काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । आज अपिल जारी गर्दै उहाँले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताउनुभयो ।     “डेङ्गु सङ्क्रमण देखिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल गरेर स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको छ । जनप्रतिनिधिसँगसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविका मिलेर डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, चेतना फैलाउनेलगायत काम भइरहेको छ,” राज्यमन्त्री केसीद्वारा जारी अपिलमा भनिएको छ ।   डेङ्गुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउनसमेत उहाँले अनुरोध गर्नुभएको छ । “डेङ्गुको प्रकोपलाई ध्यानमा राख्दै मन्त्रालयले प्रतिकार्य योजना बनाएर काम गरिरहेको छ,” अपिलमा उल्लेख छ । मन्त्रालयले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । नेपालमा हालसम्म ११ हजार ६५ जनामा डेङ्गु देखिएको छ ।   

  काठमाडौँ: रोमानिया जाने योजना बनाएर राहदानी बनाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालय आउनुभएका शङ्खरापुर नगरपालिकाका प्रदीप शिवभक्तिलाई १० महिनाअघि राष्ट्रिय परिचयपत्र बनाउँदाको दु:ख सम्झन मन छैन ।    त्यो बेला राष्ट्रिय परिचयपत्र बनाउन यही कार्यालयमा उहाँ वाक्कदिक्क हुनुभएको थियो । “त्यो बेलाको भिड दु:ख सम्झन चाहन्न”, उहाँले फोटो खिच्ने ठाउँ औँल्याउँदै भन्नुभयो, “ऊ त्यहाँ हेर्नुस् अहिले त भिडै छैन ।” केहीबेर गफिएपछि त्यो बेला -परिचयपत्र बनाउँदा_ को हप्ता दिनको कष्ट उहाँले  खोल्न थाल्नुभयो ।    शिवभक्तिले पहिलो दिन राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्नुभयो । त्यो बेला टोकन प्रणाली चल्थ्यो । “फाराम भरेपछि टोकन लिन कहाँ सिजिलो थियो र राती १२ बजेतिरै लाइनमा बस्नु पथ्र्याे, नत्र पालो पाउनै मुस्किल थियो, त्यस दिन राती २ बजे आउँदा काठमाडौँ प्रशासन कार्यालय अगाडिको सडकमा टन्न लाइन, थेगिनसक्नु भिड थियो, सबैभन्दा अन्तिममा लाइन समाए”, उहाँले भन्नुभयो ।   उहाँले कुर्दाकुर्दा दोस्रो दिन बिहान बल्ल टोकन भेट्टाउनुभयो । टोकन नलगी प्रशासन कार्यालय जानुको अर्थ थिएन । उहाँ तेस्रो दिन बिहान टोकन बोकेर बल्ल कार्यालय छिर्नुभयो । भित्र पनि थेगिनसक्नु सेवाग्राही थिए । ठेलम्ठेल भीडका बीचमा उहाँ पनि पस्नुभयो । फेरि मानिसको तानातान, मारामार, झगडा मिलाउन प्रहरीलाई हम्मेहम्मे पथ्र्याे ।    उहाँ त्यो भीडमै हराउनुभयो र त्यसदिन रित्तो हात घर फर्कनुभयो । चौथो दिन पनि गेट बाहिर बाक्लै भीड थियो । गेट खोल्ने बित्तिकै तछाडमछाड गरेर मानिस भित्र पसे । त्यसबेला कतिका लगाएका सामान हराउँथे, कति थिचिन्थे, कति कुटिन्थे, पत्तो हुदैन्थ्यो । निरीह बनेर फर्कनुपर्ने बाध्यता थियो । “त्यस दिन ठेलम्ठेल भीडमै झगडा पनि भयो । जति प्रयास गर्दा पनि पालै पाइएन । फेरि अर्काे दिन -पाचौँ दिन_ टोकन बोकेर आउँदा बल्ल फोटो खिच्न पाएँ ।”   परिचयपत्र कहिले आउने हो थाहा छैन तर एउटा स्लिप दिँदो रहेछ । त्यो पाउँदा ठूलै जित हासिल भएको महसुस भयो शिवभक्तिलाई । त्यस कागजमा राष्ट्रिय परिचयपत्रको नम्बर हुन्छ । रोमानियाको भिसा लागेपछि त्यही कागज बोकेर उहाँ राहदानीका लागि आउँदा उहाँले  यी कुरा खोल्नुभयो ।    