काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

बागमती :  मकवानपुरको वकैया  गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।   उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो । 

काठमाडौं  :  राजीव साह भर्खर १५ वर्षमा हिँड्दै हुनुहुन्छ । तर उहाँको काँधले भने तीन  दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यानरत साह बिहानभरि कलम समाउने कलिला हातले  साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उहाँको भूमिका फेरिन्छ ।   मोरङको बेलबारी–९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन । परिवारको निम्न आर्थिक अवस्था भएका कारण उहाँका ४३ वर्षीय बुवा अशोक  सिटी सफारी चलाउनुहुन्थ्यो । केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ । बुवाको नियमितरूपमा हप्तामा दुईपटक डायलायसिस गर्नुपरेको राजीव बताउनुहुन्छ । “डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुनेगरेको उहाँ बताउनुहुन्छ । सफारी कुदाएर दैनिक चार÷पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उहाँले गुनासो गर्नुहुन्छ ।   सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उहाँको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने, आफू तथा कक्षा ८ मा पढ्ने भाइका लागि पढाइ खर्च जुटाउने र बुवाको उपचार खर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उहाँ लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाउनुहुन्छ । “कति सानो बाबुले चलाएको जनाउँदै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ”, उहाँ बताउनुहुन्छ ।   स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न आग्रह सबैसंग आग्रह गर्नुभयो । 

चितवन : पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर -१ का २७ वर्षीय पुरुष रहेका छन् ।   उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।   जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो । जिल्लामा भेटिएका डेङ्गुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।  

बागलुङ :  खुङ्खानी र नर्जाखानी दूरीका हिसाबले त्यति धेरै टाढा छैनन् । भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न झन्डै चार घण्टा बढी लाग्छ । भर्खर भर्खर गाउँमा सडक त पुगेको छ तर गाडी भने निरन्तर चल्दैनन् । तमानखोला गाउँपालिकामा पर्ने यी दुई गाउँमध्ये खुङ्खानी वडा नं ५ र नर्जाखानी वडा नं ६ मा पर्छ ।    पालिका केन्द्र बोङ्गादोभानभन्दा नजिक रहेको हुँदा खुङ्खानी गाउँ केही सुगम छ तर नर्जाखानी निकै दुर्गममा छ । भौगोलिक विकटताका कारण स्वास्थ्य, शिक्षालगायतका विकासका पूर्वाधार पनि कमै निर्माण भएका छन् । यस गाउँमा अहिलेसम्म माध्यमिक शिक्षाको पढाइ हुन सकेको छैन । नर्जाखानीका सयौँ विद्यार्थी माध्यमिक शिक्षाका लागि खुङ्खानी आउनुपर्ने बाध्यतामा छन् ।   