जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश घर भत्किएपछि विस्थापितलाई चिसोबाट जोगाउन र सुरक्षितरूपमा राख्न सशस्त्र प्रहरीले त्रिपालको व्यवस्था गरेको छ । सशस्त्र प्रहरीले त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा त्रिपालको व्यवस्था गरी सर्वसाधारणलाई भूकम्पबाट जोगाउने अभियान थालेको छ । पटक–पटक आउने परकम्पका कारण घरभित्र बस्ने अवस्था छैन । पीडितीले त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएका त्रिपालमुनि रात कटाउने गरेका छन् । भेरी नगरपालिका–२ का प्रदीप खड्काले विद्यालयमा बनाएको टेन्टमा बस्दा सुरक्षित रहेको अनुभूति भएको बताउनुभयो । सशस्त्र प्रहरीको टोली राहत वितरण भइरहेको पालिकाका विभिन्न वडामा पुगेको छ । उनीहरु राहत सामग्री वितरणमा सहयोग गर्ने, भूकम्पबाट पीडितलाई सम्झाइबुझाई गर्नेदेखि टेन्ट निर्माणमा सघाइरहेका छन् । नलगाड नगरपालिका–२ रिजामा सशस्त्र प्रहरी बलको टोलीले त्यहाँ राहत वितरणमा सहयोग गर्दैछ । मानसिकरूपमा तनावमा रहेका सर्वसाधारणलाई सम्झाइबुझाई गर्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ । सदरमुकामभन्दा बाहिरका पालिकामा सबै निकायको ध्यान कम पुगेको छ । पटक–पटक परकम्प गइरहेकाले भूकम्पबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयवासीलाई पर्याप्त जानकारी छैन । स्थानीय तहले ओढ्ने ओछ्याउने व्यवस्था पर्याप्तरुपमा गर्न नसक्दा त्रिपालभित्र बस्ने पीडितले हैरानी खेप्नुपरिरहेको बताइएको छ । भेरी नगरपालिका–३ का गणेश थापाले न्यानो कपडा नपाएको गुनासो गर्नुभयो । सदरमुकामभन्दा बाहिर अधिकांश ठाउँमा राहत सामग्री पुग्न सकेको छैन । राहत वितरणमा मापदण्ड निर्माण नगरी जथाभावी बाँड्दा समस्या भइरहेको छ । गाउँ–गाउँमा पुगेका सङ्घसंस्थाका प्रतिनिधिले आफूअनूकुल राहत सामग्री तथा खाद्यान्न वितरण गर्दा समस्या भएको छ । बारेकोट गाउँपालिकामा सोमबार दिउँसो राहत सामग्री पुगेको छ । परकम्पबाट १३ जना घाइते सोमबार गएको परकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १३ जना घाइते भएका छन् । सोमबार अपराह्न साढे ४ बजे रामीडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट जाजरकोटमा दुई तथा रुकुम पश्चिममा ११ जना घाइते भएका जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । भूकम्पबाट बालबालिकाले बढी ज्यान गुमाए जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्यामा बालबालिका छन् । प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ज्यान गुमाउनेमा एक सय ५७ मध्ये ७८ बालबालिका छन् । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ बालबालिकाको भूकम्पमा परी मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । यस्तै रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिका रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिनुभयो । भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै छन् । रासस
मुस्ताङ: स्थानीयलाई लक्षित गरी तिहारको छेको पारेर मुस्ताङको कोरला नाका खोल्ने तयारी भएको छ । नेपाल– चीन जोड्ने उपल्लो मुस्ताङको कोरला नाका चीन सरकारको आमन्त्रणमा यही कात्तिक २७ गते सीमा खोल्ने तयारी भइरहेको गण्डकी प्रदेशका निवर्तमान सभासदस्य इनद्रधारा विष्टले जानकारी दिए । उनका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाकाको नोपली समयानुसार बिहानको १० बजे र चिनियाँ समयानुसार दिउसो १ बजे उद्घाटनका निम्ति तयारी भइरहेको छ । पर्वको छेको पारेर केही दिन खुल्ने सो नाकामा नेपाल र चीन दुवैतिरका स्थानीय ३० किलोमिटरसम्म आवतजावत र व्यापार व्यावसाय गर्न पाउने एक प्रहरी अधिकृतले बताए । ‘एक खालको छलफलपछि हामी तयारीमै छौं, मौखिक कुरा भएपनि पत्र नै आएको छैन, ति प्रहरी अधिकृतले भने, ‘भन्सार नै चल्ने गरी खुल्न लागेको होइन । पहिलेजस्तै स्थानीयका लागि पर्वको बेला खोल्ने तयारी हो ।’ सो कार्यक्रममा सहभागिताका लागि लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीय व्यापारी र सर्वसाधारण स्थानीय बासिन्दाहरुलाई आमन्त्रण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रदान गरेको सीमा पास कार्ड र नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य साथमा लैजानुपर्ने बताइएको छ । केही दिनका लागि सो नाका खुल्ने भएपछि लो–घेकर, दामोदरकुण्ड गाउँपालिकाका र लोमन्थाङ गाउँपालिकाकाका स्थानीय तथा मुस्ताङबासीहरु हर्षिद बनेका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज सोमवार बसेको पार्टीको सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट रकम सङ्कलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि एवम् राजनीतिक नियुक्तिमा गएका व्यक्तिबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँले बताउनुभयो । यस्तै बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ । प्रवक्ता खतिवडाका अनुसार त्यो कार्यदलको संयोजक पार्टीका उपमहासचिव एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहनुभएको छ । सदस्यहरूमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का, पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी तथा रुकुम पश्चिम र जाजरकोटका पार्टी अध्यक्षहरू रहने उहाँले जानकारी दिनुभयो । त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको विस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताउनुभयो । उहाँले त्यो अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट शुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि बताउनुभयो । बैठकले पार्टीको महाधिवेशन आउँदो माघमा काठमाण्डौमा गर्ने तय गरेको छ । प्रवक्ता खतिवडाले भोलि मङ्गलवार पार्टी अध्यक्ष माधवकुमार नेपाललगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी पनि दिनुभयो ।
काठमाडौं: नेपाली महिला क्रिकेटर रुबिना क्षत्री र सिता रानामगर (अलराउन्डर) ले हङकङमा फेन्चाइज लिग क्रिकेट खेल्ने भएका छन् । आगामी १० नोभेम्बरमा सुरु हुने वुमन्स अल स्टार्स प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । यी दुवै महिला क्रिकेटर नेपालका सिनियर खेलाडी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । उहाँ विमान साढे ९ बजे काठमाण्डौबाट विमानमार्फत सुर्खेत जाने र सुर्खेतबाट हेलिकप्टरमा जाजरकोट र रुकुम पश्चिम पुग्ने तयारी छ । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई भेटेर उनीहरुको अवस्था बुझ्ने उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । यस्तै, राहत वितरण कसरी भइरहेको छ भन्नेबारे पनि उहाँले जनप्रतिनिधिहरुसँग छलफल गर्नुहुनेछ । गएको शुक्रवार राति गएको भूकम्पले जनधनको क्षति गरेपछि राष्ट्रपति पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको छ ।
पोखरा: पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूलका गुच्छाको आयात र विक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका दर्जन पसलमा अनुगमन गरिएको थियो । सोही क्रममा प्लाष्टिक जन्य फूलको माला विक्री गर्न नपाइने भन्दै व्यवसायीहरुलाई सचेत गराएको हो । महानगरले गत वर्ष पनि अनुुगमन गरेर विक्रीवितरण नगर्न अनुरोध गरेको थियो । गत वर्ष विक्री वितरण नगर्न निर्देशन दिएको ७ पसललाई कारवाही स्वरुप ४० हजार जरिवाना गरेको छ । १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको प्लाष्टिकका फूलका माला जफत गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । उनका अनुसार अनुुगमनका क्रममा पोखरा वडा ९ मा रहेको जयमा पुजा सामाग्री भण्डारलाई १० हजार जरिवाना र ९० हजार ४ सय ६० रुपैयाँ बराबरको फुलका माला जफत गरिएको छ । त्यस्तै पोखरा–३ को माता मनकामना पुजा सामाग्री भण्डारलाई ५ हजार जरिवाना र ७ हजार बराबरको फुलका माला जफत गरिएको छ । पोखरा ३ कै किरण टे«ड लिंकलाई ५ हजार जरिवाना र ८ हजार ५ सय बराबरको प्लाष्टिकका माला जफत गरिएको छ । पोखराको महेन्द्रपुलमा रहेको सुधा साहुुको पुजा सामाग्री भण्डारलाई ५ हजार जरिवाना र ३ हजार मुल्य बराबरको फूलको माला जफत गरिएको छ । यस्तै पोखरा–३ को खाल्सा गिफ्ट हाउसलाई ५ हजार जरिवाना र ६ सय ५० रुपैयाँ मुल्य बराबरको फूलको माला जफत गरिएको अधिकृत ऋषि सापकोटाले जानकारी दिए । नमो शिवाय पुजा सामाग्री भण्डार पोखरा–९ लाई ५ हजार जरिवाना गरिएको