पोखरा:     कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट—ठूलीवेशी—देउपूरवेसी—पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।  गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगर...

पोखरा:   पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थित पश्चिमाञ्चल कपास उद्योगमा आगलागी भएको छ ।  तेर्सापट्टीस्थित अन्नत कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कपास उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी २२ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।   आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।     

पोखरा:     नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यही साउन २६ गते हुने लाखे नाच प्रतियोगितामा कास्कीका २० वटा समूहले प्रतिस्पर्धा गर्ने भएका छन् ।       पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेवाः खलः कचा पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठले यस वर्ष २३ समूहको सहभागिता हुने र २० समूहले प्रतिस्पर्धामा भाग लिने जानकारी दिनुभयो ।      पोखरा प्रदर्शनी केन्द्रमा हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३, रु २२ हजार दुई सय २२ र रु ११ हजार एक सय ११ नगदसहित पुरस्कृत गरिने प्रतियोगिताका संयोजक रेशमप्रसाद श्रेष्ठले बताउनुभयो ।       कार्यक्रममा दश हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः सस्कार संस्कृति र परम्परा संरक्षण तथा पुस्तान्तरणका लागि नेवाः खलः कास्कीले विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । गतवर्ष नेवा खलः कास्की तथा नेवा समुदायसँग सम्बन्धित सङ्घसंस्थाले पोखरामा २३ वर्षपछि बाघ जात्रा निकालेका थिए । 

पोखरा:   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको आन्दोलनमा रिर्पोटिङको क्रममा पत्रकारमाथि भएको सांघातिक हमलापछि फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने पत्रकार टोलीले माग राखेको छ ।   आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको छलफलको क्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, जिल्ला समिति र फोनिज गण्डकीको टोलीले कास्की प्रहरीलाई आक्रमणपछि फरार मुख्य ४ जनालाई यथाशिघ्र पक्राउ गर्नुपर्ने बताएको हो ।   नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले आपराधिक क्रियाकलापमा संलग्न भएकाहरुसँग कुनै पनि किसिमको सम्झौता नगरी प्रशासनले कारवाही गर्नुपर्ने बताईन् ।    पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको रंग, वर्ण र जात नहुने बताउदै फरार सबैलाई पक्राउ गर्नुपर्ने बताए ।   'कानूनको नजरमा रंग, वर्ण, पेशा वा श्रमजिवी मजदुर भन्ने हुदैन, उनले भने, ‘त्यसैले सांघातिक हमला गरेर फरार रहेका बाँकी ४ जनालाई पक्राउ गरेर कानूनी कारवाहीमा ल्याउनु पर्याे । त्यसपछि बाँकी छलफल अघि बढाउला ।’   यस्तै छलफलको क्रममा बोल्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले यतिका दिन बित्दासमेत ५ जनालाई बाहेक अन्य व्यक्तिलाई कास्की प्रहरीले पक्राउ नगर्नु पछाडी रहस्य रहको बताइन् ।   उनले कुनै व्यक्तिमाथि मात्र अक्रमण नभई पत्रकारितामाथि नै हमला भएको उल्लेख गरिन् ।   यो पनि पढ्नुहोस   पत्रकारलाई कुटेपछि यातायात व्यवसायी महासंघले भन्यो: सांघातिक हमला गर्नेलाई कारवाही गरियोस् फलोअप: पत्रकार सुरज र विनुमाथि सांघातिक आक्रमण गर्ने ४ जना पक्राउ ‘आन्दोलनको नाममा आक्रमण भयो । पीडितको मुटु हलुंगो भएपनि सिंगो पत्रकारिता क्षेत्रको मुटु भारी भएको छ । त्यसैले हिरासतमा रहेका ५ जनालाई छुटाउने होइन फरार रहेको अन्य ४ जनालाई पनि तत्कालै पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्छ भन्ने हाम्रो धारणा हो’, उनले भनिन् ।     यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिका सचिव योगेन्द्र केसीले  छलफलको क्रममा बोल्दै शान्तिपूर्ण आन्दोलन भनिएपनि त्यसले फरक रुप लिएको बताउदै आफुहरुलाई निकै दुखी बनाएको सुनाए ।   ‘हामीले शान्तिपूर्ण र सन्देशमूलक आन्दोलन नै गर्ने भनेका हौं । हामी सरकारसँगको नियमित वार्तामा थियौं’, सचिव केसीले भने, ‘आन्दोलनमा कसैलाई कुट्ने धम्काउने भन्ने केही थिएन । गाडी घर र ग्यारेजमा थन्काउने मात्रै कार्यक्रम थियो तर एकाएक पत्रकारमाथि हातपात भएछ । हामी त्यो घटनाप्रति एकदमै लज्जित र दुखी छौं ।’   यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले कानूनको विषयमा सम्झौता नहुने स्पष्ट पारे ।   उनले २० जनाभन्दा बढि व्यक्ति विरुद्ध निवदेन परेपनि मुख्य ४ व्यक्ति पहिचान भइसकेको बताउदै यथाशिघ्र पक्राउ गर्ने बताए ।   ‘भीड धेरै भएकाले अहिलेसम्म ५ जना हिरासतमै छन् बाँकी मुख्य र प्रत्यक्ष कुटपिटमा संलग्न ४ जनालाई हामीले पहिचान गरिसकेका छौं, एसपी थापाले भने, ‘उनीहरुलाई पनि छिटै पक्राउ गरेर कानूनी प्रक्रिया अघि बढाउछौं ।’   गत आइतबार रिपोर्टङको क्रममा पत्रकार बिनु थापा मगर र सुरज थापामगरलाई पठाओ भन्दै यातायात व्यवसायीले लखनचोक (पृथ्वीचोक) मा सांघातिक आक्रमण गरेका थिए ।   उक्त घटनामा संलग्न ५ जनालाई पक्राउ गरिसकेको छ भने बाँकी ४ जना फरार छन् ।   गण्डकी प्रदेश सरकारले राइडसेयरिङलाई वैधानिकता दिनका लागि कार्यविधि अघि सारेपछि यातायात व्यवसायीहरु सांगठनिक रुपमै त्यसको विरोध गर्दै आन्दोलनमा उत्रेको थियो ।