उक्त टोकन प्रणालीमा दलाल सक्रिय भएपछि त्यो प्रणाली असफल हुन पुग्यो । यसअघिका काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल टोकन प्रणालीमा अन्य व्यक्तिले लिएर ‘ब्ल्याक’मा बेच्न थालेकाले त्यो प्रणाली हटाएको बताउनुहुन्छ ।    त्यसपछि म्याद तोक्ने प्रणालीको विकास भयो । पछि केही होलो त भयो तर भिड भने घटेन । भिड रोक्न विभिन्न उपाय अवलम्बन गरियो । त्यसले भीड केही कम गरेको सुनाउँछन् प्रशासनका अधिकारी ।    काठमाडौँको जडिबुटीकी सविना कार्कीले गएको असारमा फाराम भर्दा दुई महिनाको म्याद पाउनुभयो । अरुले पाँच/सात महिनामा पालो नपाइरहेका बेला दुई महिनाको पालो आउने मिति देख्दा औधी खुसी लागेको उहाँले सुनाउनुभयो । “खै मेरो पालामा फाराम भर्ने नै कम भएर पो हो की दुई महिनामा पालो आयो, अहिले सामान्य त्रुटी देखिएकाले सच्याउन आएकी हुँ”, उहाँले अनुभव सुनाउनुभयो । अघिल्लो हप्ता उहाँले सच्याउन फाराम भर्दा पुसमा पालो देखाइएको थियो । पुरानो सच्याउन आएको भनेपछि त्यही दिन नै काम सकेर उहाँ फर्किनुभयो ।    अहिले अनलाइन फाराम भर्दा पुस, माघको मिति दिने गरिएको छ । स्वचालित रुपमा अनलाइन फाराममा त्यो देखाउँछ । आवश्यक छ भनेर अनुरोध गरेर आउने सेवाग्राहीलाई रित्तो हात पठाउने गरिएको भने छैन । आवश्यकता पर्नेको हकमा सहजिकरण गर्ने गरिएको गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तिर्थराज भट्टराई बताउनुहुन्छ ।    उहाँका अनुसार  साउन मसान्तसम्ममा मुलुकभर ८६ लाख जनाले परिचयपत्र बनाइसकेका छन् । हरेक महिना झण्डै पाँच लाख जनाले परिचयपत्र बनाउने गरेकाले त्यही हाराहारीमा यो महिनामा बनेको उहाँको अनुमान छ । सबै तथ्याङ्क आउन भने बाँकी रहेको भट्टराईले बताउनुभयो ।    अहिले ७७ वटै जिल्ला प्रशासनमा अनलाइनमार्फत काम हुन्छ । यसका साथै ४२ वटा इलाका प्रशासन कार्यालयबाट पनि परिचयपत्र बन्छ । धनुषा र सिराहाका पालिकामा पनि परिचयपत्र बनाउने काम सुरु भएको छ । नारायणहिटीका साथै काठमाडौँ र ललितपुरमा विभिन्न प्रदेश तोकेर उपत्यकामा हुने सेवाग्राहीका लागि सहजिकरण गरिएको छ । काठमाडौँ महानगरपालिकाका वडा तथा राष्ट्रिय सभागृहबाट समेत दिन थालिएको छ ।    भट्टराईका अनुसार अहिले ३८ जिल्लामा परिचयपत्र बनाउने काम सकिएको छ । कुल ७० प्रतिशत मतदाताले बनाए भने त्यो ठाउँमा परिचयपत्र बनाउने काम सफल भएको मानिन्छ । सोही आधारमा ३८ जिल्लामा काम पुरा भएको र अहिले मोरङ, सुनसुरी, सिराहा, धनुषा, दोलखा, गोरखा र बागलुङ, दार्चुला, दाङ, बर्दिया लगायत १३ जिल्लामा समस्या पनि छन् । ती जिल्ला प्रशासनमा परिचयपत्र बनाउने काम भने जारी नै छ ।    “मान्छेले विवरण सही नराख्दा बिग्रिने कारण सच्याउन झन्झट हुने गरेको छ । त्यसका अतिरिक्त दर्ता अपरेटर न्युन छन्, भत्ता कम भएकाले प्रोत्साहन नहुने हुँदा छाडेर जाने अवस्था पनि रहेको तथा कप्युटर, ल्यापपट एवं विविध प्राविधिक समस्यासमेत आउने गरेको छ”, महानिर्देशक भट्टराई भन्नुहुन्छ, “राज्यको रुपान्तरणकारी अभियान भएकाले नागरिकले कसरी सहज रुपमा परिचयपत्र प्राप्त गर्न सक्छन् भन्नेमा नै ध्यान रहेको छ । ”   विगतमा अत्यधिक चाप भएको स्वीकार गर्दै भट्टराईले काठमाडौँमा विशेष व्यवस्था पनि गरिएको जानकारी दिनुभयो । अहिले धेरै समस्या समाधान भइरहेको उहाँले बताउनुभयो । नियन्त्रण गर्ने उपायस्वरुप बिहान ९ देखि साँझ ६ बजेसम्म अभियान सञ्चालन गरेकाले समस्या हटेको उहाँले सुनाउनुभयो । उहाँले अहिले अनलाइन फाराम भर्दा पुसको मिति देखाउने तर आवश्यक छ भने त्यो मितिका कारण नरोकिने पनि स्पष्ट पार्नुभयो ।    