पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखाले तीन जनालाई ८ सय १२ चक्की नाइट्रोभ्याट लेखिएको लागू औषधसहित प्रकाउ गरेको हो । प्रहरीले पोखरा महानगरपालिका–८ आलुमाइला चोक स्थित सडकमा शंकास्पद अवस्थामा हिडिरहेका २३ वर्षीय जिवन बि.क.लाई चेकजाँच गर्ने क्रममा ५ चक्की नाइट्रोभ्याट लेखिएको लागू औषध बरामद गरेपछि अनुसन्धान गर्दै जाँदा प्रविण पौडेलको साथबाट ५०७ चक्की र कुशल विक्रम खाँण ठकुरीको साथबाट लागू औषध नाईट्रोभ्याट ३०० चक्की बरामद गरेको हो । प्रकाउ परेका तीन जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषधमुद्धामा दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
’पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले नागरिकको गुनासो र सुझाव संकलन गर्न क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको छ । कास्की प्रहरीले गएको शुक्रबारबाट नागरिकहरुले आफ्ना सुझाव तथा गुनासो राख्न पाउने गरी क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले क्युआर कोड स्क्यान नागरिक केन्द्रित रहेको जानकारी दिए । ‘कास्की प्रहरीले सञ्चालनमा ल्याएको क्यूआर कोड स्क्यान नागरिक केन्द्रित छ’, डिएसपी विकले भने, ‘प्रहरीको काम कारवाहीमा चिक्त नबुझेको खण्डमा नागरिकले क्यूआर कोड मार्फत गुनासो तथा सुझाव दिन सक्नेछन् ।’ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु विरुद्ध उजुरी कुनै गुनासो तथा सुझाव संकलनका लागि यो सिस्टम ल्याएको जनाएको छ । जनताले आफ्ना सुझाव तथा गुनासो सोझै प्रहरी कार्यालयहरूमा खुला रूपमा राख्न नसक्ने भएकाले क्युआर कोड स्क्यान विधिबाट घरमै बसी आफ्ना सुझाव तथा गुनासो राख्न यो सिस्टम ल्याएको डिएसपी विकले जानकारी दिए ।
यही मंसिर ९ गते पोखरामा ‘पोखरा इन्टरनेशनल माउन्टेन क्रस–कन्ट्री कम्पिटिशन’ हुने भएको छ । पोखरालाई अन्तर्राष्ट्रिय खेलकुदकारुपमा प्रचार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । प्रतियोगितामा सहभागीले दौड, साइक्लिङ् र डुंगा रेस गर्नेछन् । जसमध्ये समूह र व्यक्तिगत स्पर्धामा खेल विभाजन गरिएको छ । समूह स्पर्धातर्फ पहिलो हुने टिमले ३ लाख ६० हजार र व्यक्तिगततर्फ विजेताले १ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, स्पर्धामा दोस्रो, तेस्रो र चौथो र पाँचौलाई पनि नगद पुरस्कार राखिएको छ । व्यक्तिगतमा भने दशौं स्थानलाई पनि ९ हजार रुपैयाँ तोकिएको छ । विशेषतः नेपाल र चीनबीच खेल एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको प्रतियोगितामा चीनको यूनान प्रान्तबाट खेलाडी र अफिसियल गरी १ सय १४ जना पोखरा आउने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जनाए । उनीहरु ७ गते पोखरा विमानस्थलमा चार्टर्र्ड उडानमार्फत उत्रने उनले बताए । संयोजक पालिखेकाअनुसार प्रतियोगिता आयोजनार्थ १९ जना प्राविधिक यूनानबाट आउनेछन् । प्रतियोगितामा पुरस्कार राशी अनुमानित २० लाख रुपैयाँ हुने बताउँदै पालिखेले आयोजना खर्च करिब ८० लाख रुपैयाँ हुने जानकारी दिए । प्रतियोगिताको आयोजकमा नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् । यसैगरी, सहआयोजकमा युनान माउन्टेनरिङ् एण्ड आउटडोर स्पोर्टस् एशोसियशन, चीन र पोखरा होटल एशोसिएशन रहेको छ । प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद्लगायत चीनको कुन्मिङस्थित विभिन्न संस्थाले सहयोग गर्नेछन् । स्थानीयलाई समावेश गर्न ‘ह्याप्पी रन’को समेत आयोजना गरिएको प्रतियोगितामा ६ सय हाराहारीमा खेलाडी समावेश हुने आयोजकको अपेक्षा छ । प्रतियोगितालाई शक्तिवद्र्धक पेय ‘वार हर्स नेपाल’ले प्रायोजन गर्नेछ ।
