लमजुङ : यतिबेला लमजुङमा दशैँको छुट्टै रौनक छाएको छ । खेतमा ‘लहलह’ धानको बाला झुलेको छ भने बारीमा ढकमक्क कोदो फुलेको छ । रात जुनेली, दिन पनि घमाइलो भइरहेको छ । घर बाहिर गएका परिवारका सदस्य पनि घरमा आउन थालेका छन् । गाउँघर तथा सहरमा मानिसको चहलपहल पनि बढ्दो छ । सुन्दरबजार नगरपालिका–९ सिउँदीबारका सन्तोष श्रेष्ठ भने खासै रमाएका छैनन् । उहाँले भन्नुभयो, “विगतका वर्षहरूमा प्रत्येक घटस्थापनाका दिनदेखि बिहान–बिहानै नगरा बजाउन आउँथ्यो, नगराका धुन सुन्दा दशैँको आभास हुने गर्दा मनै उल्लासमय हुन्थ्यो, तर यस वर्ष नआउँदा नरमाइलो लागेको छ । सानै छँदादेखि नगरा बजाएको सुन्दै आएँ तर यस वर्ष भने नआएपछि नगराको धुन सुन्न नपाउँदा लोप भयो कि भन्ने चिन्ता लागेको उहाँको भनाइ छ । हिन्दू धर्म संस्कृतिसँग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएको छ । घटस्थापना सुरु भएदेखि अर्थात् नौरथा सुरु भएसँगै गाउँ–सहरका घरघरमा नगरा लगाउने चलन छ । नगरा लगाउँदाको दमाहाको धुनले दशैँ आएको आभास स्थानीयलाई हुने गरे पनि यस वर्ष भने गाउँघरमै सुनिन छाडेको छ । दशैँको बेला नगरा लगाएको घरमा सुख र शान्ति छाउने धार्मिक विश्वास पनि रहिआएको छ । दशैँका बेलामा परियार समुदायका मान्छेले घर–घरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय भने हराउँदै जाँदा जिल्लावासी चिन्तित छन् । अझै बुढ्यौली हुँदै गएका दमाह बजाउने परियार समुदायका सन्तति अर्थात् युवापुस्ताको चासो नगरा लगाउनेमा नहुँदा लोप हुँदै गएको पाइन्छ । नगरा लगाउनेलाई समाजले राम्रो नजरले नहेर्ने भएकाले पनि यो प्रचलन विस्तारै हराउँदै गएको दोर्दी गाउँपालिकाका सन्तेबहादुर परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका युवापुस्तालाई बाजा बजाउनै नआउने र बजाउन सिकेकासमेत बाजा बजाउँदै हिँड्न लाज मान्ने गरेका छन् । त्यसैमाथि यो नगरा लगाउने चलन त हराइनै सकेजस्तो छ ।” विगतमा घर–घरमै नगरा लगाउने चलन भए पनि केही वर्षदेखि भने नगरा लगाउने चलन हराउँदै गएको क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अब नगरा संरक्षणका लागि पालिकाले नयाँ पुस्ताका परियार समुदायलार्ई आकर्षित गर्ने वातावरण सिर्जना गर्छौँ । नगरा प्रथा परियार समुदायको संस्कार, परम्परा र पुर्खाले दिएको सम्पत्ति हो । तर अहिले परम्परा नै लोप हुन थालेको जनाउँदै परियार समुदाय नै चिन्तिन बन्दै गएका छन् ।” घटस्थापनादेखि ब्राह्मण–क्षेत्री समुदायमा दशैँको नवमीसम्म बिहान दुर्गा भवानीको पूजा गर्ने चलन छ । नहरा लगाउने प्रथा संरक्षणमा सबै परियार समुदाय पनि एकजुट हुनुपर्ने सरोकारवाल बताउँछन् । विस्तारै विभिन्न संस्कार र संस्कृति लोप हुँदै गर्दा संस्कृतिविद्समेत चिन्तित बनेका हुन् ।
काठमाडौं : मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । ६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको छ । अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख केदार खनालले जानकारी दिए । चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए । हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको थियो । पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका अनुसार गम्भीर घाइते दुईजनासहित ६ जनालाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ । मौसम खराब भएकाले सोमबार उद्धार गर्न सकिएको थिएन ।
