काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

काठमाडौं  :  कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।   विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।    आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।    द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।    प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद  द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।    यही सम्झनामा नेपालका कालिगडहरुले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।   वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

काठमाडौं  :  सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि  आज (शनिबार) देखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ ।    यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।   बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शनिबार बिहानदेखि लामो तथा मध्यम दूरीको बसको टिकट खुल्ने जानकारी दिनुभयो ।    यही भदौ २२ गतेको बैठकले अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, कोभिड–१९  महामारीलाई ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाउने निर्णय गरेको थियो । अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिद्वारा टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने तथा दसैँका लागि आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय गरिएको थियो ।   यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन आगामी असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय बैठकले गरेको थियो । नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले शनिबार बिहान ७ बजेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार धेरै गाडी आवतजावत गर्ने ठाउँका सवारीसाधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ । 

तनहुँः काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारी र सार्वजनिकस्थलका अतिक्रमित संरचना हटाउने अभियानको प्रभाव देशको अन्य भागमा पनि परेको छ ।    यसैको नतीजाअनुसार तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ । काठमाडाँै महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने अभियान तीव्र पारेका बेला उक्त नगरपालिका पनि त्यसतर्फ अग्रसर भएको हो ।    सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो ।    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ९२० मा सार्वजनिक ऐलानी तथा पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा र भौतिक पूर्वाधारको संरक्षण तथा सुरक्षाको जिम्मेवारी नगरपालिकाको हुने भन्ने प्रावधान भएकाले अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिनको सूचना जारी गरिएको हो ।    सार्वजनिक जग्गा प्रयोग गरी सञ्चालन गरिएका व्यापार तथा व्यवसाय, सडकको क्षेत्राधिकारभित्र सञ्चालन भएका व्यवसाय, सार्वजनिक जग्गा, राजमार्ग तथा भित्री सडक ओगटी गरिएका निर्माण कार्य, सार्वजनिक जग्गा तथा सडकको क्षेत्राधिकारभित्र सञ्चालित ठेलागाडा तथा घुम्ती सवारी साधन हटाउन आग्रह गर्दै ३५ दिनभित्र उक्त संरचना नहटाइए नगरपालिकाले नै हटाउने जनाइएको छ । 

  काठमाडौं ।  सरकारले भोलि (शनिबार) राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन असोज २ गते र ३ गतेको समय तोकेको छ । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने व्यवस्था छ ।

पोखरा  ः  नेपाल सुनचाँदी रत्न तथा  आभुषण महासंघले सुनको कोटा बढाउन विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक समक्ष माग गरेको हो ।    नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले नेपालीहरुको चाडहरुमा बजारमँ कच्चा पदार्थको माग अपर्याप्त भएको भन्दै आज शुक्रबार राष्ट्र बैंक समक्ष ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गरेको हो ।    महासंघका महासचिव किसान सुनारले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ,‘ नेपालीहरुको महान चाडपर्व दशैं, तिहार छठ तथा विवाहको लगनका महिनाहरु नजिक आईरहेको समयमा बजारमा कच्चा पदार्थको माग  आपुर्ति अपर्याप्त भएको व्यापारीहरुले महशुस गरेको उल्लेख गरिएको छ ।’ बजारमा कच्चा पदार्थहरुको माग अपर्याप्त भएको भन्दै महासंघले हालको १० केजी परिमाण तत्कालका लागि दैनिक २० केजी परिमाण पुर्‍याउन माग गरेको छ ।    अहिले मुलुकमा तोकिएको वाणिज्य बैंकहरु मार्फत सुन सम्बन्धित क्षेत्रमा विभिन्न संघ÷संस्थाहरुको सिफारिसमा व्यवसायीहरुले विक्री वितरण गर्दै आएका छन् ।    परिमाणात्मक बन्देज अन्र्तगत पैठारी र वितरण हुने सुनको  बिक्री , वितरण न्यायोचित नभएको भन्दै संघले मुलुकभर गरगहना व्यवसायीहरुले आफ्नो कामलाई आवश्यक कच्चा पदार्थ वा सुन समानुपातिक रुपमा प्राप्त गर्न नसकेको स्पष्ट पारेको छ ।    कच्चा पदार्थको अभावमा परम्परा र संस्कृति धान्नको लागि आवश्यक पर्ने गरगहना किन्न र बनाउन सुनको अभाव भएको र यस्तो अवस्थामा बजारमा अवैध आयातले प्रश्न उठाउने भएकाले गहनाको उत्पादन एवं व्यवसायमा संचालनमा निकै कठिनाई भएको भन्दै ध्यानाकर्षण गराएको हो ।    यसैबीच महासंघले विगत १२ वर्षदेखि सुनको आयातमा कोटा प्रणाली लागू गर्दै आएको र यस अवधिमा व्यवसायीहरुको संख्यामा वृद्धि भएकाले संघमा आवद्ध व्यवसायीहरुको  सदस्य संख्याको आधारमा कोटा पुनरालोकन गर्न माग गरेको छ ।    सदस्यको संख्याको आधारमा कोटा पुनः निर्धारण हुने गरी सुन आयात तथा विक्री वितरण सम्बन्धि व्यवस्था’ कार्यविधि –२०६८ मा समयानुकुल संशोधन गर्नसमेत पत्रमा उल्लेख गरिएको छ ।

