बलेवा : बागलुुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा व्यावसायिक जुनेलो खेती थालिएको छ । स्थानीय एक कृषि सहकारी संस्थाले बाँझो जग्गाको उपयोग गरेर व्यावसायिक जुनेलो खेती सुरु गरेको हो । कुश्मीशेराको फलाँटे कृषि सहकारी संस्थाले बाँझो जग्गामा व्यावसायिक जुनेलो खेती थालेको हो । कुश्मीशेराको झब्रीखेतमा रहेको १५ रोपनी बाँझो बारीमा जुनेलो लगाइएको सहकारीका अध्यक्ष मोतीप्रसाद शर्माले बताउनुभयो । स्थानीयले जनशक्तिको अभावमा केही वर्षदेखि बारी बाँझो छाडिएको थियो । बाँझो जग्गा भाडामा लिएर सहकारीको उद्देश्यअनुसार खेती थालिएको शर्माले बताउनुभयो । रैथाने बालीको संरक्षण र सहकारीमार्फत कृषक सदस्यको आय वृद्धिका लागि व्यावसायिक खेती थालिएको हो । गत जेठ महिनामा लगाइएको जुनेलोले यसै वर्ष उत्पादन दिनेछ । “यो वर्ष पाँच क्विन्टल जुनेलो फलाउने लक्ष्य छ, बिरुवामा राम्रो भएका छन्, हामीले सोचेअनुसारकै उत्पादन हुन्छ”, शर्माले भन्नुभयो “बर्सेनि उत्पादन लिन सकिने भएकाले हरेक वर्ष सहकारीलाई जुनेलोबाट आम्दानी जोडिनेछ ।” जुनेलो खेतीका लागि सहकारीमा सदस्य रहेका तीन जना किसान क्रियाशील छन् । बीउ लगाउने, गोडमेल गर्ने र सिँचाइ गर्ने काममा सहकारीका सबै सदस्यले समान हिसाबले श्रमदान गरिरहेको अध्यक्ष शर्माले बताउनुभयो । “यो वर्षको उत्पादनबाट हुने आम्दानी सहकारीको पुँजी वृद्धिमा लगाइनेछ”, शर्मा भन्नुहुन्छ, “अर्को वर्षदेखि हुने आम्दानी, खर्च कटाएर सहकारीका सदस्यले दामासाहीले पाउँछन् ।” सहकारीले रु एक लाख खर्चेर १५ रोपनी बारी उपयोगमा ल्याएको हो । दश किलो बीउ रु चार सय ५० प्रतिकिलोका दरले खरिद गरेर लगाइएको शर्माले बताउनुभयो । “यो रैथाने बाली हो, पहिले हामीलाई बीउ पाउनै कठिन भयो”, उहाँ भन्नुहुन्छ, “बजारमा बीउको अभाव छ, हामीले केही वर्ष बीउकैरुपमा उत्पादन गर्छौं र बिक्रीका लागि पनि सोहीअनुसारको बजारको खोजी भइरहेको छ ।” केही वर्षअघिसम्म अस्मिता कृषक समूहमा आबद्ध भएर मूला तथा केराउको मूल बीउको व्यावसायिक उत्पादन गरेका कृषक सहकारीमा आबद्ध रहेकाले उनीहरुलाई बीउ उत्पादनको अनुभव र बजारको जानकारी रहेको शर्माले दाबी गर्नुभयोे । यो बाली रोपिएको करिब ६० दिनमै उत्पादन दिने र सिचाइँको सुविधा कम भएको तथा चिस्यान कम हुने माटोमासमेत उत्पादन हुने गर्दछ । कुनै समय नेपालको पहाडी क्षेत्रको मुख्य खाद्यबालीका रुपमा रहेको जुनेलो लगभग लोप हुने अवस्थामा पुगेको भन्दै सहकारीले संरक्षण थालेको हो । धार्मिक कार्य, पूजाआजा, अनुष्ठानमा प्रसादका साथै भोजनका लागिसमेत प्रयोग गरिने जुनेलो औषधिका रुपमा पनि प्रयोग गरिन्छ । जुनेलोको सेवनबाट पित्त, मूत्र तथा पेट सफा हुनुका साथै स्फूर्ति बढ्ने आयुर्वेदिक चिकित्सकको भनाइ छ । माग बढ्न थालेपछि पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा रहेका कृषक जुनेलो खेतीतर्फ आकर्षित बन्दै गएका छन् । होटल रेस्टुरेन्टमा पनि जुनेलोको परिकार बन्न थालेपछि यसको महत्व झन बढ्न थालेको छ । पहाडी भिरालो, खोरिया र रुखो जमिनमा सहजै उत्पादन गर्न सकिने भएपछि जुनेलोलाई खासै मेहनत पनि गर्नु पर्दैन । न्यानो हावापानी मन पराउने जुनेलो मकैजस्तै खाद्यान्न बाली हो । सहकारीले रैथाने बालीका रुपमा रहेका कोदो र फापरको ‘ब्राण्डिङ’ समेत गर्ने योजनामा रहेको छ । सहकारीमा आबद्ध किसानले व्यक्तिगत खेतबारीमा उत्पादन गरिरहेको कोदो र फापरलाई सहकारीले खरिद गरेर पिठोको ब्राण्डिङ गर्ने योजना छ । रैथाने बालीको संरक्षण, बाँझो जग्गाको उपयोग र किसानलाई व्यावसायिक बनाउनका लागि सहकारी लागेको हो ।