गण्डकी: गत कात्तिकमा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र घुमेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोज महिनापछि कात्तिकमा सबैभन्दा बढी पर्यटकले ‘एक्याप’ घुमेका छन् । वैशाखमा ३१ हजार नौ सय ५१ र असोजमा २८ हजार सात सय पाँच पर्यटक त्यस क्षेत्रमा पुगेका थिए । सबैभन्दा कम साउनमा पाँच हजार चास सय एक पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेको ‘एक्याप’ प्रमुख डा कडरियाले बताए । गत वैशाखदेखि कात्तिकसम्ममा एक लाख २५ हजार पाँच सय ३४ पर्यटकले ‘एक्याप’को भ्रमण गरेका छन् । गत वर्ष सोही अवधिमा ९५ हजार नौ सय ११ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका थिए । अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा अहिले बढेको उनले बताए । “कोभिड–१९ महामारीताका सुस्ताएको अन्नपूर्ण क्षेत्रको पर्यटनले विस्तारै पुरानै लय पछ्याउँदै छ”, प्रमुख डा कडरियाले भने, “दोस्रो पर्यटकीय याम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आगमन अझ बढ्ने देखिन्छ ।” ‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक ‘एक्याप’ भित्रने गरेको उनले बताए । “आन्तरिक पर्यटकको सङ्ख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्ने पर्यटकको सङ्ख्या उल्लेख्य छ”, उनले भने, “नेपालीहरु घुम्न निस्कने मुख्य याम पनि यही हो, विशेष गरी युवामा घुम्ने क्रेज बढ्दो छ ।” अहिलेको मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको प्रमुख डा कडरियाले बताए । उनका अनुसार दसैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन् । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो । हालै नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्नुले पनि यस क्षेत्रको महत्व थप चुलिएको छ । त्यस बखत उहाँले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भूत रहेको बताएका थिए । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताए ।
पोखरा: पोखरा महानगरपालिका-२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ । दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको हो । घर भाडामा लिएर अपांगता मैत्री समाजले सञ्चालन गरेको आश्रम, बिक्री गर्न राखिएका सामग्री, लत्ताकपडा र नगदसमेत जलेर नष्ट भएको छ । करिब एक लाख रुपैयाँ नगद आधा जलेको अवस्थामा फेला परेको छ । दृष्टिविहीनहरुले विभिन्न ठाउँमा पुगेर कलम, अगरबत्ती, हर्पिक, कपुरलगायतका सामग्री बेचेर जम्मा गरेको करिब ८ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको बताइएको छ ।