राष्ट्रिय परिचयपत्र व्यक्तिको परिचय प्रमाणिकरणको डिजिटल समाधान हो । डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराइ विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको छ ।    नेपाल सरकारले २०६६/६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरिनेछ र यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि एउटा छुट्टै केन्द्रीय निकाय खडा गरिनेछ भनी घोषणा गरिएको थियो । सरकारले २०७५ बाट परिचयपत्र वितरण थालेको हो । 

काठमाडौं :  ‘पुष्पा’ फेम्ड अभिनेत्री रश्मिका मन्दानाले आफ्नो चर्चित गीतमा डान्स गर्ने नेपाली बालिकाको भिडियो सेयर गर्दै उनीसँग भेट्न चाहेको बताएकी छिन् ।    ती बालिका मकवानपुर हेटौंडाकी स्कुले विद्यार्थी भएको खुलेको छ । ‘मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु ’ मन्दानाले भनेकी छिन् ।   ती बालिकाले नेपालमा समेत सुपरहिट भएको दक्षिण भारतीय फिल्म पुष्पा ‘द राइजमा समावेश गीत ‘स्वामी स्वामी’को गीतमा स्कुलमा डान्स गरेको भिडियो भाइरल भइरहेको छ ।

  काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्वन्धित पक्षलाई लागि पर्न आब्हान गर्नुभएको छ । बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारीगर्दै प्रदेश प्रमुख शर्माले बालबालिकाको सवालमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरुको स्थानीय, प्रदेश तथा सङ्घ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।    प्रदेश प्रमुख शर्माले सन्देशमा नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकार व्यवस्था गरेको उल्लेख गर्नुभएको छ ।    ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित आज मनाइँदै गरिएको ५८औँ राष्ट्रिय बाल दिवसका सन्दर्भमा सम्पूर्ण बालबालिका तथा अभिभावकहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु”, प्रदेश प्रमुख शर्माद्वारा जारी सन्देशमा भनिएको छ ।

  चितवन । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो ।       निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । असोज ७ गते औपचारिक कार्यक्रमगरी स्वर्ण वर्ष शुभारम्भ गरिँदैछ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।       महोत्सवमा स्मारिका प्रकाशनगर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू, गुरुङ, मगर, तामाङ, दरै आदि समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गरिने तिवारीले जानकारी दिनुभयो ।     चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किमि फैलिएको छ । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङ्गे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावरहरू पाइन्छन् ।      यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी एवं विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो ।      