पाेखरा: शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिए । 'यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै ', पाण्डेले भने, 'मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।' शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुङ्गामा ताल सयर गरेका उनले बताए । बेगनास ताल डुङ्गा व्यवसायी समितिमा तीन सय ३१ डुङ्गा व्यवसायी छन् । 'भोकभोकै आएर पनि डुङ्गा व्यवसायी पालोमा बस्छन्, तर पर्यटक कुर्दाकुर्दै दिन बित्छ, पालो आउँदैन', पाण्डेले सुनाए, 'अघिपछि यो याममा दैनिक ५० भन्दा बढी डुङ्गा व्यस्त हुन्थे । अहिले त चार–पाँचवटा चल्न पनि धौधौ छ ।' स्थानीय पर्यटन व्यवसायीले बेगनासमा पर्यटक घट्नुमा सडकको दूरावस्थालाई मुख्य कारक मान्छन् । मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा छ । 'सडक बनिरहेकाले बेगनासको यात्रामा पर्यटकलाई सास्ती छ', डुङ्गाको टिकट कक्षका कर्मचारी राजु कँडेलले भने, 'हिलो, धुलो र खाल्डाखुल्डीले हिँडिसाध्य छैन ।' आर्थिक मन्दीका कारणले पनि मानिस घुमघाममा कम निस्केको हुनसक्ने उनको भनाइ थियो । कँडेलका अनुसार पहिले मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक बेगनास ताल घुमेर स्वदेश फर्कन्थे । अहिले अति न्यून सङ्ख्यामा विदेशी पर्यटक त्यहाँ पुग्छन् । 'पहिले दुई जनालाई टिकट बेच्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले काउन्टर रुँघेर बस्नुपरिरहेको छ', उनले भने, 'डुङ्गा व्यवसाय मात्र नभएर बेगनासको सिङ्गो पर्यटन क्षेत्र सुस्ताएको छ ।' तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’समेत सञ्चालनमा ल्याइएको कँडेलले बताए । उनका अनुसार पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल क्षेत्रको पर्यटनले डुङ्गा, मत्स्य, होटल तथा रेष्टुराँलगायत स्थानीय व्यवसायीको जीविका भरथेग हुँदै आएको छ । अहिलेकै स्थिति रहिरहे पर्यटनको आयआर्जन गुम्ने स्थानीयवासीमा चिन्ता छ । सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले कोभिड–१९ महामारीपछि बेगनासमा पर्यटकको सङ्ख्या नसोचेको ढङ्गले घटेको बताइन् । 'दैनिक सयौँ जनाले टिकट लिएर भ्यूटावर चढ्नुहुन्थ्यो । अहिले कुनै दिन त एक जना पनि पर्यटक आउनुहुन्न', उनले भनिन्, 'आम्दानी नभएपछि भ्यूटावरको मर्मतसम्भार र रेखदेखमा समस्या भइरहेको छ ।' शनिबार पनि ‘भ्यूटावर’को अवस्था सुनसान रहेको भुजेलले सुनाइन् । एकैसाथ बेगनास र रुपातालसहित मनोरम दृश्यावलोकन गर्न सकिने भए पनि पर्यटक नआउँदा भ्यूटावर क्षेत्र भएको सुनसान उनको भनाइ थियो । भ्यूटावर चढ्दा विद्यार्थीलाई रु २०, अन्यलाई रु ३० र विदशीलाई रु ५० को टिकट लाग्ने भुजेलले जानकारी दिइन् । टिकटको आम्दानीमध्ये ४० प्रतिशत ताल संरक्षणमा, २० प्रतिशत स्थानीय अरुण ज्योति आधारभूत विद्यालयमा, २० प्रतिशत जैविक स्रोत संरक्षण संस्थामा र बाँकी तलब आदिमा खर्च हुने गरेको उनले बताइन् ।
