काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्व, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सो पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता मौलिक सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको पनि उल्लेख गर्नुभएको छ । राष्ट्रपतिको सन्देशमा कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै अमूल्य ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छासमेत व्यक्त गरिएको छ । यो पर्व देवराज इन्द्रको पूजाअर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने प्रचलन रहेको छ । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्र जात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ । पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि सहकालका देवता इन्द्रप्रति कृज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्दछ ।
काठमाडौँ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको ‘भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । अनन्त चतुर्दशी भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा, आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।
काठमाडौँ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार आगामी असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको छ । यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेगरी तोकिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । यी सबै निर्वाचन कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुनेछन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन नपाउने व्यवस्था विद्यमान निर्वाचन कानूनमा रहेको छ ।
मलेखु । नेपालका जातिअनुसार रोचक र अनौठा किसिमले पर्वहरू मनाइन्छ । यहाँका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ । चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ राष्ट्रिय पर्व हो । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो । पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रूपमा परिचित यो पर्वमा आफ्ना कुलभरिमा मानिस मुल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन् । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ । “नयाँ बाली पाकेपछि पितृलाई नबुझाइ खाँदा पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले झाँक्रीहरूले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ”, धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ माथिल्लो ओर्वाङका ८३ वर्षीय झाँक्री जीतबहादुर चेपाङले भन्नुभयो, “नयाँ बाली पितृलाई नबुझाइ र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कुल रिसाउँछ, मानिस बिरामी पर्छ, अनिष्ट भएरै छोड्छ ।” चेपाङ समुदायले आफ्नो प्रमुख चाडको रुपमा हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँछन् । भदौमा नयाँ अन्नवाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री (पान्दे)हरुले एकपाखे ढ्याङ्ग्रोे ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ । “पितृ नबुझाइ र अन्न उत्पादन गराइदिएकामा भूमिलाई धन्यवाद नदिई नयाँ बाली खाएमा अनिष्ट हुन्छ, अशुभ हुन्छ, पितृ रिसाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ”, चेपाङ सङ्घ बागमती प्रदेश समितिका कोषाध्यक्ष उद्धव चेपाङले भन्नुभयो, “यो पर्वमा झाँक्री बसेर रातभर सिमेभुमे फालाकेर मात्रै खानुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको हो ।” छरछिमेकी, नाताकुटुम्व आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गर्छन् । ठाउँ र कूलअनुसार पनि न्वागी मनाउने चलन फरक–फरक छ । चेपाङले न्वागी पर्वलाई ‘पान्देई घ्यासा’ चाड पनि भन्छन् । भेला भएर ढ्याङ्ग्रोे बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । न्वागीको दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने चेपाङ सङ्घ धादिङका अध्यक्ष भीमबहादुर चेपाङले बताउनुभयो । वारनामा कोही चेपाङ काममा निस्कँदैनन् । यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा बुधबार रातभर ढ्याङ्ग्रोमा फलाकेर बिहान न्वागी पूजा सम्पन्न भएको छ । चेपाङको न्वागीमा पहिलोपटक सार्वजनिक बिदा यस्तै चेपाङ सङ्घले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल्य क्षेत्रमा न्वागी मनाउँदै आएका छन् । यो वर्ष चितवनमा मनाएका छन् । न्वागी मनाउन धादिङ, चितवन र मकवानपुरमा सरकारले बुधबार सार्वजनिक बिदा दिइएको थियो । न्वागी मनाउन सार्वजनिक बिदा दिइएको यो नै पहिलो वर्ष हो । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । महाभारत पर्वत शङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङहरूको घना बसोबास छ । राष्ट्रिय जनगणना विसं २०६८ अनुसार चेपाङ जातिको जनसङ्ख्या ६८ हजार तीन सय ९९ जना रहेको छ । यो समुदायको जनसङ्ख्या सबैभन्दा धेरै चितवन, मकवानपुर र धादिङमा बाहुल्यता छ । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको तथ्याङ्ककले देखाएको छ । चेपाङ भाषाबाटै ‘धादिङ’को नाम धादिङ जिल्लाको नाम पनि चेपाङ (प्रजा) भाषाबाटै राखिएको भन्ने कथन छ । चेपाङले ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी देउता’ हो, यसैलाई मिलाएर धादिङ नाम बसेको हो”, चेपाङ सङ्घ बागमती प्रदेश समितिका कोषाध्यक्ष उद्धव चेपाङले भन्नुभयो । चेपाङहरू पहिलादेखि नै यहाँ बसोबास गरेको र उनीहरुले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि यसै जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम ‘धादिङ’ रहन गएको हो भन्ने जनश्रुतिले यहाँ जनसमर्थन पाएको छ । चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भिरपहरा आदिको नाम चेपाङ भाषाबाटै राखिएका छन् ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने सङ्घर्ष अझै जारी रहेको बताउनुभएको छ । उहाँले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन आजसम्म चलिरहेको बताउनुभएको हो । शहीद सुरेश वाग्ले र भीमसेन पोखरेल स्मृति दिवस तथा स्मृतिग्रन्थ सार्वजनिक कार्यक्रममा अध्यक्ष दाहालले विभिन्न राजनीतिक उतारचढावका कारण विभिन्न परिवेशमा शहादत प्राप्त गरेका शहीद तथा बेपत्ता भएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । “एउटा कालखण्डमा गरिएको विद्रोह, अर्को ऐतिहासिक कालखण्डमा सम्झौता गर्नुपर्ने स्थिति आयो र सम्झौता गरियो”, अध्यक्ष दाहालले भन्नुभयो, “नयाँ प्रक्रियाबाट जाँदा नेपाली जनताको साथ सहयोगका कारण माओवादीकै नेतृत्वमा सरकार बन्यो र पहिलो क्याबिनेटमा मेरो नेतृत्वमा सरकार बन्यो र बैठकको पहिलो निर्णयमा मैले सम्पूर्ण शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेँ । तर त्यो माइन्युट अहिले छैन । राजपत्रमा तुरुन्त निकाल्नु पथ्र्यो तर निकालिएन । त्यसबेलादेखि वामपन्थी गठबन्धन र कम्युनिष्ट एकताका बेलामा पनि जनयुद्धका तमाम शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन थियो, अहिले पनि जारी छ ।” माओवादी केन्द्रका सचिव हितराज पाण्डेले शहीद वाग्ले कुशल र सङ्गठक शिक्षक मात्र नभएर राजनीतिक शिक्षक समेत भएको बताउनुभयो । शिक्षक रहँदारहँदै पनि उहाँ आफ्नो पेशा छाडेर राजनीतिमा होमिएको स्मरण गर्नुभयो । प्रकाशित स्मृतिग्रन्थ सम्पादक समिति संयोजक लेखनाथ न्यौपानेले शहीद सुरेश वाग्लेलाई स्मरण गर्दै उहाँका लेख सैद्धान्तिक र वैचारिक रहेको धारणा व्यक्त गर्नुभएको थियो । “उहाँका लेख र विचार त्यसबेला महत्वपूर्ण थिए, आज पनि शहीद वाग्लेका लेख उत्तिकै महत्वपूर्ण रहेका छन्”, संयोजक न्यौपानेले भन्नुभयो ।
बागलुङ । कतै सडक खन्दाको समस्याले जमिन खस्छ, पहिरो जाने धेरै घटना छन् तर, बागलुङको रायडाँडामा भने अनौठो तरिकारले बस्ती नै बग्न थालेको छ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा पहिरो बगेर दर्जनौँ घर परिवार विस्थापित भएका छन् । केही दिनदेखि जमिनमा चिरा परेको र मङ्गलबारको अविरल वर्षापछि जमिन बग्न थालेको हो । जमिन बग्दा सडक, जङ्गल, ठूला पिपलका रुख, सुन्तलाको बगान, कुखुरा पालन फार्म र कतिपय घरमा चिरा परेका छन् भने केही घर र गोठ भत्केका छन् । “घर कटेरो भत्केपछि सबै छाडेर हिँड्नुपरेको छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन् ।” केही दिनदेखि जमिन चर्केकामा बुधवार बिहान बढी पहिरो खसेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । यो बस्तीका बिजुलीका खम्बा ढलेपछि झण्डै एक सय घरमा बिजुली अभाव भएको उहाँले बताउनुभयो । खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीय चिन्तामा छन् । पहिराले बिजुलीका खम्बा ढल्दा ती घरमा विद्युत् अवरुद्ध भएको गौतमले जानकारी दिनुभयो । उक्त पहिराले स्थानीय कुलराज शर्मासहित दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको स्थानीय विष्णु पौडेलले जानकारी दिनुभयो । जमिन चिरा परेको स्थान हेर्दा थप सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उहाँले बताउनुभयो । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको हो । “यो सङ्केत हेर्दा यहाँको बस्ती नै जोखिम भयो, अब धेरै घर विस्थापित हुने भए”, पौडेलले भन्नुभयो, “कतै रोकथाम गर्ने अवस्था नै छैन ।” हरेक बारीका पाटामा कुखुराले खोस्रेझै खाल्डा पर्ने र चिरा पर्दै बग्ने गरेको उहाँले बताउनुभयो । बगेको पहिराले जैमिनी नगरपालिका–१ को ओडार भन्ने स्थानमा पनि जोखिम बढेको छ । केही स्थानमा क्षति भइसकेको छ । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ । केही दिनदेखि परेको वर्षाले पहिरो खस्न थप सहयोग पुगेको इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो । “तत्काल कुनै पनि उपायले पहिरो रोक्न सकिने अवस्था छैन”, गिरीले भन्नुभयो, “यो अनौठो तरिकारले सिंगो पहाड खस्ने अवस्था भयो ।”