संरक्षणमा गरिएको प्रयासस्वरुप यस निकुञ्जमा हाल पाटेबाघको सङ्ख्या एक सय २८ र गैँडाको सङ्ख्या ६ सय ९४ पुगेको छ । पछिल्लो एक वर्षयता चोरी सिकारीबाट गैँडा मारिएका छैनन् । यस निकुञ्ज स्थापनासँगै विसं २०५३ मा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गरिएको थियो ।       व्यवस्थापन समितिको क्षेत्रफल ७२९ दशमलव ३७ वर्गकिलोमिटर रहेको छ । यस राष्ट्रिय निकुञ्ज प्रदेश नं २, ३ र ४ का  चितवन, मकवानपुर, पर्सा र  नवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको छ । निकुञ्जमा एक महानगरपालिका, आठ नगरपालिका र तीन गाउँपालिका पर्दछ । ती पालिकामा दुई लाख ५० हजारभन्दा बढी जनसङ्ख्या बसोबास गर्दछन् । मध्यवर्ती क्षेत्र स्थापनासँगै निकुञ्जमा उठेको पर्यटन राजश्वको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा संरक्षण शिक्षा, भौतिक पूर्वाधार लगायतमा खर्च गरिँदै आएको छ ।      हालसम्म रु एक अर्बभन्दा बढी रकम मध्यवर्तीमा खर्च भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मध्यवर्ती स्थापनासँगै जनता र निकुञ्ज बीचको द्वन्द्व घटेर संरक्षणमा सहयोग पुगेको बताउनुभयो । पुराना ऐन कानुनका कारण मध्यवर्तीका बासिन्दालाई केही अफ्ठ्याराहरु भएको भन्दै तिनीहरुलाई संशोधन गरेर संरक्षणमा जुट्नुपर्ने उहाँको भनाइ छ । निकुञ्ज स्थापनाको ५० औँ वर्षको अवसरमा वर्षभरिनै संरक्षणसँग सम्वन्धित विभिन्न गतिविधिहरु गरिँदै छ । 

  बागलुङ । “घाउ चहराएर आएका नागरिकले मेरो जग्गामा आएर मल्हम लगाउन पाउन, मलाइ यहाँभन्दा ठूलो सन्तुष्टि केही छैन, यो नै मेरा लागि ठूलो धर्म हो”, बागलुङ नगरपालिका–७ स्थित मुलपानी स्वास्थ्य चौकीको भवन शिलान्यास समारोहमा मङ्गलबार जग्गा दाता ८२ वर्षीय मेघराज पाण्डेले बोलेको मार्मिक शब्द हो यो ।    उहाँले स्वास्थ्य चौकीको जग्गा अभावकै कारण भवन बन्न नसकेपछि आफ्नै घरगोठ भएको जग्गा स्वास्थ्य चौकीका नाममा दिनुभएको छ । आफ्नो जीवन अध्यापनमै बिताउनुभएका पाण्डेयले ऊर्जाशिल समय त्यही स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको जग्गामा रहेको आफ्नो मुल घरमा बिताउनुभयो ।    सोही जग्गामा हुर्केर छोराछोरी लालन पालन गर्दै त्यहीँको विद्यालयमा अध्यापन गराउनुभएका पाण्डेले २०५४ सालमा अवकासपछि मात्रै बागलुङ बजारमा बसाइँसराइँ गर्नुभएको थियो । “जुन जग्गामा आज स्वास्थ्य चौकीको भवन बन्नका लागि शिला राखियो त्यही जगमा मेरो जन्म घर थियो, घर अलि पहिल्यै भत्कियो तर गोठ स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा भत्केछ, मलाई आफ्नो घर गोठभन्दा स्वास्थ्य चौकी ठूलो हो”, जग्गा दाता पाण्डेले भन्नुभयो ।   पाण्डेले नौ रोपनी जग्गामा फैलिएको जग्गामध्ये स्वास्थ्य चौकीलाई आवश्यक चार रोपनी जग्गा दिएपछि भवन निर्माण थालिएको हो । उहाँले स्वास्थ्य चौकीलाई आवश्यक परे अन्य जग्गासमेत प्रयोग गर्न दिने आश्वासन दिनुभयो ।   मुलपानीको कालीमाटीबाट साँघुरो जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्य चौकीको नयाँ भवन बनाउनका लागि बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि जग्गादाता मेघराज पाण्डेलाई उपप्रमुख खड्काले नगरपालिकाका तर्फबाट सम्मानसमेत गर्नुभएको थियो ।     