पोखरा:     कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट—ठूलीवेशी—देउपूरवेसी—पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।  गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगर...

पोखरा:  नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले आफ्नो पार्टी भित्र कुनै गुट नभएको दाबी गर्नुभएको छ ।   आइतबार पोखरामा राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका कमिटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अध्यक्ष केपी शर्मा ओलीको मूलधारमा समाहित भएर सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।    ‘अहिले हाम्रो पार्टी भित्र कुनै गुट छैन, केपी ओली हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँलाई सहयोग गर्ने, उहाँकै मूलधारमा समाहित भएर हामी अगाडि बढ्ने हो । त्यसैले यहाँ कुनै गुटका कुरा कसैले गर्छ भने त्यो गुटको हामीले विरोध गर्नुपर्छ’ उहाँले भन्नुभयो ।    यस्तो अवस्थामा पनि साँच्चिकै गुटगत गतिविधि गर्ने र मूलधारमा नआउनेलाई पार्टीको शुद्धिकरण आन्दोलन मार्फत त्यस्ता क्रियाकलापलाई पराजित गरिने समेत उहाँले प्रष्ट पार्नुभयो । प्रदेश अधिवेशनले विभाजनलाई तलतलसम्म पुर्‍याएको भन्दै अब त्यसलाई रोकेर एकमत बनाएर अगाडि बढ्ने बताउनुभयो ।    ‘सबैलाई समेटेर सम्मान गरेर मिसन ८४ मा बहुमतको सरकार स्थापना गर्ने र एक्लै सरकार बनाउने हो’ उहाँले थप्नुभयो ।    एमालेको लोकप्रियता देखेर चारैतिरबाट घेर्ने काम भइरहेको भन्दै उहाँले घेराबन्दी तोडेर लक्ष्यमा पुग्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । राजनीतिक स्थिरता नहुँदा नेपालमा केही नकारात्मक प्रवृत्ति देखापरेको र जनतामा निराशा छाएको भएपनि राजनीतिक स्थिरता सँगै त्यसको अन्त्य हुने उहाँको भनाई छ ।    ‘राजनीतिक स्थिरता कायम हुने बित्तिकै सबै नकारात्मक प्रवृत्तिहरू अन्त्य हुन्छ, अन्त्य भैसकेपछि त्यसको जगमा उभिएका बनेका नयाँ पार्टीहरू पनि सबै समाप्त हुनेछन्’ उहाँले भन्नुभयो ।   एकताबद्ध ढङ्गले अगाडि बढ्न सक्दा एमाले सबैभन्दा बलियो पार्टी बन्ने ठोकुवा उहाँको थियो । पार्टी भित्र धेरै क्षमतावान व्यक्ति भएकोले सबै एकैपटकमै नेतृत्वमा पुग्न नसकेपनि निरन्तर लागेमा सबैको व्यवस्थापन हुने दावी उहाँको छ ।    नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि जनतामा आशा जगाएको दावी गर्नुभयो ।   नयाँ सरकार गठन पश्चात देशको अर्थतन्त्रले लिएको गतिले त्यसको पुष्टि गर्ने उहाँको भनाई थियो । पार्टीको निर्णयमा बसेर सामुहिक कार्य मार्फत आगामी निर्वाचनमा कास्कीका सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा एमालेको विजय सुनिश्चत गर्ने उहाँले प्रष्ट पार्नुभयो ।   केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहारीले आफुले प्राप्त गरेको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । नीतिगत तहमा काम गरे युवालाई नेपालमानै बस्न सक्ने वातावरण बनाउने पूर्व अध्यक्ष समेत रहनुभएका पहारीको वाचा थियो ।   आफूले गर्ने कार्यमा निरन्तर खबरदारी गर्न आग्रह गर्नुभएका उहाँले युवा सङ्घ नेपालको लोकप्रियताको उचाई बढाउन निरन्तर लाग्ने सुनाउनुभयो । ‘सके इट्टा थप्ने तर मक्कन तथा भत्कन भने कदापी दिन्न’ उहाँले भन्नुभयो ।    नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले राष्ट्रिय युवा सङ्घ नेपालको गरिमालाई बचाउन सबैले मिहेनतका साथ काम गर्नुपर्ने बताउनुभयो ।   राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्कीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी इन्चार्ज विकास अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष प्रदीप गुरुङ, कास्की सचिव उमेश गुरुङले बोल्नुभएको थियो । कार्यक्रम मार्फत युवा सङ्घ नेपालका इन्चार्जको जिम्मेवारी पूर्व अध्यक्ष राजीव पहारीले प्राप्त गर्नुभएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

पोखरा:  नवनिर्वाचित पोखरा चेम्बर अफ कमर्स कास्की र फिस्टेल ड्रिमपार्कबीच सम्झौता भएको छ ।   फिस्टेल ड्रिमपार्कले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सो अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीबीच छुटसम्बन्धि सम्झौता गरेको हो ।   सो सम्झौतापत्रमा ड्रिमपार्कको तर्फबाट सञ्चालक कमल बस्नेत र चेम्बरको तर्फबाट नवनिर्वाचित अध्यक्ष उमराज बास्तोलाले हस्ताक्षर गरे ।   सम्झौता अनुसार चेम्बरका सदस्यले उक्त पार्कमा २५ प्रतिशत छुट पाउनेछन् ।   पोखरा १७ मा रहेको फन पार्क पछिल्लो समय लोकिप्रिय बन्दै गएको छ ।   

कास्की:    पोखरा चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा उमराज बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् ।   शनिबार भएको पाँचौ वार्षिक साधारणा सभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित ३६ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम प्रसाद सुवेदी चयन भए ।   यस्तै उद्योग उपाध्यक्षमा नवराज आचार्य, वस्तुगत उपाध्यक्षमा नवीन बराल, वाणिज्य उपाध्यक्षमा श्यामकुमार मल्ल, महासचिवमा गोकर्ण अधिकारी चुनिए ।   सो समितिको सचिवमा सिमा कोइराला र सरिता सुवेदी, कोषाध्यक्षमा जीवन ढुंगाना, सहकोषध्यक्षमा बोधराज सुवेदी छानिए ।    यसैगरी कार्यसमिति सदस्यहरुमा तुलसी दाहाल (इकाई), जुना अधिकारी (खुला सदस्य), सुरेन्द्र बास्तोला (वस्तुगत), पूर्णकुमार श्रेष्ठ (वडा सदस्य), नगेन्द्र प्रसाद शर्मा (महानगर),श्री राम गौतम (करपोरेट सदस्य), विर बहादुर थापा (वस्तुगत सदस्य), कृष्ण प्रसाद साह (खुला), सिविन्द्रराज भण्डारी (खुला), शम्भु अधिकारी (खुला), गोकर्ण क्षेत्री (सदस्य इकाई), जमुना पौडेल (खुला)  चयन भए ।   यस्तै राधा कृष्ण पोखरेल (खुला), प्रेम राज बसौला (नगर सदस्य), मनोज सुनार (वस्तुगत), विनोद भुजेल (करपोरेट), दुर्गा प्रसाद श्रेष्ठ (वस्तुगत), जगदिश खनाल (खुला), वविता मल्ल (खुला), गोविन्द खड्का (खुला),  रमिता पौडेल ढुंगानाा, कृष्णराज पोखरेल (उद्योग), परमेश्वर दवाडी (उद्योग), गोकर्ण कार्की (खुला), महेश्वर दवाडी (पालिका) र मनोहर दाहाल (खुला) चयन भएका छन् ।   यसअघि कार्यक्रमको उद्घाटन शिक्षामन्त्री विद्या भट्टराईले गरेकी थिइन् ।

