा । दिदिबहिनीको हातबाट दाजुभाइहरुले टिका ग्रहण गरेर भाइटिका मनाइने प्रचलन रहेको छ । तिहारमा विभिन्न रङका बत्तिहरुले घरलाई सजाइने हुदाँ बत्तिको पर्व पनि भन्ने गरिन्छ । तिहारको समयमा पोखरामा देखिएको झिलिमिलीलाई सुनगाभा न्यूजले तस्बिरमा कैद गरेको छ । सुनगाभा न्यूजको लेन्सबाट हेरौं, झिलिमिली पोखरा:

