सर्वाेच्च अदालतले फेवाताल किनारयता ३० मिटरको मापदण्डलाई अस्वीकार गरेको छ । अदालतको गत असार ४ गते गरिएको फैसलाको पूर्णपाठ अनुसार अब फेवाताल किनारदेखि बाहिर ६५ मिटरभित्रका सम्पूर्ण संरचना खाली गर्नुपर्नेछ । ‘फेवातालको वरिपरी बर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटरसमको क्षेत्रमा रहेका घर, भवन, व्यापार, व्यवसाय, होटल रेष्टुराँ, रिसोर्ट, आदि तथा अन्य सबै खाले व्यक्तिगत, सरकारी वा सार्वजनिक भौतिक संरचना यो आदेश प्राप्त भएको मितिले ६ महिनाभित्र अनिवार्य रुपमा हटाई खाली गर्नु गराउनू र उक्त ६५ मिटरको मध्यवर्ती क्षेत्रलाई पूर्ण रुपले हरियाली क्षेत्र घोषित गरी सोही बमोजिम काययम गर्नु गराउनू,’ आदेशमा उल्लेख छ । यसअघि पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले फेवातालको मापदण्ड ३० मिटर कायम गरिएको निर्णय गरेको थियो । पछिल्लो आदेशले भने अबको छ महिनाभित्र ६५ मिटर क्षेत्रमा रहेका भौतिक संरचना खाली गरिसक्नु पर्नेछ । सर्वाेच्च अदालतले ०७५ वैसाख १६ मै फेवातालको मापदण्ड ६५ मिटर कायम गरेपनि महानगरपालिकाले अटेर गर्दै ३० मिटरमा झारेको थियो ।
पोखरा: पोखरामा हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसन हेर्न जाने दर्शकलाई निःशुल्क सिम वितरण गरिने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिता हेर्न जाने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिने भएको हो । दर्शकले काटेको टिकटको आधारमा सिम वितरण गरिने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । सिम वितरणका लागि नेपाल टेलिकमले स्टल राख्ने उनको भनाई छ । सिममा व्यालेन्स कति हुन्छ भन्नेबारेमा भने नेपाल टेलिकमले निर्णय गरिसकेको छैन । प्रतियोगितामा करीब २५ टिमले प्रतिष्पर्धा गर्ने संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । फारम भर्ने क्रम सकिएर अहिले डिजिटल अडिसनका लागि व्याण्डहरुले पठाएको भिडियो हेरेर छनौट गर्ने काम भइरहेको उनले बताए । प्रतिष्पर्धाका लागि संघले यसअघि फारम भर्नका लागि आह्वान गरेको थियो । प्रतियोगिता असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा आयोजना हुँदैछ । प्रतियोगितामा कक्षा ८ देखि माथि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीहरुको व्याण्ड सहभागि हुन पाउने प्रावधान रहेको छ । प्रतियोगिताका लागि सहभागि हुन चाहने कलेज व्याण्डहरुले फारम भरेपछि डिजिटल अडिसनका लागि भिडियो पठाएका छन् । त्यहि भिडियोका आधारमा दोश्रो चरणका लागि व्याण्डहरु छनौट हुने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । त्यसमा छनौट भएकाहरु सेमीफाईनलमा प्रवेश गर्ने र फाईनल प्रवेशका लागि पुनः प्रतिष्पर्धा गर्नुपर्ने उनले स्पष्ट पारे । फाईनल राउण्डमा प्रवेश गरेकाहरुले गरेको प्रस्तुतीका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने उनले जानकारी दिए । उनका अनुसार व्याण्डहरुले कभर सङ्ग मात्रै गाए पुग्छ । प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए । पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ ।