पोखरा: पोखरा महानगरपालिका १ बगरमा सक्रिय रहेको भीमकाली क्लबले संस्कृति जोगाउने उद्देश्यसहित देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । भाइटीकाको पूर्वसन्ध्यामा ट्याक्सीचोकमा विभिन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गर्दै तेस्रो भीमकाली साँझ सम्पन्न गरेको हो । उक्त कार्यक्रमको उद्घाटन पोखरा महागरपालिका १ का वडाध्यक्ष शाहारा प्रधानले गरे । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले भीमकाली क्लब सक्रिय रहेको बताउदै अन्य क्लबले पनि अनुशरण गर्नुपर्ने धारणा राखे । उनले भीमकाली क्लबको कार्यले समाज रुपान्तरण गर्न भूमिका खेल्ने बताउदै आगामी दिनमा पनि रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । यस्तै कार्यक्रम संयोजक अनिश गुरुङले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि संस्कृति संरक्षणको उद्देश्यसहित सांस्कृति साँझको आयोजना गरिएको बताए । उनका अनुसार गुरुङ, मगर, थकाली, तामाङ, राई लगायतका समुदायमा प्रचलित नृत्यहरु सो कार्यक्रममा प्रस्तुत गरिएको थियो । ‘हामीले हरेक वर्ष भीमकाली साँझ आयोजना गर्छाैं, उनले भने, ‘यसको उद्देश्य भनेको विभिन्न जाति तथा समुदायको नृत्यहरुलाई उजागर गर्ने हो । यस कार्यक्रमले धेरै थोरै भएपनि संस्कृति संरक्षण गर्न सघाउ पुग्ने विश्वास छ ।’ उनका अनुसार भीमकाली क्लब सांस्कृतिक क्षेत्रमा मात्रै नभएर खेलकुद र सामाजिक क्षेत्रमा समेत सक्रिय रहदैं आएको छ ।
पोखराको चिप्लेढुंगाबाट अन्दाजी ४ वर्षिय सुजन मगरातीलाई प्रहरीले फेला पारेको छ । सुजनलाई भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनका आफन्तलाई सम्पर्क गर्न भन्दै आग्रह गरेको छ । पोखराको नयाँबजार घर बताउने सुजन आज दिउँसो साढे १२ बजे फेला परेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पब्लिक फोर के टेलिभिजनले भूकम्पपीडितलाइ राहत वितरण गरेको छ । रुकुमको आठविसकोट नगरपालिकाका भूकम्पपीडितलाई टेलिभिजनले राहत वितरण गरेको हो । शनिबार आठविसकोटका भूकम्पले प्रभावित १ सय परिवारलाई राहत वितरण गरेको टेलिभिजनका प्रबन्ध निर्देशन मन क्षेत्रीले बताए । १० लाख रुपैयाँ बराबरको राहत सामाग्री बाँडेको उनले जानकारी दिए । भूकम्पले घरबार गुमाएर राहत अतिआवश्यक परिवारलाई छनोट गरेर दिएको उनले जानकारी दिए । ‘तत्काललाई खान र बस्नमिल्ने खालको राहत वितरण गरेका छौं’, क्षेत्रीले भने । उनका अनुसार त्रिपाल ब्ल्यांकेट, पिफर्म, तन्नासँगै ३० केजी चामाल, दाल, चना, नुन, तेल, बेसार, मसला, साबुन लगायतका दैनिक उपभोग्य बस्तु राहत प्याकेजमा वितरण गरिएको हो । स्वास्थ्य सामाग्रीसमेत नगरपालिकालाई हस्तान्तरण गरिएको छ । राहत लिएर पुगेको टेलिभिजनको टोलीले केही गाउँमा नगरपालिकाको समन्वयमा राहत आफैं वितरण ग¥यो भने केही ठाउँका लागि नगरपालिकामार्फत हस्तान्तरण गरेको छ । टेलिभिजन सर्वसाधारणको सुखदुखको सारथी बन्ने उद्घोषका साथ सञ्चालन गरिएकाले भूकम्पपीडितलाई राहत वितरण गरेको अध्यक्ष सविन भट्टले बताए । उनले आगमी दिनमा पनि सामाजिक कार्यमा जोडिने बताए । आठबिसकोट नगरपालिका–१३ भल्मामा राहत वितरण गर्दै नगर प्रमुख रवि केसीले सञ्चार माध्यमले समाचार सम्प्रेषणसँगै भूकम्पपीडितको घाउमा मलम लगाउनुपर्ने बताए । ‘क्यामेरामा यहाँको दुख खिचेर देखाएर मात्रै हुदैन । मिडियाले पिडामा परेका नागरिकको घाउमा मलमपनि लगाउन सक्नुपर्छ । पब्लिक टिभीले राहतसमेत लिएर आएर प्रशसंनीय काम गरेको छ’, उनले भने । नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको नगर प्रमुख केसीको भनाइ छ । आठविसकोट १३, भल्माका