काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

  कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको गाउँ पिलरीफाँटाका हरपाल चौधरीले तीन वर्षदेखि बर्खे बाली भित्र्याउन पाउनुभएको छैन । जङ्गली जनावरले खेतबारीमा पसेर धान, मकैलगायतको बाली खाइदिन थालेपछि परिवार पाल्न अन्यत्र मजदुरी गर्न जानुपरेको छ ।   वन संरक्षणमा जोड दिइएपछि बिरलै देखिने वन्यजन्तु हाल खेतवारीमा देखिन थालेका छन् । एक विघा जग्गामा लगाएको धानबाली जङ्गली हात्तीले भित्र्याउन नदिने गरेको चौधरीले बताउनुभयो । “हिउँद्मा सुँगुरले खेतबारीमा बसेर गहुँबालीमा क्षति पुर्याउँछ”, उहाँले भन्नुभयो, “वर्षात्का बेला हात्तीको बथानले खेतमा रोपेको धान सखाप पार्छ ।’’ पहिला वर्षभरि पुग्ने अन्नले अहिले दुई महिना पनि खान नपुग्ने गरेको उहाँको गुनासो छ ।    जङ्गली जनावर भगाउन रातभरि खेतमै जाग्राम बस्ने गरेको सोही ठाउँका वीरसिंह धामीले बताउनुहुन्छ । “हात्तीको बथान साँझ नपर्दै खेतमा पुग्ने गर्दछ, पेटभरि खाएर मात्रै फर्कने गर्दछ” उहाँले भन्नुहुन्छ, “भगाउँदा उल्टै आक्रमण गर्न आउने भएकाले कुन दिन ज्यान ज्याने हो ठेगान छैन, फलेको धान हात्तीले खाएर नोक्सान पु¥याउँदा टुलुटुलु हेर्नु बाहेक अर्को विकल्प छैन ।” एक साताअघि स्थानीय एक बालिकाको हात्तीले ज्यानै लिएको थियो । ‘‘पहिला पटका पड्काउँदा, आगो देखाउँदा, टिन ठटाउँदा हात्ती भाग्थ्योे” धामीले भन्नुभयो, “अहिले त जुनसुकै उपाय गर्दा पनि हात्ती भरपेट खाएर नअघाएसम्म फर्किन मान्दैन ।”   साँझ खेतमा छिरेको हात्तीको बथान धान बाली खाएर बिहानीपख मात्रै सामुदायिक वन क्षेत्रमा फर्कने गरेको छ । स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रमा डेढ दर्जन हात्तीको सङ्ख्या रहेको छ । हात्तीलगायतका अन्य जनावर भगाउन बस्ती नजिकका क्षेत्रमा स्वचालित सेन्सरयुक्त बत्ती जडान गर्न लागिएको वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । “केही सामुदायिक वनहरुले बत्ती जडानमा सहयोग गरिरहेका छन्” उहाँले भन्नुभयो, “केही वडाबाट बत्तीको व्यवस्था मिलाउन लागेका छौं, हात्ती बस्तीमा छिरेमा सर्वसाधारणलाई सचेत रहनका लागि खबरदारी गर्न पूर्व सूचना प्रणाली जडान समेत गरिएको छ ।”   ठाउँठाउँमा सिसिटिभी जडान गरेर हात्तीको निगरानी गर्ने कार्य समेत हुँदै आएको छ । हात्ती भगाउन स्थानीय बासिन्दा खेतवारीमा खटिने भएकाले मानवीय क्षति हुन नदिन सचेतनाका कार्यक्रम सञ्चालन भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको बथानले तीन साताको अवधिमै वडा नं ८ का २५ भन्दा बढी किसानको ३० विघा धान खेतीमा नोक्सानी पुर्याइसकेको छ । तीन विघा मकैमा पनि नोक्सानी गरेको छ । बाल विकास भवन, स्यालो टयुवेल, सामुदायिक वनको कार्यालयको भवनमा पनि हात्तीले क्षति पुर्याएको वडाध्यक्ष महराले बताउनुभयो ।    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै नजिकका सामुदायिक वन आसपासका गाउँमा हात्तीको बथानले बढी क्षति पुर्याउँदै आएको छ । शुक्लाफाँटा नगरपालिका–७ र ८ का किसानको खेतबारीमा बढी नोक्सानी गरेको छ । हात्तीले कुल्चन बाँकी रहेको धानबाली सुँगुरको हुल आएर खाएर जाने गरेको छ । वर्षात् सकिएपछि हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रअन्र्तगतको नगरपालिकाको वडा नं १ देखि ६ सम्म वितण्डा निम्त्याउने गरेको छ ।   