  काठमाडौँ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।       त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।       राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।      नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।   असोज १० गते बिहान १०ः२३ बजे घटस्थापनाको शुभ साइत       यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उहाँले सुनाउनुभयो ।      असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ ।       असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ । असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ ।       असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।       बडा दशैँका अवसरमा बजार पसलमा पनि भीड हुने गर्छ । राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दशैँ नजिकिएसँगै बजारमा भीड बढ्न थालेको छ । दशैँमा सहुलियत मूल्यमा खाद्य पदार्थ बिक्री वितरणका लागि सरकारले सुपथ मूल्य पसल पनि सञ्चालन गर्दै आएको छ ।       दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ । बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् । यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ ।

  काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय १० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार आठ सय २७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार सात सय ५२ जनाको पिसीआर र दुई हजार ७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।    यस अवधिमा एक सय २६ जना कोरोनाबाट मुक्त भएका छन् । यो सँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार एक सय तीन पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।        हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार नौ सय ९९, संस्थागत आइसोलेशनमा ६३ र आइसियुमा २० सङ्क्रमित रहेका छन् ।        हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालिकोट, बझाङ र दार्चुला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात सय ९३, ललितपुरमा तीन सय ३७ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  

  काठमाडौं । सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो ।        राष्ट्रियसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत गर्नुभएको उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको घोषणा गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान १०ः५९ मा बस्नेछ ।