नर्जाखानीसँगै वडा नं ६ को पात्ले र भित्रिवन गाउँका विद्यार्थी पनि दैनिक छ घण्टा यात्रा गरेर माध्यमिक शिक्षा हासिल गरिरहेका छन् । उनीहरुले यो समस्या भोग्न थालेको वर्षौं भयो । नर्जाखानी, पात्ले र भित्रिवन गाउँका सयौँ बालबालिका गाउँमै रहेको विद्यालयबाट आधारभूत तहका पढाइ पूरा गरेपछि माध्यमिक शिक्षाका लागि वडा नं ५ खुङ्खानीमा रहेको शान्ति माविमा पुग्छन् ।   “स्कुल टाढा छ, बिहान चाँडै हिँडिएन भने हाजिर भेट्न पुगिन्न, यहाँबाट स्कुल जानआउनका लागि छ घण्टा लाग्छ, दैनिक हिँडेरै जानुपर्छ गाडी पनि खासै चल्दैन”, कक्षा १० मा अध्ययनरत विकास सिर्पालीले भन्नुभयो । उहाँले दैनिक छ घण्टा हिँड्दा थकाइ लाग्ने हुँदा सोचेअनुसारको पढाइ हुन नसकेको बताउनुभयो । सिर्पालीले विद्यालय नजिकै कोठा लिएर बस्न सक्ने अवस्थासमेत नभएको सुनाउँदै आफूले दुई वर्षदेखि घरबाटै आवतजात गरी पढिरहेको बताउनुभयो ।    “घरभन्दा स्कुल निकै टाढा छ, बिहान सबेरै उठेर हिँड्नुपर्छ, घर फर्किंदा राति हुन्छ, यसले गर्दा मैले सोचे जस्तो पढाइ हुन सकेको छैन, कमजोर भएको महसुस भएको छ”, उहाँले भन्नुभयो, “कोठा लिएर बसौँ भने खर्च धान्न सक्ने अवस्था छैन, अरू साथीहरुसँग पढाइ प्रतिस्पर्धा गर्न पनि गाह्रो भयो, त्यति धेरै समय हिँड्दा थकाइ लाग्छ, थकाइ लागेको बेला पढ्न मन लाग्दैन, बिहान एकछिन घरको काम पनि गर्न परिहाल्यो, त्यसले गर्दा निकै समस्या छ, मलाई मात्रै होइन, यहाँका थुप्रै साथीहरु पनि यस्तै समस्यामा छन् ।”   सिर्पालीले बर्खाको समयमा आफूलाई झन् ठूलो समस्या हुने बताउनुभयो । वर्षाका कारण खोलानाला बढ्ने र बाढी पहिराले बाटो नै बन्द गरिदिँदा विद्यालय पुग्नै समस्या हुने गरेको उहाँको भनाइ छ । बाढी पहिराका कारण कैयौँ दिन विद्यालय जानबाट समेत वञ्चित भएको उहाँको अनुभव छ ।   “अहिले बर्खाको समय छ, यो बेला त मरिन्छ कि बाँचिन्छ थाहै हुँदैन, बाटोघाटो बाढी पहिराले बन्द गरिदिन्छ, खोलानालाहरु बढेर वारपार गर्न नसकिने भएका छन्, पोहोर सालतिर त झन् पहिराले बाटो बन्द हुँदा धेरै दिन स्कुल गइएन”, उहाँले भन्नुभयो, “हिउँदमा पनि जाडोले हातखुट्टा कठ्याङ्ग्रिन्छन्, दुर्गममा भएर होला हाम्लाई निकै समस्या छ ।”   भित्रिवनकी पवित्रा घर्ती मगरले गाउँमा माध्यमिक शिक्षाका लागि विद्यालय नहुँदा अनेकौं समस्याहरु भोग्नुपरेको बताउनुभयो । उहाँ लामो दूरीमा विद्यालय हुँदा प्रभावकारीरूपमा पढाइ हुन नसकेको बताउनुहुन्छ । “यति लामो दूरी हिँडेर पार गरेर स्कुल पुग्नुपर्छ, स्कुल पुग्दा थकाइले पढ्न मनै लाग्दैन, पढाइ प्रभावकारी नै हुन सकेको छैन, फेल भइन्छ कि भन्ने डर लाग्छ ।”   घर्ती मगरले गाउँ नजिकै रहेको विद्यालयमा आठ कक्षासम्म पढ्दा सहज भए पनि अहिले गाह्रो भएको सुनाउनुहुन्छ । “आठ कक्षासम्म त गाउँकै स्कुलमा पढ्न पायौँ, दुःख थिएन, ९ बजे हिँडे पनि स्कुल पुगिन्थ्यो, अहिले ७ बजेभन्दा ढिला हिँडियो भने पहिलो पिरियड भेट्टाउन सकिँदैन, कक्षा ९ र १० पढ्न कि बोङ्गादोभान जानुपर्छ, कि खुङ्खानी नै जानुपर्छ, कि त पढ्नै छोड्नु पर्छ”, घर्तीले भन्नुभयो ।   उहाँ सरकारले आफूहरु जस्ता दुर्गममा रहेका विद्यार्थीहरुका लागि छात्रावासको व्यवस्था गरिदिए पढ्न सहज हुने बताउनुहुन्छ । “हामीहरु त निकै दुर्गम ठाउँमा छौँ, सरकारले हाम्लाई होस्टेलको व्यवस्था मिलाई दिने भए धेरै सहज हुन्थ्यो, हाम्रो पढाइ पनि राम्रो हुन्थ्यो होला, अरू साथीहरु जस्तै हामी पनि फस्ट, सेकेन्ड हुन्थ्यौँ होला ।”   तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले नर्जाखानी क्षेत्रमा माध्यमिक तह सञ्चालनका लागि विद्यार्थी अपुग हुने र त्यसका लागि ठूलो बजेट चाहिने हुँदा अहिलेसम्म माध्यमिक तह सञ्चालन हुन नसकेको बताउनुभयो । अध्यक्ष बुढा मगरले नर्जाखानीमा कक्षा ८ सम्म राम्रोसँग सञ्चालन भइरहेको भन्दै यस क्षेत्र भौगोलिक विकटता र कम जनसङ्ख्याका कारण माध्यमिक तहको पढाइका लागि विद्यार्थीहरु खुङ्खानी आउनुपर्ने अवस्था रहेको बताउनुभयो ।   “यहाँका विद्यार्थीलाई निकै समस्या छ, हामीले बुझेका छौँ, माध्यमिक तह सञ्चालन गर्न पनि फेरि उत्तिकै चुनौती पनि छ, हामीले यहाँका विद्यार्थीलाई सहजरूपमा शिक्षा दिन सकिन्छ भन्ने विषयमा प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेका छौँ, सहजरूपमा शिक्षा प्रदान गर्न योजनासमेत बनाइरहेका छौँ”, अध्यक्ष बुढा मगरले भन्नुभयो ।   पात्ले गाउँमा कक्षा ३, भित्रिवनमा कक्षा ५ र नर्जाखानीमा कक्षा ८ सम्म पढाइ हुन्छ । नर्जाखानी गाउँका बालबालिकाले गाउँमै कक्षा १ देखि ८ सम्म अध्ययन सक्छन् भने भित्रिवन र पात्ले गाउँका बालबालिकाहरु नर्जाखानी आउनुपर्छ । पात्ले गाउँमा बालबालिकाले गाउँमा कक्षा ३ र भित्रिवनका बालबालिकाले कक्षा ५ उत्तीर्ण गरे भने त्यसमाथिको तहको अध्ययनका लागि नर्जाखानीमै पुग्छन् । भित्रिवनबाट नर्जाखानी आउन करिब ढेड घण्टा लाग्छ भने पात्ले गाउँबाट एक घण्टा लाग्छ । 

  रुपन्देही । सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सन्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो ।       दसैँ सस्तो बजारबारे जानकारी दिने उद्देश्यले आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीष्म न्यौपानेले नेपालीका चाड पर्वहरुमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन साथ बजारको आयोजना गरिएको बताउनुभयो ।        यस क्षेत्रका अधिकांश नेपाली चाडपर्वको बेलामा मात्र नभएर अन्य समयमा पनि बजार गर्न सीमावर्ती भारतीय बजार सुनौली र नौतनहवा पुग्ने गर्दछन् । भारतीय बजारमा जाने नेपाली ग्राहकलाई रोक्ने उद्देश्यका साथ विभिन्न उद्योगी, व्यवसायीसँगको सहकार्यमा उपभोक्ताहरुलाई सर्वशुलभ रुपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरु बिक्री वितरण गरिने कार्यक्रम संयोजक अर्जुन कार्कीले बताउनुभयो ।        विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानको सहभागिता रहने दसैँ बजार २०७९ मा साल्ट ट्रेडिङसहित खाद्यन्न, जुत्ता, चप्पल, दुई पाङ्ग्रे अटोमोबाइलसहितका १५ देखि १७ वटा स्टल रहने उहाँले जानकारी दिनुभयो । यस अवधिमा करिब रु ४० देखि ५० लाख बराबरको कारोवार हुने अनुमान गरिएको कार्यक्रम संयोजक कार्कीले बताउनुभयो ।       दसैँ र तिहार लक्षित बजारमा सीमावर्ती भारतीय बजार सुनौलीमा नेपालीको घुइँचो लाग्ने गरेको छ । यस्ता नेपाली उपभोक्तालाइ नेपाली बजारमै रोक्ने सङ्घको उद्देस्य रहेको कार्कीले बताउनुभयो ।

  काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताउनुभएको छ ।    संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उहाँले संविधानमार्फत शिक्षा, स्वास्थ्य रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै अब ती कुरालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताउनुभएको छ ।       पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले संविधान दिवसकै अवसरमा असोज १ गते पदयात्रा गरेर युवाको भविष्य सुनिश्चित गर्नका लागि कमाइ, औषधि र पढाइको अवधारणा ल्याएको बताउनुभयो ।        युवालाई गुणस्तर शिक्षाको अवसर दिँदा, उनीहरुलाई आफ्नै खुट्टामा उभिएर उत्कृष्ट जीवनयापन गर्ने अवस्था निर्माण गर्न एमाले सक्रिय रहेको उहाँको भनाइ छ । नागरिक बिरामी हुँदा सजिलै उपचार औषधि पाउने तथा निरोगी भएर बाँच्ने अवस्थामा देशलाई पुर्याउने आफूहरुको उद्देश्य रहेको उहाँले बताउनुभयो । 

गलकोट  :  विद्यालय भवन मर्मत अभावमा गाह्रो बाङ्गिएको छ । भवन छाएको जस्तापाता खिया मात्रै लागेको छैन, कुच्चिएको छ । भित्ताको माटो उप्किएर भवन चर्किएको भाग प्रष्ट देखिन्छ ।    यो अवस्था शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्रको गृहजिल्ला  बागलुङ सदरमुकामस्थित बागलुङ नगरपालिका–७ ठाडास्वार छरिखोलास्थित सरस्वती प्राथमिक विद्यालयको हो । विद्यालयको भौतिक संरचनाको दुईकोठे भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । आफ्नो दुई कोठे जीर्ण भवनबाटै विद्यार्थीलाई पठनपाठन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक रेशम परियार बताउनुहुन्छ ।   “दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । भवन अभावमा पठनपाठनमा निकै समस्या भयो । जीर्ण दुई कोठे भवन र तीन कोठे पक्की भवन छ । बालविकास र पाँच कक्षा, प्रशासनिक काम, पुस्तकालय र प्रयोगशाला सबै त्यहीँ पाँच वटा कोठाबाट चलाइएको छ”, परियारले भन्नुभयो, “पक्की भवनको कोठालाई बाँडेर पढाउन बाध्य छौँ, जीर्ण भवन मर्मत गर्ने विद्यालयको आन्तरिक स्रोत छैन ।”    बागलुङ नगरपालिका–७ का वडाध्यक्ष मघराज गैरेले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवनलाई बजेट पर्ला भनेर वडाले तारबारलाई बजेट पारेको बताउनुभयो । गैरले भन्नुभयो, “विद्यार्थी कम भएको विद्यालयलाई त केही नहोला तर यहाँत दलित समुदायका विद्यार्थीलाई पठनपाठनमा असहज भएको छ ।” यस वर्ष राष्ट्रपति शैक्षिक सुधारअन्र्तगत कार्यक्रममा भवन समावेश नभए पनि अर्को पटक पहिलो प्राथमिकतामा पारेर भवन माग गर्ने बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । RSS

  बाँके । बाँके जिल्लामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा डुबेर दुई जनाको मृत्यु भएको हो ।       राप्तीसोनारी–८ शम्शेरगञ्जका ७३ वर्षीय बुद्धिमान लामाको करेन्ट लागेर मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार लामाको पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो ।      यसैगरी सिक्टा सिँचाइ आयोजनाको नहरमा डुबेर कोहलपुर–८ का ११ वर्षीय आकाश गिरीको मृत्यु भएको छ । शनिबारदेखि बेपत्ता रहेका गिरीको शव आइतबार साँझ मात्र नहरमा फेला परेको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो । 