पोखरा: मणिपाल अस्पतालमा उपचारत बिरामीको मृत्युपछि भएको विवादमा प्रहरीले नियन्त्रणमा लिएको एक चिकित्सक रिहा भएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मिन बहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा डाक्टर दिनेश कुमार विकलाई रिहा गरिएको हो । यद्यपी चिकित्सकलाई कुटपिटमा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेकापीडित परिवार पक्षका विनय गुरुङमाथि भने अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको छ । यो पनि पढ्नुहोस बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पतालमा तनाव रिहा भएका डाक्टरलाई नाराबाजीमा संलग्न भएको भन्दै कास्की प्रहरीले गएराती पक्राउ गरेको थियो । लमुजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि पीडित परिवार र आफन्त अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आन्दोलित भएका थिए । त्यसपछि तनावग्रष्त बनेको मणिपाल शिक्षण अस्पतालमा भिड नियन्त्रणका लागि व्यापक प्रहरी परिचालन गरिएको थियो । मृतक दुराको शव बुझ्न परिवार तयार नभएको एक आफन्तले बताए । उनका अनुसार ढाड दुखेपछि उपचारका लागि अस्पताल पुगेका थिए । सामान्य उपचारका लागि अस्पताल लगिएको बिरामीको रहस्यमय मृत्यु भएको भन्दै कारण स्पष्ट रुपमा खुलाउनुपर्ने माग राख्दै आएका छन् ।
पोखरा: मणिपाल शिक्षण अस्पतालमा उपचारत सुकमाया दुराको मृत्युपछि अस्पतालमा तनाव उत्पन्न भएको छ । अस्पतालमा हिजो (आइतबार) उपचारका लागि पुगेका ५७ वर्षीय सुकमाया दुरा गुरुङको उपचारको क्रममा आज बिहान मृत्यु भएपछि तनाव उत्पन्न भएको हो । आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । बिरामीका आफन्तका अनुसार हिजो ढाड दुख्ने समस्या र पेसर लो भएर मणिपाल अस्पताल पुगेका बिरामीको आज बिहान मृत्यु भएको हो । उनले सामान्य अवस्थामा अस्पतालमा भर्ना गरिएका बिरामीको कसरी मृत्यु भएको हो भनेर डाक्टरहरुसँग सोधपुछ गर्ने क्रममा डाक्टरले हात हालेपछि तनाव उत्पन्न भएको बिरामीका आफन्तले बताएका छन् ।
पोखरा: पोखरा महानगर प्रथम विद्यालयस्तरीय छात्रछात्रा ह्याण्डबलको उपाधि छात्रतर्फ गण्डकी बोर्डिङले जितेको छ । फाइनलमा लिटिल स्टेप माविलाई १६-७ गोलअन्तरले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम मावि तेस्रो भयो । उसले पोखरा एकेडेमीलाई १४-१३ अन्तरले पराजित गरेको हो । छात्रातर्फको उपाधि भने पोखरा एकेडेमीले जित्यो । गण्डकी बोर्डिङलाई ४-२ गोलअन्तरले पराजित गर्दै पोखरा एकेडेमीले उपाधि जितेको हो । छात्रातर्फ पनि सरस्वती आदर्श विद्याश्रम नै तेस्रो भयो । उसले ज्ञानज्योतिको चुनौती १०-० ले पन्छाएको हो । उपाधि विजेताले जनही १५ हजार र उपविजेताले १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रोलाई जनही ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र दिइयो । छात्रतर्फ गण्डकी बोर्डिङका मनीष कुँवर र छात्रातर्फ पोखरा एकेडेमीकी पूर्णिमा क्षत्री उत्कृष्ट खेलाडी घोषित भए । पोखरा महानगर ह्याण्डबल विकास समिति आयोजनामा ३ दिनसम्म चलेको प्रतियोगितामा छात्रतर्फ १० र छात्रातर्फ ८ टिमले भाग लिएको आयोजक समिति सचिव सुभाष खड्काले बताए । विजयीलाई आयोजक समिति अध्यक्ष दीपकबहादुर गोदार, प्रदेश खेलकुद परिषद् गण्डकीका नि.सदस्यसचिव केशव पाठक, अग्रज ह्याण्डबल खेलाडी राम गुरुङ, कास्की ह्याण्डबल अध्यक्ष चित्रबहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठलगायतले पुरस्कार वितरण गरे । गण्डकी बोर्डिङका प्राचार्य वीरेन्द्र खड्काले आफ्ना विद्यार्थीको उपलब्धिपछि खुसी व्यक्त गर्दै विद्यार्थीलाई पढाइसँगै खेलकुदका क्रियाकलापमा पनि सरिक गराउनुपर्ने बताए ।
