कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

 सर्लाही:  सर्लाहीको धनकौल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । उनका अनुसार केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा वडाध्यक्ष महतोसमेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर भएको थियो । मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैं उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।मुद्दाको अन्तिम फैसला नहुँदासम्म महतोलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो । स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा(माओवादी केन्द्र)बाट महतो वडाध्यक्षमा निर्वाचित भएका थिए । अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार यस मुद्दामा अन्य केही व्यक्तिलाईसमेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्ति फरार रहेका र उनीहरुको खोजी जारी रहेको उनले बताए ।

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदैछ।   सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको छ।   यसअघि पटकपटक सुनुवाइ तोकिए पनि न्यायाधीश अभावमा स्थगित हुँदै आएको मुद्धा आज घिमिरेको इजलासमा ‍पाचौं नम्बरमा छ। असोज महिनामा तीन पटक सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको थियो।  असोज १ गते, असोज ७ गते र असोज २५ गते सुनुवाइ स्थगित भएको थियो।    जिल्ला अदालत काठमाडौंमा अन्तिम बहसका लागि पेशी चढेकै ७ महिना बढी भयो। त्यसपछि एक दर्जन न्यायाधीशको इजलासमा परे पनि यो मुद्दाको बहस सुनेर फैसला सुनाउन आँट भने कसैले पनि गरेका छैनन्। सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भनेपनि काठमाडौं जिल्ला अदालत यसबारे उदासिन देखिएको छ। बलात्कार भएको हो कि होइन भन्ने विवाद भएको यो मुद्दामा धेरैजसो न्यायाधीशले बालिकाको जन्म मितिसम्बन्धी कागज मगाउने मात्रै आदेश दिएर मुद्दा पन्छाउँदै गरे। साउन ३२ मा न्यायाधीश राजुकुमार खतिवडाले त पीडितकी आमाको जन्म मितिसमेत यकिन गर्ने आदेश दिएका थिए।   कतिपय न्यायाधीशले समय हुँदाहुँदै हेर्न नभ्याइनेु भनेका थिए त कतिपयले बहसै सुनिसकेपछि पनि हेर्न नभ्याइनेु भनेर पन्छाएका थिए। कतिपयले भने सरकारी वकिललाई स्थगित गर्न समेत लगाएका थिए।

अर्घाखाँची:   अर्घाखाँचीमा २० रुपैयाँको झगडाले वृद्धाको ज्यान गएको छ। मालारानी गाउँपालिका(९ गोखुङ्गा पात्लेमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेका अनुसन्धानबाट रहस्य खुलेको हो। मालारानी स्थायी ठेगाना भइ भुमिकास्थान १, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतित सिंह राठोरले बताए। गत कार्तिक १४ गते २० रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए। झगडाले उग्र रुप लिंदै जाँदा झगडा गर्ने क्रममा वृद्धा भुसाललाई घरमा एक्लै देखेपछि मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरीसमक्ष स्विकार गरेका छन्।  हत्यापछी उनले भएको नगद र सुनका गरगहना चोरी गरेर फरार भएका थिए। २० रुपैयाँको झगडाले उग्र रुप लिंदै जाँदा महिलाको ज्यान गएको खुलेको हो। नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।  जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रहरीले नेपालीलाई सार्वजनिक पनि गरेको छ।

युट्युबर मनोज मानवलाई प्रहरीले पक्राउ गरेको छ।    उनलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो। नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए।   सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्। आफ्नो चरित्र हत्‍या गरेको भन्दै एक महिलाले व्यूरोमा उजुरी दिएकी थिइन्। मनोजलाई बिहीबार अदालतमा पेश गर्ने प्रहरीको तयारी छ।    उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।