गोरखा ः गोरखा भूकम्पले क्षति पुर्याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ । मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुिठयार थकाली भीमबहादुर श्रेष्ठले संयुक्तरूपमा सोमबार सत्तलको शिलान्यास गर्नुभयो । मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब रु ९० लाख लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब दशैँलगत्तै पुनःनिर्माण सुरु हुन्छ, फिनिसिङ गर्दा थप लागत बढ्न सक्छ । करिब सात महिनाभित्रमा सत्तल निर्माण सम्पन्न हुन्छ ।” उक्त सत्तलमा तत्कालीन समयमा मन्दिरमा आउने भक्तजनले बत्ती बाल्ने गर्दथे । हाल रहेको सत्तलको तेस्रो तलामा परेवा घर र मनकामना क्षेत्र विकास समितिको कार्यालय सञ्चालन हुँदै आएको छ । नयाँ निर्माण सम्पन्न भएपछि समेत सोही सत्तलमा समितिको कार्यालय सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
काठमाडौं ः नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेषरूपमा ब्रह्मचारिणी देवीको विशेषरूपमा पूजा आराधना गर्ने गर्छन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दशैँघरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । नवरात्रको पहिलो दिन सोमबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । वर्षमा चार नवरात्र पर्छन् । त्यसमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेषरूपमा शक्ति स्वरुपा देवीको पूजा आराधना गरिन्छ । पुस र असारमा पर्ने नवरात्रमा केही साधकले देवीको आराधना गरे पनि आश्विन चैत्रमा जसरी मनाइँदैन ।
काठमाडौं । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दसैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून थियो । तीन वर्षअघि काठमाडौँ उपत्यकाबाट दसैँका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाखको हाराहारीमा रहेको तथ्याङ्क छ । दसैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ । सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिनुभयो । महानगरीय ट्राफिक प्रहरी कार्यालयले दसैँ मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएमा खबर गर्न आग्रह गरेको छ । यातयात व्यवसायीले पनि दसैँका लागि पर्याप्त सवारीसाधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ । अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारीसाधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार छ सय २४ परीक्षणमध्ये ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज ८४ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ७८ जना पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ । यस्तै १४ जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य छ । ताप्लेजुङ, तेह्रथुम, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु र दार्चुला छन् । यस्तै होम आइसोलेसनमा एक हजार एक सय ३०, संस्थागत आइसोलेसनमा ४८, सघन उपचार कक्ष (आइसियु)मा १० जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप कसैले पनि नलगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: काठमाडौँ उपत्यकाबाट सबैभन्दा नजिक रहेको जुगल हिमालको प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फोटो पुस्तक ‘गन्तव्य जुगल’ आज सार्वजनिक भएको छ । आज यहाँ आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले त्यस हिमाल र आसपासका क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य समेटिएको पुस्तक सार्वजनिक गर्नुभयो । काठमाडौँ उपत्यकाबाट कूल एक सय ५० किलोमिटरको दूरी तय गरेपछि जुगल हिमालको आधार शिविर पुग्न सकिन्छ । सोही हिमालका आरोही मिलन तामाङले पुस्तकको संयोजन एवं लेखन गर्नुभएको हो । जुगल गाउँपालिकाले प्रकाशन गरेको पुस्तकमा त्यस हिमाल र आसपासका क्षेत्रका बारेमा सविस्तार जानकारी दिइएको छ । जुगल क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बि=स= २०७५ चैतमा नै सो हिमाल आरोहणको अनुमति दिइएको थियो । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टको कार्यकालयमा नै सो हिमाल आरोहणको अनुमति दिइएको थियो । आरोहणको अनुमति पाउने वित्तिकै यस पुस्तकका लेखक तमाङलगायतले सफल आरोहण गर्नुभएको थियो । हाल आधार शिविरतर्फ सहज रुपमा पुग्नका लागि बलेफी–कात्तिके–पेम्बाथान सडक निर्माण भइरहेको छ । केही दिन पहिले मात्रै सभामुख सापकोटाले सो सडक निर्माणलाई गति दिन सम्बन्धित निकायलाई आयोजनास्थलमा नै पुगेर निर्देशन दिनुभएको थियो । सभामुख सापकोटाको पहलमा नै सो सडक निर्माण भइरहेको छ । सडक निर्माणका लागि रु एक अर्ब बराबरको लगानी भएको छ । राजधानी नजिक भएर पनि प्रचारप्रसार हुन नसकेको सो हिमाललाई मूल प्रवाहमा ल्याउने र धेरै धेरै पर्यटक भित्र्याएर आर्थिक समृद्धिको दिशामा ध्यान केन्द्रीत गर्न आफुहरु लागिपरेको पुस्तकका लेखक तामाङको भनाइ छ । आर्थिक विकासका लागि पर्यटन क्षेत्रको प्रवद्र्धन र त्यसलाई विस्तारित उद्योगका रुपमा लैजानका लागि पुस्तक महत्वपूर्ण हुने त्यस अवसरमा जानकारी दिइएको थियो । एउटै आधार शिविरबाट आठ वटा हिमाल आरोह गर्न सकिने भएकाले पनि पर्यटकको विशेष आर्कषणमा पर्ने विश्वास लिइएको छ । सभामुख सापकोटाका अनुसार जुगल क्षेत्रको पर्यटन विकासका सम्भावनालाई पुस्तकले अझ विस्तार गरेको तथा आन्तरिक र बाह्य पर्यटकको चासो बढाउनेछ । जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार जुगल हिमशृङ्खलालगायत यस पालिकाभित्र रहेका अन्य धार्मिक, सांस्कृतिक, प्राकृतिक र अन्य पर्यटकीय क्षेत्रहरुलगायत समग्र क्षेत्रको यर्थाथ चित्रण गर्न पुस्तक महत्वपूर्ण छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये जुगल गाउँपालिका पर्यटन क्षेत्रको विकासका लागि प्रवल सम्भावना रहेको पालिका हो । नेपालकै विभिन्न पासमध्ये तिलमान पास, धार्मिक र प्राकृतिक महत्व रहेको भैरवकुण्ड क्षेत्र, धार्मिक महत्व रहेको नेपेमासाल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हुन् । जलस्रोतको धनी रहेको यो गाँउपालिकामा साना तथा ठूला गरी १० वटा जलविद्युत् आयोजना छन् । सो हिमशृङ्खलामा कूल छ हजार मिटर माथिका ११ वटा हिमाल छन् । भैरव टाकुरा छ हजार सात सय ८८ मिटर, दोर्जेलाक्पा छ हजार आठ सय ६६, गङछेम्बु छ हजार तीन सय ७८, गुरकर्पो ह्री छ हजार आठ सय ८८ मिटर, ग्याल्चेन पिक छ हजार एक सय ५१ मिटर, लाङशिसा ह्री छ हजार चार सय १२ मिटर उचाईका हिमाल छन् । सन् १९४६ मा बेलायती आरोही बिल तिलमानले नेपालको विभिन्न हिमालको अध्ययन तथा आरोहण गर्ने क्रममा यस हिमशृृङ्खलाका पिक र हिकालको आधार क्षेत्र र पाँच पोखरी हुँदै नेपालकै सबैभन्दा लामो पास तिलमान पास यात्रा गरेको इतिहास छ । अत्यत्नै साहसिक र चुनौतीपूर्ण पास भएकाले त्यस स्थानलाई आफ्नै नाम दिएर ‘तिलमान पास’ नामाकरण गरिएको हो । सो बारेमा ‘ नेपाल हिमालय’ नाम पुस्तक पनि प्रकाशन भएको छ । सिन्धु पर्यटन परिषद्को समन्वयमा बागमती प्रदेश र जुगल