  त्रिवेणी । थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि  कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या बढ्दो रहेको नवलपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइका प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो ।       एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन सकिने र धेरै आम्दानी हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको उहाँको भनाइ थियो । “कागती खेतीमा धेरै लगानी गर्नु पर्दैन, एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ यसैले किसान यसतर्फ आकर्षित छन्”, प्रमुख शर्माले भन्नुभयो, “तर लगाएको तीन चार वर्षसम्म आम्दानी लिन कुर्नुपर्ने हुँदा साना लगानीकर्तालाई केही समस्या पनि हुने गर्छ ।”       उहाँका अनुसार नवलपुरमा चार सय ५० घर परिवार कागती खेतीमा आबद्ध छन् । केही वर्ष पहिले केही मात्र किसान कागती खेतीमा आबद्ध भएकामा अहिले क्रमशः सङ्ख्या बढ्दो रहेको इकाइ प्रमुख शर्माले बताउनुभयो । जिल्लामा सामूहिकरुपमा १५ वटा  समूहले कागती खेती गरेका छन् । जस्मा दुई वटा सहकारी र २५ वटा फर्म रहेका छन् । यी सबैमा गरी चार सय ५० घरपरिवार कागती खेतीमा आबद्ध रहेको उहाँले जानकारी दिनुभयो । जोन कार्यक्रममा समावेश नभएका केही कागती खेती गर्ने किसानसमेत रहेका छन्  ।       उक्त परियोजनामार्फत सञ्चालित सुन्तला जात फलफूल जोन कार्यक्रममार्फत नवलपुरको बुलिङटार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट, देवचुली र मध्यबिन्दुका केही वडामा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । जोन कार्यक्रम सञ्चालनपछि विभिन्न अनुदान र प्राविधिक सहयोग भएकाले कृषक थप कागती खेतीतर्फ लागेका हुन् । अमिलो जातका फलफूलमा परियोजनाले सहयोग प्रदान गर्ने गरेको छ । परियोजनाको लगानीपछि अमिलो जातका फलफूल लगाउने क्षेत्रसमेत विस्तार भएको छ ।      इकाइ प्रमुख शर्माका अनुसार जोन कार्यक्रम सुरु हुने समयमा तीन सय ३० हेक्टर जमिनमा अमिलो जातका फलफूल लगाउने गरिएकामा अहिले सात सय हेक्टर जमिनमा खेती हुने गरेको छ । जसमध्ये करिब दुई सय हेक्टर जमिनमा व्यावसायिक कागती खेती मात्रै हुने गरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।  नवलपुरको  तल्लो भेगमा सुनकागती १, २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ ।    कागती खेतीबाट वार्षिक छ लाख कमाइ     नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका– ८, का नरेन्द्रकुमार केसीले कागती खेतीबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ । चार कट्ठा जमिनमा लगाइएको कागती खेतीबाट गत वर्ष उहाँले रु छ लाख आम्दानी गर्नुभयो । यस वर्ष करिब रु नौ लाख आम्दानी हुने कृषक केसीले बताउनुभयो ।            “गत वर्ष कोभिडले बजारमा समस्या भयो, तर पनि रु छ लाखको कागती बेचेँ, यस वर्ष कागती अझै धेरै फलेको छ, करिब रु नौ लाख जतिको बेच्छु भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “कागती खेतीअघि बाख्रापालन गर्नुभएका उहाँ २०७३ सालदेखि कागती खेतीतर्फ लाग्नुभएको हो”, “बाख्रा पनि पालोँ तर भनेजस्तो भएन, पछि यसको खेती सुरु गरे अहिले सोचभन्दा राम्रो आम्दानी दिएको छ”, केसीले भन्नुभयो ।       उत्पादन भएको कागती लिन व्यापारी बगैँचामा नै आउने गरेको उहाँको भनाइ थियो । सरदर अहिले प्रतिकिलोग्राम सयका दरले व्यापारीले बगैँचाबाट नै कागती खरिद गरी लैजाने गरेका छन् । काठमाडौँ, नारायणगढलगायत मुख्य सहरमा कागती खपत हुँदै आएको छ। बेच्न “समस्या छैन् घरमै व्यापारी आउँछन्, आफूले फलाउन सके मात्रै हुन्छ”, केसीले भन्नुभयो ।       उहाँले अहिले कागतीको नर्सरीसमेत सुरु गर्नुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रमअन्तर्गत केसीले नर्सरी सुरु गर्नुभएको हो । कागतीका बिरुवाको माग पूर्वदेखि पश्चिममा विभिन्न जिल्लाबाट हुने गरेको उहाँको भनाइ थियो । “परियोजना सञ्चालन भएका विभिन्न जिल्लामा बिरुवा माग आउँछ, सोहीअनुसार बिक्री गर्ने गरेको छु ।  कागतीको बिरुवा बेचेरसमेत राम्रो आम्दानी हुने गरेको छ”, केसीले भन्नुभयो ।