कञ्चनपुर : भदौ ३१ गते राति ११ बजेर ३० मिनेटको समय कञ्चनपुरको वनहरा शिविरका रञ्जित रावतले बिर्सन सक्नुहुन्न । त्यही रातिको समय झोपडीमा निदाउनै लागेका रावतको मोबाइलमा एउटा सन्देश आयो । त्यही सन्देशले शिविरका सबै जनाको ज्यान जोगायो । रञ्जितको मोबाइलमा सन्देश जल तथा मौसम विज्ञान विभागबाट आएको थियो । त्यसमा लेखिएको थियो, “पछिल्लो तीन घण्टामा कैलाली र कञ्चनपुरको धेरै ठाउँमा भारी वर्षा भएकाले नदीमा आकस्मिक बाढी आई खतरा आसपास पुगिसकेकाले सतर्कता अपनाऔँ”, रावतले मोबाइलमा आएको सन्देश पढ्नुभयो । सन्देश पढ्नासाथसँगै सुत्नेकी श्रीमतीलाई उठाएर सन्देशका बारेमा सुनाउनुभयो । “सन्देशमा भने झैँ ठूलो वर्षा भइरहेको थियो”, रावतले भन्नुभयो, “बाहिर हेरे वनहरा नदीको पानी झोपडी भित्रै आइपुगेको थियो, हतारमा श्रीमतीलाईसँगै आवश्यक सामान बोकेर भाग्नका लागि तयार पारे, शिविरका अन्य बासिन्दालाई बाढी आएको कुरा ठूलो आवाजले कराएर सुनाए सबैजना वन क्षेत्रमा भाग्यौँ, त्यो सन्देश नआएको भए ठूलो दुर्घटना निम्तिन्थ्यो ।” नदीको बाढी शिविरमा छिरेपछि लत्ताकपडा, भाँडाकुँडा, खाद्य सामग्री सबै झोपडीमै छाडेर एक सरो लुगामा सबै भागेर ज्यान जोगाएको उहाँ बताउनुहुन्छ । “शिविरमा बाढीको पानी पसिसकेकाले भाग्नका लागि आवाज आयो”, गौरे दमाईंले भन्नुभयो, “सुतेका मात्रै थियौ, लत्ताकपडा केही बोक्नै पाएनौँ ।” उहाँले रातिका समयमा शरीरमा एकसरो कपडा मात्रै लगाएर सामुदायिक वन क्षेत्रमा भागेको सुनाउनुभयो । “पानी छातीसम्म पुगिसकेको थियो, बाँचिएला भन्ने आशा नै थिएन जसोतसो कम पानी भएको ठाउँमा पुगेपछि अब बाँचिन्छ झैँ लाग्यो”, उहाँले भन्नुभयो, “वनको माथितर्फ लाग्यौँ, त्यतिबेला शिविरका अरु पनि आइपुगे, पानीमा भिज्दै उभिएरै रात कटायौँ ।” उहाँ अहिले पनि शिविरमा फर्केर जान डराउने हुन्छ । वर्षा भएपछि अझै पहिला जस्तै बाढी आउने डर उहाँको मनमा खेल्ने गरेको छ । शिविरमा पानी पसेपछि वन क्षेत्रमा रातिको समयमा बालबालिकालाई काखिमै च्यापेर भिज्दै रात काटेको कुरा मथुरादेवी सार्की बताउनुहुन्छ । “डोरीको खटियामा सुतेका थियौँ”, उहाँले भन्नुभयो, “झोपडीभित्रै पानी आइपुगेकाले ज्यान जोगाउनकै हतार भयो, केही बोक्नै पाएनौँ, सबै बगाएर लग्यो, शरीरमा लगाएको एकसरो लुगामात्रै छ, त्यसबाहेक केही छैन ।” रातको समयमा मुसलधारे पानीमै बालबालिकासहित अनिदोमै रात काट्नु परेको दुखेसो उहाँले पोख्नुभयो । शिविरकी कलावती दमाईंको झोपडी बाढीले बगाउँदा एकसरो लुगामै हुनुहुन्छ । रातिमा बालबालिका पानीमा भिजेपछि बिरामी पर्न थालेको उहाँले बताउनुभयो । “शिविरमा बाढी पसेको हल्लाखल्ला हुन थालेपछि सबैभन्दा पहिला गाईबस्तुलाई फुकाएर जङ्गलतर्फ भगाउँदासम्म झोपडीमा घुँडासम्म पानी पुगिसकेको थियो”, स्थानीय दलबहादुर बोहराले भन्नुभयो, “झोपडीमा सुतेकालाई उठायौँ भाग्न भन्यौँ, त्यसपछि एकसरो लुगामै जङ्गलै जङ्गल पानीमै भागेर ज्यान जोगायौँ ।” शिविर रहेको पश्चिमतर्फ वनहरा नदी, दक्षिणतर्फ नदीले नै बनाएको नाला छ, उत्तरतर्फ घना वन क्षेत्र छ । बिहानको ५ बजेपछि जनप्रतिनिधिसहित सुरक्षाकर्मी आएर सुरक्षित