सर्लाही: सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ । जङ्गली हात्तीले गए राति हरिवन नगरपालिका–५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो । हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिनुभयो । हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खाएर क्षति पुर्याएको छ । बस्तीमै हात्ती आएर क्षति पुर्याउन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् । हात्तीका कारण स्थानीयवासी जङ्गलमा घाँस दाउराका लागि जान समेत सकेका छैनन् । स्थानीयवासी र प्रहरीको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको छ ।
कास्की । कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ यहाँका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कास्कीका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ४४ लाख ४६ हजार वितरण गरिएको हो । पन्ध्र सहकारीले आवेदन दिएकामा नौवटा दुग्ध सहकारी छनोटमा परेको केन्द्रका प्रमुख केदार पाण्डेले जानकारी दिनुभयो । नौवटा सहकारीले उत्पादन गरेको १७ लाख ७८ हजार लिटर दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले रु ४४ लाख ४६ हजार वितरण गरिएको उहाँको भनाइ थियो । त्यसैगरी आर्थिक वर्ष ०७८/७९ मा पाडी–बाच्छी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत जिल्लामा रु ४१ लाख वितरण गरिएको उक्त कार्यालयले जनाएको छ । पोखराको ३३ नं वडा र कास्कीको अन्नपूर्ण गाउँपालिकालाई लक्ष्य गरी कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत पाडी–बाच्छी हुर्काउने तीन सय ५५ किसानका चार सय १० वटा पाडी–बाच्छीलाई रु १० हजारका दरले रु ४१ लाख प्रोत्साहन सहयोग रकम प्रदान गरिएको उक्त कार्यालयका अधिकृत सहदेव पौडेलले बताउनुुभयो । पाडी–बाच्छीका लागि पाँच सय किसानले आवेदन दिएकामा तीन सय ५५ किसान छनोटमा परेका थिए । साना व्यावसायिक फार्म स्थापना तथा विस्तारका लागि उक्त कार्यालयले विभिन्न ६४ बाख्रा फार्मलाई ११ लाख सहयोग गरेको र वार्षिक रु ४३ लाख पुर्याउने लक्ष्य राखिएको बताइएको छ ।
बर्दिया । बर्दियाको मधुवन नगरपालिका–४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका–४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा चितुवाको आक्रमणमा परी घाइते भएका हुन् । उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । यस वर्षको दशौँ राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नति र समृद्धिको आधार’ नारा तय भएको छ । हरेक वर्ष असोज १ गते मनाइने यो दिवसका लागि यस वर्ष पनि उक्त नाराका साथ साताव्यापीरूपमा कार्यक्रम सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरेको छ । सोका लागि मन्त्रालयले प्रदेश र स्थानीय तह तथा सम्बन्धित क्षेत्रमा समन्वय र संयोजन गरिरहेको जनाइएको छ ।
बागलुङ । पहाडको टुप्पोमा छ मुठाचौर, यहाँभन्दा माथि कुनै बस्ती छैन । तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्यटकीय हिसाबले भने निकै मनोरम छ । तमानखोलाको मत्वपूर्ण पर्यटकीयस्थल बराह ताल नजिकै रहेको मुठाचौरमा माटो, ढुङ्गा र काठले बनेका घर छन् । त्यस वरपर रहेको समथर भूभाग, मकै, आलु फल्ने बारीहरुले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । अझ यहाँबाट देखिने दर्जनौँ हिमश्रृङ्खला र अनेकौँ दृश्यले यहाँको प्राकृतिक