  पाल्पा । सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले गुञ्जयमान छ ।    सडक नजिकै  जोडिएको घर, बाटो हिँड्ने यात्री एकछिन अडिएर मीठो सङ्गीतको धुन सुनेर आफ्नो गन्तव्यमा पाइला बढाउँछन् । सङ्गीतको तालमा आफ्नो जीवनको समय उत्तराद्र्धमा पुगेको अझै पत्तो छैन, टीकाराम ढकाललाई । उमेर गन्ती गर्दा उहाँ ठ्याक्कै ६१ वर्षमा पुग्नुभयो तर सङ्गीतले १६ वर्षे जवानीको जोशिलो पारामा सङ्गीतको तालमा डुबुल्कु मार्नुहुन्छ ।    पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुका उहाँको दैनिकी वाद्यवादनमा बित्ने गरेको छ । कोठामा सजाएर राखिएका थरिथरिका बाजा बजाएर जीवन व्यतीत गरिहनुभएको छ । “उमेरले छ दशक नाघिसकेछ तर सङ्गीतले १६ वर्षे ठिटो छुजस्तो बनायो, बाजा बजाउन भनेपछि मनभित्रै देखि नै निकै जोशिलोपन बढेर आउँछ, बुढ्यौली टेकेजस्तो लाग्दैन”, उहाँले भन्नुभयो, “सङ्गीतमा रमाएर बाँच्ने नै मेरो सङ्कल्प हो त्यसरी नै बाँचिरहेको छु,, एउटा नशाजस्तै बनेको छ ।”    घरमा बुबाबाट बाँसुरी बजाउने प्रेरणा पाएपछि १३ वर्षको उमेरदेखि नै वाद्यवादनमा लाग्नुभएका ढकालले १७ थरिका बाजा बजाउनुहुन्छ । आफूले बजाउने सबै बाजा घरमा किनेर राख्नुभएको छ । बाँसुरी, खैजडी, मुजुरा, मादल, माउथ हार्मोनियम, हार्मोनियम, किबोर्ड, अक्टोप्याड, मुर्चुङ्गा, पात, छ्याइछ्याइ, सहनाई, ठूलो झ्याली, शङ्ख, डमरु, सारङ्गी, मोहोलीलगायतका बाजा बजाउन सिपालु हुनुहुन्छ ।    बिहान उठेदेखि नै साँझसम्म बाजासँगै दैनिकी बितेको छ । करिब तीन लाख बढीका वाद्यवादनका सामग्री खरिद गर्नुभएको छ । नयाँ बाजा देख्ने बित्तिकै झिकाउने र घरमा आफैले सिक्ने गर्नुहुन्छ । उहाँले पुराना बाजा मात्रै नभई बजारमा आएका आधुनिक खालका बाजा पनि मज्जाले बजाउने गर्नुहुन्छ । लोपोन्मुख अवस्थामा रहेको पुरानो बाजा मोहोली र मुर्चङ्गा घरको दराजमा संरक्षण गरेर राख्नुभएको छ । विशेष गरी बाँसुरी, खैजडी, मुजुरा, हार्मोनियम, सारङ्गी, अक्टोपसलगायतका बाजा बढी बजाउन मन पराउनुहुन्छ ।    “औपचारिकरुपमा कला संस्कृति सिक्ने चाहना थियो तर त्यस समयमा वातावरण बनेन, राष्ट्रियस्तरसम्म पुगेको भए एक खालको राष्ट्रिय कलाकारको उपाधि बन्थ्यो, तै पनि स्थानीयस्तरमा नै वाद्यवादनमा भिजेको छु, यसमै सन्तुष्टि मिलेको छ, मेरो कलालाई राष्ट्रियस्तरका कलाकारले पनि चिनेर घरमा बेला–बेलामा आउने गर्नुहुन्छ ।”    मानिसका जीवनका दुःख र पीडालाई भुल्न सङ्गीत अतिआवश्यक रहेको उहाँ बताउनुहुन्छ । ब्लड क्यान्सर रोगले ग्रसित उहाँ नियमित उपचारसँगै घरमै वाद्यवादन कार्यमा रहँदा रोगको पीडा नै भुल्दै गएको अनुभव सुनाउनुभयो । करिब १६ वर्ष अघि क्यान्सर रोगले आक्रमण गरेपछि नेपाल तथा भारतका विभिन्न अस्पतालमा नियमित उपचार गरेपछि अहिले दुई वर्षयता भने रोग निको हुँदै जाँदा उपचारमा अस्पताल कम धाउनुपरेको छ ।    