स्थानमा ल्याएर राखेको उहाँ बताउनुहुन्छ । सुरक्षाकर्मीको उद्धार टोलीले शिविरमा पुगेर बग्नबाट बाँकी रहेका सामान जोगाएको उहाँले बताउनुभयो । विस्थापित परिवारको झोपडीमा अहिले घुँडासम्म हिलो छ । बस्नसक्ने अवस्था छैन । विस्थापित परिवारलाई शुक्लाफाँटा नगरपालिका–११ को वडा कार्यालयले सरस्वती माध्यमिक विद्यालयमा तत्कालका लागि बस्ने र खाने व्यवस्था मिलाएको छ । शिविरमा २८ परिवारको बसोबास रहेको छ । शिविरका बस्दै आएका बासिन्दालाई नेपाल रेडक्रस उपशाखा झलारीले कम्बल उपलब्ध गराएको छ भने झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घले राहत सामग्री वितरण गरेको छ । शिविरमा बसोबास गर्दै आएका बासिन्दाले सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिदिनका लागि आग्रह गरेका छन् । “नदी छेउको शिविरमा जुनसुकैबेला अझै पनि विपद् आउनसक्ने भएकाले सुरक्षित स्थानमा बसोबासका लागि धेरै पहिलेदेखि माग गर्दै आएका हौँ”, मानध्वज लुहारले भन्नुभयो, “कसैले सुनेनन् अव त्यो शिविरमा फर्केर जाने मन छैन, निकै डर लाग्न थालेको छ, यस पटकको विपद्बाट मोबाइलमा आएको सन्देशले बचायो । अर्कै पटक विपद् आए के हुने हो थाहा छैन ।”
बाँके : समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपाली धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नकसेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता परेको हो । यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ता लागेको खजुराका गेहेन्द्र धितालले बताउनुभयो । यस वर्ष समयमै पानी नपरेका कारण ढिलोगरी धान रोपाइँ भएको थियो । खेतीका बेला मल नपाएउँदा खेती लाउन नपाइएको उहाँको भनाइ छ । बाँकेको नरैनापुर गाउँपालिकामा पानी नपर्दा यस वर्ष १५ प्रतिशत मात्र धान रोपाइँ भएको स्थानीयले बताएका छन् । सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीका भरमा धानखेती गर्दै आएका नरैनापुरका किसानले यो वर्ष रोपाइँ गर्न नपाएको सोहनलाल यादवले बताउनुभयो । पर्याप्त सिँचाइको व्यवस्था नभएकाले किसानले नरैनापुरमा धान रोपाइँ गर्न पाएका छैनन् । वैकल्पिक उपायमार्फत लगाएको धानबालीसमेत नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताउनुभयो । बाँकेमा खडेरीका कारण यो वर्ष धानखेतीयोग्य १० प्रतिशत जमिन बाँझै रहेकाले अघिल्लो वर्षको तुलनमा उत्पादन कम हुने अनुमान गरिएको उहाँले बताउनुभयो । बाँकेमा अन्य स्थानीय तहमा धेरै समस्या नभए पनि नरैनापुरमा खडेरीका कारण यो वर्ष धानखेती गर्न सकिएको छैन । पानीको अभावमा समस्या भएपछि नरैनापुरलाई गाउँपालिकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । नरैनापुरमा धानखेती हुने क्षेत्रफल करिब चार हजार दुई सय हेक्टर छ । जिल्लाका अन्य क्षेत्रमा ८७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
ललितपुर : ‘सक्नेछन् रचना बिलाउन त्यसै बाटो नपाएपछि केको हुर्कन सक्छ स्वच्छ बिरुवा माटो नपाए पछि’ स्व कवि नारायण गौतम(पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ बजारमा आएको छ । प्रस्तुत कविता सङ्ग्रहमा रहेका ७९ कवितामा स्पष्ट भाव, सकारात्मक सन्देश, समाजका विकृतिमाथि प्रहार, राष्ट्र प्रेम, प्रकृतिमाथिको सुन्दर प्रस्तुती, मानवीय संवेदना र वात्सल्य प्रेम झल्किएको छ । उल्लेखित कवितामध्ये दशवटा मन्दाक्रान्ता, छ वटा वसन्ततिलका, पाँचवटा अनुष्टुप, छ वटा उपजाति र एउटा इन्द्रबज्रा छन्दका रहेका छन् । यसैगरी दुईवटा गीत पनि समावेश गरिएका छन् । सरकारी सेवा, प्राध्यान र सामाजिक सेवामा जीवन बिताउनुभएका श्रीमहालक्ष्मी नगरपालिकाको लामाटार निवासी उहाँका कविता विभिन्न साहित्यिक पत्रिकामा छापिएका छन् । कवि गौतमको निधन विसं २०५७ साउन २१ गते भएको थियो । श्रीमती भगवती गौतमले प्रकाशित गर्नुभएको उक्त कविता सङ्ग्रह १०२ पृष्ठको छ।
काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर लामिछाने अझै पक्राउ परेका छैनन्। उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्। यसो हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए। ‘उनी अहिलेसम्म सम्पर्कमा आएनन्, इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया सुरू भइसक्यो,’ ती अधिकारीले भने। प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताएको थियो। अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन। यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो। तर उक्त कुरा पुष्टि हुन सकेको छैन। इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रियामा जाँदा सुरूमा कुन प्रकृतिको अपराध हो भन्ने छुट्याइने प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए। इन्टरपोलले रेड, ब्लु, एल्लो, ब्ल्याक, पर्पललगायत रंगअनुसार अपराधको वर्गीकरण गरेको छ। बलात्कार, हत्याजस्तो जघन्य अपराधको मुद्दामा इन्टरपोलबाट रेड कर्नर जारी गरिन्छ। ‘कस्तो खालको अपराध र परिस्थिति हो त्यसअनुसार नोटिस जारी हुन्छ। मृत्यु भइसकेको मान्छे खोज्न परे ब्ल्याक कर्नर, बिस्फोट गराएको मुद्दाका मान्छे पक्राउ गर्न परे पर्पल, बलात्कारजस्तो गम्भीर प्रकृतिको अपराधमा रेड कर्नर नोटिस जारी हुन्छ,’ उनले भने, ‘नोटिस जारी गर्न पनि एकैचोटी हुँदैन। कार्यविधि, कानुनअनुसार अघि बढ्ने हो।’ यसबारेमा अदालतको पनि आदेश चाहिने उनले बताए। अनुसन्धान गर्दै जाँदा अनुसन्धान अधिकृतको आवश्यकता भएमा अदालतको आदेशपछि इन्टरपोलबाट पक्राउ गर्न सकिने उनको भनाइ छ। फरार भएको यति नै दिनमा पक्राउ गर्नुपर्ने भन्ने नभएको उनले बताए। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ। केही समयअघि नै लामिछानेले नेपाल आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको थियो। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द गरेका थिए। लामो समयसम्म विदेशमा रहँदा उनी पीडितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ। तर पीडित प्रहरीकै संरक्षणमा भएको प्रहरी अधिकृतले बताएका छन्। उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। त्यसको भोलिपल्ट गत शुक्रबार सन्दीपले सामाजिक सञ्जालमार्फत् घटनाको विषयमा बोलेका थिए। उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका थिए।
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि सकुशल उद्धार गरिएको छ । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको हो । शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेका थिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीरबाट सिवाकोटीको आवाज आएपछि उद्धारको पहल थालिएको थियो । सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए । ‘२२ घण्टापछि उहाँलाई सेनाको सहयोगमा उद्धार गरिएको हो,’ उनी भन्छन्,’ठूलो पानी परेको भए राति नै बगाउन सक्थ्यो, तर खोलाको सतह नबढेकाले उहाँ ढुंगामै अड्किरहनु भएछ ।’