वातावरणलाई मनोरम बनाएको छ । यस ठाउँमा करिब एक सय घरपरिवार बसोबास गर्दै आइरहेका छन् । हरेक वर्ष स्थानीय उनीहरु पाँच महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । मुठाचौर माथिल्लो क्षेत्र ९लेक०मा पर्छ भने भयरबोङ्गा, कटेरी गाउँ केही तल पर्छ । यहाँका अधिकांश नागरिक पशुपालन र खेतिपातीमै व्यस्त छन् । यो ठाउँ प्राकृतिक रुपले सुन्दर भए पनि सडक, विद्युत्लगायत विकासका पूर्वधारले जोडिन नसक्दा ओझेलमा परेको स्थानीय चूणामणि छन्त्याल बताउनुहुन्छ । “यहाँका स्थानीय बर्खाको समय मुठाचौर बस्छन्, हिउँद लाग्यो भने बेसी झर्छन्, हिउँदमा हिउँ पर्छ, जाडो हुन्छ, बर्खामा पशु पाल्न पर्यो, त्यसले गर्दा यहाँ आउँछन्, यहाँ घाँस राम्रो हुन्छ, चरन क्षेत्र पनि धेरै छ, यो ठाउँ निकै राम्रो छ, तर यहाँ अहिलेसम्म विकास आउन सकेको छैन”, छन्त्यालले भन्नुभयो, “मोटरबाटो र बिजुली आएको भए यो ठाउँ निकै चर्चित हुन्थ्यो, पर्यटकलाई भित्र्याउन सकिन्थ्यो, यहाँ अहिले पनि खानेपानी चरम अभाव छ, भूगोलले पनि ठगेको ठाउँ प¥यो, अब विकास होला ।” बर्खाको समयमा यहाँ बस्ने स्थानीय अँध्यारोमै बस्न बाध्य छन् । उनीहरुले भाँङ (सुकेको निगालो), दियालो र टुकी बालेर रात बिताउन बाध्य भएको छन्त्यालले बताउनुभयो । मुठाचौरभन्दा केही तल रहेको कटेरी गाउँसम्म भने मोटरबाटो, बिजुलीको पहुँच पुगेको उहाँको भनाइ छ । यहाँसम्म पुर्याउन भौगोलिकरुपले निकै कठिनाई रहेको उहाँले बताउनुभयो । तीनै तहका सरकारले चासो देखाए मुठाचौरले मुहार फेर्न धेरै समय नलाग्ने उहाँ बताउनुहुन्छ । “अहिले पनि यहाँ बस्ने नागरिक टुकी र दियालोको भरमा रात कटाउँछन्, कुवा, पोखरी र आकाशे पानीको भरमा छन्, सडक र विद्युत् पुग्न अब धेरै नलाग्ला, अहिले कटेरीसम्म पुगेको छ, स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो देखाए यस ठाउँको विकास गर्न कुनै समस्या छैन, अलिकति भूगोलका कारण समस्या हो”, उहाँले भन्नुभयो, “यसलाई विकास गर्नसके यो ठाउँ पर्यटकीय गाउँ बन्न सक्छ ।” छन्त्यालले मोटरबाटोले जोड्न सके यहाँ उत्पादन भएका आलु, सिमीले राम्रो बजार पाउने बताउनुहुन्छ । सडक नभएकाले उत्पादन भएका कृषिउपज आफैँ उपभोग गर्नुको विकल्प छैन । स्थानीय खिमा रसाइलीले आफूहरु वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य रहेको बताउनुभयो । उहाँले सडक, विद्युत् र खानेपानी नहुँदा उपभोग्य सामान घोडा खच्चडमा बोकेर उपभोग गर्दै आएको बताउनुभयो । रसाइलीले सडक नहुँदा पालिकाको केन्द्र बोङ्गादोभानदेखि सामान बोकेर उपभोग गर्नुपरेको गुनासो गर्नुभयो । बर्खाको समयमा मात्रै यहाँ बस्ने हुँदा धेरै समस्या बोग्नुपरेको उहाँ बताउनुहुन्छ । “ यहाँ बस्ने भनेको बर्खामा मात्रै हो, बर्खामा सबै सामान बजारबाटै ल्याउनुपर्छ, हिलोले गर्दा घोडा खच्चड पनि हिँड्न सक्दैनन्, त्यसले गर्दा मान्छेलेनै नुन, तेल र चामल बोकेर ल्याउनु पर्छ”, रसाइलीले भन्नुभयो, “खानेपानीको समस्या पनि निकै छ, आकाशको, पोखरीको पानी खानु पर्छ, मोटरबाटो आए त निकै सजिलो हुन्थ्यो हो, गाडीले सामान ल्याउँथ्यो होला, यहाँ फलेका आलु, सिमी पनि बजार झार्न सजिलो हुन्थ्यो होला, बिजुली बत्ति कहिले आउला यो ठाउँमा ?” स्थानीय असारदेखिनै मुठाचौर जान सुरु गर्छन् भने असोज कात्तिक लाग्नासाथ गाउँ झर्ने गर्दछन् । मुठाचौरमा बस्ने समयमा उनीहरु पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबाली उत्पादन गर्ने गर्दछन् । गाउँपालिकाले कटेरी गाउँको शिरसम्म मोटरबाटोले जोडे पनि मुठाचौरसम्म पुर्याउन सकेको छैन । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले मुठाचौर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएको भन्दै यसको विकासका लागि गाउँपालिका लागि परेको बताउनुभयो । अध्यक्ष बुढामगरले मुठाचौरको विकासका लागि पालिकाले योजना बनाएर क्रमागत रुपमा विकास गरीरहेको बताउनुहुन्छ । यस ठाउँका नागरिकलाई आवश्यक पर्ने सबै खाले विकासका पूर्वाधार निर्माण गर्न सुरु भएको उहाँको भनाइ छ । “मुठाचौरको विकास हाम्रो मुख्य प्राथमितामा छ, सबै विकास निर्माणका लागि हामीले कामको सुरुआत गरेका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो । अध्यक्ष बुढामगरले यहाँ आधा वर्ष मात्रै नागरिक बसोबास गर्ने भएको हुँदा पूर्वाधारले जोडिन ढिला भएको भन्दै केही समयमै विकासका पूर्वाधारले जोडिने बताउनुभयो । मुठाचौरमा पर्यटकलाई आकर्षण गर्नसके यहाँका नागरिकको जीवनस्तर उकासिने भन्दै मुठाचौर नजिकै रहेको बराहतालको विकासमा समेत आफूहरु जुटेको उहाँको भनाइ छ । बराह ताल र त्यहाँ रहेको मन्दिर पुनःनिर्माण भएको र आन्तरिक पर्यटक पनि बढ्न थालेको भन्दै अध्यक्ष बुढामगरले अब मुठाचौरमा पूर्वाधार निर्माण गरे ‘होम–स्टे’ सञ्चालन गर्ने बताउनुभयो । “सबैभन्दा पहिले यहाँ सडक, विद्युत् र खानेपानीको व्यवस्थापन गर्छौं, अब यसलाई पर्यटकीय गाउँ बनाउने गरी काम गर्ने योजना बनाएका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “केही समय लाग्ला तर मुठाचौर निकै आकर्षक गाउँ बन्ने छ ।”
काठमाडौं । राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवङ्गत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने भक्तजन बिहानै स्नान एवं मन्दिर पूजा आराधना गरी फर्कने गर्छन् । शुक्रबार बेलुकी दीप प्रज्ज्वलन गरी बसेका भक्तजन र अन्य भक्तजनको पनि बिहानैदेखि इन्द्रदहमा स्नान गर्न भीड लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । इन्द्रदहको धार्मिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले सक्दो प्रयास गरेको उहाँले बताउनुभयो । थानकोटदेखि नै भक्तजनको भीड लाग्ने भएकाले शुक्रबारदेखि नै स्वयंसेवक खटाएर काम गरिएको नगरपालिकाले जनाएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन वसन्तपुरमा इन्द्रजात्रा हेर्नेले बेलुकी बत्ती बाली जाग्राम बसेर आज बिहान पूर्णिमाका दिन स्नान गर्नुपर्ने धार्मिक विधि छ । भक्तजनका लागि सुविधा होस् भन्ने उद्देश्यले नगरपालिकाले सहयोग गर्ने गरेको छ । देवराज इन्द्रसँग जोडिएको पौराणिक कथाका आधारमा यहाँ प्रत्येक वर्ष मेला लाग्ने गरेको छ । कथाअनुसार स्वर्गबाट फूल चोर्न आएका इन्द्रलाई राजधानीका वसन्तपुर क्षेत्रमा समातिएको थियो । इन्द्रलाई छुटाउन उनकी आमा पनि स्वर्गबाट यहाँ आएको किम्वदन्ती छ । जसलाई यहाँका मानिसले आफूसँगै स्वर्ग लगे छोडिदिने वचन दिएका थिए । वसन्तपुरबाट स्वर्ग जान इच्छुकलाई लिएर हिँडेका इन्द्रले भाद्र शुक्ल पूर्णिमाका दिन बिहान इन्द्रदहमा स्नान गर्नुभएको थियो । इन्द्रसँगै आएका मानिस पनि स्नान गरिरहेका बेलाको मौका छोपी इन्द्र र आमा स्वर्ग गएको भनाइ विशेष गरी बूढापाकाले सुनाउने गरेका छन् । त्यसबेला वसन्तपुरका स्थानीयवासी भने