बागलुङ:     निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो ।  विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् । पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए ।  यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताउनुभयो । गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अधिकांशले स्याउका बिरुवा लगाउन थालेका उहाँले बताउनुभयो । अर्नाकोटमा खानेपानीको अभाव हुँदा बिरुवा हुर्काउन समस्या भएको सुनाउँदै अब सिङ्गो गाउँ नै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्ने आशा पलाएको कुँवर बताउनुहुन्छ । खानेपानी अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि धेरै गाउँमै बस्न थालेको उहाँ बताउनुहुन्छ । तीन वर्ष अगाडि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले सुनाउनुभयो । उहाँका अनुसार अहिले अर्नाकोटमा करिब एक सय ५० बोटमा स्याउ फलेका छन् । स्थानीय किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लिएर लगाएको सुनाउँदै अहिले बिरुवा बढाउँदै गएको बताउनुभयो । वर्षौँदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएका उहाँ पछिल्लो समय स्याउखेतीलाई नै बढी जोड दिएको बताउनुहुन्छ । “यहाँको हावापानी स्याउखेतीका लागि उपयुक्त रहेछ,  पोहोर लगाएका बिरुवाले फल दिएका छन्, यसले हामीलाई हर्षित बनाएको छ”, ओलीले भन्नुभयो, “खानेपानी नभएको ठाउँमा स्याउ लगायौँ, सिँचाइको व्यवस्था हुने हो भने  व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ ।” निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको बताउनुभयो । गाउँपालिकाले रु चार लाख ११ हजार दुई सय ५० मा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका हो । यहाँका किसानले करिब ४० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएका उहाँले बताउनुभयो ।

पोखरा:    पोखरा महानगरपालिका भित्र सञ्चालित सार्वजनिक यातायातको  प्रदूषण जाँच सुरुआत गरिएको छ । यातायात व्यवस्था कार्यालयले आज पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरुको प्रदूषण  परीक्षण गरेको हो ।  मापदण्ड भन्दा बाहिर रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सवारी साधनहरुको प्रदूषण जाँच  सुरु गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख अशोक गौतमले जानकारी दिनुभयो ।  उहाँका अनुसार अन्य दिनमा प्रदूषण परीक्षका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको हो । पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८  बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ । प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीहरुलाई पुनः मर्मतका लागि पठाइने  र उत्तीर्ण भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने कार्यालय प्रमुख गौतमले बताउनुभयो । “पोखरा पर्यटकीय राजधानी समेत हो । यहाँ गाडीबाट निस्कने धुँवा बढी हुने गरेको स्थानीयवासीको गुनासो आएपछि कडाइका साथ जाँच गर्न लागेका हौँ । आज पोखरा यातायात प्रालिका बसहरुको यान्त्रिक परीक्षण र प्रदूषण जाँचपासको काम गरेका छौँ ।  