धान काट्ने बेला यी वडाहरुमा हात्तीको बथानले धानबाली खाने मात्र होइन, घरभित्र राखेको धानसमेत पर्खाल भत्काएर खाने गरेको  छ । त्यसपछि हात्तीको बथान पुरानै बासस्थान भारतीय दुधुवा नेशनल पार्कतर्फ फर्कने गर्दछ । गहुँबाली पाक्नै लागेका बेला पुनः दुधुवाबाट फर्केर नोक्सानी गर्दै आएको स्थानीय नरेन्द्रप्रसाद चौधरी बताउनुहुन्छ ।   तीन वर्षको अवधिमा हात्तीको आक्रमणबाट कञ्चनपुरमा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन । जङ्गली सुगुँरको आक्रमणबाट दुई वर्षको अवधिमा आठ जना घाइते भएका छन् ।   निकुञ्ज नजिकैको गाउँ सिमलफाँटा धनबहादुर चौधरी भने हात्ती भन्दा बढी निलगाई र चितलको बथानले खेतमा रोपेको धान बाली र गहुँबाली खाएर नोक्सानी पु¥याउने गरेको बताउनुहुन्छ । “गहुँ टुसाउन नपाउँदै जङ्गली जनावरले सखाप पार्छन्” उहाँले भन्नुभयो, “खेतवारीभित्रै सुगुँरले घोल बनाई बस्ने गर्दछन्, खेतमा लगाएको आधा अन्न पनि घरभित्र भित्र्याउन पाइँदैन ।” खेती गर्दा लगानी गरेको रकम समेत नउठ्ने गरेको उहाँको भनाइ छ ।    यसैगरी भारतीय वन क्षेत्र हुँदै नेपाली बस्तीमा छिर्ने हात्तीले दोधारा चाँदनी नगरपालिकाको वडुवाल टोलमा समेत किसानको बालीनालीमा नोक्सानी पु¥याउने गरेको स्थानीय किसानहरु बताउँछन् । केही महिनाअघि मात्रै शुक्लाफाँटा नगरपालिका –१ र २१ मा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका बाख्रा र घरमा पालेका कुकुर खाएर हैरानीमा पारेको थियो । निकुञ्ज क्षेत्रबाट नजिकका जानकी, लक्ष्मी, जनज्योति मध्यवर्ती सामुदायिक वनभित्र बस्ने गरेको चितुवाले नोक्सानी पुर्याउन थालेपछि स्थानीय बासिन्दाले चितुवालाई निकुञ्जमै भगाएका थिए ।    वन क्षेत्र नजिकै घर भएकाले कुन बेला कस्तो किसिमको वन्यजन्तुले आक्रमण गर्ने हो भन्ने चिन्ताले स्थानीयवासी सधैँ त्रसित बन्ने गरेका छन् । गत वर्ष वन क्षेत्र नजिकै दाउरा खोज्न गएका बासिन्दालाई गैंडाले आक्रमण गरी घाइते बनाएको थियो ।   हात्ती र सुगुँरले घर बस्तीमै पुगेर नोक्सान पुर्याउने र मानवीय क्षति गर्ने भए पनि अन्य जनावरसँगको मानवको द्वन्द्व भने वन क्षेत्रमै हुने गरेको छ । घाँस, दाउरा गर्न गएका बेला चितुवा, गैंडा, बाघलगायतका जनावरले आक्रमण गर्ने गरेको छ ।    जनसङख्या वृद्धिसँगै मानवीय आवश्यकता बढ्दै जाँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुको वासस्थान विनास, खानेकुराको अभाव र वन अतिक्रमण गर्ने क्रम बढ्दो रुपमा हुँदा वन्यजन्तु मानव बस्तीतर्फ जाने गरेको छ । वन्यजन्तु ओहरदोहर गर्ने जैविक मार्गमा मानव बस्ती बस्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व झन् बढ्न गएको वन संरक्षणको क्षेत्रमा क्रियाशील कालुराम डगौरा बताउनुहुन्छ । उहाँका अनुसार लालझाडी संरक्षण क्षेत्रभित्र पर्ने डोकेबजारको बसोवासले गर्दा भारतसँगको दुधुवा नेशल पार्कसँगको जैविक मार्ग टुटेको छ । ‘‘यस क्षेत्रमा बसोवास गर्ने बासिन्दालाई उचित व्यवस्थापन गरी अन्यत्र अन्तर्राष्ट्रियस्तरको जैविक मार्ग कायम गर्न सकिए नेपाल–भारतका वन्यजन्तुहरु स्वतन्त्र रुपमा हिंडडुल गर्न सक्ने थिए’’, उहाँ भन्नुहुन्छ ।   