पोखरा: ‘बाटोले गर्दा छोरी दिने भएनन्’ यो तस्वीर अहिले सामाजिक सञ्जालमा छरपस्ट छ । व्याङ्ग्यात्मक प्रहार झल्किने यो विरोध पोखरा महानगरपालिका १ सिमपानी सडकखण्डको हो । राष्ट्रिय गौरवको आयोजना अन्तरगत मध्यपहाडी पुष्पलाल लोकमार्गमध्ये पर्ने २२ सय मिटर दुरीको सडक निर्माणको काम रोकिदा व्याङ्गात्मक प्लेकार्ड बोकेर चक्का जाम गर्न स्थानीय बाध्य छन् । पोखरा महानगरपालिका १ र २५ नम्बर वडा जोड्ने (हरिचोकदेखि याम्दीपुलसम्म) सडकको अवस्था कस्तो छ भन्ने यही एउटै प्लेकार्डले प्रष्ट्याएको छ । घाम लाग्दा धुलाम्मे वर्षातमा हिलाम्मे हुने यो बाटोले स्थानीय आजित छन् । स्थानीय मात्रै होइन यात्रुहरुलाई पनि उत्तिकै सास्ती छ । त्यसैले स्थानीयहरु युवाहरु सडक निर्माणको काम रोकिएपछि विरोधमा उत्रिएका हुन् । सिमपानीको स्थानीय त्रिशक्ति युवा क्लबको अगुवाईमा सडक अवरुद्ध गरेपछि निर्माण कम्पनीसँग वार्ताको माहौल बन्यो । अहिले केही प्रतिबद्धतासहित ठेकेदार कम्पनीले स्थानीयको माग पुरा गर्ने सम्झौता गरेपछि विरोधको आन्दोलन स्थगित गरिएको स्थानीय त्रिशक्ति युवा क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । ‘दुई दिन हामीले सांकेतिक रुपमा एक/एक घण्टा सडक जाम गरेका थियौं, त्यसपछि वार्ताको माहौल बन्यो, सुनगाभा न्यूजसँग उनले भने, ‘अहिले निर्माण कम्पनीको इन्चार्जसँग ५ बुँदें सम्झौता गरेका छौं त्यसैले विरोधको कार्यक्रमलाई केही समय स्थगित गरेका छौं ।’ उनका अनुसार निर्माण व्यवसायीहरुले तीन महिना यता निर्माण कार्यमा ढिलासुस्ती गरेको थियो । त्यसपछि कामलाई तिब्रता दिन र सम्झौता समयावधिमै काम सक्नका लागि दवाव स्वरुप विरोधमा उत्रेको बताए । ‘हरिचोक, सिम्पानी हुँदै याम्दी हेमजा जोड्ने सडक आफैमा राष्ट्रिय गौरवको आयोजना हो, त्यसैमाथि गण्डकी प्रदेशको राजधानी प्रवेशद्वारमा नै सडक निर्माण ढिलासुस्ती भएको छ’, सुवेदीले भने, ‘निर्माण कार्यलाई तिव्रता दिलाउनका निम्ति स्थानीय सरकारदेखि प्रशासनलाई झकझकाउन दबाब स्वरुप विरोध गरेका हौ ।’ उनले सडक निर्माणको जिम्मा लिएको काठमाडौंको मोतीदान कन्सट्रक्सनले विभिन्न कारण देखाएर तीन महिनादेखि काम रोक्दा स्थानीयले सास्ती खेप्नुपरेको गुनासो सुनाए । ‘यो सडक बनाउने म्याद ०८१ साउनसम्म रहेछ, अहिलेको गतिमा काम भए सडक निर्माण सकिदैन, उनले भने, ‘विभिन्न कारण देखाएर सडक अलपत्र जस्तै छोड्दा स्थानीयहरुलाई त समस्यामा छन् नै, सडकमा गुड्नेदेखि पैदल हिड्नेलाईसमेत सास्ती भएको छ ।’ निर्माण कम्पनीले सडकको दुईछेउमा गहिरो नाली बनाएको छ भने कतै स्लाब नै राखिएको छैन । त्यसैले वर्षातको समय भएकाले जोखिम बढेको छ । यस्तै कारणले गत वर्ष पोखरा १६ स्थित सुन्दरफिडमा एक बालक नालीमा खसेर बेपत्ता भएका थिए । सिमपानीमा पनि त्यस्तै घटना दोहोरिने हो कि भन्ने चिन्ताले सताएको स्थानीय हरिकला बास्तोलाले बताइन् । ‘घर अगाडी नाली छ, वर्षाको समयमा नालीमा पानी भरिएर आउँछ, नालीमा स्लाब नहुँदा कहिले के हुन्छ भन्न सकिदैन, पोहोर दीपमा तिवारी फर्निचरको बाबु यस्तै नालिमा परेर ज्यान गुमाउनुपर्याे अहिले यहाँ पनि त्यस्तै खतरा देखिएको छ,’ उनले भनिन् । भुक्तानी भएको छ, अब कामले गति लिन्छ: आयोजना प्रमुख अधिकारी मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत आयोजनाका प्रमुख कल्पना अधिकारीले पोखराको हरिचोक–याम्दीचोकसम्म २ हजार २ सय मिटर सडक कालोपत्रे गर्न अहिले सामान्य रुपमा काम भइरहेको बताईन् । ‘पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेँदीसम्म दुईवर्ष अगाडी नै सडक कालोपत्रे भएको छ’, अधिकारीले भनिन्, ‘बिचमा रहेको हरिचोकदेखि याम्दीसम्म २ हजार २ सय मिटर सडक कालोपत्रे गर्न अहिले मोतीदान कन्ट्रक्सनले काम गरिरहेको छ । तर हुनुपर्ने गतिमा भएको छैन ।’ उनका अनुसार कुल ४८ करोड ५ लाखको लागतमा सम्झौता भएको थियो । भने काम २०८० साल साउन १४ भित्र सक्काउनुपर्ने सम्झौतामा उल्लेख छ । उनले उक्त सडकखण्ड निर्माण गर्न मोतीदान कन्ट्रक्सनले गत आर्थिक वर्षमा आयोजनासँग सम्झौता गरेकाले आगामी वर्षको साउन दोस्रो हप्तासम्म निर्माण कार्य सक्नुपर्ने बताईन् । ‘कम्पनीले वर्षा र भुक्तानी नपाएको भन्दै काममा तिव्रता दिएको थिएन, बिस्तारै वर्षायाम पनि सकिदैछ । सरकारले भुक्तानी पनि दिएको छ, उनले भनिन्, ‘अब दशै तिहार र छठपछि कामले तिव्रता लिन्छ भन्ने छ । अहिलेसम्म करिब २२ देखि २५ प्रतिशत मात्रै काम भएको छ ।’ घाम लाग्दा पानी हाल्ने, पानी पर्दा खाल्डा पुर्ने सम्झौता प्रमुख जिल्ला अधिकारीको रोहबरमा स्थानीय बासिन्दा र निर्माण कम्पनीसँग पर्व नसकिदा सम्मका लागि विभिन्न सम्झौता भएको छ । स्थानीय प्रविन सुवेदीका अनुसार तत्कालै खाल्डाहरु पुर्ने, नालीमा स्लाब हाल्ने, संभावित डेंगु न्यूनीकरणका लागि स्प्रे छर्ने सम्झौता भएको छन् । यस्तै घाम लाग्दा धुलाम्मे हुने भएकाले आवश्यकता अनुसार दैनिक पानी हाल्ने र वर्षा भएपछि खाल्डा पुरीहाल्ने सम्झौता गरिएको छ । ‘दबाब दिन आन्दोलन गरेपछि एक खालको सम्झौता भएको छ । 'हामीले मानवीयतालाई ख्याल गरेर पर्वको अवधिका लागि भनेर तत्काल आवश्यक कुराहरु मात्र गर्न भनेका छौं, उनले भने, ‘पर्व सकिएपछि कुनै एस्क्युज हुदैन । किनभने पर्वको समय कामदारहरु पनि पाइदैन । घर गैसकेको अवस्था रहेछ । त्यसैले पर्वसम्मका लागि सम्झौता अनुसार काम गर्छु भन्ने प्रतिबद्धता छ । त्यसपछि पनि निर्माणकार्य भएन भने हामी फरक बाटो रोज्छौ ।’
पोखरा: पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगर स्तरीय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लब र अरण्यज्योती क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा कास्कीले राइजिङ्ग क्रिकेट क्लबलाई ७ विकेटले पराजित ग¥यो । टस जितेर व्याटिङ्ग गरेको राइजिङ्गले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४७ रन बनाएको थियो । राजइजिङ्गका अनिल गुरुङ्गले १८ रन जोेडे । कास्की क्रिकेटका बलरहरु नितेश गिरी र आदित्य थापाले समान ३ विकेट लिए । ४७ रनको लक्ष्य कास्कीले १३.२ ओभरमै भेट्यायो । कास्कीका विष्णु शर्माले १९ तथा शाहिल कुँवरले १३ रन बनाए । बलिङतर्फ ३ विकेट लिएका कास्कीका आदित्य थापा म्यान अफ द म्याच भए । उनलाई आयोजक समितिका सदस्य सचिव सुवास खड्काले पुरस्कृत गरे । अर्को खेलमा अरण्यज्योतीले पोखरा क्रिकेट क्लबलाई २ विकेटले पराजित ग¥यो । पहिला ब्याटिङ्ग गरेको पिसिसीले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । पिसिसीको तर्पmबाट मुस्कान थापाले ६० तथा अर्जुन बुढाथोकीले ३५ रन बनाए । अरण्यज्योतीका बलरहरु इर्साद आलमले ३ तथा सन्तोष सर्माले २ विकेट लिए । अरण्यज्योतीले १७.३ओभरमा ८ विकेट गुमाएर जित हाँसिल ग¥यो । अरण्यज्योतीको व्याटिङ्गमा म्यान अफ द म्याच अषेश न्यौपानेले ५१, दिवस गिरीले २२ तथा सन्तोष सर्माले १७ रन जोडे । पिसिसीका विजय रावतले ह्याट्रिक सहित ३ विकेट लिए । प्रमोद बास्तोलाले २ विकेट लिएका थिए ।