कास्की:  ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीमा ४३ औं संस्करणको तीज मेला हुने भएको छ ।   भदौं १८ देखि २२ गतेसम्म सञ्चालन हुने मेलामा मुख्य आकर्षणका रुपमा पुरुष फुटबल प्रतियोगिता समावेश गरिएको सञ्जालका अध्यक्ष विरेन्द्र गुरुङले जानकारी दिए ।    उनका अनुसार आमन्त्रित नक आउट फुटल प्रतियोगिता– २०८१ को विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ३ लाख १ हजार ३ सय रुपैया प्राप्त गर्नेछ ।   यस्तै उपविजेता टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख ७१ हजार १ सय प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।   गत वर्ष केआइइसी बुकले फुटबलको उपाधि जितेको थियो ।   प्रतियोगिता अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीस्थित माछापुच्छ्रे विद्यालयको खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

पोखरा:   नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षामा सुरज थापामगर सर्वसम्मत चयन भएका छन् ।  मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट सुरज थापामगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए ।  यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु रानामगर, राज बुढामगर र जुना थापामगर चयन भए । संघको बैठकले २ जना सदस्य मनोनित गर्नेछ । 

पोखरा:    नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई अर्पण गरिएको छ ।  राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिमार्फत स्थापित मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो अधिवेशनको अवसरमा झेंडी मगरलाई अर्पण गरिएको हो ।  उनलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले दोसल्ला, सम्मानपत्र र नगद रु १० हजारसहित पुरस्कार अर्पण गरे । सो अवसरमा बोल्दै गाहामगरले मगर समुदाय शैक्षिक क्षेत्रमा कमजोर रहेकै कारण राजनीतिक तथा प्रशासनीक पहुुँचबाट पछाडि परेको धारणा राखे ।  सांसद गाहामगरले जनसंख्याको आधारमा मगर समुदाय तेस्रो समुदाय भएपनि शिक्षामा कमजोर हुँदा राज्यको नीति निर्माण तहमा पछाडि परेको उल्लेख गरे ।  ‘नेपालको जनसंख्या अनुसार मगर जाति तेस्रो स्थानमा रहेको छ, जनसंख्यामा मात्र धेरै भएर भएन’, सांसद गाहामगरले भने, ‘जनसंख्याको आधारमा मात्र धेरै भएर भने, हामी शिक्षामा पनि अगाडि बढ्न आवश्यक छ । शिक्षामा कमजोर हुँदा नै हामी राज्यको नीति निर्माण तहमा पछाडि परेका छौं ।’ उनले राज्यको निर्णायक तहमा पुग्नका लागि मगर समुदाय राजनीतिमा आउनुपर्ने बताए । उनले मगर समुदायको मात्र नभएर आदिवासी समुदायको संस्कार –सस्कृति पुस्तातन्रण गर्न आवश्यक रहेको बताए ।  सांसद गाहामगरले मगर समुदायको भाषा संरक्षण लोप हुन लागेकाले संरक्षणमा चासो देखाउन आवश्यक रहेको उल्लेख गरेका थिए ।  यस्तै राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिताबाट पुरस्कृत शारदा झेंडी मगरले मगर समुदायको मौलिक कला संस्कृति संरक्षण र पुस्तातन्तरण हुन आवश्यक रहेको बताएकी थिइन् ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष तथा ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’छनौट समितिका संयोजक रुद्र श्रीस मगरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले पत्रकार झेंडी मगरलाई यस वर्षको पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो ।  २०७५ सालमा स्थापना भएको पुरस्कारबाट यस अगाडि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप रानामगर (तनहुँ), मानबहादुर घर्तीमगर ‘एमबी आस्था’ (कास्की), मनोज घर्तीमगर (कास्की), खेम सारुमगर (कास्की) पुरस्कृत भइसकेका छन् ।  पुरस्कृत झेंडी मगर बुद्धदर्शन टेलिभिजनमा स्टेशन म्यानेजरको भूमिकामा रहेकी उनी रेडियो मध्यविन्दु र नवलपुर ताइम्समा सम्पादकको रुपमा कार्यरत छिन् ।  राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार मगर जातिको भाषा, कला, धर्म, रितिरिवाज तथा संस्कार–सस्कृति र कौराहा संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छ ।   