त्यहीँ स्नान गरी घर फर्किएका थिए । यसै सम्झनामा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशी र पूर्णिमाका दिन बत्ती बाल्ने र स्नान गर्ने भक्तजन फर्केका थिए । यहाँको मेलामा काठमाडौँ उपत्यकाका साथै वरपर जिल्लाका स्थानीयवासी पनि सहभागी हुने गरेका छन् । कोरोना महामारीका कारण विगतका दुई वर्ष कम भक्तजन आएकामा यस वर्ष भने धेरै भक्तजन इन्द्रदह आएको नगरपालिकाले जनाएको छ । यहाँ कालु पाँडेको समाधिस्थलसमेत रहेकाले यस क्षेत्रलाई पर्यटकीय ठाउँका रुपमा विकास गरिएको नगर प्रमुख गिरीले बताउनुभयो ।
कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध गराइएको रु १० लाखको चेक मृतकका बुवा कालुराम जोशीलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हस्तान्तरण गर्नुभएको हो । गत भदौ १३ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले घरमै रहेका बेला मीनालाई आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो । यसअघि मृतकका परिवारलाई कोषले किरिया खर्चबापत रु ५० हजार रकम उपलव्ध गराएको थियो । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भए आश्रित परिवारलाई क्षतिपूर्तिवापतको रकम उपलव्ध गराउने प्रावधान छ ।
दार्चुला : अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी एक जनाको मृत्यु भएको छ । सात जना वेपत्ता छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार महाकाली नगरपालिका–४ स्थित लास्कुखोलामा आएको बाढीमा परी बेपत्ता भएका एकजनाको शव भेटिएको छ । उनको सनाखत हुन सकेको छैन । अन्य सात जना बेपत्ता छन् । महाकाली नदी र लास्कु खोलमा गए राति २ बजेपछि बाढी आएको थियो । खोला आसपासका केही घरसमेत बगाएको साउदले बताउनुभयो । यसैगरी नौगाड गाउँपालिकामा पहिरामा पुरिएर दुईजना बेपत्ता भएका छन् । खोला आसपासका ११ घर बगाएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सहायक प्रजिअ साउदले जानकारी दिनुभयो । घटनामा भएको धनजनको क्षतिको यकिन विवरण आउन बाँकी छ । घटनास्थलमा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य गरिरहेको छ ।
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । यही भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् । आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताउनुभयो । काम छ भन्दै एकान्तमा बोलाई जबरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ । ती किशोरी सुखड बजारको हेलीप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले बताएको छ । बलात्कृत किशोरीलाई भोलिपल्ट भदौ २२ गते बिहान असामान्य अवस्थामा बजारमा हिँडिरहेको प्रहरीले देखेपछि उपचारका लागि अस्पतालसम्म पुर्याएको प्रनाउ शाहीले बताउनुभयो । “भदौ २२ गते बिहान प्रहरीले सुखड बजारमा ती किशोरीलाई असामान्य अवस्थामा फेला पार्यो, प्रहरीले नै उपचारका लागि स्थानीय अस्पतालमा लग्यो । त्यो समयमा ती किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्”, प्रनाउ शाहीले भन्नुभयो, “केही समयको उपचारपछि उनको होस खुल्यो, उनलाई आफन्तको जिम्मा लगायौँ ।” बलात्कृत किशोरीले आज बिहान इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित चारमध्ये तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र पीडित बालिकाको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

