पोखरा: पोखरामा ३० जना सवार नगरबस दुर्घटना भएको छ । पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको नगरबस आज दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । ‘पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ब्याक हुँदा दुर्घटना भएको भन्ने छ’, सूचना अधिकारी पाठकले भने, ‘घाइतेको उद्धार भइसकेको छ, थप उपचारका लागि पोखरा ल्याइँदै छ, बसमा सवार ३० जना सवार थिए भन्ने बुझिएको छ ।’ बसमा सवार ३० जना मध्य ११ जना घाइते भएका छन्, घाइते तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना ३५ दिन भित्र हटाउन निर्देशन दिएको छ । महानगरले शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायी÷अस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो । पोखरा महानगरपालिका १८ अधेरी कुना हुँदै पोखरा २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना हटाउन निर्देशन दिएको हो । पोखरा महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार खोज्न सुरु गरेको थियो । सो क्रममा खोलाघर पर्ने क्षेत्रमा सीमांकन गर्दै स्तम्भ गाडेको थियो । प्राविधिकले गाडेको उक्त स्तम्भभित्र पर्ने सबै संरचना हटाउन महानगरले सूचना जारी गरेको हो । ‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने व्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।’ पोखरा महानगरले सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वमा साउन ३ गतेदेखि फिर्केखोलाको वास्तविक आकार खोज्न प्राविधिक खटाएको थियो । खटिएको टोलीले २ महिनापछि असोज ६ गते अध्ययन प्रतिवेदन तयार पारेर महानगरलाई बुझाएको थियो । प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलाघरमै बनेको पाइएको थियो । त्यसमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । खोलाघरनै मिचेर ९७ अस्थायी बनेका संरचनामध्ये दायाँतर्फ ५० र बायाँतर्फ ४७ संरचना बनको पाइएको प्रतिवेदनले देखाएको छ । ‘त्यसमध्ये कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ । फिर्केखोला मिचेर ३५ वटा व्यक्तिगत स्थायी संरचना बनेका छन् । जसमध्ये दायाँतर्फ १८ वटा र बायाँतर्फ १७ वटा रहेको प्रतिवेदनमा उल्लेख छ । फिर्केलाई व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा समावेश छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिका भित्रका पर्यटकीय पदमार्गहरु भ्रमण गरे बापत आन्तरिक तथा बाह्य पर्यटकबाट शुल्क उठाउने निर्णय गरेको छ । गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै पर्यटकीय पदमार्गहरुको भ्रमण गरे बापत आन्तरिक तथा बाह्य पर्यटकबाट रु १ सय र ५ सय शुल्क उठाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाका सुन्दर पर्यटकीय पदमार्गहरु भ्रमणमा पाल्नुहुने पदमार्गमा स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटका लागि ५ सय रुपैया शुल्क उठाउने निर्णय गाउँ कार्यपालिकाको बैठकले निर्णय भएको छ ।’ गाउँपालिकाले पर्यटकबाट उठाएको शुल्कबाट पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्ने, सूचना केन्द्र स्थापना गर्ने, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगाएतका काम गर्न शुल्क लिन लागेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व अध्यक्ष मोहन घलेको स्वागतमा बिहीबार एक कार्यक्रमको आयोजना गरेको छ । विगत केही वर्षदेखि जापानमा बस्दै आएका घलेलाई पोखरा आएको मौका पारेर मञ्च गण्डकीले स्वागत गरेको हो । पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष घलेले मञ्चले गरिरहेका गतिविधिको प्रशसा गरें । उनले मञ्च स्थापनादेखि आफ्नो कार्यकाल पुरा गर्दाका दिन स्मरण गरें । मञ्चले गरिरहेका कार्यक्रमका कारण यसको गरिमा बढ्दै गएको उनले बताए । मञ्चले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा यथाशक्य सहयोग गर्ने वाचा उनले गरें । ‘अवार्ड कार्यक्रम निरन्तर गर्नुपर्छ, बरु खर्चमा कटौती गरौं’ उनले भने । खेल पत्रकारको क्षमता अभिवृद्धिको लागि नेपालका विभिन्न ठाउँमा रहेका एकेडेमीहरुको अवलोकन भ्रमण गर्न नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष समेत रहेका घलेले सुझाए । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व सल्लाहकार सुदर्शन रन्जित, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य उमेश पुनले नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै आएका कार्यक्रम सहित आगामी योजनाको बारेमा समेत अवगत गराए । यसैबिच यहीं कार्तिक १५ गते पोखरामा आयोजना गरिने मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशनको तयारी समेत अन्तिम चरणमा पुगेको महासचिव पौडेलले जनाए । मञ्च गण्डकीमा खेलकुद बिटमा काम गर्ने पोखराका ७४ जना पत्रकार आवद्ध छन् ।
