काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन्। त्यसका लागि सुरक्षा व्यवस्था मिलाइएको मेयर बालेनको भनाइ छ। ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो देल्ने समय काठमाडौंभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,’ मेयर बालेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन अनुरोध गर्दछौं।’ उनले सोहीअनुसार नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन्।
बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीवार सन्देश पठाउनुहुँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित भएको बताउनु भएको हो । यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली नागरिकसँग रहेको बताउँदै उहाँले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तप्पर रहेको उल्लेख गर्नुभएको नेपालमा रहेको बेलायती दूतावासले जनाएको छ ।
जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सञ्चालन गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बीमा र घर बीमाको थालनी गरिएको हो । शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्याएमा बीमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाउने छन् । प्रतिघरधुरी बीमा गराउन वार्षिकरूपमा ९५ रुपैयाँ मात्र बीमा शुल्क लिइएको छ । सबै घरको बीमा शुल्क वडा कार्यालयसँग भएको सहमतिअनुरुप बर्दियाको उज्यालो नेपाल नामक गैरसरकारी संस्थाले तिरिदिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । बाहुनडाँगीमा भारतको आसामबाट हात्ती आउने गर्छन् । विगतमा अलग्गै गाविस रहेको बाहुनडाँगी अहिले मेचीनगरअन्तर्गत पर्छ । बाहुनडाँगीका चार वडामध्ये सबैभन्दा बढी पीडा खेपिरहेको वडा नं ४ बाट बीमा शुरु गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । वडाका सबै परिवारलाई घर बीमामा समावेश हुन वडा कार्यालयले आह्वान गरेको थियो । तर वडाका कुल एक हजार तीन सय दुई परिवारमध्ये छ सय ५९ मात्र बीमामा समावेश हुन आएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । ुकुनै पनि परिवार नछुटुन् भनेर सबै वडावासीलाई बीमामा समावेश हुन आह्वान गरेका थियौँु, उहाँले भन्नुभयो, ुतर कतिपय कागजात वडा कार्यालयमा बुझाउनै आउनुभएन । जो–जो सम्पर्कमा आउनुभयो, उहाँहरूको घरको बीमा गरेका छौँ ।ु छुट भएका घरलाई पछि समावेश गरिने उहाँले बताउनुभयो । वडा कार्यालयकै पहलमा हात्ती नियन्त्रणका लागि परिचालित २५ स्वयंसेवकको समेत जीवन बीमा गरिएको छ । ती स्वयंसेवकलाई गाउँमा आएको हात्ती धपाउन रेपिड रेस्पोन्स टिम ९आरआरटी० को रूपमा तालिम दिएर खटाइएको वडाध्यक्ष कार्की बताउनुहुन्छ । हात्ती धपाउन रातभर जाग्राम बसेर गर्नुपर्ने र कुनै पनि बेला आक्रमणमा परिने जोखिम भएकाले आरआरटीका युवाको पाँच लाख रुपैयाँको जीवन बीमा गरिएको उहाँले जानकारी दिनुभयो । बाहुनडाँगीमा परिचालित आरआरटीमा नेपालका २५ र भारतका १५ युवा आबद्ध छन् । गएको वर्षदेखि हात्ती नियन्त्रणमा युवाको यो समूहलाई परिचालन गर्न थालिएको हो ।
धनगढीमा मदिरा चोरेको भन्दै लाठी प्रहार गरेर हत्या अभियोगमा पक्राउ परी प्रहरीको थुनामा रहेका एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको मृत्यु भएको हो। सोमबार दिउँसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका सेट्टी सोही ठाउँका ३८ वर्षीय लालबहादुर थापालाई लाठी प्रहार गरेर हत्या गरेको अभियोगमा मंगलबार पक्राउ परेका थिए। जिल्ला अदालत कैलालीबाट म्याद थपसमेत गरेर प्रहरीले अनुसन्धान थालेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदीप चन्दका अनुसार बिहीबार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो। सोही क्रममा बेहोस भएका सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो। उनको मृत्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको मन्त्री शर्माले बताइन् । यसअघि टी(२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका थिए ।
पोखरा: भूकम्प प्रभावितको नाममा व्यक्ति तथा संस्थाले राहत संकलन गरे जिल्ला प्रशासन कार्यालय कास्कीले कारवाही गर्ने भएको छ । प्रशासन कास्कीले आज (बिहीबार) विज्ञप्ती जारी गर्दै कुनै पनि संघ वा व्यक्तिले नगद तथा अन्य सामग्री संकलन गरेमा कारवाही गर्ने भएको हो । । प्रशासनले जारी गरेको विज्ञप्ती अनुसार भूकम्प प्रभावितहरुलाई सहयो गर्न चाहेमा प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न समेत अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पको यस दुखद् घडीमा भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने, राहत वितरण गर्ने नाममा कास्की जिल्लामा व्यत्तिगत वा संस्थागत रुपमा कोही सकैले पनि नगदरवस्तुगतर जिन्सी साम्री संकलन नगर्न नगराउनुहुन अनुरोध छ । यस सूचनाको अवज्ञा हुने गरी कुनैपनि गतिविधिहरु गरे गराइएको पाइएमा कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सुचित गरिन्छ ।’
अछाममा एक जनाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पञ्चदेवल विनायक नगरपालिका-८ बाराला बस्ने ३० वर्षीय लक्ष्मी सुनारलाई पक्राउ गरेको हो। उनलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट बुधबार पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए। अछाममा छिमेकी १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको हत्या भएपछि उनी काठमाडौं भागेर आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदका अनुसार घटना कात्तिक ११ गते भएको हो। लक्ष्मी सुनारसहित ७ जनाले छिमेकी शाहीमाथि कुटपिट गरेको आरोप छ। ‘निजी रिसिइबीका कारण उनीहरूले युवकमाथि कुटपिट गरेका थिए। एक जनाले ढुंगाले कन्चटमा प्रहार गरेपछि गम्भीर घाइते भएका थिए,’ प्रहरी निरीक्षक साउँदले भने। कुटपिटबाट गम्भीर घाइते भएका शाहीलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो। मृतक परिवारले सुरूमा ७ जनाविरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। उपचारको क्रममा उनको कात्तिक १६ गते मृत्यु भएको थियो। मृत्यु भएपछि सातै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।
पोखरा: पोखरामा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका अभिनेता प्रकाश घिमिरे डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक साताको अन्तरमा फलोअपमा आउने गरेर डिस्चार्ज गरिएको हो । घिमिरेको स्वास्थ्यमा सुधार आएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको अस्पतालले जनाएको छ । करङ भाँचिएर फोक्सोमा लागेको चोट र मेरुदण्डमा लागेको चोट पनि निको हुँदै गएको णिपाल शिक्षण अस्पतालका निर्देशक अभिषेक मास्केले बताए । आफ्नो स्वास्थ्यमा चाँडो सुधार आएपछि घिमिरेले शुभचिन्तक सबैलाई धन्यवादसमेत दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ । परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात् ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ । रासस