छ भने पोखरा १ बगरमा रहेको स्वीट एण्ड चार्ट रेष्टुुरेन्टलाई ५ हजार जरिवाना र ३ सय बराबरको रसबरी नष्ट गरिएको छ । स्विट हाउसमा रसबरीमा झिंगा, पुरानो चास्नी र फोहोर रहेकाले नष्ट गरी जरिवाना गरिएको हो । अन्य पाँच पसलहरुलाई सचेत गराउनुको साथै आगामी दिनमा प्लाष्टिक जन्य फूलगुच्छा, माला विक्रीवितरण र भण्डार नगर्न निर्देशन दिइएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण सरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरि २०७९ साउन १२ गते राजपत्रमा सुुचना प्रकाशित गरि सोही मितिदेखि प्लाष्टिक जन्य फुलका गुच्छा उत्पादन आयात, बिक्रीवितरण वा भण्डार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । नेपाल सरकारको उक्त निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरिक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
पोखरा: पोखरा ट्रेल रेस सिरिजद्वारा आयोजित पञ्चासे अल्ट्रा रेस शनिबार भएको छ । प्रतियोगितामा २३ विदेशी र ८७ नेपाली गरी १ सय १० खेलाडीले भाग लिएको आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले बताए । ८० किलोमिटर दौडतर्फ सफल लामा, सुदीप थापा र सुखद बस्याल क्रमश: पहिलो, दोस्रो र तेस्रो बने । लामाले दूरी १२ घण्टा १२ मिनेट, थापाले १४ घण्टा ३८ मिनेटमा र बस्यालले १५ घण्टा ४० मिनेटमा पार गरेका हुन् । ८० किलोमिटर दौड लुम्रेबाट लोक्याम्प हुँदै बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौदीमा आएर सकिएको थियो । विजेतासहित दौड पूरा गरेका हसन गुरुङ र सन्तोश गुरुङले मेडल र केटिम सिटी तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । ५५ किलोमिटरको दौडमा पुरुषतर्फ वेदबहादुर सुनुवार, धीरज बहादुर बुढा र मोहन देव जोशी क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । महिलातर्फ भने प्रिय राई, मन्जु रावत र निकोला स्वराघान क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । प्रथम भएका सुनुवार र प्रिय राईले १ महिनापछि थाइल्याण्डमा हुने दौडमा भाग लिने आयोजकले बताए । त्यसै दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार र ७ हजार प्राप्त गरेका छन् । २५ किलोमिटरको दौडको पुरुषतर्फ निरज भट्ट क्षेत्री, अशोक बराम र तेन्जोन रोका मगर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिलातर्फ भने गनना भण्डरी, नितु तामाङ र कानुका सिल्भिय क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । ७ किलोमिटरको दौडको पुरुषतर्फ श्याम मग्रती, दिवाकर बुढा मगर र विक्रम खड्का क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिलातर्फ भने हुमी बुढा मगर, सुस्मिता राना र ममता नेपाले क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजेताले नगद र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा धावक हरि रोकायालाई ५० हजार नगदसहित सम्मान गरिएको थियो । यसअघि धावक मिरा राईलाई सम्मान गरिएको थियो । यसअघि पञ्चासे अल्ट्रा रेस सिरिजले रानीवन रेस, काहुँडाँडा रेस, प्याडी रेस, चेसिङ रेस प्रतियोगिता आयोजना गरेको संस्थापक राजीव श्रेष्ठले बताए । श्रेष्ठले अल्ट्रा रेस खेल प्रतियोगितामात्र नभएर खेल पर्यटनलाई बढावा दिन आयोजना गरिएको प्रष्ट पारे ।
बागलुङ: बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो। दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पोखरा: पोखरामा लागूऔषध (ब्राउनसुगर)सहित तीन जना युवालाई प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका २१ कश्यारघाटमा लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार तीन जना युवालाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १२ ग्राम ४० मिलिग्रामसहित प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा पोखरा महानगर १७ बस्ने २१ वर्षीय कौशल पुन मगर, पोखरा १३ बाँझपाटन बस्ने २१ वर्षीय प्रशान्त गुरुङ र पोखरा २१ बस्ने २१ वर्षीय अनिस सुनार प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाउ परेका तीनजनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थपगरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