पोखरा: माछापोखरी खेलमैदानमा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । रग्वी खेलाडी यशोदा बोहोरा सहयोगार्थ एट टु नाइन गाइजले आयोजना गरेको प्रतियोगिताबाट आइतबार अन्तिम आठ टोलीको टुंगो लागेको छ । आइतबारको पहिलो खेलमा गन्नी एफसीले एनवाईसी एयरपोर्टलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा लामा गाउँले ए–सेभेन ब्रदर्शलाई ३–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक बनेको तेस्रो खेलमा भुजुङ फुटबल क्लबले नमस्ते फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमै रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको चौथो खेलमा कमलपोखरीले विवाईसी–३३ लाई सडनडेथमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा कमलपोखरीले ४–३ को जित हासिल गरेको हो पाँचौ खेलमा रामघाट गुम्बाले रन्जन मेमोरियललाई सडनडेथमा ३–२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ गोलको बराबरी भएपछि खेलको टुंगो सडनडेथबाट लागेको हो । छैटौं खेलमा बि–१३ ले सडनडेथमा भद्रकाली फुटबल क्लबलाई ५–४ गोलअन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथबाट खेलको टुंगो लागेको थियो । अन्तिम खेलमा माछापुच्छे« त्रिशक्ति युनाइटेडले गेमशालालाई २–० गोलले पाखा लगायो । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ६० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई तीन हजार रुपैयाँ र ट्रफी तथा उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई समान २÷२ हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिनेछ । असोज १७ देखी सुरु प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको छ । प्रतियोगिता २३ गते सम्पन्न हुने एट टु नाइनका अध्यक्ष लोक गुरुङले जानकारी दिए ।
पोखरा: कास्कीको माछापूच्छ्रे गाउँपालिका वडा नम्बर ९ ले वडा कार्यालयबाट प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको छ । मुक्तिनाथ बिकास बैंक हेम्जा शाखा र माछापूच्छ्रे गाँउपालिकाको समन्वयमा आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । उनले वडामा सामाजिक सुरक्षा भत्ता रकम लाभग्राही २ सय ८४ जना मध्ये १ सय ५० जनालाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए । ‘चाडपर्वलाई लक्षित गरि त्रैमासिक अगावै वितरण गरेको रकमले लाभग्राहिरु निकै उत्साहित हुनुहुन्छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘वडा कार्यालयबाट सुरक्षा भत्ता वितरण गर्दा ग्रामीण भेगका स्थानीयहरुलाई धेरै सहज भएको छ ।’ सरकारले प्रत्येक ३/३ महिना पूरा भए पछि चौथो महिनाको पहिलो हप्ता भित्र लाभग्राहिले पाउने गरि बैकले वितरण गर्दै आएको छ ।
पोखरा: कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्देश्य अनुरुप सञ्चालक समितिले सहकारी नहाँक्दा लाखौ उपभोक्ता ठगिएको बताएका छन् । मन्त्री जिसीले ब्याजको लोभ गर्दा सहकारी संस्थाहरु धारासायी बनेको समेत बताए । सुख र दुःखमा साथ दिनु पर्ने सहकारीले रातारात धनी हुने र धान्नै नसक्ने करोडौंको कारोबार गर्दा सहकारीबाट देशभर आम मानिसहरु पीडित बनेको बताए । कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखराको १६ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै कांग्रेस नेता एवं मन्त्री जिसीले खुल्ला वैठक र प्रजातन्त्रका आस्था राख्ने कर्मचारी मात्र सेयर सदस्य भएको सहकारी नमूना बन्नु पर्नेमा जोड दिए । सदस्य वृद्धि गरेर, पारदर्शी र जिम्मेवार बनेर, इमान्दारिताको पाठ सवैलाई सिकाएर कर्मचारी सहकारी सक्षम हुनेमा आफू विश्वस्त भएको बताए । सहकारीले सवैलाई पाठ सिकाउने र नीति, व्यवहार यस्तो हुनु पर्ने भन्दै नमुना सहकारी बनाउन मन्त्री जिसीले सुझाव दिए । सहकारीका अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा भएको सभामा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाँईले राम्रो गर्ने सहकारी मन्त्रालयको लिस्टमा परेको बताउँदै ऐन, नियम र विनियमलाई पूर्ण कार्यान्वयन गरे गण्डकी प्रदेशमा समस्या नआउने उल्लेख गरे । कार्यक्रममा कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी, नेपाली कांग्रेस गण्डकी प्रदेश कर्मचारी प्रशासन विभागका सचिव सुरेन्द्रप्रसाद अधिकारी, नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक दिपक रेग्मी, संघका केन्द्रीय सदस्य बद्री पौडेल, सहकारीका सचिव एवं नेपाल निजामति कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठले कर्मचारी सहकारी हरेक कोणबाट उत्तम रहेको बताएका थिए । सहकारीका सल्लाहकार संयोजक रामजीप्रसाद कोइराला, सहकारीका उपाध्यक्ष बद्री पौडेल, सहकारीका सञ्चालक सदस्य तथा कार्यक्रम सञ्चालक केदार सापकोटा, लेखा सुपरीवेक्षण समितिका संयोजक हेरम्ब शर्मा पौडेल लगायतले सहकारीको नीति, योजना तथा भावि कार्यक्रम बारे उल्लेख गरेका थिए । कर्मचारी बचत तथा ऋण सहकारीले विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ । सहकारीमा कार्यरत कर्मचारी मध्ये साधना ढुंगाना पुरस्कृत भएकी थिइन् । सहकारीले जेष्ठ नागरिक तर्फ शंकरप्रसाद कोइराला, सदस्य अभियान्तामा केदार धमला र अन्जना पोखरेल, सेयर सदस्य तर्फ टिकाराम बराल, शारदा सिग्देल, रचना गुरुङ, राजेन्द्रप्रसाद पौडेललाई मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको सहकारीका कार्यालय प्रमुख निरोज मल्लले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा उत्कृष्ठ कारोबार गर्ने शिव परियार र सुस्मिता कार्कीलाई, बचत कर्ताको तर्फबाट विष्णु गुरुङ र होमनाथ भण्डारीलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक शारदा गिरीले जानकारी दिइन् । यस्तै बाल बचतमा वत्सल पौडेलले पुरस्कार प्राप्त गरेका थिए भने शैक्षिक पुरस्कारमा संकल्प सिग्देल, अधिश ढकाल, मनाकामना गौतम,चन्द्रकाला बस्नेत, आशा कोइराला, आशिष सिग्देल, इजिता जोशी पुरस्कृत भएका थिए । ६ सय ९४ जना सेयर सदस्य रहेको कर्मचारी बचत तथा ऋण सहकारीमा २ करो ५६ लाख ५० हजार सेयर पुजी, ५ करोड ६१ लख ५१ हजार बचत, ७ करोड, ४७ लाख ७० हजार ऋण लगानी रहेको सहकारीले जनाएको छ । नेपाल निजामति कर्मचारी युनियन तथा सार्वजनिक सेवा कर्मचारी संघसंग आवद्ध कर्मचारीहरु सेयर सदस्य रहेको सहकारीले सामाजिक उत्तरदायित्वको विभिन्न कार्य गर्दै आएको छ ।