गाउँपालिकाको आयोजनामा २०७५ साल चैत २६ गते जुगल हिमालका ११ वटा चुचुरामध्ये कूल छ हजार एक सय ५१ मिटर उचाईको ग्याल्जेन पिकको सफल आरोहण गरिएको थियो । सो आरोहण दलमा पुस्तकका लेखक तामाङ, सर्मिला थापा, सुभाष कर्माचार्य, माधव सापकोटा र प्रेम गुरुङ सहभागी हुनुहुन्थ्यो । आरोहण दलका सदस्य समेत रहनुभएका नेकपा-माओवादी केन्द्र_का केन्द्रीय सदस्य माधव सापकोटाका अनुसार सिन्धुपाल्चोक जिल्लाको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकासका लागि पनि जुगल क्षेत्रको प्रचारप्रसार जरुरी रहेको बताउनुभयो ।
काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च: विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोसत्व दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ । नाटक हेर्ने परम्परालाई बढाउन यस किसिमको महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी विदेशमा विभिन्न फेस्टिभलमा सहभागी हुन्छौँ । तर, हामीकहाँ किन यस्ता महोत्सव भइरहेका छैनन् भनेर यसलाई सुरु गरेका हौँ । किनकी हामी नाटकलाई महोत्सवका रूपमा मनाउन चाहन्छौँ ।” नाटक घर नै व्यस्थापन गर्न अप्ठ्यारो स्थिति रहेकाले यसलाई दुई वर्षको अन्तरालमा आयोजना गर्ने तयारी अनुरूप सुरुआत गरिएको उहाँले बताउनुभयो । अभिनेता राईले अग्रजबाट लिएको नाटकको संस्कारलाई नयाँ पुस्तासम्म पुर्याउन महोत्सव गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । नौ दिनसम्म चल्ने महोत्सवमा १६ देश सहभागी हुने र २३ नाटक मञ्चन हुने महोत्सवकी संयोजक विजया कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यसलाई उत्सवका रूपमा मनाउने तयारी गरेका छौँ । हामी नाटकको दर्शक बढाउन चाहन्छौँ । यसले नियमित दर्शकभन्दा फरकलाई पनि आकर्षित गर्छ ।” अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रस्तुतिहरू गर्ने योजनासहित आयोजना हुने महोत्सवमा रङ्गमञ्चअन्तर्गतका विविध शैलीका प्रदर्शन, कलाकारसँग अन्तरक्रिया, खुला छलफल, सेमिनारलगायत अन्य क्रियाकलापहरू हुनेछन् ।
बागलुङ । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको छ । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गर्नुभएका उहाँले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आउनुभएको छ । उहाँले पाँच वर्ष अगाडि स्थानीय जातका डेढ सय कागतीका बिरुवा लगाउन भयो । ती बिरुवाले अघिल्लो वर्षदेखिनै फल दिन थालेका छन् । दुई वर्ष अगाडि लगाएका उन्नत जातको कागतीले पनि यस वर्षदेखि फल दिन थालेपछि पोखरेलको अनुहारमा खुसी छाएको छ । उहाँ भन्नुहुन्छ, “कागती बहुउपयोगी रैछ भन्ने विदेश गएर चिनियो, पहिले यहाँ हुँदा खास्सै वास्ता गरिएन, विदेशबाट आएर मैले डेढ सय कागती लगाए अहिले फल दिन थालेका छन्, नयाँ जातका चार सय पचास बिरुवा दुई वर्ष अगाडि रोपेको तिनीहरु पनि फल्न थाले, अब आम्दानीको मेसो सुरु भयो ।” तेइस वर्ष भारत र २२ महिना कतारमा बिताउनुभएका ४८ वर्षीय किसान पोखरेलले १५ रोपनी बारीमा कागती खती गर्नुभएको छ । कागतीसँगै सुन्तला, हलुवाबेद, टिमुरलगायतका फलफूल उहाँका बारीमा छन् । अघिल्लो वर्ष एक लाखको कागती बिक्री गर्नुभएका पोखरेलले यस वर्ष दुई लाख बढी आम्दानी गर्ने बताउनुहुन्छ “अघिल्लो वर्ष कागतीको सिजन रैनछ, कम बोटले मात्रै फल दिएको हुँदा आम्दानी पनि कम भयो, यसपालि कागती निकै राम्रो फलेको छ, दुई बढीको बिक्री गर्ने अनुमान गरेको छु ।” कागतीसँगै यस वर्ष सुन्तला