गोपालजंग मल्लले सिंगो घर पुरिएको अवस्थामा प्याकेजसहित पाएको राहतले खुशी दिलाएको बताए । उनले अब अस्थायी बासको व्यवस्था आवश्यक रहेको सुनाए । ‘अहिलेलाई अस्थायी बासको व्यवस्था भए हुन्थ्यो । पछि त सरकारले पुननिर्माण गर्ला’, उनले भने । जाजरकोट केन्द्रविन्दु भइ गएको भूकम्पले आठविसकोटमा ४२ जनाको मृत्यु भएको छ । ८० जना घाइते भएका छन् । ४ हजार २७५ घरमा पूर्ण क्षति भएको प्रारम्भिक तथ्याङ्क छ । २ हजार ३३७ घरमा आंशिक क्षति भएको छ । भुकम्पबाट १ हजार ७११ घरमा सामान्य क्षति भएको छ । पब्लिक टेलिभिजनसँग राहत वितरणका लागि ह्वाइट पर्ल लाइट रिक्रुटमेन्ट प्राली, आकाश बन्जारा, टिएच कन्सल्टिङ सर्भिसेस ह्युमन रिर्सोसेज, सांगा बुदुकोन्स्टी प्लस डिओओले, संगीता रौनियार, सन्तोषि श्रेष्ठ (स्याङजा), विनोदकुमार श्रेष्ठ, पारु गुरुङ, सुजन गुरुङ, ढुवानी व्यवसायी महासंघ मोनिका ट्रान्सपोर्ट, दर्शन ट्रान्सपोर्ट, तिवारी गोरखा टे«डर्स पोखराका सञ्चालक पर्शुराम तिवारी, श्रीकृष्ण राइस मिल, टिकाराम पौडेल लगायतले सहकार्य गरेका छन् ।
पोखरा: सामाजिक सञ्जालमा सबैभन्दा बढी रुचाइएको टिकटकलाई अहिले व्यापारीले मार्केटिङको माध्यम बनाएका छन् । तिनै मध्येका एक पोखरेली व्यापारीले पनि तिहार पर्वको अवसर पारेर पटका खरिद गरेर टिकटक लाइभमा आएर मार्केटिक गरेका थिए । टिकटक लाइभमै उनले पटका खरिद विक्रीको मोलमोलाई गरेको एक प्रहरीका आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि कास्की प्रहरीले त्यसतर्फ अनुसन्धान गर्दै ति युवकलाई पटकासहित पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले बताए । ‘एकजना युवक टिकटक लाइभमा आएर पटका खरिद गरेर बिक्रीका लागि मार्केटिक गरिरहेको सूचना कास्की प्रहरीलाई आयो’, डीएसपी विकले भने, ‘कास्कीमा तिहारमा भित्रिएका १८ थरीका पटका बरामद गरेर नष्ट गरेका छौं, चाडपर्व सुरक्षा योजना अनुसार पटका लगायत जुवतास, खोरखोरे सञ्चालन गर्नेलाई नियन्त्रण निमयन गर्न लागि रहेका छौं ।’ उनले हालसम्म तिहारको संघारमा १८ थरीका करिब २ लाख बढीको पटका बरामद गरेर नष्ट गरिएको बताए । उनका अनुसार जफत हुनेहरुमा प्याङ्गुइन कोब्रा खुर्सानी बम ७२ वटा, रकेट बम २० वटा, खुर्सानी बम ४७ वटा, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम ३ प्याकेट, सोलीबम ५ वटा, रकेट बम ४ वटा, झिरझिरे पटका ८० प्याकेट, एटम बम १४ पिस, डबल बम १० पिस, गमला बम १७ पिस, चक्र बम २५ पिस, खुर्सानी बम ९८ सेट, सानो पटका ६, ठुलो पटका १२ र चकरी ५० थान, अवर १० थान र लसुन बम १५ थान रहेको छ । कास्की प्रहरीले कास्कीको विभिन्न स्थानबाट पटका बरामद गरेपनि कति जनालाई नियन्त्रणमा लिएको छ त्यो भने खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले पोखराको विभिन्न स्थानबाट १८ थरीका पटका बरामद गरेको पुष्टी गरे । ‘यो पटका एकै स्थानबाट बरामद गरेको होइन, विभिन्न स्थानबाट बरामद भएको पटका हो, प्रहरी उपरीक्षक थापाले भने, ‘थोरै थोरै संख्यामा पटका बरामद गरेका छौं, पटकासँग विभिन्न व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएका छौं, मुद्धा चलाउने नि नचलाउने छलफलकै चरणमा छौं ।’ यस्तै कास्की प्रहरीले विभिन्न स्थानबाट ५६ सेट खोरखोरेका ३ सय ५ वटा गोटी बरामद गरेर नष्ट गरेको छ ।

