सम्झनामा पुतली बाजे: जसले वृद्धभत्ता थापेर बिस्कुट किनेका थिए

पाेखरा | कात्तिक १९, २०८०

सम्झनामा पुतली बाजे: जसले वृद्धभत्ता थापेर बिस्कुट किनेका थिए

पाेखरा:   बेलायतका कोलिन फिलिप स्मिथलाई पोखरामा माया गरेर ‘पुतली बाजे’ भनिन्छ ।

 

नेपालमा अध्यापन र पुतली संकलककारुपमा ५५ वर्ष बिताएपछि बाजेले अघिल्लो वर्ष ०७६ मंसिर १६ मा नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाए । नागरिकतामा बाजेको जन्ममिति वि.संं. १९९३–०८–०९ उल्लेख छ ।

 

उनै बाजेलाई भेट्न ७७ मंसिरको एक चिसो दिन पोखरा महानगरपालिका वडा १८ स्थित सराङकोटतर्फ उक्लदै गर्दा गुम्बा तलै सडक छेउ टुसुक्क बसेको भेटियो । उनको साथमा थियो लट्ठी र झोला, जो उनको साथमा सँधै हुन्छ ।

 

पोखरामा केही किनमेल गरेर उनी उकालो चढ्दै रहेछन् । उमेरले ८४ लागेका बाजेलाई त्यही झोला पनि अब गह्रुँगो लाग्न थालेको रहेछ । शरिरमा थकान बढेपछि उनी सुस्ताउन सडक छेउमै बसेका रहेछन् । 

 

बाजेसँग गफिन मन लागेको बताएपछि छेवैको घरमा एकछिन बस्ने निधो भयो । खँदिलो झोला देखेर ‘के छ ?’ भनि जिज्ञासा राख्दा उनले डाइजेस्टिभ बिस्कुट र अन्य सरसामान देखाए । पावरवाला मोटो चस्मा भित्रबाट चहकिला आँखाले हेर्दै भने ‘यो नेपाल सरकारको पैसा हो ।’

 

बाजेको अनुसार उनले गत साउन, भदौ र असोजको एकमुष्ट ९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेका रहेछन् । उक्त भत्ता वडा नम्बर १८ ले उनको खातामा हालिदिएको रहेछ । 

 

अझै ४ महिनाको भत्ता लिन बाँकी रहेको पनि उनले सुनाए । नेपाल सरकारको नियमानुसार ७० वर्षमाथिका जेष्ठ नागरिकलाई मासिक ३ हजार रुपैयाँ भत्ता तोकिएको छ ।

 

कोलिन २९ वर्षकै उमेरमा नेपाल आएका हुन् । सुरुवाति दिनमा उनले अध्यापन गरे । कुराकानीकैक्रममा भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र डाक्टर उपेन्द्र देवकोटा –दिवंगत०लाई पढाएको स्मरण गरे । त्यसपछि पुतली संकलन उनको रुचि बन्यो । 

 

बेलायतमै छँदा पुतलीका शौखिन उनलाई उतै ‘बटराफ्लाई ग्य्राण्डड्याड’ भनिदो रहेछ । उनका अनुसार नेपालमा ६ सय ५० बढी प्रजातीका पुतली पाइन्छन् ।

 

बाजेलाई यहाँ बस्दा सबैभन्दा बढ्ता खुशी नागरिकता पाएपछि र यस वर्ष भत्ता बुझेपछि लागेको रहेछ । नागरिकता नहुँदा सराङकोटको ग्यारजातीमा बनाएको सानो घर अब आफ्नै नाममा हुने भएपछि उनी थप खुशी देखिएका थिए । त्यसो त नेपालीले गरेको माया देखेर उनी हरपल खुशी नै देखिन्छन् । यसअघि काठमाण्डौंमा नागरिकता पाउन दिएको आवेदन असफल भएको उनले सुनाएका थिए । 

 

सामान्य जीवनशैलीबीच रम्न जानेका बाजेले नेपालमा पुतलीसम्बन्धी अनुसन्धानमै समय बिताए । बल र उमेरमा डाँडाकाँडा डुलिहिड्ने बाजेको ज्यान बुढ्यौलीमा पनि पोखरा आउजाउ गरिरहेको थियो । तर पहिलेजस्तो तुजुक छैन । प्रायः सहयोगीसँग हिड्थे । लट्ठीको सहारामा आफुलाई बिसाउँदै हिड्नु पर्ने उनले पुतली संकलन गर्न छाडिसकेका थिए । धेरथोर पढाइमा समय काट्ने गरेको बताउँथे ।

 

 

बेलायतमा आफ्नो अब कोहि पनि नभएको सुनाउँदै बाजेले नेपालीको माया नै सबथोक रहेको सुनाए । छोटो विश्रामपछि शरिरमा जोश भरिएर होला उनले लट्ठी र झोला सम्हाले । र, उठ्दै भने ‘अब तिमी तल र म माथि जाने ।’ बाजेको यो वाक्य केही दार्शनिकपाराको लाग्यो । ‘तपाइलाई लामो आयूको कामना’ भन्दै म ओरालो झरेको थिए । 
..................................................................................................
त्यसपछि ०७९ चैतमा पुतली बाजे बिरामी भएर हरियो खर्क अस्पतालमा भर्ना भएको सुनेपछि त्यहाँ कार्यरत मित्र गणेशसँग सम्पर्क गर्दा उनले छिटै ठिक हुने बताएका थिए । 

 

एक हप्तापछि गणेशले भनेजस्तै पुतली बाजे ठिक भएर ग्यारजातीको डाँडा उक्लिए । उनको दैनिकी पहिलेजस्तै तर केही मन्द गतिमा चलिरहेको थियो ।

 

तर, पछिल्लो समय त्यही अस्पतालमै उपचाररत पुतली बाजेको सोही मन्द गति पनि शनिबारको पहिलो प्रहर रोकिएपछि उनी ‘माथि’ पुगेका छन् । 

 

बाजेको स्वर्गबास होस् । भावपूर्ण श्रद्धाञ्जली ।।


 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्