रु एक करोड ७० लाखमा जुम्ली निर्माण सेवाले मुलपानी स्वास्थ्यचौकी निर्माण लागि २०७९ वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो । आगामी २०८० वैशाख १९ गतेभित्रै भवन निर्माण सक्ने गरी निर्माण कम्पनीले स्वास्थ्य चौकीको भवनका लागि पिल्लर राख्ने काम गरिरहेको छ । अहिले मुलपानी स्वास्थ्य चौकीले तीनकोठे जीर्ण भवनबाट सेवा दिँदा असहज भएकाले नयाँ भवनसँगै सेवामा वृद्धि गर्न सकिने मुलपानी स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र शर्माले जानकारी दिनुभयो ।   नागरिकको स्वास्थ्य सेवाका लागि साँघुरो र अपायक पर्ने जग्गाबाट स्वास्थ्य सेवा दिइरहेपनि हाल कालिमाटी गाउँको सडक छेउमै भवन बन्न थालेकाले नागरिकलाई सहज हुँने वडाअध्यक्ष मेघराज शर्माले जानकारी दिनुभयो । 

  झापा । सामुदायिक कुकुरको सङ्ख्या न्यूनीकरण गर्दै लैजाने योजनाअनुसार अर्जुनधारा नगरपालिकाले यस वर्ष दुई सयवटा कुकुरको बन्ध्याकरण गरेको छ । बन्ध्याकरण गरिएका कुकुरमा अधिकांश हुर्किदो छाउरा छन् ।   नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले विगत तीन वर्षदेखि नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण शिविर चलाउँदै आएको छ । कुकुरलाई रेविज रोगविरुद्ध खोपसमेत लगाइने गरिएको छ ।    पोखराको हिमालयन एनिमल रेस्क्यू ट्रस्ट (हार्ट) नेपालसँगको सहकार्यमा बन्ध्याकरण र खोप कार्यक्रम एकसाथ सञ्चालन भइरहेको शाखाका प्रमुख पदमलाल राईले बताउनुभयो । सोमबार सुरु भएको अभियान मङ्गलवार सम्पन्न भएको थियो ।    गाउँ–सहरमा जताततै सामुदायिक कुकुरको सङ्ख्या बढ्दै गएको र घरपालुवा कुकुरको रेखदेख घरधनीले गरे तापनि सामुदायिक कुकुर नियन्त्रण बाहिर रहने गरेका कारण बन्ध्याकरण गर्नुपरेको नगरपालिकाले जनाएको छ । कुकुरले टोकेमा मानिस र पशुमा रेबिज रोग सङ्क्रमण हुने त्रास बढ्दो छ । सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण उपयुक्त उपाय हुने भएकाले अभियान चलाइएको उहाँले बताउनुभयो ।   शिविरमा पशु चिकित्सक सोनिया गुरुङ, सुदिप्पी पनेरु र हिमांशु पोखरेलको नेतृत्वमा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाइने कार्य भएको थियो । बन्ध्याकरणले कुकुरको सङ्ख्या घटाउन सहयोग पुग्ने र खोपबाट रेविज रोग लाग्नै नपाउने अपेक्षा गरिएको छ । गत वर्ष अर्जुनधारा नगरपालिकामा रेविजकै कारण एक व्यक्तिको मृत्यु भएको थियो भने गाईवस्तुसमेत मरेका थिए ।    प्राविधिक सहयोग पुर्याउँदै आएको हार्टले झापाको अर्जुनधारासहित विर्तामोड र भद्रपुर नगरपालिकासँगको सहकार्यमा यस वर्ष छ सयभन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने लक्ष्य लिएको बताइएको छ ।

  भक्तपुर । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नुभएको छ ।        बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुग्नुभएका अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत नगर कार्यपालिकाका सदस्यहरुले स्वागत गर्नुभएको थियो ।       अध्यक्ष लीसहित उहाँको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाले उहाँको स्वागतमा दरबार स्क्वायरको डबलीमा प्रदर्शन गरेको ऐतिहासिक भैरब प्याँख नाचको अवलोकन गर्नुभएको थियो । अध्यक्ष लीले यो नाचले चिनियाँ संस्कृति सम्झाएको भन्दै चीन र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको बताउनुभएको थियो ।       