फूल बेचेर नौ लाख रुपैयाँ आम्दानी
काठमाडाैं | कात्तिक २२, २०८०
फाइल तस्बिर
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।
राहदानी बनाएर विदेश जान लाग्नुभएका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहनुुभएको छ । उहाँ भन्नुहुन्छ, ‘नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर नौ लाख आम्दानी लिइसकेको छु ।’
परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाइ नहुने आठ रोपनीमा उहाँले व्यावसायिक सयपत्री खेती गर्नुभएको एक वर्ष बितिसकेको छ । उहाँलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत भएको दर्नाल बताउनुहुन्छ ।
किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोप्नुभएको थियो । बेर्ना रोप्दा, बिरुवाको मलजल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उहाँमा उत्साह उब्जिएको छ । वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उहाँ सुनाउनुहुन्छ । सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरी बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नालले उत्पादन गर्नुभएको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाण्डौको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ ।
सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर कमलामाई नगरपालिका–१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ । फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती शुरु गरेको बताउने उहाँ गर्दै–सिक्दै, सच्याउँदै–सच्चिँदै, बुझ्दै–बुझाउँदै अगाडि बढ्ने सोचमा हुनुहुन्छ । अहिले एक कट्ठा फूलखेती शुरु गरे पनि बिस्तारै बढाउँदै जाने उहाँको योजना छ ।
यता गोलञ्जोर गाउँपालिका–२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन् । आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उहाँका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ । सयपत्री फूलखेती गर्नुभएका हमाल भन्नुहुन्छ, ‘राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ । बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ ।’
हमालले एक प्याकेट बीउलाई पाँच हजारमा किनेर बेर्ना तयार गरी रोप्नुभएको थियो । उहाँका अनुसार हाइब्रिड जातको फूलको बीउ तथा बिरुवा महँगो छ । बिरुवा महँगो पर्ने भए पनि यसको फूल चाँडै ओइलाउँदैन । फूलका थुङ्गा एकैनासका आर्कषक हुन्छन् । सयपत्रीको प्रतिबेर्ना तीनदेखि पाँच रुपैयाँसम्म किन्न पाइने हमालले जानकारी दिनुभयो । पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उहाँलाई पनि हौसला बढेको छ । तीन रोपनीमा फुलेको सयपत्रीबाट तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उहाँको अनुमान छ ।
सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन् । पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिका–५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कठ्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ । अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट ४० हजार रुपैयाँ आम्दानी लिएका थिए । यस वर्ष एक कट्ठामा लगाएको फूलखेतीबाट १५ हजार कमाइ भइसकेको छ । अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतिक्षामा छन् । विद्यालयका प्राधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकेजी चार सय रुपैयाँमा फूल बिक्री गर्ने गर्छन् ।
यतिबेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ । फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ । गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ । चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती शुरु गर्ने पहिलो किसान सुनकोशी–३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