जैविक मार्ग टुटेकै कारण हात्तीलगायतका जनावरले मानव बस्तीमा पुगेर बालीनाली सखाप पार्ने, घर भत्काउने र मानवीय क्षति गर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताउनुभयो । “हात्ती भगाउन र जनधनको क्षति न्यूनीकरणका लागि नवीनतम् प्रविधि के हुन सक्छ भन्ने बारे स्थानीय प्रशासनसँग छलफल भइरहेको छ’’, उहाँले भन्नुभयो । तत्कालका लागि हात्ती नियन्त्रण गर्न पट्का पडकाउने, पूर्व सूचना प्रणालीलाई सक्रिय पार्ने कार्य गरिएको उहाँले बताउनुभयो ।    डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले वन क्षेत्र घना हुँदा वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । वन क्षेत्र संरक्षणमा टेवा पुगेपछि वन क्षेत्र नजिकका बस्तीका बासिन्दाले हात्ती र सुगुँरको समस्या झेल्नु परेको उहाँको भनाइ छ । “वासस्थानमा खलल पुगेपछि वन्यजन्तु बस्तीतर्फ सोझिन थालेका हुन्, निकुञ्ज नै अतिक्रमण गरेर बस्ती बसेको छ, विभिन्न बहानामा वन क्षेत्र मास्ने क्रम जारी छ, वन क्षेत्रमा बन्ने संरचना वन्यजन्तुमैत्री नहुँदा समेत समस्या छ” उहाँले भन्नुभयो । हात्तीबारे पूर्वसूचना दिनका लागि बेदकोट, शुक्लाफाँटा, लालझाडी र कृष्णपुरमा साइरन उपलब्ध गराइएको छ ।    जङ्गली हात्तीलगायतका बन्यजन्तु नियन्त्रणका लागि दुई वर्षअघि सुदूरपश्चिम प्रदेशको लगानीमा बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका केही क्षेत्रमा मेसवायर जडानको कार्य समेत गरिएको छ । केही सामुदायिक वनले समेत बस्ती नजिकका क्षेत्रमा मेसवायर जडान गरेका छन् । मेसवायर जडान भएपछि सुँगुर, चित्तल, निलगाईलगायतका जनावर खेतवारीमा आउने क्रम रोकिए पनि हात्तीको आउने क्रम भने रोकिएको छैन । “रुखका हाँगालाई हात्तीले मेसवायर जडान गरेको क्षेत्रमा तेर्सो गरेर राख्ने र खुट्टाले कुल्चेर ढलाउने गरेको छ” वातावरण सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशीले भन्नुभयो, “मेसवायर ढलेपछि हात्ती बस्तीमा सहजै प्रवेश गर्दछ, केही वर्ष अघि मेसवारयर जडान भएपछि हात्ती बस्ती पसेको थिएन, अहिले हात्तीले नयाँ जुक्ति लगाएर मेसवायर ढलाएर बस्ती प्रवेश गर्न सिकेको छ ।”   हात्ती लगायतका जङगली जनावरबाट बाली नाली जोगाउनका लागि वन क्षेत्र नजिकका बासिन्दाले वन्यजन्तुले मन नपराउने, नखाने बाली र जडीबुटीको खेती गर्नु पर्ने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अबस्थीले बताउनुभयो । “वन्यजन्तु प्रभावित क्षेत्रमा माछापालन, मौरीपालन लगायतका बैकल्पिक खेती गर्न सकिन्छ” उहाँले भन्नुभयो, “यसबाट किसानले नोक्सानी व्यहोर्नु पर्दैन ।” जनावरका आनिबानी बारे जानकारी भए मानवीय क्षतिलाई न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ । कञ्चनपुरका ७० प्रतिशत बस्तीहरु वन क्षेत्रका वरिपरि नै रहेका छन् ।    वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुले वस्तीमा प्रवेश गरी स्थानीय जनताको जीउ धनको क्षति पुर्याउने कार्य गरे सामान्य घाइतेको प्रकृति हेरी बढीमा रु १० हजार, सख्त घाइतेका लागि  बढीमा रु एक लाख, मृत्यु भएमा आश्रितका परिवारलाई रु पाँच लाखसम्म राहत रकम दिने प्रावधान रहेको छ । पशुधन क्षति भएमा भैंसी वा जोत्ने गोरुको मृृत्यु भएमा रु ३० हजारसम्म र अन्य पशुको हकमा बढीमा रु १० हजारसम्म राहत दिने प्रावधान रहेको छ । कञ्चनपुरमा कुल वन क्षेत्र ७८ हजार ७९७  हेक्टरमध्ये ४० प्रतिश अर्थात ३० हजार ५०० हेक्टर क्षेत्र वन निकुञ्जले ओगटेको छ । डिभिजन वन कार्यालयअन्र्तगत ४७ हजार २६२ हेक्टर (६० प्रतिशत) वन क्षेत्र संरक्षण गर्ने जिम्मा छ । 

  चितवन । जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास बनाएको जनाइएको छ ।   जिल्लामा ७० हजार मेट्रिक टन वार्षिक केरा उत्पादन हुँदै आएको सङ्घले जनाएको छ । भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी चरणबद्ध आन्दोलन गर्ने सङ्घले जनाएको हो । सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको भए पनि विभिन्न नाकाबाट बिना एलसी भारतीय केराहरु अवैधरूपमा नेपाल भित्रिने गरेको पाइएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । विज्ञप्तिमा भनिएको छ, “यो समस्या समाधान हुन नसके व्यवसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्ने छन् ।”   चाडपर्वको समयमा नेपालको उत्पादनले बजार मूल्य नपाउनाले यहाँका कृषक अप्ठ्यारोमा परेको कृषकहरूले बताएका छन् । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले भारतीय आयात रोक्न नसके जिल्लाको उत्पादन त्यसै फाल्नुपर्ने बताउनुभयो। नेपालमा छठपर्वसम्मलाई पुग्ने केरा उत्पादन भएको भन्दै उहाँले देशभरबाट भारतीय केरा आयात विरुद्धमा आन्दोलनको तयारी भएको बताउनुभयो ।नेपालमा उत्पादित केराले बजार नपाउने अवस्थामा कृषक आन्दोलित बन्नुपरेको महासङ्घले जनाएको छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ ।

  विराटनगर । प्रदेश नं १ लाई आज साक्षर प्रदेश घोषणा गरिएको छ । उक्त प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो  घोषणा गर्नुभएको हो । उहाँले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भई भूमिका निर्वाह गर्नुपर्नमा जोड दिनुभयोे ।    प्रदेशका सामाजिक विकासमन्त्री राजन राईले मुलुकको समृद्धिका लागि व्यावसायिक, गुणस्तरीय र व्यवहारिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृभूमि र मातृभाषाप्रति समर्पित रहन विद्यार्थीलाई आग्रह गर्नुभयो ।   खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले मुलुकका लागि अबको शिक्षा जागिरे मात्र होइन, व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो । सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फेले प्रदेशलाई साक्षर घोषणा गर्न सबैको सहयोग प्राप्त भएको बताउँदै मातृभाषाको विकासका लागि गर्ने धारणा व्यक्त गर्नुभयोे ।   सामाजिक विकास समितिका सभापति सरिता थापा खड्का, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, प्रदेश नं १ का प्रमुख सचिव  विनोदप्रकाश सिंह, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, जिल्ला समन्वय समिति पाँचथरका रामराज आङदम्वेलगायतले शिक्षा मुलुकको समृद्धिको महत्वपूर्ण मेरुदण्ड रहेको र मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा सर्वसुलभ गराउनुपर्नेमा सुझाव दिनुभयो ।   