काठमाडौं: यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।
पोखरा: सामाजिक सञ्जालमा सबैभन्दा बढी रुचाइएको टिकटकलाई अहिले व्यापारीले मार्केटिङको माध्यम बनाएका छन् । तिनै मध्येका एक पोखरेली व्यापारीले पनि तिहार पर्वको अवसर पारेर पटका खरिद गरेर टिकटक लाइभमा आएर मार्केटिक गरेका थिए । टिकटक लाइभमै उनले पटका खरिद विक्रीको मोलमोलाई गरेको एक प्रहरीका आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि कास्की प्रहरीले त्यसतर्फ अनुसन्धान गर्दै ति युवकलाई पटकासहित पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले बताए । ‘एकजना युवक टिकटक लाइभमा आएर पटका खरिद गरेर बिक्रीका लागि मार्केटिक गरिरहेको सूचना कास्की प्रहरीलाई आयो’, डीएसपी विकले भने, ‘कास्कीमा तिहारमा भित्रिएका १८ थरीका पटका बरामद गरेर नष्ट गरेका छौं, चाडपर्व सुरक्षा योजना अनुसार पटका लगायत जुवतास, खोरखोरे सञ्चालन गर्नेलाई नियन्त्रण निमयन गर्न लागि रहेका छौं ।’ उनले हालसम्म तिहारको संघारमा १८ थरीका करिब २ लाख बढीको पटका बरामद गरेर नष्ट गरिएको बताए । उनका अनुसार जफत हुनेहरुमा प्याङ्गुइन कोब्रा खुर्सानी बम ७२ वटा, रकेट बम २० वटा, खुर्सानी बम ४७ वटा, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम ३ प्याकेट, सोलीबम ५ वटा, रकेट बम ४ वटा, झिरझिरे पटका ८० प्याकेट, एटम बम १४ पिस, डबल बम १० पिस, गमला बम १७ पिस, चक्र बम २५ पिस, खुर्सानी बम ९८ सेट, सानो पटका ६, ठुलो पटका १२ र चकरी ५० थान, अवर १० थान र लसुन बम १५ थान रहेको छ । कास्की प्रहरीले कास्कीको विभिन्न स्थानबाट पटका बरामद गरेपनि कति जनालाई नियन्त्रणमा लिएको छ त्यो भने खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले पोखराको विभिन्न स्थानबाट १८ थरीका पटका बरामद गरेको पुष्टी गरे । ‘यो पटका एकै स्थानबाट बरामद गरेको होइन, विभिन्न स्थानबाट बरामद भएको पटका हो, प्रहरी उपरीक्षक थापाले भने, ‘थोरै थोरै संख्यामा पटका बरामद गरेका छौं, पटकासँग विभिन्न व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएका छौं, मुद्धा चलाउने नि नचलाउने छलफलकै चरणमा छौं ।’ यस्तै कास्की प्रहरीले विभिन्न स्थानबाट ५६ सेट खोरखोरेका ३ सय ५ वटा गोटी बरामद गरेर नष्ट गरेको छ ।
पोखरा: पोखरा–मुग्लिन राजमार्ग सुधार चरण–१ योजना अन्तरगत पोखरा महानगरपालिका वडा नं.९ र १० जोड्ने सेती नदी पुलको शिलान्यास गरिएको छ । पुलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्नुभएको हो । पुलको शिलान्यास गर्दै मन्त्री ज्वालाले तोकिएको समयमा पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी लगायत सरोकारवालाहरूलाई निर्देशन दिनुभयो । निर्माण कार्य समयमा सम्पन्न गर्ने सन्दर्भमा मन्त्रालयको तर्फबाट पुरै सहयोग रहने उहाँले विश्वास पनि दिलाउनुभयो । पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो । पोखराको आर्थिक तथा सामाजिक विकासमा समेत यसले मेरुदण्डको काम गर्ने मन्त्री ज्वालाले बताउनुभयो । सेती नदी माथि मितेरी पुल समेत निर्माण गर्ने उहाँले प्रतिबद्धता पनि जनाउनुभयो । पोखरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहेको उल्लेख गर्दै उहाँले यसलाई पर्यटनको राजधानी सहर घोषणा गरिनु पर्नेमा जोड दिनुभयो । नेपाल सरकारलाई यसको औपचारिक घोषणाका लागि आवश्यक पहल गर्न आफू प्रतिबद्ध रहेको भन्दै उहाँले प्रदेश सरकार र महानगरपालिकाको तर्फबाट डेलिगेसन आउन र सो डेलिगेसनसँगै आफू पनि पोखरालाई पर्यटन राजधानी घोषणाका लागि दबाब दिन तत्पर रहेको बताउनुभयो । पोखरा सबै हिसाबले पर्यटन राजधानी घोषणाका लागि योग्य रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सवै खाले स्थानीय अवरोधहरूको समाधान गरिदिने बताउनुभयो । स्थानीय अवरोधका कारण पुल निर्माण कार्यलाई ढिलाइ हुन नदिने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । सेती नदीमाथि बन्ने सिग्नेचर ब्रिजले पोखराको थप सौन्दर्ययता बढाउने प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । पोखराको पर्यटन लगायत यस क्षेत्रको समग्र विकासमा लाइफलाइनको रूपमा यसको निकै महत्त्व रहने उहाँले बताउनुभयो । पुल निर्माणको कार्य २०८२ भाद्र २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रा।ली काठमाण्डौले ठेक्का पाएको छ । यस अवधिमा सेतीमा मौजुदा पुलको दायाँबायाँ १९०/१९० मिटरका २ वटा पुलहरू निर्माण हुनेछन् । पुलको कुल लागत १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ (भ्याट सहित) रहेको छ ।
पोखरा: नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय अनुसार कास्की जिल्ला भित्र आयोजना गरिने देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने सूचनामा उल्लेख गरिएको छ । सूचनामा भनिएको, ‘जिल्ला प्रशासन कार्यालय, कास्कीको निर्णय अनुसार कास्क्ी जिल्लामा आयोजना हुने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागनमा अवरोध नहुने गरी रातको ९ः०० बजेसम्म सञ्चालन गर्नुहुन अनुरोध ।’