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब १३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३७ दशमलब ७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५४ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलब ८४ मा सीमित भएको छ । कूल दुई सय २७ कम्पनीको ३४ लाख एक हजार छ सय ९२ कित्ता शेयर रु एक अर्ब चार करोड ४३ लाख ७९ हजार छ सय मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूह मध्ये आज सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने छ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ चार दशमलब शून्य छ, व्यापार १७ दशमलब ५९, उत्पादन १३, अन्य १८ दशमलब ८५, लघुवित्त एक दशमलब ५५, जीवन बीमा २४ दशमलब ८२, नागरिक लगानी कोष शून्य दशमलब १३ अङ्कले ओरालो लागेको छ । यस्तै होटल तथा पर्यटन १० दशमलब ९७, विकास बैंक ३७ दशमलब १३, जलविद्युत् १३ दशमलब ७८, वित्त २२ दशमलब दुई र निर्जीवन बीमा एक दशमलब ७१ र लगानी शून्य दशमलब शून्य दुई अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाख ६५ हजार पाँच सय एक बराबर रहेको छ । नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १३ करोड १० लाख ४५ हजार तीन सय ६५ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु चार करोड ४४ लाख ८१ हजार चार सय १९, नबिल बैंक रु तीन करोड ३५ लाख पाँच हजार छ सय ७८, प्राइम बैंक रु दुई करोड ९३ लाख १० हजार सात सय ५४ र एशियन लाइफ इन्स्योरेन्स रु दुई करोड ७८ लाख ८४ हजार नौ सय ९४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त चार दशमलब ४९, मल्टीप्रपोज फाइनान्स कम्पनी चार दशमलब शुन्य नौ, ग्लोबल आइएमई बैंकको ऋणपत्र तीन दशमलब ९७, छ्याङदी हाइड्रोपावर तीन दशमलब ९० र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलब ७० प्रतिशतले कमाएका छन् । यस्तै,सामुदायिक लघुवित्त छ दशमलब ४९, अप्पर हेवाखोला पाँच दशमलब ५६, प्राइम बैंकको ऋणपत्र चार दशमलब ६०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलब ६१ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले दुई दशमलब ७५ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा जनकपुरधाममा आज आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता डा कोइरालाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ एक सय सिट पाउनुपर्ने जिकिर गर्दै गठबन्धनका कारण नेपाली कांग्रेसलाई कुनै अप्ठ्यारो पर्न नहुने बताउनुभयो । नेता कोइरालाले पाँचदलीय गठबन्धन बिचित्रको रहेको, विचार र सिद्धान्त नमिल्ने दलहरुसँग गठबन्धन भएको भन्दै गठबन्धनका कारण अहिले नेपाली कांग्रेस अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो । एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको उहाँले स्पष्ट गर्नुभयो । नेता डा कोइरालाले भन्नुभयो, “यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ ।” कांग्रेसमा उम्मेदवारका आकाङ्क्षी नेताको व्यवस्थापन गर्न पनि कांग्रेस पार्टीलाई प्रत्यक्षतर्फ मात्र एक सय सिट आवश्यक पर्ने उहाँको तर्क थियो ।
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार चार सय एक जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार पाँच सय १८ जनाले पिसिआर र दुई हजार आठ सय ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा एक लाख ४३ हजार पाँच सय ९५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा एक सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार नौ सय ४९ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १० पुगेको छ । होम आइसोलेशनमा दुई हजार तीन सय ७०, संस्थागत आइसोलेशन एक सय तीन, सघन उपचार कक्षमा २२ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ७२, ललितपुरमा चार सय ३५ र भक्तपुरमा ३६ सक्रिय सङ्क्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