युनेस्कोले तोकेको १२ वटा मापदण्डलाई आधार बनाई प्रदेशलाई साक्षर घोषणा गरिएको थियो ।      प्रदेशका १४ जिल्लामा रहेका एक सय ३७ पालिकामा १५ देखि ६० वर्ष उमेर समूहमा ९६ दशमलव ७४ प्रतिशत साक्षर  छन् ।    यसअघि साक्षर घोषणको अवसरमा स्थानीय आदर्श माध्यमिक विद्यालयबाट निस्केको प्रभातफेरीले नगर परिक्रममा गरेको थियो । प्रभातफेरीमा सामाजिक विकासमन्त्री राई, राज्यमन्त्री तुम्वाहाम्फे, प्रदेशका प्रमुख सचिव सिंह, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायत निजामती कर्मचारी, प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए ।

  काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।   लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।   अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।   लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

   काठमाडौँ ।  ‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ ।    संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिनुहुँदै साक्षरता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।    दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्नको मापनसहितको प्रतिवेदन आज सार्वजनिक गर्दैछ ।

कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता की उता, बागलुङभन्दा टाढा पर्छ हो ?, जस्ता सवालले हैरानै भएर केहीलाई त घर बागलुङ हो, भनिदिन्थेँ”, तर अहिले पर्वत नचिन्ने कमै छन् । साहसिक पर्यटनको लागि पर्वत गतिलो गन्तव्य बनेको छ ।” जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्वीङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ ।    “पर्वत र बागलुङलाई जोडेर बन्जी निर्माण गरिए पनि यसको बढी फाइदा पर्वतलाई नै भएको छ ।”, कुश्माका दिनेश तिवारीले भन्नुभयो, “यहाँका होटल तथा रेष्टुराँ व्यवसाय फस्टाएका छन् भने गुमनाम पर्वतलाई सबैले चिन्न थालेका छन् ।” बन्जी र स्वीङका लागि बनाइएको झोलुङ्गे पुल तरेर कुश्मादेखि पारी बागलुङमा बनेको रिसोर्टमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । रु पाँच सयको टिकट काटे पछि मात्रै पुलको बाटो रिसोर्ट परिसरमा पुग्न सकिन्छ । त्यहाँ गुलेली पिङ, स्काइचियर, साइकिलिङ, स्काइक्याफेलगायत खेलको मज्जा लिन सकिन्छ । प्रत्येक खेलको चाहिँ बेग्लाबेग्लै पैसा तिनुपर्ने हुन्छ ।    “हिजो पोखरा बसेर बिहानै कुश्मा आइकन बन्जी पनि गरिसक्यौँ ।” रिसोर्ट परिसरमा तस्बिर खिच्नमा व्यस्त धादिङका सुसन तामाङले भन्नुभयो, “बागलुङ दर्शन गरेर आजै धादिङ फर्कन्छौँ ।” धादिङका सुसन तामाङजस्तै अन्य पर्यटक पनि बन्जीमै मस्त देखिन्थे । “कुश्माको नजिकमा थुप्रै प्राकृतिक तथा धार्मिक महत्वका आकर्षक गन्तव्य छन् ।” सञ्चारकर्मी अगन्धर तिवारीले भन्नुभयो, “स्थानीय सरकारको उदासिनता र उचित प्रचारप्रसार नहुँदा बन्जी आइपुग्ने पर्यटक त्यहाँ सम्मपुग्न सकेको देखिँदैन ।”   