पोखराः उच्च अदालत पोखराले पर्यटकीय पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा २४सै घन्टा व्यापार व्यवसाय खोल्न पाइने आदेश गरेको छ । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा उच्चले बुधबार उक्त आदेश गरेको हो । देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको हो । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्तात्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए। निवेदकलाई कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको हो । निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत्, लिखित जवाफ पेस गर्न विपक्षीहरुका नाममा प्रस्तुत आदेश र निवेदनको प्रतिलिपी समेत साथै राखी म्याद सूचना पठाई लिखित जवाफ परेपछि वा सो को अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्न अदालतको आदेश छ । गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको निवेदकको दाबी थियो । निवेदकले निवेदन साथ पेश गरेको उक्त कार्ययोजना प्रतिलिपिबाट देखिँदा विपक्षीहरुको निवेदन परेको अवस्थामा कानून बमोजिम पुनर्विचार हुन सक्ने नै हुँदा प्रस्तुत निवेदनको अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुन विपरीतको कार्य भएको अवस्थामा बाहेक प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिई नियमानुसार पेश गर्नू भन्ने अदालतको आदेश छ । कानुन बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश आएको हो ।
पोखरा: पोखरा महानगरपालिकाले स्थानीय सयपत्री फुलको मूल्य तोकेको छ । बाहिरबाट सयपत्री तथा फूल आयातमा रोक लगाएको पोखरा महानगरपालिकाले तीन ग्रेडमा सयपत्री फुलको मूल्य तोकेको हो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, श्री कम्प्लेक्स, कृषि सञ्जाल तथा सयपत्री फूल उत्पादक कृषकहरुको संयुक्त बैठकले सयपत्री फूलको तीन ग्रेडमा मूल्य निर्धारण गरेको पोखरा महानगरपालिका कार्यालयले जनाएको छ । महानगरले तीन ग्रेडमा फूलको मूल्य निर्धारण गर्दै ५ देखि २० ग्राम सयपत्रीको फूलको मूल्य तोकेको हो । महानगरका अनुसार ए देखि सी ग्रेडको ५ देखि२० ग्राम फूलको प्रतिकेजी ४ सय रुपैयाँ मूल्य तोकेको छ । यस्तै १५देखि २० ग्रामको फूलको प्रति थुङ्गा ५ र प्रति मालाको २ सय, १० देखि १५ ग्राम फूलको प्रति थुङ्गा ४ सय मालामा १ सय ८० र ५ देखि १० ग्राम फुलको प्रति थुङ्गा १ सय ५० रुपैयाँ निर्धारण गरेको छ । पोखरा महानगरपालिकाले पोखरामा सयपत्री फूलको आयातमा प्रतिबन्ध लगाएको छ । भने बजारमा प्लास्टिकको फूलमाला बिक्री वितरण गर्न समेत प्रतिबन्ध लगाइएको छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। गुल्मी ईस्मा गाउँपालिका-६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाल पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएका टोलीले मंगलबार साँझ पक्राउ गरेको हो। तानसेन नगरपालिका-८ तल्लो डुम्रे बस्दै आएकी किशोरीमाथि दाहालले बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पोखरा: पोखरामा आगामी मंसिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंबैं ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर शो) हुने भएको छ । माओत्से गुरुङ फिल्मस् सँगको सहकार्यमा उचाई स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेडमलस्थित सिनेप्लेक्समा मंसिर ९ गते बिहान १० बजे विशेष प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । रत्ना गुरुङद्वारा लिखित तथा निर्देशित सो चलचित्रको च्यारिटी शुल्क १ हजार रुपैयाँ निर्धारण गरिएको छ । चलचित्रमा नायकका रुपमा विश्वात्मा गुरुङलाई देख्न सकिन्छ भने नायिकाकी रुपमा कृष्टि गुरुङले अभिनय गरेकी छिन् । यस्तै चलचित्रमा गजेन्द्र गुरुङ, सूर्य सुनुवार, डिबी गुरुङ, लालशोभा गुरुङ, प्रकृति गुरुङ, राममाया गुरुङ लगायत कलाकारको भूमिका रहेको छ । निर्देशक गुरुङका अनुसार गुरुङ समुदायको संस्कार, संस्कृति र परिवेशमा आधारित चलचित्रमा प्रेमको विषयलाई केनद्रमा राखेर फिल्म निर्माण गरिएको छ । पारिवारिक एवं प्रेमकथामा आधारित उक्त चलचित्रको छायांकन स्याङ्जाको कोल्मा, पोखरीछाप तथा पोखराका विभिन्न स्थानमा गरिएको निर्देशक गुरुङले जानकारी दिइन् । उनले चलचित्रमा प्रविधिक पक्षमा नयाँपनको अभ्यास गरिएको बताउदै चलचित्र विशेष बनेको बताइन् । चलचित्रको निर्मातासमेत रहेकी गुरुङले यसअघि लघु चलचित्र म्हैता (पाईला)को पनि निर्देशन गरेकी थिइन् । चलचित्र ‘सैंबैं ट’ (मनको फूल) को सम्पादन दिपेश गुरुङले गरेका छन् भने छायांकन सन्देश गुरुङले गरेका हुन् । विशेष प्रदर्शनको टिकट उचाई स्टुडियो प्रालि (९८०६७०४६७९) बाट प्राप्त गर्न सकिने निर्माण टिमले जनाएको छ ।