उहाँले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गर्नुभएको थियो । पच्पन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उहाँले यहाँका सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिबारे पनि जानकारी लिनुभएको थियो ।       अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिबारे जानकारी गराउनुभएको थियो । भक्तपुरका भूकम्पले क्षति पुर्याएको ८० प्रतिशत सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराउनुभएको थियो ।       अध्यक्ष लीले यहाँको पुनर्निर्माणमा विदेशी दातृ निकायको सहयोगबारे जिज्ञासा राख्नुभएको जानकारी दिँदै प्रमुख लासिवाले भक्तपुर नगरभित्रका सम्पदाको पुनर्निर्माणमा कुनै पनि विदेशी दातृ निकायको सहयोग नलिएको र नगरपालिका, नेपाल सरकार एवं स्थानीयवासीको सहयोगमा सम्पदा पुनर्निर्माण गरिएको जानकारी गराउनु भएको थियो ।       प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गर्नुभएको थियो । अध्यक्ष लीले पाँचतले मन्दिरमा भूकम्पले क्षति नपु¥याउने गरी बलियोसँग कसरी बन्यो होला भन्ने जिज्ञासासमेत राख्नुभएको प्रमुख लासिवाले जानकारी दिनुभयो ।       पाँचतले मन्दिर र सँगैको भैरब मन्दिरको बनावट, निर्माणमा परम्परागत सामग्रीको प्रयोग तथा यहाँका पुराना वास्तुविद्को योजनाअनुसार निर्माण भएकाले क्षति नपुगेको प्रमुख लासिवाले जानकारी गराउनु भएको थियो ।       टौमढीमा नगरपालिकाले यहाँका सम्पदा, कला, संस्कृति र नाचका तस्बिरहरु प्रदर्शन गरेको थियो । तस्बिरहरुको अवलोकनका क्रममा अध्यक्ष लीलाई लासिवाले नयाँ वर्षमा बिस्केट जात्रा मनाउने यही ठाउँ रथ, जात्राको सञ्चालनबारे जानकारी गराउनु भएको थियो । यहाँका विभिन्न जात्रा, पर्व जात्रादेखि आज मनाइने पुलु किसी जात्राबारे समेत जानकारी गराउनु भएको थियो ।       जात्रा, पर्व, नाचहरुका बारेमा जानकारी लिएपछि अध्यक्ष लीले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताउँदै विश्वका विभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुमा समानता रहेकोसमेत बताउनु भएको थियो ।       पाँचतले मन्दिरको अवलोकनपछि बिदाइका क्रममा हेर्न बसेका स्थानीयलाई अध्यक्ष लीले नेपाली भाषामै नमस्ते भनेर सम्बोधन गर्नुभएको थियो । बिदाइका क्रममा अध्यक्ष लीसहितको प्रतिनिधिमण्डललाई नगरपालिकाका तर्फबाट मयूर झ्याल, नगरपालिकाका विभिन्न प्रकाशनहरु प्रदान गरिएको थियो । कोभिड–१९ को सङ्क्रमणलाई ध्यान दिँदै नगरपालिकाले ती उपहारहरु हातमा नदिई एकमुष्ट प्रदान गरिएको थियो ।       अध्यक्ष लीले नगरप्रमुख प्रजापति, सङ्घीय सांसद सुवाल लगायतलाई उपहार प्रदान गर्नुभएको थियो । टोलीले भक्तपुरको एक घण्टासम्मको अवलोकन सकेर बिहान १०ः२० बजे फर्किएको थियो ।       अध्यक्ष लीले आजै अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि उहाँले मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले मङ्गलबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।       सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार विशेष विमानबाट नेपाल आउनुभएका उहाँले सोही दिन सभामुख सापकोटासँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।       अध्यक्ष ली नेतृत्वमा छजना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाट स्वदेश फर्कनुहुने कार्यक्रम छ ।  