दुर्लुङकोट  कुश्मादेखि दुर्लुङ गाउँपुग्ने बाटो पहिलेजस्तो अप्ठ्यारो छैन । हरियाली वनभित्रको नागबेली कालोपत्रे सडक हुँदै १५ मिनेट यात्रा गरेपछि सुन्दर गाउँ, दुर्लुङ पुग्न सकिन्छ । गाउँ उक्लँदै गर्दा वरैबाटडाँडाको टुप्पोमा अवस्थित दुर्लुङकोट भूमे मन्दिर पुगिन्छ । बाइसे, चौबिसे राजाको पालादेखिनै महत्वपूर्ण मानिएको दुर्लुङकोट भूमे मन्दिरमा पुगी पूजाआजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।    “हरेक वर्ष बडादसैँ, चैते दसैँ र उभौलीमा पूजाआजादेखि बलि दिने गरिएको छ ।” दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सदस्य प्रितम गुरुङले भन्नुभयो, “धार्मिक तथा ऐतिहासिक महत्वको यो ठाउँ प्राकृतिक दृष्टिले समेत अर्थपूर्ण  छ ।”   उहाँले भन्नुभयो, “दुर्लुङकोटबाट म्याग्दी, बागलुङ, कास्की, पाल्पा, स्याङ्जा र पर्वतलाई एकै पटक नियाल्न सकिन्छ । यहाँबाट धौलागिरि, धौलाशिरि, माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृङ्खला पनि देख्न सकिन्छ ।” केही वर्षदेखि दुर्लुङ पुग्ने पर्यटकलाई लक्षित गरेर होमस्टे पनि सञ्चालनमा ल्याइएको छ । होमस्टेमा पुग्ने पर्यटकले गाउँको कला, संस्कृति र खानपानको पनि मज्जा लिन सक्नेछन् ।    मोदीबेनी दिब्यधाम दामोदर कुण्डबाट अविरल बग्दै आएको कालीगण्डकी नदी र माछापुच्छ«े हिमशृङखलाबाट बगेर आएको मोदिनदीको सङ्गमस्थलमा भगवान नृसिंहको पुरानो मन्दिर छ । विसं १८९० मा निर्मित यस मन्दिर क्षेत्रलाई मोदीबेनी दिब्यधाम भनेर पनि चिनिन्छ । कालीगण्डकीमा मात्र पाइने शालीग्रामलाई नृसिंह भगवान्को अवतारका रुपमा पूजाआजा गरिँदै आइएको छ ।   गङ्गा स्नान गरेपछि पवित्र भइने मान्यताका कारण मोदी र कालीनदीमा स्नानका लागि तीर्थाल आउने गर्छन् । “दाहासंस्कारका लागि पनि मोदीबेनीदिब्य धाम उत्तम मानिन्छ ”, नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवदास बैरागीले भन्नुभयो, “पहिले भारतबाट आउने धेरै तीर्थालरु यहाँ आइपुग्थे तर हिजोआज त्यो सङ्ख्या ज्यादै कम छ ।”    यातायातको सहज पहुँच नहुँदा भारतबाट मुक्तिनाथ र दामोदरकुण्ड हिँडेका तीर्थालु यहाँ एक दिन बास बसेर भोलिपल्ट बिहानै यात्रामा निस्कन्थे । यहाँ एक सय आठ तुलसीको बोट, गणेश मन्दिर, शिवमन्दिर, हनुमान मन्दिरलगायतका संरचना निर्माण गरिएको छ । कुश्मा–मुडिकुवा पुल छेउको बाटोदेखि दश मिनेटमा नै मोदीबेनी दिब्यधाम पुग्न सकिन्छ ।    गुप्तेश्वर गुफा बन्जीस्थलबाट मात्र पाँच मिनेटमा गुप्तेश्वर गुफा पुग्न सकिन्छ । यो गुफा डेढ किलोमिटरभन्दा बढी लामो र सात तला भएको अलौकिक गुफा हो । “धेरै गुफा ओरालो मुखतर्फ फर्किएर बनेका हुन्छन्, तर गुप्तेश्वर गुफा ओरालो नभइ उकालो मुख फर्किएको छ ।” गुप्तेश्वर धार्मिक पर्यटन प्रवद्र्धन संस्थाको अध्यक्ष पृथवीनारायण शर्माले भन्नुभयो, “शिवपार्वतीको मिलन भएको ठाउँका कारण पनि यस गुफाको महत्व विशेष छ ।”    यस गुफामा बालाचतुर्दशी, महाशिवरात्रि, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सङ्क्रान्तिलगायतका चाडपर्वमा विशेष मेला लाग्छ । गुफाभित्र भगवान् शिवका दसौँ पाउँ, विभिन्न देवीदेउताका मूर्ति, शिवलिङ्ग शिवपञ्चाङ्ग, नाग र पाँच पाण्डवका मूर्ति देख्न सकिन्छ । गुफाको महत्वलाई प्रचारप्रसार गर्दै उल्लेख्य पर्यटक भित्र्याउने उद्देश्यले १५ रोपनी जग्गामा ७८ फिट अग्लो शिवपार्वतीको मूर्ति, सिसमहल र मन्दिर निर्माण भइरहेको छ ।    