आगामी दिनमा निजी विद्यालयद्वारा सञ्चालित बसहरुको समेत परीक्षण गछौँ ।” कार्यालय प्रमुख गौतमले भन्नुभयो । जाँचपास गर्दा बढी प्रदूषण देखाएका गाडीलाई तत्काल मर्मत र सर्भिसिङका लागि पठाउने गरिएको कार्यालयका मेकानिकल इन्जिनियर अब्दुल्ला हवारीले बताउनुभयो ।  बसहरुको सर्भिसिङपछि बसको अनुत्तीर्ण हुने दर कम भएको उहाँले बताउनुभयो । कार्यालयले प्रदूषण बढी भएका तथा जाँच अनुत्तीर्ण भएका गाडी सञ्चालनमा रोक लगाउने जनाएको छ ।इन्जिनियर हवारीका अनुसार परीक्षण मेसिनले गाडीको धुँवाको ‘डेन्सिटी’ हेर्ने र ३० प्रतिशत सम्म आउने उत्तीर्ण र त्यो भन्दा बढी आउने अनुत्तीर्ण हुने जानकारी दिनुभयो ।  “परीक्षणको नतिजा तत्कालै प्राप्त हुने गरेको छ । बढी प्रदूषण देखाएर फेल भएका गाडी सञ्चालन गरे यातायात व्यवस्था ऐन अनुसार दुई हजारदेखी १० हजारसम्म कारवाही हुन्छ ।” उहाँले भन्नुभयो ।  पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुडले बसहरुले बढी धुँवा फालेको गुनासो पछि व्यवसायीले रु दुई लाख ५० हजारसम्म खर्च गरेर इन्जिन लगायत सबै परीक्षण गराएको जानकारी दिनुभयो ।  गाडीको पार्टपुर्जा बाहेक गाडीमा प्रयोग गरिने इन्धनको कारणले समेत धुँवा बढी फालेको हुन सक्ने भएकाले त्यसको समेत जाँच गर्न उहाँले माग गर्नुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “गुनासो आएपछि व्यवसायीले गाडी मर्मत गरेको हो । मर्मत सम्भार गर्दा समेत धुँवा फालिरहेको छ । के कारणले  धुँवा फालिरहेको हो भनेर हामीलाई इन्जिनियरले बताइदिनुपर्दछ ।”

पोखरा:     युवा व्यवसायी किसान सुनार पोखरामा सम्मानित भएका छन् ।   चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष सुनार पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौ साधारण सभा तेस्रो जिल्ला अधिवेशनको अवसरमा  सुनार सम्मानित भएका हुन् ।   पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्षसमेत रहेका उनलाई संस्थाप्रति योगदान दिएको भन्दै  सम्मान अर्पण गरिएको हो ।   उनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सम्मान अर्पण गरिन् ।    सो अवसरमा बोल्दै शिक्षामन्त्री भट्टराईले उद्यमशिलतालाई शिक्षासँग जोड्न आवश्यक रहेको बताइन् ।    उनले व्यवहारिक शिक्षा नीति नहुँदा युवाहरु विदेशीनु पर्ने बाध्यता रहेको बताउदै त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको धारणा राखिन्  । मन्त्री भट्टराईले आफ् जिम्मेवारी पूर्ण रुपमा निभाउन कटिबद्ध रहेको बताउदै जनताको मन जित्ने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्ति गरेकी थिइन् ।   कार्यक्रममा संघीय सांसद दामोदर बैरागी, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डे, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव शर्मा, एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी लगायतले शुभकामना व्यक्त गरेका थिए ।   संस्थाको कार्यक्रमबारे प्रचारप्रसारमा सहयोग गरेको भन्दै पत्रकार श्याम कुँवरलाई र सचिवालय व्यवस्थापनमा भूमिका निर्वाह गरेको भन्दै अन्य व्यक्तिहरुलाईसमेत सम्मान अर्पण गरिएको थियो ।