पोखरा: पोखारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अभ्रद व्यवहार गर्ने दुईजना युवकलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा १७ छोरेपाटनस्थित सिद्धार्थ राजमार्गमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई होटलमा लैजान जवरजस्ती तान्ने ,दुःख दिने तथा सार्वजनिक स्थामा अभद्र व्यवहार गरेको आरोपमा दुईजना युवकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । प्रकाउ पर्नेमा पोखरा १७ छोरेपाटनका १७ वर्षीय २३ वर्षीय रमेश सुवेदी र पोखरा ३१ बस्ने २७ वर्षीय कमल पौडेल रहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रकाउ परेका दुईजनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखराको फेवाताल छेउको फुट–ट्रयाकमा रहेका विदेशी माग्नेलाई पोखरा नगर प्रहरीले हटाएको छ । फुट–ट्रयाकमा रहेका फुटपाथ व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रुपमा सचेत गरेको छ । तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यवसायीहरु र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यवसायीलाई हटाउन अनुरोध गर्दै मंगलवार राति पोखरा महानगर नगर प्रहरी टोली,बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन् । आगामी दिनमा पर्यटकीय नगरी पोखराको सुन्दरता कमी आउन नदिनको लागि समेत व्यावसायीलाई आह्वान गरेका छन् । बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यवसाय सञ्चालन गर्ने र त्यहाँ आएका विदेशी पर्यटकहरुले मागेर हिँड्ने र विभिन्न अनैतिक किसिमका गतिविधि देखाउनाले सुन्दरतामा नकारात्मक असर सृजना गरिएको जनगुनासो आएको थियो । यो गुनासोपछि सांकेतिक रुपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने जानकारी दिनुभयो । पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भोलिबाट व्यापारिक सामान नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामान नियन्त्रण गर्ने बताउनु भयो ।उहाँले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न गइरहँदा पर्यटकीय क्षेत्रमा सीमित ठाउँ छुट्टयाएर व्यापार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
पोखरा: उपल्लो मुस्ताङबाट ६ जना भारतीय पर्यटकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय पर्यटकलाई मंगलबार चेकजाँचको क्रममा अध्यागमन विभागबाट भ्रमण अनुमति नलिई पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । लोमान्थाङ गाउँपालिका ४ नेचुङस्थित बिओपी (बोर्डर आउट पोष्ट) का सशस्त्र प्रहरी सहायक हवल्दार अजय लामाको कमाण्डको ६ जना र इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक हवल्दार धुर्व रोकासहितको संयुक्त टोलीले चेकप्वाइटमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर क्षेत्रीले जानकारी दिए । \ उनका अनुसार लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य पर्यटकलाई जान निषेश गरिएको छ । ‘लोमान्थाङ भन्दा माथि जान नेपाली बाहेक अरु पाउदैनन् । देख्दा नेपाली जस्तै गुरुङ थर भएका उनीहरुले अनुमति नै नलिएर आएको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय छोसेर पठाएका हौं, उनले भने । इन्सपेक्टर क्षेत्रीले नेपाली मुलका जस्तै देखिने भएकाले अनुमति पत्र विना घुम्न निस्केको बताए । ‘नेपाली प्रष्ट बोल्ने र मान्छेपनि नेपाली जस्तै थर पनि गुरुङ रहेछ । उनीहरुलाई हेरेर मात्रै भारतीय भनेर पहिचान गर्न सकिन्थेन, उनले सुनगाभा न्यूजसँग भने, ‘त्यही भएर उनीहरु त्यसरी नै मुस्ताङ भित्रिएका रहेछन् । पछि केरकार गर्ने क्रममा भारतीय भन्ने पुष्टि भयो । त्यसपछि प्रहरीलाई जिम्मा लगायौ ।’ इन्सपेक्टर क्षेत्रीका अनुसार ति ६ जना भारतीय पर्यटक ध १ ज २७० नम्बरको ट्याक्सी र ग १४ प ५७३७ नम्बरको मोटरसाइकलमा उपल्लो मुस्ताङ पुगेका थिए । नियन्त्रणमा रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय छोसेरले पर्यटक प्रहरी कार्यालय पोखरामा पठाएको थियो । अहिले उनीहरुलाई थप कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाउने तयारी भइरहेको पर्यटक प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका ८ सभागृह अगाडि रहेको नविल बैँकको एटिएम तोडफोड गरेको अभियोगमा भारतीय नागरिक बबि ठाकुर प्रकाउ परेका छन् । सभागृह अगाडि रहेको नविल बैंकको एटिएम आज बिहान (मंगलबार)तोडफोड गरिरहेको अवस्थामा बैदाम प्रहरीले भारतको बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पंचायत घर भएका २० वर्षीय बबि ठाकुरलाई प्रकाउ गरेको हो । प्रकाउ परेका ठाकुरले पोखरा महानगरपालिका ९ नयाँबजारमा शैलुन पसल सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका ठाकुरको साथबाट प्रहरीले फलामको रड, पेचकस, कपाल काट्ने कैची १/१ थान र ढुङ्गा बरामद गरेको छ । ठाकुरलाई जिल्ला अदालत कास्कीबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ । राहदानी बनाएर विदेश जान लाग्नुभएका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहनुुभएको छ । उहाँ भन्नुहुन्छ, ‘नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर नौ लाख आम्दानी लिइसकेको छु ।’ परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाइ नहुने आठ रोपनीमा उहाँले व्यावसायिक सयपत्री खेती गर्नुभएको एक वर्ष बितिसकेको छ । उहाँलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत भएको दर्नाल बताउनुहुन्छ । किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोप्नुभएको थियो । बेर्ना रोप्दा, बिरुवाको मलजल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उहाँमा उत्साह उब्जिएको छ । वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उहाँ सुनाउनुहुन्छ । सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरी बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नालले उत्पादन गर्नुभएको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाण्डौको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ । सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर कमलामाई नगरपालिका–१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ । फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती शुरु गरेको बताउने उहाँ गर्दै–सिक्दै, सच्याउँदै–सच्चिँदै, बुझ्दै–बुझाउँदै अगाडि बढ्ने सोचमा हुनुहुन्छ । अहिले एक कट्ठा फूलखेती शुरु गरे पनि बिस्तारै बढाउँदै जाने उहाँको योजना छ । यता गोलञ्जोर गाउँपालिका–२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन् । आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उहाँका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ । सयपत्री फूलखेती गर्नुभएका हमाल भन्नुहुन्छ, ‘राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ । बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ ।’ हमालले एक प्याकेट बीउलाई पाँच हजारमा किनेर बेर्ना तयार गरी रोप्नुभएको थियो । उहाँका अनुसार हाइब्रिड जातको फूलको बीउ तथा बिरुवा महँगो छ । बिरुवा महँगो पर्ने भए पनि यसको फूल चाँडै ओइलाउँदैन । फूलका थुङ्गा एकैनासका आर्कषक हुन्छन् । सयपत्रीको प्रतिबेर्ना तीनदेखि पाँच रुपैयाँसम्म किन्न पाइने हमालले जानकारी दिनुभयो । पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उहाँलाई पनि हौसला बढेको छ । तीन रोपनीमा फुलेको सयपत्रीबाट तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उहाँको अनुमान छ । सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन् । पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिका–५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कठ्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ । अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट ४० हजार रुपैयाँ आम्दानी लिएका थिए । यस वर्ष एक कट्ठामा लगाएको फूलखेतीबाट १५ हजार कमाइ भइसकेको छ । अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतिक्षामा छन् । विद्यालयका प्राधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकेजी चार सय रुपैयाँमा फूल बिक्री गर्ने गर्छन् । यतिबेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ । फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ । गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ । चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती शुरु गर्ने पहिलो किसान सुनकोशी–३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ ।