अल्पेश्वर गुफा पहिलो नेपालकै अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलबाट पाँच मिनेटको दूरीमा जङ्गलको बीचमा अल्पेश्वर गुफा अवस्थित छ । बजारबाट एकान्त मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ । फराकिलो क्षेत्रफलमा रहेका हरियाली वनभित्र चराचुरङ्गीको चिरबिरले मनलाई आनन्दित बनाउने गर्छ । विसं २०६४ मा कटुवा चौपारीका केही युवाले गुफा पत्ता लगाएका थिए । गुफाको मुख्य प्रवेशद्वार कटुवा चौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदीखोलामा निस्कन सकिन्छ ।    तीन तला रहेको गुफाभित्र प्राकृतिक तालतलैया र छहरा  छन् । एडभेन्चर मन पराउनेका लागि यस गुफा उत्कृष्ट गन्तव्य भएको अल्पेश्वर गुफा पर्यटकीय केन्द्र पर्वतका पूर्व अध्यक्ष नारायण अधिकारीको भनाइ छ । उहाँका अनुसार यस गुफामा विभिन्न प्रजातिका २० हजारभन्दा बढी चमेरा बस्छन् । “सदरमुकामबाट नजिकमा भएर पनि ओझेलमा परेको छ ।”, उहाँले भन्नुभयो, “चुन ढुङ्गाबाट बनेका ३३ कोटी देवीदेउताको मूर्ति जताततै देख्न सकिन्छ । कम्तीमा दुई घण्टा यहाँभित्र मज्जाले भुल्न सकिन्छ ।”    सहस्रधारा  सहस्रधारा पुग्न कुश्माबाट यातायातको साधनमा जम्मा १५ मिनेट लाग्छ । बाह्रै महिना पहाडबाट खस्ने झरना हेर्न र नजिकै रहेको लक्ष्मीनारायणको मन्दिरमा पूजा गर्न केही पर्यटक आउने गरेका छन् । तर यसको प्रचारप्रसार नहुँदा पर्यटकीय सम्भावना भएर पनि ओझेलमै परेको छ । कालन्जर पहाडमा शिवजी बस्ने, पार्वती गुप्तेश्वर गुफामा तपस्या बस्ने र सहस्रधारामा स्नानका लागि जाने गरेको किम्वन्दती छ । यसलाई शिव र पार्वतीको क्रिडास्थलको रुपमा लिने गरिएको छ ।   धार्मिक क्षेत्र कालन्जर पर्वतबाट बग्दै आएको पानीको छहरा सहस्रधारामा आएर झरनाको रुप लिएको स्थानीय बताउँछन् । केही वर्ष अघि स्थानीयस्तरबाट सह्रसधारा दिब्यधामलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्ने सोचले महायज्ञको आयोजना गरिएको थियो ।   सङ्कलित रकमले एक सय आठ गौ धारा निर्माण, शिवको मूर्ति, मन्दिरलगायत पूर्वाधारको समेत निर्माण गरियो तर, उचित प्रचारप्रसार र व्यवस्थापन नहुँदा सोचेअनुरुप पर्यटक भने भित्रन सकेका देखिँदैन । कुश्मामा रहेका अग्ला र लामा झोलुङ्गे पुल, बन्जी, जिपलाइनलगायत साहसिक खेलले पर्वतको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको छ । अब यहाँ आइपुग्ने पर्यटकलाई अन्य प्राकृतिक तथा धार्मिक महत्व बोकेका पर्यटकीय गन्तव्यसम्म पुर्याउने वातावरणको सिर्जना गरिनु आवश्यक छ ।  