पोखरा:      पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो ।   कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ ।  फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भन्नुभयो, “पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ । यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि ?” स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कृषि एम्बुलेन्सले महानगरका ग्रामीण बस्तीमा उत्पादित तरकारी निःशुल्क रूपमा बजारमा बिक्री वितरणमा सहयोग पुगेको छ । गत वर्षदेखि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्ने काम गरेको महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । उहाँका अनुसार पोखराका सात ठाउँमा सातामा एक दिन किसान बजार सञ्चालन हुने गरेकामा माग बढ्दै गएकाले केही वडामा सातामा दुई दिन बजार सञ्चालन हुने गरेको छ ।  ग्रामीण भेगका साना किसानले उत्पादन गरेको कृषि उपज सङ्कलनका लागि महानगरका २१ स्थानमा सङ्कलन केन्द्र स्थापना गरिएको र ती ठाउँमा एम्बुलेन्स पुगेर कृषि उपज बजारमा ल्याउने गरेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।   “ठूला किसानले आफ्नै गाडीबाट ल्याएर बजारमा बिक्री गरे पनि साना किसानले त्यसरी बिक्री गर्न सक्दैनन् । अहिले किसानले आफूले उत्पादन गरेका कृषि उपज सङ्कलन केन्द्रमा लिएर आउनुहुन्छ, कृषि एम्बुलेन्सले त्यहाँबाट बजारसम्म ल्याउने गर्दछ । अहिले उत्पादकको उत्पादनले राम्रो बजार पाएको छ भने उपभोक्ताले स्वस्थ, विषादीरहित र ताजा कृषि उत्पादन उपभोग गर्न पाउनुभएको छ”, प्रमुख कडरियाले भन्नुभयो ।  कृषि एम्बुलेन्स सञ्चालनसँगै बजारका उपभोक्ताले विषादीरहित ताजा तरकारी उपभोग गर्न पाएको बताइन्छ । बाहिरबाट ल्याउँदा तरकारी क्षति हुने, प्रदूषित हुने गरेकामा अहिले एकदेखि दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आइपुग्ने अवस्था रहेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।  उहाँले भन्नुभयो, “बाहिरबाट तरकारी ल्याउँदा क्षति हुने गरेको थियो । प्रदूषितसमेत हुन्थ्यो । चिस्यान सुविधासहितको एम्बुलेन्समा राखेर ल्याउँदा तरकारी बिग्रिँदैन । एक–दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आउने गरेको छ ।” कृषि उपजमा हुने क्षति कम, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित उपज ढुवानी, बजारीकरण र बिचौलियापनको अन्त्य, किसानलाई तरकारी बजारसम्म पुर्याउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धतामा एम्बुलेन्सले सहयोग पुगेको बताइन्छ । 

गण्डकी:     सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ  खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए ।  फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको चहलपहल रङ्गशालामा थियो । बिहानबेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन् । कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन् । वर्षा याममा रङ्गशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् ।  आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका– २९ स्थित यो रङ्गशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ । पोखरा रङ्गशालाको विकल्प मानिएको लेखनाथ रङ्गशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन् ।  आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रङ्गशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गर्नुभयो । रङ्गशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उहाँले बताउनुभयो । प्यारापिट पनि लथालिङ्ग छ । “अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।”  पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रङ्गशाला बन्न नसकेको बताउँछन् । आठ वर्षअघि रङ्गशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ ।  बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । हालसम्म त्यसमा रु एक करोड १० लाख खर्च भइसकेको छ । आव २०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट रु ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो ।  राष्ट्रिय खेलकुद परिषद्ले रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रङ्गशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिने बताउनुभयो ।  खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रङ्गशाला परेको उहाँको टिप्पणी छ । “राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो । लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ ।  कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि वेवास्ता  गरिरहेको छ”, उहाँले भन्नुभयो ।

पोखरा:    पोखरामा भएको स्कूल बस दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ ।  एलपी देवकोटा मेमोरियल स्कूलको बस विद्यार्थी लिएर आउँदै गर्दा दुर्घटनामा परी दुई जनाको मृत्यु र २८ जना घाइते भएपछि महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा महानगरका उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इञ्जिनीयर सरोज चालिसे सदस्य रहनुभएको छ । समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ ।  समितिलाई दुर्घटनाको कारण, सवारीसाधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीको सङ्ख्या, विद्यार्थी राख्न पाउने सङ्ख्यालगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताउनुभयो ।     यो पनि पढ्नुहोस   स्कुल बस दुर्घटना अपडेट: एक बालकको मृत्यु, मृतकको सँख्या २ पुग्यो दुर्घटना अपडेट: बसमा को को थिए, कहाँ हुँदैछ उपचार ? (नामावली) पोखरा–२१ मा भएको दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उहाँका छोरा छ वर्षीय प्रिन्स विकको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो ।   दुर्घटनाग्रस्त बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पताल पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । महानगर प्रमुख आचार्यले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन चिकित्सकहरूलाई निर्देशन दिनुभएको छ ।