काठमाडौं: नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट उपाधिको लागि ओमानसँग खेल्ने भएको छ । नेपाल र ओमानबीचको फाइनल खेल आइतबार टियु क्रिकेट मैदानमा बिहान–११ बजे सुरु हुनेछ । नेपालले दोस्रो सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै टी-२० विश्वकपमा स्थान बनाएको छ । ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा पुगेको हो । नेपाल र ओमान दुबैले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि-२० विश्वकप खेल्नेछन् । नेपाल र ओमान समूह ए बाट सेमिफाइनल खेलेका थिए । समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । नेपालले हालसम्म विश्वकप छनोटको उपाधि जितेको छैन । यसअघि नेपालले २०१८ मा एसिसी इस्टर्न सब रिजन टुनामेन्टको उपाधि जितेको थियो । नेपालले पहिलो पटक २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले विश्वकपमा स्थान बनाउन सकेको थिएन । नेपाल २०१५ र २०२१ मा ग्लोबल छनोटबाट बाहिरिएको थियो । २०१९ मा भने नेपाल एसिया क्षेत्रबाट नै बाहिरिएको थियो ।
स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिका –७ मा रहेको सेतीबेनी शिलाको दर्शन गर्न गएका बेला कालीगण्डकी नदीमा डुबेर आमाको मृत्यु भएको छ । छोराको अवस्था गम्भीर छ । आज बिहान शिला दर्शनका क्रममा पर्वतको विहादी गाउँपालिका-६ का २५ बर्षीया रितु भट्टराईका चार बर्षीय छोरा रियान्स भट्टराई कालीगण्डकी नदीमा खसेका थिए । छोरालाई बचाउन नदीमा हाम फालेकी आमा रितुको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कालीगण्डकी नदीले बगाएको अवस्थामा शिलाभन्दा केही तलबाट आमा छोरालाई नै उद्धार गरेको भए पनि आमाको उपचारको क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको प्रहरीको भनाइ छ । छोराको अवस्था गम्भीर रहेको र उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपालले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे । पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए ।
काठमाडौं: आइसिसी टी–२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालमा आशिफ शेखले अर्धशतक बनाएका छन् । छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले अर्धशतक बनाएका हुन् । उनले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १३ ओभरमा दुई विकेट गुमाएर ९३ रन बनाएको छ ।
काठमाडौं: ओमानले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ । ओमानले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछ । जितको लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ओमानको जितमा कश्याप प्रजापति ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनमा नट आउट रहे । प्रतीक अथवले ४१ बलमा ४ चौका र १ छक्कासहित ४८ रनमा नट आउट रहे । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । बहराइनका इमरान अलीले २३ बलमा ५ चौकासहित सर्वाधिक ३० रन बनाए । शरफराज अलीले २३ र अहमेर बिन निसारले २६ रन बनाए । ओमानका अकिब इल्यासले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए । सकिल अहमदले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । फयाज बट, बिलाल खान र जिशान मकसुदले एक एक विकेट लिए । ओमानले उपाधिको लागि नेपाल र युएईबीचको विजेतासँग आइतबार फाइनल खेल्नेछ ।
बाँके: बाँके जिल्ला अदालतले रिगल भनिने योगराज ढकाललाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनीधि वाग्लेले जानकारी दिनुभयो । बाँके प्रहरीले रिगललाई आज बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले रिगललाई आज बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेश गरेको जानकारी दिनुभयो । बिहीबार नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर आज ११ बजे बाँके जिल्ला अदालतमा बुझाएको हो । यसअघि जन्मकैद सजाय पाएका ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । आदेशलगत्तै रिगललाई पक्राउ गरिएको हो । रिगलका सहयोगीले उहाँले प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् । नेपालगञ्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो । घटनाको समय रिगल नेपाल तरुण दल क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति रहनुभएको थियो । अदालतले कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ ।
काठमाडौं: दुई पाइलटबीच विमानस्थलमै भएको झगडा प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् । यसअघि रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।
काठमाडौं: रामेछापस्थित मन्थली विमानस्थलमा झगडा गरेका दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार तारा एयरका पाइलटहरू सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन गरेको हो। प्राधिकरणले राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाएको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले छानबिनका लागि दुई पाइलटको लाइसेन्स स्थगन गरेको बताए। ‘अर्को निर्णय नभएसम्म हालका लागि दुवै पाइलटलाई जहाज उडाउन नपाउने गरी ग्राउन्डेड गरिएको छ’, उनले भने। लुक्लाबाट मन्थली विमानस्थलमा शुक्रबार बिहान जहाज अवतरण गरेपछि दुई पाइलटबीच झगडा भएको थियो।
काठमाडौं: आइसिसी टी२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईले नेपाललाई १ सय ३५ रनको लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । अन्य कुनैपनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चौथो ओभरको पहिलो बलमा खालिद शाह ३ रनमा रन आउट भए । तीव्र गतिका बलर सोमपाल कामीको बलमा ननस्ट्राइकबाट दौडनेक्रममा उनी आउट भएका थिए । सोमपालले नै रन आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । युएईले सुरुवाती तीन ओभरमै २९ रन बनाएको थियो । तर चौथो विकेटमा सोमपालले एक रन आउटसहित दुई विकेट लिएपछि नेपाल खेलमा फर्किएको थियो । त्यसपछि नेपालले लगातार युएईलाई दबाबमा राखेको थियो । सोमपालको चौथो ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका वासिम डिप मिडविकेटमा करण केसीबाट क्याच आउट भए । वासिमले १६ बलमा ३ चौका र २ छक्कासहित २६ रनको आक्रामक इनिङ खेलेका थिए । त्यो विकेट नै खेलको टर्निङ प्वाइन्ट बनेको थियो । सन्दीपले १० औं ओभरको अन्तिम बलमा आसिफ खानलाई १३ रनमा एलबीडब्लू आउट गरे । कुशल मल्लको १४ औं ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका एलिशान शराफु १६ रनमा लङअफमा सोमपाल कामीबाट क्याच आउट भए । शराफुले १४ बल खेल्दा ३ चौका हानेका थिए । कप्तान रोहित पौडेलको १६ औं ओभरको पाँचौं बलमा अली नासिर लङअफमा कुशल भुर्तेलबाट ४ रनमा क्याच आउट भए । एलिशान शराफु १६, आसिफ खान १३, अली नासिर ४, बासिल हामिद र आयन खान १–१ रनमा आउट भए । नेपालका कुशल मल्लले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लि । कप्तान रोहित पौडेलले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

