काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत सूचिकृत हुन इच्छुक स्रोत व्यक्ति वा विषय विज्ञहरुलाई आव्हान गरेको छ । महानगरको सामाजिक विकास विभागले आइतबार सूचना प्रकाशन गरेर आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेटमा महानगरको गौरव योजनाको रुपमा रहेको सो योजनाले महानगरका बासिन्दालाई विभिन्न तालिम, सीपको माध्यमबाट क्षमता अभिवृद्धि गर्ने, विभिन्न पेशा, रोजगारमा आबद्ध बनाउने तथा आर्थिक रुपमा सशक्त बनाउन विविध सीप विकास कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको जनाएको छ । महानगरपालिकाको वेब साइटमा रहेको सूचनामा फाराम भरी एक हप्ताभित्र आवेदन पेश गर्न सम्बन्धित सामाग्री यसै सूचनासँग सार्वजनिक गरेको छ । महानगरपालिकाको स्थायी बासिन्दा, फोहोरमैला प्रभावित क्षेत्रका बासिन्दा, करदाता वा महानगरभित्र बसोबास गर्ने १८ वर्ष पुरा भइ ६० वर्ष ननाघेको नेपाली नागरिकले यसका लागि सूचीकृत हुन सक्ने सामाजिक विकास विभागले जनाएको छ ।
आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र ओमानबीचको सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको सुपर ओभरमा निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनायो ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार राति थप छ जनालाई उपचारका लागि ल्याइएको छ । शनिबार राति १२ स् ३० बजे भूकम्पमा परी घाइते भएका बिरामीलाई एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार उपचारार्थ ल्याइएकामध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका छन् भने चारजना सानिभेरी गाउँपालिका रुकुमका छन् । हालसम्म भेरी अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३९ पुगेको प्रजिअ पोखरेलले बताए । घाइतेमध्ये ३७ जनाको विशेष सेवा प्रदायक अस्पताल बनाइएको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका एकजना घाइतेलाई पनि आइतबार भेरीमै ल्याउने तयारी गरिएको पनि उनले बताए ।
काठमाडौं: टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो । अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ
पोखरा महानगरका–१५ नयाँ गाउँ नजिक सेती नदीको खोँचमा खसेका युवकलाई प्रहरीले निकालेको छ । शनिबार राति ७ः४५ बजेतिर नदी छेउमा धाँजा फाटेको ठाउँमा खसेका पर्वतको फलेवास–३ का १९ वर्षीय सुदीप विकलाई प्रहरीले निकालेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । सुदीप नयाँ गाउँमा दाइको घरमा बस्दै आउनुभएको थियो । उहाँको उद्धारका लागि वडा प्रहरी कार्यालय रामबजारबाट सात जनाको प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट छ जनाको रेस्क्यु टोली र सशस्त्र बल नेपाल नं। २४ गण कालिका कास्कीबाट ११ जनाको उद्धार टोली खटिएको थियो । टोलीले शनिबार राति १० बजे विकलाई उद्धार गरेको हो । शरीरमा सामान्य दधारिएकोबाहेक उहाँको स्वास्थ्य अवस्था सामान्य छ । विकको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पाेखरा: बेलायतका कोलिन फिलिप स्मिथलाई पोखरामा माया गरेर ‘पुतली बाजे’ भनिन्छ । नेपालमा अध्यापन र पुतली संकलककारुपमा ५५ वर्ष बिताएपछि बाजेले अघिल्लो वर्ष ०७६ मंसिर १६ मा नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाए । नागरिकतामा बाजेको जन्ममिति वि.