पोखरा: पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा जारी प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका खेल सकिएसंगै दोस्रो चरणका खेलहरु समेत सुरु भएका छन् । शनिबार भएको पहिलो खेलमा गन्नी फुटबल क्लबले आयोजक एट टु नाइनलाई २–० गोलअन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा नदीपुर एफसीले पसगाउँ समाजलाई ३–२ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा रामघाट गुम्बाले म्याग्दी फुटबल क्लबलाई २–० ले पाखा लगायो । चौथो खेलमा भुजुङले नेभरमिटलाई २–० ले हरायो । पाँचौ खेलमा विवाईसी ३३ ले लोटसलाई ३–० ले हराउन सफल भयो । छैटौं खेलमा भ्रदकालीले जेम्स फुटबल क्लबमाथि ४–० को फराकिलो जित हासिल ग¥यो । सातौं खेलमा कमलपोखरीले रामघाट गुम्बा बी लाई टाइब्रेकरमा २–१ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । शनिबारको अन्तिम खेलमा गेमशालाले रामघाट गुम्बा ए लाई २–० गोलअन्तरले हरायो । भोलिबाट प्रिक्वाटरफाइनलका खेल सुरु हुनेछन् । प्रतियोगिता खेलाडीलाई आर्थिक सहयोग गर्नका लागि गरिएको हो । रग्बी खेलाडी यशोदा बोहोरालाई अर्थिक सहयोग गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए । यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । प्रतियोगिताबाट बचत भएको रकम यशोदालाई प्रदान गरिने गुरुङले बताए । असोज १७ गतेदेखी सुरु भएको प्रतियोगिता २३ गते सम्पन्न हुनेछ । असोज १७ गते वर्षाको कारण खेल हुन नसकेपछि १८ गतेबाट सुरु भएको प्रतियोगिता व्यवस्थापक धनराज तामाङले जानकारी दिए । विजेताले नगद एक लाख रुपैयाँसंगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए । प्रतियोगिताको उपविजेताले ६० हजार रुपैयाँसंगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको थियो ।
पोखरा: हालै पोखरामा सम्पन्न नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन ऐतिहासिक र लोकतान्त्रिक ढंगले सम्पन्न भएको युवानेता रश्मी आचार्यले जनाएका छन् । अधिवेशन सम्पन्न गर्न प्रचारप्रसार उपसमितिको संयोजकको भूमिकामा रहेका आचार्यले अधिवेशन लोकतान्त्रिक विधिबाट सम्पन्न भएको भन्दै यसले अन्य पार्टीमा पनि प्रतिष्पर्धाको विकल्प नभएको सन्देश दिएको उल्लेख गरे । ‘एमालेमा आफ्ना मान्छेलाई पद बाँड्ने, टीका लगाइदिने भनेर जुन आलोचना गरिन्थ्यो, त्यसको जवाफ पनि हो हाम्रो अधिवेशन’ आचार्य भन्छन् ‘राजनीतिमा अवसर र प्रतिष्पर्धा दुबै हुनुपर्छ, मन र मत जित्नेले जिम्मेवारी पाउनुपर्छ ।’ यसअघि पार्टीको गण्डकी प्रदेश कमिटीमा उपसचिवको जिम्मेवारी सम्हालेका आचार्य स्वयं सचिवको उम्मेदवार थिए । निर्वाचनमा पराजय भोगेका आचार्यलाई पार्टीमा देखिएको गुटबन्दीबारे प्रश्न गर्दा उक्त विषयतर्फ प्रतिक्रिया दिन आवश्यक नरहेको टिप्पणी गरे । ‘अधिवेशनका दौरान कसैलाई सर्वसम्मत गराउँदा टीके र अलोकतान्त्रिक भनि आलोचना गरिन्थ्यो, चुनाव गर्दा पनि गुटबन्दी भनिन्छ । प्रत्येक आलोचकलाई जवाफ दिँदै बस्न सकिँदैन’ आचार्यले भने । अधिवेशन सभ्य, भव्य र ऐतिहासिकरुपमा सम्पन्न भएको भन्दै उनले आफुलाई दिएको जिम्मेवारी पुरा गरेको बताए । पार्टीका नेता खगराज अधिकारीको प्यानलमार्फत उम्मेदवारी दिएका आचार्यले पद क्षणिक हुने भन्दै आज जसले जिम्मेवारी पाए भोली कोही अर्काेले पाउने भन्दै सामान्यरुपमा लिइदिन आग्रह गरे । ‘पार्टी एक ढिक्का छ, हामी सबै एमाले हौं’ आचार्य भन्छन् ‘लोकतान्त्रि विधिमार्फत पदाधिकारी चयन भएका छन्’ अधिवेशनमा आचार्यले लमजुङका धनञ्जय दवाडीसँग प्रतिष्पर्धा गरेका थिए । मत परिणाम अनुसार दवाडीले ५ सय २० मत प्राप्त गर्दा आचार्यले ३ सय ६७ मत पाएका थिए । त्यस्तै, अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्माले लमजुङकै मायानाथ अधिकारीलाई १ सय ६६ मतले पराजित गरे । अधिकारीले ३ सय ६५ मत प्राप्त गरेका थिए ।