पोखरा: पोखरामा मिनी सडक महोत्सवसहित ४४ औं विश्व पर्यटन दिवस मनाइने भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान)को आयोजनामा मिनी सडक महोत्सव आयोजना गरिने पत्रकारसम्मेलनमार्फत आज (आइतबार) जानकारी दिइएको हो । महोत्सव ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित पर्यटन दिवसको दिन (असोज १० गते) मनाइने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनका अनुसार सडक महोत्सवको आयोजना लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म हुने छ । सो सडकक्षेत्रमा यातायात आवागमन रोकिने बताउदै नेपाल र भारतका सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने श्रेष्ठले बताए । साथै विभिन्न जातजातिको संस्कृति झल्किने खालका भाँकीसमेत प्रर्दशन हुनेछ । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पर्यटन दिवसमा आयोजना हुने मिनी महोत्सवले अंग्रेजी नयाँ वर्षको सडक महोत्सवको झल्को दिने विश्वास व्यक्त गरे । सो महोत्सवले पर्यटकीय गतिविधि वृद्धि गर्ने रेवानको अपेक्षा छ ।
पोखरा: कास्कीको काहुँखोलामा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका स्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ आउँदै गरेको ६०६७ नम्बरको ट्याक्टर अनियन्त्रण भई दुर्घटना हुँदा ट्याक्टरका सह-चालक सुजन नेपालीको उपचारको क्रममा मृत्यु भएको हो । सडकबाट अन्दाजी ५० मिटर तल ट्याक्टर खस्दा गम्भिर घाइते भएका तनहुँ घर भई पोखरा १३ कसेरीदाना बस्ने २० वर्षीय सुजनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । ट्याक्टर दुर्घटनापछि चालक सोमबहादर कामीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा: तिव्र गतिका कारण कार पोखरा महानगरपालिका १८ स्थित राटामाटाबाट फेवातालमा खसेको छ । आज बिहान ३ बजे सेदीबाट खपौदी जाँदै गरेको ग ३ च २३९२ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी वरिष्ठ नायव निरीक्षक शिव पाठकका अनुसार चालक संगम थापाले मादक पदार्थ सेवन गरि सवारी चलाएकै कारण कार तालमा खसेको हो । उक्त कार क्रेनको प्रयोगमा निकालिएको उनले बताए । कार निकालिएपनि चालक थापालाई भने अनुसन्धानकै क्रममा प्रहरीले सम्पर्कमा राखिएको जनाएको छ ।
पोखरा: सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई दु:ख हैरानी दिने दुई जना सहचालकलाई प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका ९ स्थित पृथ्वीचोकमा सार्वजनिक साधनमा जवरजस्ती चढाउने, झोला खोसाखोस गरी सर्वसाधारण मानिसहरुलाई दु:ख हैरानी दिएर अभद्र व्यवहार गर्ने दुई सहचालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो । यात्रुहरुलाई अभद्र व्यवहार गरेको आरोपमा तनहुँ ब्यास नगरपालिका १४ घर भएका २४ वर्षीय मन्जित महरा र रौतहट स्थायी घर भई पोखरा १३ मियाँपाटन बस्ने २४ वर्षीय अमर शाहलाई प्रहरीले प्रकाउ गरेको हो । प्रकाउ परेका दुवैजनालाई अभद्र मुद्धामा अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

