तनहुँ जलविद्युत: बाँध बनाउन सेती डाइभर्सन, आयोजना ०८३ असारसम्म सक्ने लक्ष्य

तनहुँ | कात्तिक २१, २०८०

तनहुँ जलविद्युत: बाँध बनाउन सेती डाइभर्सन, आयोजना ०८३ असारसम्म सक्ने लक्ष्य

दमौली:  १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । 
 

 

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो ‘कङ्क्रिट’ मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो ।

 

सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुन: सेती नदीमा खसालिएको छ । 

 

सन् २०२१ देखि निर्माण सुरु भएको सुरुङमार्ग हालै सम्पन्न भएपछि नदी फर्काइएको हो । सेती नदी अब सुरुङमार्ग भएर बग्नेछ ।

 

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी

 

छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले आज बेलुन उडाएर नदी फर्काउने कार्यको शुभारम्भ गरे ।

 

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी ‘कङ्क्रिट’ बाँध निर्माण गरिएको छ । 

 

उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । ‘नदी फर्काइएपछि अब बाँध निर्माणका लागि काम गर्न सहज हुन्छ । बाँध निर्माणका लागि जग खन्ने काम पनि अब सुरु हुन्छ,’ उनले भने ।
 

 

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण फड्को भएको बताए । 

 

विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए पनि अहिले नमूना आयोजनाका रुपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुपताकासाथ काम भइरहेको बताए । 

 

०८३ असारभित्र सक्ने लक्ष्य ​

 

आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

 

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन चरणमा विभाजन गरी काम भइरहेको छ । पहिलो चरण अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रा) लि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

 

निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ ।

 

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो चरणको निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो । 

 

निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनो हाइड्रोले विसं २०७५ माघ ६ देखि  आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ ।

 

भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायत उपकरण जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।

 

तेस्रो चरणअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी. इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमलव ७ किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।

 

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।
 

यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

 

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

जनकपुरधाम:      जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८० लाख रुपैयाँ लुटिएको छ । जनकपुरधामबाट पैसा लिएर  धनुषाको मिथिला बिहारी नगरपालिका ठेरा तर्फ जाँदै गरेका एक जनाक...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौँ राष्ट्रिय ...

थप पढ्नुहोस्

काठमाडौं:      सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएका छन् । सभामुख घिमिरेले मङ्गलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको ...

थप पढ्नुहोस्