कास्की: उच्च अदालत पोखराले पोखराको फिर्के खोला किनारका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको छ । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेपछि अदालतले सो सूचना कार्यान्वयन नगर्न आदेश गरेको हो । महानगरको सूचनालाई लिएर स्थानीय राजन रौनियारसमेतले दायर गरेको रिटमा शुक्रबार अदालतले सुनुवाइ गर्दै निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म तत्काल महानगरको सूचनाको कार्यान्वयन नगर्नू÷नगराउनू तथा यथास्थितिमा राख्नु भनी विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरेको हो । पोखरा–१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलाको मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउनका लागि महानगरले गत कात्तिक १० गते ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । महानगरपालिकाले भवन निर्माण संरचना बनाउँदा यसअघि नक्सापास गरेको स्मरण गराउँदै भत्काउनुपर्ने भए जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जाको व्यवस्था गर्नुपर्ने निवेदकको जिकिर छ । निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता मुकुन्द अर्याल र अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गर्नुभएको थियो । पोखरा महानगरपालिका वडा २, ४, ५, ६, ७, ८, १७ र १८ अन्तर्गत फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउने महानगरको तयारी थियो । फिर्केखोलाको खोलाघरभित्र एक सय ६० संरचना बनेका छन् । तीमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका सङ्घसंस्थाले संरचना बनाएका छन् । गत साउन पहिलो साता महानगरले फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउनका लागि प्राविधिक समिति बनाएर सीमाङ्कन सुरु गरेको थियो । सो प्राविधिक समितिले एक महिना लगाएर खोलाको नाप जाँच गरेको थियो । प्राविधिक समितिको प्रतिवेदनअनुसार फिर्के खोलाघर माथि स्थायीदेखि अस्थायी प्रकृतिका संरचना निर्माण गरेको पाइएको थियो । फिर्के अतिक्रमण गरी खोलामाथि सामाजिक सङ्घसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइएको थियो । महानगरले फिर्केका अतिक्रमित संरचना हटाएर सो क्षेत्रमा दिगो पर्यटन विकास परियोजना सञ्चालनको तयारी गरेको छ । सो परियोजनाअन्तर्गत फिर्केको संरक्षण, सम्वद्र्धन र विशेष सौन्दर्यीकरणको उद्देश्यसहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ ।
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो”–उहाँले भन्नुभयो । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ । भाइटीका कात्तिक २९ गते १०:५१ बजे उत्तम कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०ः५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाउनुभयो । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेबल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री प्रचण्डले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताउनुभयो । राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छु, उहाँले भन्नुभयो, राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।ु
रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएकाका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदैछ । सरकारले भूकम्पमा परि ज्यान गुमाएकाका परिवारका लागि दुई लाख रुपैयाँ दिने घोषणा गरेको थियो । त्यही रकम आजदेखि वितरण गरिने रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण थालिनेछ । सानीभेरीमा भूकम्पमा परि १० जनाले ज्यान गुमाएका थिए । यस्तै, भोलि आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने छ । आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको ज्यान गएको थियो । ज्यान गुमाएकाका नजिकका कानुनी हकवालालाई राहत रकम वितरण गरिने छ । भूकम्पमा परेर पश्चिम रुकुममा ५२ जनाको ज्यान गएको थियो । यसैबीच, जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ । अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताउनुभयो । ज्यान गुमाएकाका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उहाँको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा राहत अभाव भएको छ । भूकम्प गएको एक हप्ता बितिसक्दा समेत धेरैजसो पीडितले राहत पाउन सकेका छैनन् ।
पोखरा: पोखरा महानगरपालिका–१ वडा कार्यालयले तिहारको संघारमा वडाको विभिन्न स्थानमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका १ भित्रका विभिन्न टोललाई तीन क्षेत्रमा विभाजन गरी वडाध्यक्ष शाहारा प्रधानको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । वडा कार्यालय बगरबाट सरसफाई सुरु गरि वडा भित्रका सबै टोलहरुमा सरसफाई गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् । उनका अनुसार सो कार्यक्रममा २१ वटा आमासमूह, १६ टो विकास संस्था, ७ वटा युवा क्लब तथा संघ संस्था र ४ वटा तमु समाजको सहभागिता रहेको थियो । नेपालीहरुको चाड तिहारको संघारमा वडालाई सफा बनाउनका लागि सरसफाई कार्यक्रम आयोजना गरिएको उनले बताइन् । उनले सामाजिक कार्यक्रम अन्तरगत वडाले यसअघिदेखि नै सरसफाई कार्यक्रम आयोजना गर्दै आएको बताइन् । सो कार्यक्रममा पाँचै जना जनप्रतिनिधिहरु, स्थानीय संघ संस्थाका अगुवाहरु तथा स्नायीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । वडाले खेलकुदको क्षेत्रमा, टोलटोलमा सरसफाई, सडकबत्ती मर्मत तथा जडान, विभिन्न महामारीको समयमा राहात वितरण तथा लागुऔषध विरुद्धको सचेतना तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