पनि राम्रो उत्पादन भएको उहाँको भनाइ छ । फल दिने सुन्तलाका बोट कम भएको हुँदा एक लाखसम्मको बिक्री गर्नसक्ने पोखरेल बताउनुहुन्छ । गत वर्षको तुलनामा यस वर्ष कागती, सुन्तलासँगै टिमुर पनि बढी उत्पादन भएको जनाउँदै रु ५० हजार बराबरको टिमुर बिक्री गर्ने उहाँ बताउनुहुन्छ । कागतीले राम्रो उत्पादन दिन थालेपछि पोखरेलाई बजारको समस्या हुने देखिन्छ । “गत वर्षसम्म बजारको कत्ति पनि समस्या थिएन, यस वर्ष कागती सुन्तला लटरम्म फलेका छन्, साँघुरो बजार छ, कहाँ लगेर बच्ने भन्ने पिर छ, बजार अभाव छ, थोक व्यापारी आउँदैनन्, खुद्रा व्यापारले उत्पादन खेर जाने देख्छु”, उहाँ भन्नुहुन्छ, “कागती मात्रै भए पनि हुन्थ्यो, अहिले त सुन्तला र टिमुर पनि थपिएको छ, कहाँ लगेर बेच्ने हो रु, गाह्रो पर्ला जस्तो लागेको छ ।” उहाँले कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुक समेत बजारमा पठाउने गर्दै आउनुभएको छ । चुक ९कागती०को रस खासगरी तराईमा बढी बिक्री हुने गरेको उहाँको भनाइ छ । निसीखोला गाउँपालिका–६ का ३७ वर्षीय लोकबहादुर कुँवरले पनि कागती खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । सात वर्षदेखि निरन्तर कागती खेती गर्दै आउनुभएका कुँवरले यस वर्ष चार लाख बढीको कागती बेच्ने सोचमा हुनुहुन्छ । आठ सय कागतीका बोटमध्ये झण्डै पाँच सय बोटले फल दिन थालेको उहाँको भनाइ छ । अर्को वर्ष कागतीको उत्पादन दोब्बर हुने उहाँ बताउनुहुन्छ । “यस वर्ष सबै बिरुवाले फल दिन सकेनन्, अर्को वर्ष करिब छ सय बिरुवाले फल दिने अनुमान गरेको छु, यो वर्ष चार लाख आम्दानी हुने अनुमान गरेको छु, अर्को साल सिजन राम्रो भयो भने छ लाख त न्यूनतम पनि आम्दानी हुन्छ”, उहाँ भन्नुहुन्छ, “मेरो बारीमा दुई जातका कागती छन्, एउटा जातको कागतीले बाह्रै महिना फल दिन्छ, अर्कोले वर्षमा दुई पटकसम्म फल दिन्छ, यसले गर्दा वर्षभरि थोरै भए पनि आम्दानी हुने अपेक्षा गरेको छु ।” कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बागलुङमा पछिल्लो समय कागती खेतीमा लाग्ने कृषक बढेको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लामा दुई सय १० जना कृषकले व्यावसायिकरुपमा कागती खेती गरिरहेको बताउनुभयो । बागलुङको माथिल्लो भेगबाहेक धेरै ठाउँमा कागती खेती गर्नका उपयुक्त हुने भट्टराईले बताउनुहुन्छ । “पछिल्लो समय बागलुङमा कागती खेती गर्ने कृषक बढ्दै गएका छन्, जिल्लामा अघिल्लो वर्षसम्म निकै कम सङ्ख्या थियो, अहिले दुई १० जनाले व्यावसायिकरुपमै यसको खेती गर्नुहुन्छ,” उहाँ भन्नुहुन्छ, “बागलुङका अधिकांश क्षेत्र कागती खेतीका लागि उपयुक्त मानिन्छ, धेरैले कागती खेतीमा चासो देखाएपछि जिल्लाको धेरै पालिकामा कागती पकेट क्षेत्र पनि घोषण भएका छन् ।” भट्टराईका अनुसार सात सयदेखि एक सय छ सय मिटरको उचाइमा कागती खेती निकै राम्रो हुने गर्छ । बागलुङमा कागती खेतीको प्रवद्ध्र्रन विस्तारै हुन थालेको उहाँ बताउनुहुन्छ । “कागती खेती गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले सहयोगसमेत गर्दै आएको छ, अहिले विस्तारै यहाँ कागतीको प्रवद्र्धन हुँदैछ, अब हरेक वर्ष बागलुङमा कागती उत्पादन बढ्ने देखिन्छ”, उहाँ भन्नुहुन्छ । जिल्लामा हरेक वर्ष कागती र सुन्तला गरी तीन सय ५० मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिने र यसबाट राम्रो आम्दानी गर्न सक्ने हुँदा कृषकलाई कृषि ज्ञान केन्द्रले प्रोत्साहित गरिरहेको उहाँ बताउनुहुन्छ ।