पोखरा : आज आइतबार तनहुुँ जिल्ला अदालतमा हुने भनिएको अभिनेता पल ( पूर्णविक्रम ) शाहको सुनुवाई स्थगित भएको छ । गोलाप्रथा गर्दा शाहको मुद्धाको सुनुवाई पहिलो नम्बरमा परेको थियो । तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । ‘न्यायाधीश अनुपस्थित भएपछि आजको सुनुवाइ स्थगित भयो । अर्को पेशीको मिति बेलुकासम्म आउँछ,’ वाग्लेले भने । शाह बलात्कार मुद्दाको पुर्पक्षका लागि अहिले तनहुँ कारागारमा छन् । सोही प्रकृतिको मुद्दामा गत साता नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । नवलपुर अदालतको फैसलाको पूर्णपाठ आइसकेको छैन । फैसलाको पूर्णपाठ आउने बित्तिकै यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी रहेको कानुन व्यवसायी वाग्लेले जानकारी दिए ।
काठमाडौं : महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको छ । प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने अपुष्ट समाचार सार्वजनिक भएको छ । महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ । साथै केही विषयमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिएको तर यस संसदमा पर्याप्त समय अभाव भएकाले संविधानको धारा १०१ को उपधारा ६ बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेश गरी टुंगो लगाउनुपर्ने पनि उल्लेख छ । संविधानको धारा १०१ को उपधारा ९६० र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ । संघीय संसदका महासचिव डा। भरतराज गौतमले पनि गत २०७८ फागुन १ गते राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्याय परिषद र जबरालाई पठाएको पत्रमा संविधानको धारा र प्रतिनिधि सभा नियमावली २०७५ मा भएको व्यवस्था उल्लेख गर्दै जबरामाथि महाअभियोगको कारबाही टुंगो नलागेसम्म कामकाज गर्न नपाउने व्यहोरा उल्लेख गरेका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसदले सफाइ नदिएसम्म जबराको निलम्बन कायमै रहने बताए । संवैधानिक व्यवस्था विपरीत जबरा सर्वोच्च फर्किन लागेको हल्लापछि कानुन व्यवसायीहरुले उनलाई गेटमा रोक्ने तयारी गरेका छन् । यसअघि जबराको कार्य सम्पादनमा प्रश्न उठाउँदै कानुन व्यवसायीहरुले तीन महिना लामो आन्दोलन गरेका थिए ।
अछाम : अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यू हुनेमा ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षीय जानकी शाही,सोही गाउँपालिका का १७ बर्षीय बिमला शाही,४५ बर्षीय नेत्र शाही, ३६ बर्षीय मनिषा शाही,१७ बर्षीय कल्पना शाही,१३ बर्षीय सुन्दर शाही, १ बर्षीय मेनिका शाही,३ बर्षीय कल्पना शाही,२१ बर्षीय भावना शाही र कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षीय अमृता कामी,१७ बर्षीय समिता कामी, २१ बर्षीय अर्धना कामी, ९ बर्षीय निखिल कामी,३६ बर्षीय मैनकला कामी,१५ बर्षीय गिता कामी, १२ बर्षीय सिरु कामी रहेको प्रहरीले बताएको छ । यस्तै कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने २६ बर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ बर्षीय डिग्रा दमाई,३ बर्षीय कलु दमाई,४ बर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा परेर ११ जना घाइते छन् ।