लेखनाथ:     सत्ताइस वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै हुनुहुन्थ्यो । उहाँको एकमात्र साहारा ३१ वर्षीय श्रीमान् प्रेम शेर्पा दुई वर्षदेखि बेखबर हुनुहुन्छ ।       “छोरी पेटमै हुँदा रोजगारीका लागि साउदी अरब जानुभएको हो । तर गएकै समयदेखि फोन सम्पर्क छैन, सुनेकी छु विदेशमा अर्की श्रीमती लिएर बस्नुभएको छ”, निग्माले भन्नुभयो, “मजदुरी गरेर छोरी पाल्दै आएकी थिएँ, भएको एउटा बास पनि सेती बाढीले बगाइदियो, भाग्यले ज्यान जोगायौं, अब छोरीबाहेक मेरो कोही रहेन ।”      सेती नदीमा गत असार २२ गते आएको बाढीले पोखरा–१४ स्थित गस्ती टोलका निग्मासहित ३९  परिवारको घर बगाइदिएको छ । ती परिवारको २५ दिनदेखि त्रिपालमुनिको बास छ । तीमध्ये केही परिवार आफन्तकहाँ बस्दै आएका छन् ।       “पतिले त छाड्नुभयो, बस्दै गरेको बास पनि बगायो कस्तो दुःख आइलाग्यो”, शेर्पाले भन्नुभयो, “मजदुरी गरेर पेट पाल्दै आएकी थिएँ, त्यो पनि अहिले छैन, बास पनि छैन, डेढ वर्षकी छोरी लिएर त्रिपालमुनि बस्नुपरेको छ, वर्षा हुँदा सुत्ने र खाना पकाउने ठाउँमा पोखरी बन्छ”, शेर्पाले भन्नुभयो, “राति बादल मडारिँदा बाढीले बगाउने हो कि भन्ने डर लागिरहन्छ, यस्तो दुःख मैले कहिलेसम्म भोग्नुपर्ने हो ? ।”            प्रेमसँग प्रेम विवाह गर्नुभएकी निग्माले भन्नुभयो, “विवाह गर्दा सुखसँग बाँच्ने सपना देखेकी थिएँ । तर विवाह गरेको दुई तीन वर्षमै वर्षमै यस्तो दुःख भोग्नुप¥यो ।” धादिङबाट पोखरा आएर बस्नुभएकी निग्माको प्रेमसँग पोखरामा भेट भएपछि दुवैबीच प्रेम विवाह भएको थियो । निग्माका वृद्ध बुवा राम श्रेष्ठ पनि सोही टोलमा ३० वर्षदेखि बस्दै आउनुभएको छ ।       “बिहान बेलुकाको खाना विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोगबाट चल्दै आएको छ, त्रिपाल पनि संस्थाले नै उपलब्ध गराएको हो, त्रिपाल राखेर बस्दै गरेको जग्गा पनि सरकारको कृषि कार्यालयअन्तर्गतको रहेको र त्यो कार्यालयले त्यहाँबाट हट्न भनेको छ, अब कहाँ गएर बस्ने हो, थाहाँ छैन”, शेर्पाले भन्नुभयो । जग्गा पाइहाले पनि घर बनाउन सक्ने उहाँको अवस्था छैन ।       शेर्पा मात्र हैन यहाँका ३८ परिवारको दुःख उस्तै छ । गस्ती टोलकै २९ वर्षीया यमकुमारी मगरको पीडा पनि कम्ता छैन । सेती नदीको बाढी घरमै आउन थालेपछि लत्ताकपडा र भाँडाकुँडा लिएर भाग्दै सुरक्षित ठाउँमा आएको पाँच जनाको परिवार पनि त्रिपालमुनि बस्दै आएको छ । मजदुरी गरेर खाने यो परिवारलाई बिहानबेलुकाको छाक टार्नै मुस्किल छ ।       “पति मजदुरी गर्नुहुन्छ । मैले तीन बालबच्चाको स्याहारसुसार गरेर बस्दै आएकी थिए ।  तर ३० वर्षदेखि बस्दै आएको घर बाढीले बगाइदिएपछि बिचल्ली भएको छ, पतिले मजदुरी गर्न जान पाउनुभएको छैन, सधैं सङ्घसंस्थाको सहयोग पाइँदैन”, मगरले भन्नुभयो, “बाससम्मको व्यवस्था भयो भने मजदुरी गरेर खान्थ्यौँ ।”      बाढीबाट विस्थापितमध्ये सुस्मा श्रेष्ठ तामाङकै घरमा शरण लिएर बस्दै आउनुभएको छ । सुस्मा ६ महिना र दुई वर्षका दुई छोरा लिएर तामाङको घरमा शरण लिएर बस्नुभएको छ । विस्थापित ३९ परिवारलाई त्रिपालको व्यवस्था ‘असल छिमेकी’ संस्थाले गराएको हो । उक्त टोलका अधिकांश परिवार बालुवा बोक्ने काम गर्दै आएका थिए । 