पोखरा: पोखरा महानगरपालिका–६ बैदाममा फेवातालको मध्यभागमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज आयोजित एक कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताउनुभयो । उहाँले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताउनुभयो । https://fb.watch/nVYf869eby/ विसं २०७२ को भूकम्पका कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समिति पुनःनिर्माण कार्य जुटेको हो । समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले मन्दिर निर्माणको लागि एक करोड ४५ लाख रुपैयाँ लाग्ने जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त हुनुको साथै प्रदेश, स्थानीय, सङ्घ सरकार र भक्तजनको सहयोगमा पुरानै स्वरुपमा कलात्मक ढाँचामा मन्दिर पुनः निर्माण गरिने कुँवरले बताउनुभयो । पोखराको प्रमुख पर्यटकीय धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको ठाउँमा पूजाआजा गरिँदै आइएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी त्यहाँ पुग्ने गर्छन । मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ । मूल मन्दिर एक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने योजनाका साथ समिति अगाडि बढेको जानकारी अध्यक्ष कुँवरले दिनुभयो । अहिले भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापनका लागि नौ करोड रुपैयाँको गुरुयोजनासमेत तयार गरिएको जानकारी तालबाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले दिनुभयो । चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनः निर्माणसँगै अन्य संरचना निर्माणका लागि नौ करोड रुपैयाँ छुट्याइएको र मन्दिर परिसरका सम्पूर्ण संरचना दुई वर्षभित्र नै सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार मूल मन्दिर एक वर्षभित्र र सभाहल, शौचालय, बगैँचा, होमस्थल, स्टोर कक्ष, पानीको फोहरा, ढुङ्गेधारा, डुङ्गाघाट गुरुयोजनामा छन् । मन्दिरको अस्तित्व सन् १६६७ देखि कायम रहिआएको पाइन्छ । कतै–कतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको छ । तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् । प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइने मात्र नभइ तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको बताइएको छ । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले २५ लाख र मन्दिर व्यवस्थापन समितिले एक करोड १५ लाख रुपैयाँ जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनः निर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले ६५ लाख रुपैयाँ रहेको र नपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ । फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित बसका चालक र सह–चालकसहित चार जनालाई प्रकाउ गरेको छ । पोखराबाट भैरहवा जान लागेको प्रदेश १–०१००१ ख ३४३९ बस चेकजाँच गर्ने क्रममा ड्राईभर बस्ने सिट अगाडी झोलामा लुकाई राखेको अबस्थामा लागूऔषध फेला परेपछि बस चालकसहित तीन सहचालकलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । प्रकाउ पर्नेमा बस चालक गोरखाको शहीद लखन गाउँपालिका ३ घर भई पोखरा १५ रामबहार बस्ने ३५ वर्षीय हिराबहादुर नेपाली, सहचालक स्याङ्जा घर भएका ३८ वर्षीय विशाल कार्की ,४५ वर्षीय टिकाराम पौडेल र म्याग्दी घर भएका ३७ वर्षीय दीपक परियारलाई बससहित नियन्त्रणमा लिएको हो । प्रहरीले बस चेकजाँच गर्ने क्रममा ड्राईभरको सिट अगाडी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध एमफेटामाईन (आईस) जस्तो देखिने ३७.५० ग्राम लागूऔषध फेला पारेपछि बससहित चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ । लागूऔषधसहित प्रकाउ परेका चार जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