पोखरा: चाडपर्व नजिकिएपछि उपभोक्ता ठगिन सक्ने भन्दै पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाईमा बजार अनुगमन समितिले पोखरामा अनुगमनलाई तीव्रता दिएको छ । पोखराको सृजना चोक नजिक रहेको दाङ भ्याली फ्रेस हाउस र रत्नचोक नजिक रहेको निकी ट्रेडर्समा अनुगमन गरिएको होे । अनुगमन टोलीले अनगुमनको क्रममा केही म्याद गुज्रेका सामान पाइएपछि निकी ट्रेडर्सलाईसचेत गराएर छोडेको । म्याद नागेको मिति भेटिएको सगरमाथा चिल्ली सस १ बोत्तल नष्ट गरेको छ । दाङ भ्याली फ्रेस हाउसलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त फ्रेस हाउसमा खशी र कुखुराको मासु एकै स्थलमा राखेर व्यापार गरिएका पाइएको थियो । यसका साथै डि फ्रिजको तापक्रम नमिलाई राख्ने गरेको पाइनुका साथै सरसफाइमा दिन भनिएको छ । उक्त प्रेस हाउसलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३७ को घ अनुसार कसुरमा दफा ३९ को (क) अनुसार कारवाही गरिएको हो । पर्यटन, उद्योग, वाणिज्य तथा उपभोत्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण ढकालका अनुसार कागेजात सहित ३ दिन भित्र उपस्थित हुन फ्रेस हाउस सञ्चालकलाई निर्देशन दिइएको छ । मुल्य बढि तिर्नुपर्ने, बिल कमको लिनुपर्ने खाद्य उत्पादन कम्पनी र ठूला डिलरहरुले साना डिलर तथा खुद्रा विक्रेतालाई धेरै मूल्य लिएर कम रकमको बिल दिने गरेको पाइएको छ । व्यवसायीका अनुसार चिनी प्रति बोराको मुल्य ६ हजार देखि ६१०० रुपैयाँ सम्म लिएर ५२०० रुपैयाँको बिल दिने गरेको पाइएको हो । जसका कारण उपभोक्तालाई आफूहरुले महंगोमा चिनी बेच्नु परेको साना व्यवसायीले गुनासो गरेका छन् । निकी टेर्डसका सञ्चालक किरण कुमार जिसीले आफूहरुले किने अनुसारको बिल नपाउँदा धेरै मार्जिन राखेजस्तो देखिएको गुनासो गरे । ‘उत्पादक कम्पनी र ठूला होलसेल पसलेले लिनेभए यतिमा लिनुस बिल यतिको आउँछ भन्छन् ।’ उनले भने, ‘सबै व्यवसायी यसैको मारमा छौं । कसलाई के भन्नु, यहाँ धेरैजसो सामानको बिल थोरै लिएर पैसा धेरै तिर्नु परिरहेको छ ।’ किनेको मूल्यलाई समेत मध्येनजर गरेर २० प्रतिशत मात्र नाफा देखिनेगरी कारोबार गर्नुपरेको उनले सुनाए । उनले आफूले १२० रुपैयाँ प्रति किलो चिनी बेच्ने गरेको जानकारी दिए । तर, व्यवसायीलाई १२५ रुपैयाँ प्रतिकिलो चिनीको मूल्य लिनु पर्ने बाध्यता सुनाए । पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराका निर्देशक नारायण ढकालले जति मूल्य तिरेको हो त्यति नै बराबरको बिल लिनुपर्ने बताए । त्यसो नगरेको प्रमाणित भए कानून अनुसार कारबाही हुने समेत उनले जानकारी दिए । पर्यटन उद्योग बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराका निर्देशक ढकालको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि, खाद्य कार्यालय कास्कीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि, गुणस्तर तथा नाप तौल कार्यालयका प्रतिनिधि र संञ्चारकर्मीको सहभागिता थियो ।