पोखरा:    पोखरा महानगरपालिका–१ विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्र्तगत नेपाली तथा अंग्रेजी हिज्जे र बेलुन रेस प्रतियोगिता सम्पन्न भएको छ ।  नेपाली हिज्जे कार्यक्रममा आधारभुत (सिनियर) तर्फ कञ्चनजंघा सदनबाट कक्षा ८ की छात्रा सृष्टि खड्का, कक्षा ७ का छात्रछात्राद्वय असिम अधिकारी र उपासना रेग्मी, कक्षा ६ की छात्रा सबिता सुनार प्रथम र अन्नपूर्ण सदनबाट कक्षा ८ का छात्राहरुद्वय मञ्जिसा भुजेल र एस्थर तामाङ, कक्षा ७ की छात्रा अंकिता पौडेल र कक्षा ६ का छात्र पेरिस पौडेल द्वितीय भएका छन् ।  यस्तै आधारभुत (जुनियर) तर्फको अंग्रेजी हिज्जे प्रतियोगितामा अन्नपूर्ण सदनबाट कक्षा ५ का छात्रछात्राद्वय सिद्धान्त के.सी. र केन्जल जि.सी., कक्षा ४ की छात्रा दीया क्षेत्री र कक्षा ३ की छात्रा शइशा तामाङ प्रथम र कञ्चनजंघा सदनबाट कक्षा ५ का छात्रछात्राद्वय मुस्कान भण्डारी र अदिती तिमिल्सिना, कक्षा ४ की छात्रा युनिका खनाल र कक्षा ३ का छात्र सौगात हमाल द्वितीय भएका छन् ।  यस्तै पूर्व प्रा.वि. तहमा भएको बेलुन रेस प्रतियोगितामा कक्षा नर्सरीबाट अनामिका सापकोटा प्रथम, इमान थापा क्षेत्री द्वितीय, उमङ्ग रेग्मी र प्रियांश अधिकारी तृतीय भएका छन् ।  कक्षा एल.के.जी.बाट कृष्ण मेट्या प्रथम, निरोशा पाइजा द्वितीय र सम्राट सुनार तृतीय भएका छन् । कक्षा यु.के.जी.बाट सलोम राई प्रथम, शिवांश बाबर द्वितीय र एन्जल रानामगर तृतीय भएका छन् । कक्षा एकबाट पारोमिता मण्डल प्रथम, जेम्स बर्मान द्वितीय र एडन गुरुङ तृतीय भएका छन् । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुको  चौर्तफी विकास हुने बताए ।   

पोखरा:   नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ ।  नवनिर्वाचित कार्यसमितिलाई नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापामगरले प्रमाण पत्र वितरण गरे । भने, निर्वाचन मण्डलका संयोजक एमबी आस्थामगरले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।  साउन १५ गते सुरज थापा मगरको अध्यक्षतामा ११ सदस्यीय नेपाल मगर पत्रकार संघ कास्कीको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । संघको उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए थिए ।  यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु रानामगर, राज बुढामगर र जुना थापामगर चयन भएका थिए ।  मगर पत्रकार संघ कास्कीको पहिलो बैठकले गोविन्द सिङ्जाली मगर र गीता रानामगरलाई सदस्यमा मनोनित गरेको सचिव कविता घर्तीमगरले जानकारी दिईन् ।  मगर पत्रकार संघ कास्कीको पदस्थापन कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापामगरले मगर संघ र पत्रकारहरुबीच सहकार्य गर्दै अगाडि बढ्ने बताए ।  ‘नेपाल मगर संघ र पत्रकार संघबीच सहकार्य गर्दै अगाडि बढ्न जरुरी छ’, थापाले भने, ‘मगर समुदायमा भाषा संस्कृति लोप हुँदै गएको छ यसको संरक्षणको लागि पनि मगर संघ र पत्रकारहरुबीच सहकार्य हुन जरुरी छ ।’  उनले यातायात व्यवसायीको आन्दोलनमा क्रममा पत्रकार बिनु थापामगर र सुरज थापामगर माथि सांघातिक रुपमा आक्रमण गर्ने जो भएपनि कारवाही गर्न माग गरे । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका सचिव अर्जुन गाहामगर, मिना थापामगर, समाजसेवी तिलक तिवारी लगायतले बोलेका थिए ।