संं. १९९३–०८–०९ उल्लेख छ । उनै बाजेलाई भेट्न ७७ मंसिरको एक चिसो दिन पोखरा महानगरपालिका वडा १८ स्थित सराङकोटतर्फ उक्लदै गर्दा गुम्बा तलै सडक छेउ टुसुक्क बसेको भेटियो । उनको साथमा थियो लट्ठी र झोला, जो उनको साथमा सँधै हुन्छ । पोखरामा केही किनमेल गरेर उनी उकालो चढ्दै रहेछन् । उमेरले ८४ लागेका बाजेलाई त्यही झोला पनि अब गह्रुँगो लाग्न थालेको रहेछ । शरिरमा थकान बढेपछि उनी सुस्ताउन सडक छेउमै बसेका रहेछन् । बाजेसँग गफिन मन लागेको बताएपछि छेवैको घरमा एकछिन बस्ने निधो भयो । खँदिलो झोला देखेर ‘के छ ?’ भनि जिज्ञासा राख्दा उनले डाइजेस्टिभ बिस्कुट र अन्य सरसामान देखाए । पावरवाला मोटो चस्मा भित्रबाट चहकिला आँखाले हेर्दै भने ‘यो नेपाल सरकारको पैसा हो ।’ बाजेको अनुसार उनले गत साउन, भदौ र असोजको एकमुष्ट ९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेका रहेछन् । उक्त भत्ता वडा नम्बर १८ ले उनको खातामा हालिदिएको रहेछ । अझै ४ महिनाको भत्ता लिन बाँकी रहेको पनि उनले सुनाए । नेपाल सरकारको नियमानुसार ७० वर्षमाथिका जेष्ठ नागरिकलाई मासिक ३ हजार रुपैयाँ भत्ता तोकिएको छ । कोलिन २९ वर्षकै उमेरमा नेपाल आएका हुन् । सुरुवाति दिनमा उनले अध्यापन गरे । कुराकानीकैक्रममा भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र डाक्टर उपेन्द्र देवकोटा –दिवंगत०लाई पढाएको स्मरण गरे । त्यसपछि पुतली संकलन उनको रुचि बन्यो । बेलायतमै छँदा पुतलीका शौखिन उनलाई उतै ‘बटराफ्लाई ग्य्राण्डड्याड’ भनिदो रहेछ । उनका अनुसार नेपालमा ६ सय ५० बढी प्रजातीका पुतली पाइन्छन् । बाजेलाई यहाँ बस्दा सबैभन्दा बढ्ता खुशी नागरिकता पाएपछि र यस वर्ष भत्ता बुझेपछि लागेको रहेछ । नागरिकता नहुँदा सराङकोटको ग्यारजातीमा बनाएको सानो घर अब आफ्नै नाममा हुने भएपछि उनी थप खुशी देखिएका थिए । त्यसो त नेपालीले गरेको माया देखेर उनी हरपल खुशी नै देखिन्छन् । यसअघि काठमाण्डौंमा नागरिकता पाउन दिएको आवेदन असफल भएको उनले सुनाएका थिए । सामान्य जीवनशैलीबीच रम्न जानेका बाजेले नेपालमा पुतलीसम्बन्धी अनुसन्धानमै समय बिताए । बल र उमेरमा डाँडाकाँडा डुलिहिड्ने बाजेको ज्यान बुढ्यौलीमा पनि पोखरा आउजाउ गरिरहेको थियो । तर पहिलेजस्तो तुजुक छैन । प्रायः सहयोगीसँग हिड्थे । लट्ठीको सहारामा आफुलाई बिसाउँदै हिड्नु पर्ने उनले पुतली संकलन गर्न छाडिसकेका थिए । धेरथोर पढाइमा समय काट्ने गरेको बताउँथे । बेलायतमा आफ्नो अब कोहि पनि नभएको सुनाउँदै बाजेले नेपालीको माया नै सबथोक रहेको सुनाए । छोटो विश्रामपछि शरिरमा जोश भरिएर होला उनले लट्ठी र झोला सम्हाले । र, उठ्दै भने ‘अब तिमी तल र म माथि जाने ।’ बाजेको यो वाक्य केही दार्शनिकपाराको लाग्यो । ‘तपाइलाई लामो आयूको कामना’ भन्दै म ओरालो झरेको थिए । .................................................................................................. त्यसपछि ०७९ चैतमा पुतली बाजे बिरामी भएर हरियो खर्क अस्पतालमा भर्ना भएको सुनेपछि त्यहाँ कार्यरत मित्र गणेशसँग सम्पर्क गर्दा उनले छिटै ठिक हुने बताएका थिए । एक हप्तापछि गणेशले भनेजस्तै पुतली बाजे ठिक भएर ग्यारजातीको डाँडा उक्लिए । उनको दैनिकी पहिलेजस्तै तर केही मन्द गतिमा चलिरहेको थियो । तर, पछिल्लो समय त्यही अस्पतालमै उपचाररत पुतली बाजेको सोही मन्द गति पनि शनिबारको पहिलो प्रहर रोकिएपछि उनी ‘माथि’ पुगेका छन् । बाजेको स्वर्गबास होस् । भावपूर्ण श्रद्धाञ्जली ।।