  काठमाडौं । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ ।      कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो ।  रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले रेल गुडाएर परीक्षण गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो । सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र साधारण काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो ।    रेलको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन गरिने झाको भनाइ छ । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघमा  निर्माणको थालनी भएको थियो ।    ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।        सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर उद्घाटन गर्नुभएको थियो । त्यसयता रेल सेवा नियमित छ ।   

  काठमाडौँ :  नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतअन्तरले पराजित गर्दै चन्द सङ्घको नयाँ अध्यक्षमा चार वर्षका लागि निर्वाचित हुनुभएको हो ।   आज बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार अध्यक्षमा निर्वाचित चन्दले ७६ मत तथा मास्केले ५० मत प्राप्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष चन्द यसअघि सङ्घको महासचिव हुनुहुन्थ्यो । यसैगरी महासचिवमा अध्यक्ष चन्दकै प्यानलबाट रोशन श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले ८५ तथा प्रतिस्पर्धी मनवीर छन्त्यालले ३९ मत प्राप्त गर्नुभयो ।    यस्तै कोषाध्यक्षमा चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले ७८ तथा प्रतिस्पर्धी रीता कोइरालाले ४६ मत प्राप्त गर्नुभयो । सङ्घको बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम लाछिवा ६४ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धि ज्योती केसीले ५९ मत प्राप्त गर्नुभयो ।    सङ्घको नयाँ नेतृत्वसहित सात उपाध्यक्ष, महासचिव, सात सचिव, कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो । सङ्घमा दुई उपाध्यक्ष र १० सदस्य मनोनयनबाट आउने व्यवस्था छ । मतदान अघिनै छ उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा गण्डकी प्रदेशबाट याम गुरुङ, मधेस प्रदेशबाट उपेन्द्र यादव, सुदूरपश्चिम प्रदेशबाट हरकसिंह धामी, कर्णाली प्रदेशबाट भरतबहादुर शाह, प्रदेश १ बाट मदन खड्का र लुम्बिनी प्रदेशबाट भीम ओली निर्विरोध निर्वाचित हुनुभयो ।    सचिवमा प्रदेश १ बाट विनोद श्रेष्ठ, लुम्बिनी प्रदेशबाट  झकबहादुर मिदेन, कर्णालीबाट सोमबहादुर श्रेष्ठ, मधेसबाट मोहम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना र बागमती प्रदेशबाट सुनकेशरी माली निर्विरोध निर्वाचित हुनुभयो । निर्वाचनमा एक सय २६ मतदाताले मतदान गर्नुभएको थियो ।  –––

  काठमाडौं ।  नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेको छ ।   फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल साल्मोनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहिवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।   भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नु भयो ।   सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नु भयो ।   उहाँले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिनु भयो ।   भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नु भयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिनु भयो । उहाँले नेपालले वातावणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको बताउनु भयो ।