करिब १४ वर्षसम्म रोगसँग जुध्नुभएका ढकालले घरको कोठामा बसेर दिनभर विभिन्न थरिका बाजा बजाउने गर्दा आफ्नो शरीरको करिब २५ प्रतिशत रोग निको हुँदै गएको अनुभूति सुनाउनुभयो । सरकारले सङ्गीतलाई संरक्षण गरिनुपर्नेछ, जसले गर्दा यस क्षेत्रमा लाग्न सबैलाई प्रेरणा मिल्नेछ । मेरो शरीरको रोग निवारण गर्ने एक चिज सङ्गीत हो, सङ्गीतमा भुलेपछि सबै कुरा बिर्सिर्दै गएको ढकालले बताउनुभयो ।   उहाँ भन्नुहुन्छ, “बाजा बजाउँदै गर्दा रोगको पीडा कम भएको महसुस भयो, जीवनलाई भुलाउने माध्यम भनेको सङ्गीत रहेछ, जीवनको अन्तिम समयसम्म पनि यसरी नै वाद्यवादनमा नै रमाउनेछु, यसमै जीवन आनन्दमय व्यतीत भइरहेको छ ।” रामपुर भजनकीर्तन मण्डलीका अध्यक्षसमेत रहनुभएका ढकालले संस्थालाई व्यवस्थित गरी यस क्षेत्रमा वाद्यवादनमा रुचि जगाउने र सिक्न चाहनेलाई सङ्गीत सिकाउने लक्ष्यका साथ सामाजिक कार्यमा उहाँ सक्रिय भएर लाग्नुभएको छ । अहिले यस क्षेत्रमा युवा उहाँकै कलाबाट प्रभावित भएर विभिन्न थरिका बाजा बजाउने र भजनकीर्तनमा सहभागी हुने गरेका छन् ।    सङ्गीत अपार चिज हो, जतिसुकै मानिस पढेर विद्वान् भए पनि जीवन जिउने यो अति आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँ समूहमा गाउँघरमा हुने धार्मिक तथा शुभकार्य, विभिन्न सभा समारोह, मेला महोत्सव, सांस्कृतिकलगायतका विभिन्न कार्यमा वाद्यवादनमा सरिक हुँदै आउनुभएको छ । पाल्पा, स्याङ्जा, तनहुँ, रुपन्देही, गुल्मी, कास्की, नवलपरासी, गोरखा, लमजुङ, बाग्लुङ, महेन्द्रनगर, सुर्खेत, काठमाडौँ, चितवनलगायतका विभिन्न जिल्लामा वाद्यवादनका निम्ति उहाँ पुग्नुभएको छ ।    पुराना मौलिक बाजा बजाउने कलाकारसँग नगरको कला संस्कृतिको विकासमा स्थानीय सरकारले छलफल तथा सुझाव माग गरेमा यस क्षेत्रको विकास हुने थियो तर कला संस्कृति संरक्षणमा नागरिकले अनुभूति हुने खालको काम नगरेकोमा भने उहाँ चिन्तित हुनुहुन्छ । घरमा युवा वाद्यवादन सिक्न बेला–बेलामा आउने गरेकाले आफूमा भएको कला, संस्कृति नयाँ पुस्तालाई सिकाउने र हस्तान्तरण गर्ने उहाँको इच्छा छ । सङ्गीत जीवन जिउने एउटा शक्ति मात्रै नभई यसको मीठो ध्वनिले पारिवारिक वातावरण रमाइलो र खुसी बनाएको बताउनुहुन्छ, उहाँका श्रीमती विष्णुमाया ढकाल ।          “मैले जाने बुझेदेखि नै वाद्यवादनमा बढी सौखिन हुनुहुन्छ, घरपरिवारको कुनै तनाव छैन, सबै जिम्मेवारी मैले सम्हालेको छु, उहाँको दैनिकी वाद्यवादनमा नै बितिरहेको छ”, उहाँले भन्नुभयो । सङ्गीतले धेरै मानिसलाई बाँच्ने प्रेरणा र दुःख पीडा भुल्न सिकाउँछ । सङ्गीतको शक्ति एउटा आवाज, भाषा वा बोलीजस्तै हो । यसमा इमोसन र भावना हुन्छ । सङ्गीतको स्केल, धुन, पद्घति, शैली निकै बेग्लै हुन्छ, जसलाई महसुस गर्न सकिन्छ, शब्दमा भन्न सकिँदैन । अद्भूत आनन्दमय हुन्छ साङ्गीतिक संसार ।          सङ्गीतले क्षणिक मनोरञ्जन दिनेमात्र होइन यसले चिरस्थायीरुपमा आनन्द समेत दिन्छ । आत्मसुखको मूल स्रोत नै सङ्गीत हो । भक्तिमार्गको अभिन्न अङ्ग नै सङ्गीत हो । मान्छेले मात्र सङ्गीतमा आत्मसुख पाउँदैनन् । पशुपन्छीलाई समेत मोहित पार्ने खुबी सङ्गीतमा छ ।