पोखरा:    पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रा।ली।को साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजारको आगामी शनिवार शुभारम्भ गर्ने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।  उहाँका अनुसार हाटबजारमा स्थानीय उत्पादनका १० बढी स्टलहरू रहनेछन् । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामानहरू हाटबजारमा राखिनेछन् ।  यस्तै पुष्पान्जलीद्धारा तयार गरिएको विवाहका लागि चाहिने सामान (सई पाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामाग्रीहरू, कृषि सञ्जाल वडा नं।६ ले उत्पादन गरेका कृषि उपजहरू र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्रीहरू हाटबजारमा बिक्रीका लागि राखिनेछन् । रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकारहरू (सेल रोटी, झिलिङ्गा, चिनिरोटी), स्थानीय स्तरमा उत्पादित खाद्य वस्तुहरू कोदो, मकै, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिने कडरियाले बताउनुभयो । उहाँका अनुसार सो अवसरमा सयपत्री फुल मेला–२०८० समेत आयोजना गरिनेछ ।  पहिलो दिन कार्तिक २५ गते उद्घाटन सहित स्थानीय उत्पादन प्रवर्द्धन सम्बन्धी देउसी भैलो गीत प्रतिस्पर्धा, फुल माला प्रदर्शनी तथा बिक्री वितरण, दोस्रो दिन २६ गते स्थानीय उत्पादन केन्द्रित सवाल तथा छलफल कार्यक्रम, २७ गते माला तयारी प्रतिस्पर्धा र कार्तिक २८ गते निरन्तर प्रदर्शन तथा बिक्री वितरण लगायतका कार्यक्रमहरू हुनेछन् ।  मेलामा स्थानीय कृषकहरूसँगको साझेदारीमा उत्पादित सत्रपत्री फुलहरू बिक्रीमा राखिने कडरियाले बताउनुभयो । सयपत्री फुलमा पोखरा महानगरपालिका आत्मनिर्भर भएको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाले स्थानीय कृषकहरूसँग साझेदारी गरेर १६५ रोपनी भन्दा बढी क्षेत्रफलमा सयपत्री फुल लगाइएको छ, कडरियाले भन्नुभयो, यसपालिको तिहारमा सयपत्री फुल पोखरामा बाहिरबाट ल्याउनु पर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।” महानगरपालिकाले सयपत्री फुलको दररेट समेत तोकेको छ ।  पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकहरूको समन्वयमा फुलको रेट तोकिएको हो । दररेट अनुसार सयपत्री फुलको १५ देखी २० ग्रामको एक थुङ्गालाई रु.५, १० देखी १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य रु.४ र ५ देखी १० ग्रामको रु.२ तोकिएको छ । यस्तै मालाको क्रमशः रु.२००, १८० र १५० तोकिएको छ भने, प्रतिकेजी रु.४०० रुपैयाँ सयपत्री फुलको मूल्य तोकिएको छ ।  श्री कम्प्लेक्समा तीन दिनसम्म चल्ने मेलामा स्थानीय तथा रैथाने उत्पादन प्रवर्द्धन, विकास र बजारीकरणका सम्बन्धमा थप छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरू गरिनेछन् । व्यवसायीहरूले यसले रैथाने उत्पादन र पुष्प व्यवसायको प्रवर्द्धन हुने भन्दै खुसी व्यक्त गरेका छन् ।

बागलुङ:   बागलुङको बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनी मौरीभिरको ओडारमा रहेको ३ थान एकनाले भरुवा बन्दुक र १ थान बाह्रबोर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले मंगलबार ईलाका प्रहरी कार्यालय भिमगिठेबाट गस्ती गर्दै गरेको प्रहरीलाई स्थानीयहरुको सूचनाको आधारमा उक्त हातहतियार फेला पारी बरामद गरेको बताए । ‘ईलाका प्रहरी कार्यालय भिमगिठेबाट गस्ती गर्दै गरेको प्रहरीलाई स्थानीयहरुले मौरीभिरको ओडारमा भरुवा बन्दुक भएको जानकारी दिए थिए’, डीएसपी केसीले भने, ‘स्थानीयहरुको सूचनाको आधारमा मौरीभिरको ओडारबाट ३ थान एकनाले भरुवा बन्दुक र १ थान बाह्रबोर बरामद गरेका छौं ।’  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ ।    केही पीडित उजुरी लिएर आएका र उनीहरुको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेका भए जाहेरी दिन बचतकर्तालाई आग्रह गर्नुभयो । उक्त सहकारीबाट अहिलेसम्म झण्डै रु ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ । जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।    निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी दरखास्त पेश भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।    उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी व्यूरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो । उहाँले भन्नुभयो, “ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका सेवा केन्द्रमा निक्षेपकर्ता सदस्यले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिउपर प्रमाणसहित ब्यूरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध छ ।”  रासस

बाँके- बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको ज्यान गएको हो ।   कोहलपुरमा रहेको कृषि चोकमा बुधवार हिजो बेलुका ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको ज्यान गएको हो ।    इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाण्डौका लागि छुटेको ००१ ख २४३२ नम्बरको मालवाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।   ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।   

धनगढी:  धनगढीमा लाठी प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।   धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा विद्यालय क्षेत्रमा लाठी प्रहारबाट सोही ठाउँका लालबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।   सोमबार दिउँसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका कृष्ण सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेका थिए।   लाठीको प्रहारबाट घाइते भएका थापाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदीप चन्दले लाठी प्रहार गर्ने सेट्टीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।