काठमाडौं: आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए । कप्तान रोहित पौडेल ३७ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे । करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए । एक समय सुरुवाती १० ओभरमा ६०–४ को अवस्थामा रहेको नेपाललाई पाँचौं विकेटका लागि गुलशन र रोहित पौडेलले ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नेपालले अन्तिम ७ ओभरमा १ सय १८ रन बनाएपछि ओमानलाई विशाल लक्ष्य दिएको हो । गुलशनले २० बलमा आफ्नो टी–२० आई करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए । रोहितले ३६ बलमा टी–२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख एक्स्ट्रा कभरमा कश्याप प्रजापतिबाट ६ रनमा क्याच आउट भए । कुशल भुर्तेलले ब्यक्तिगत १८ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर फयाज बटको पाँचौं ओभरको अन्तिम बलमा कुशलको क्याच कभरमा आयन खानले छाड्न पुगेका थिए । तर कुशलले त्यसलाई भरपूर्ण फाइदा उठाउन सकेनन् । अकिब इल्यासले टोलीको योजना अनुसार डीप स्क्वायर लेगमा कुशल भुर्तेललाई मेहरान खानबाट क्याच आउट गराएका थिए । कुशल भुर्तेल २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । सन्दीप जोरा कप्तान जिशान मकसुदको बलमा १० रनमा बोल्ड आउट भए । अकिबले पुन टोलीको योजना अनुसार कुशल मल्ललाई आउट गरे । कुशलको कमजोरीलाई ध्यानमा राख्दै अफ बलमा अकिबले बोल्ड आउट गरेका थिए । कुशल मल्ल ३ रनमा बोल्ड आउट भए । एक समय नेपाल १० ओभरमा ६०–४ को अवस्थामा थियो । त्यसपछि गुलशन र रोहितको साझेदारीले खेलमा फर्किएको थियो । बिलाल खानको बलमा गुलशन स्लिपमा सकिल अहमदबाट क्याच आउट भएका थिए । बिलालकै बलमा विवेक यादव एक रनमा कट एण्ड बोल्ड आउट भए । ओमानका बिलाल खानले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । जिशान मकसुदले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सुरुवाती ३ ओभरमा ६ रन खर्चेका जिशानले अन्तिम ओभरमा २१ रन खर्चेका थिए । अकिब इल्यासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । फयाज बटले ४ ओभरमा ६३ रन खर्चिदा विकेट लिन सकेनन् ।
शुक्रवार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालनमा आएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाइएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै, सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाइएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाइएको छ । राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई तेजस्वी शर्माले जानकारी दिनुभयो । राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भइ शुक्रवार राति गएको भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले सबै ठाउँका अस्पतालहरुमा घाइतेहरुको निस्शुल्क उपचार गर्ने निर्णय गरेको हो । तत्काल उद्धार गर्नुपर्ने घाइतेहरुको लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाण्डौ लगायतका सबै ठाउँका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो ।