मनाङ  ः  हिमाली जिल्ला मनाङ कहिले बाढी र पहिरोको चपेटामा पर्छ त कहिले छिमेकी जिल्लाको मारमा पर्दै आएको छ । दसैँ नजिकिँदै गर्दा जिल्ला फर्किने मनाङवासीलाई सकसको यात्रा झेल्नुपर्ने भएको छ ।    गत वर्ष बाढीपहिरोको मारमा परेको मनाङले यस वर्ष छिमेकी जिल्ला लमजुङको सडकको मार खेप्नुपर्ने भएको छ । मनाङ आउने तथा लमजुङको सदरमुकाम बेँसीसहर आउने एक मात्र सडकको दुरावस्थाले सास्ती खेप्नुपर्ने भएको हो ।    बेँसीसहर नगरपालिका-१ उदिपुरमा केही समयअघि मात्रै ठूलो पहिरो खसेपछि वैकल्पिक सडकमार्फत यात्राको प्रबन्ध मिलाइएको छ । तर यस सडकको दुरावस्थाले लमजुङवासी मात्रै नभएर विकट जिल्ला मनाङवासीको मेरुदण्डको सडकले समस्या थप्दै आएको छ । गत वर्ष नै पहिरोले सडक भासिएपछि हालसम्म मर्मत तथा सम्भार एवं निर्माणको काम शून्य रहेको यस सडकमार्फत हुने यात्रामा प्रस्ट देखिन्छ ।    उक्त सडक खण्डको दुरावस्था मर्मतसम्भार गर्नुको साटो सडकसँग सम्बन्धित निकाय भने मूकदर्शक भएर बसेको लमजुङका स्थानीयवासी बताउँछन् । सदरमुकाम पुग्न यस सडकमार्फत यात्रा गर्दा ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपरेको स्थानीयवासीको भनाइ छ । यता डुम्रे-बेँसीसहर–चामे सडक योजना कार्यालयले दुरावस्थामा यात्रा गरिरहेको भए पनि असोजदेखि मात्रै काम हुने जनाउँदै आएको छ ।    दुई जिल्लाको मेरुदण्डको सडक नै समयमा निर्माण हुन नसक्दा सर्वसाधारणलाई सदरमुकाम पुगेर काम गर्नसमेत लामो समय खर्चिनुपरेको स्थानीयवासी बताउँछन् । यस सडकमार्फत नै मनाङमा उत्पादित स्याउलगायत विभिन्न व्यापारिक कार्य गर्नुपर्ने हुन्छ । तर सडकको दुरावस्थाले सकस भएको मनाङका स्याउ कृषक बताउँछन् ।    यति बेला जिल्लामा उत्पादित स्याउ बजारमा पुर्‍याउने तथा पर्यटक आउने अनुकूल समय भएको छ । तर सडकको दुरावस्थाले कोभिड–१९ सङ्क्रमण न्यूनीकरणपछि पर्यटक आउने अवसरलाई सकस बनाएको मनाङवासी बताउँछन् ।    “मनाङको मेरुदण्डका रूपमा रहेको डुम्रे–बेँसीसहर–चामे सडक खण्डको बेँसीसहर आउन अगाडि नै सकस झेल्नुपर्छ । मनाङ आउन हिँडेका पर्यटक सडकको अवस्था देखेर नै फर्किन्छन् कि भन्ने समस्या भएको छ । लमजुङवासीले पहल गर्न सके उनीहरुसँगै मनाङवासीलाई सहज हुने थियो”, मनाङका पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले भन्नुभयो ।    मनाङवासीले यही मार्ग हुँदै खाद्यान्नलगायत विकास निर्माणका लागि पूर्वाधारका सामग्री ओसरपसार गर्नुपर्ने हुन्छ । वर्षामा बाढीपहिरो, हिउँदमा हिमपातले गर्दा जिल्लाको विकास निर्माण तथा खाद्यान्न ढुवानीमा समस्या भए पनि मुख्य सडक पर्ने छिमेकी जिल्लामा समस्या आए मनाङलाई पनि प्रभाव पर्ने गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । यो समस्या समाधान भएमा लमजुङसँगै मनाङवासीलाई समेत सहज हुने उहाँको भनाइ छ ।    बर्सेनि यो समस्याले मनाङवासीका साथै पर्यटकलाई आवतजावतमा कठिनाइ भएको स्थानीयवासी बताउँछन् । छिमेकी जिल्लामा समेत पहिरोले सडक खसेपछि सहज तवरबाट यात्रा गर्न कहिले पनि नपाउने हो कि भन्ने मनाङवासीको चिन्ताको विषय बनेको छ ।