पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीहरुका लागि (पाल डाकार छयोईदुब लीङ) विद्यालय निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा करिब ४ करोडको लागतमा निर्माण हुने भएको हो । सो विद्यालय आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि काम अगाडी बढाइने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङ्कोटका धर्मगुरु गुप्ती गुरुङले जानकारी दिए । उनका अनुसार १० रोपनीको क्षेत्रफलमा विद्यालय निर्माण हुनेछ । विद्यालयसँगै सग्रहालय, चमेना गृह, छात्राबास, किचन तथा डाइनिङ हल, (छम) गुफा बस्ने कुटी, मेडिटेशन र पुजा गर्ने हल र स्टुपासमेत निर्माण हुनेछ । गुप्ती गुरुङको अगुवाईमा निर्माण हुने विद्यालयका लागि अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंका स्वर्गिय चन्द्रसिङ गुरुङ, लटे गुरुङको स्मृतिमा कुलबहादुर गुरुङ, रुपकुमारी गुरुङ, खुसीमान गुरुङ र चन्द्र गुरुङ र हङ्कङ निवासी विश्वसम गुरुङको सपरिवारले १० रोपनी निशुल्क जग्गादान गरेको समाजसेवी अमृत लामा गुरुङले बताए । ‘सामाजिक मात्रै नभई धार्मिक काममा आफ्नो जग्गा दान गर्नु सामान्य विषय होइन, उनले भने, ‘उहाँहरुले पाल डाकार छयोईदुब लीङ विद्यालयका लागि १० रोपनी जग्गा दान दिनुभएको छ । यो एउटा उदाहरणीय कार्य हो ।’ यसैगरि सो विद्यालयको निर्माणको जिम्मा लिएका धर्मगुरु गुरुङले मानव जातिबीचको एकताले नै मानवता कायम हुने धारणा राखे । ‘मानिस मरेर गए भएको सम्पत्तीसँगै लान सक्दैन । मानवचोला सफल हुन सहयोगी हुनुपर्छ । मानवजातिको उत्थानका लागि शान्ति स्थापना हुनुपर्छ, उनले भने, ‘सबै मानवजाति एक भए मात्र मानवता कायम हुन्छ । सबै मानव एक हौं भन्ने सन्देश दिन विद्यालयको स्थापना गर्न लागेको हो ।’ उनले घान्द्रुक पर्यटकको केन्द्रविन्दु भएको बताउदै विद्यालयले पर्यटन क्षेत्रमा थप महत्वपूर्ण योगदान खेल्नेसमेत बताएका थिए । घान्द्रुकको विकासमा शिक्षाको फरक योगदान रहनेछः पूर्वराज्यमन्त्री गुरुङ अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा निर्माण हुने बौद्ध विद्यालयको बिहिबार शिलान्यास पूर्वराज्यमन्त्री प्रकाशबहादुर गुरुङले पर्यटन क्षेत्रको विकाससँगै शैक्षिक क्षेत्रमासमेत सहयोग पुग्ने बताए । ‘घान्द्रुक पर्यटन क्षेत्रको केन्द्रबिन्दु भएपनि विद्यार्थीहरु बौद्ध शिक्षा गाउँमा नै अध्ययन गर्ने वातावरण छैन, उनले भने, ‘त्यसकारण बौद्ध शिक्षाको लागि शहर झर्ने क्रमलाई पाल डाकार छयोईदुब लीङ विद्यालयले रोक्नेछ । उनले पछिल्लो समय विश्वमा अहिंसा बढ्दै गएको बताउदै बौद्ध धर्मको महत्व बढ्दै गएको उल्लेख गरे । ‘विश्वमा नै अहिंसा बढ्दै छ, सबैलाई शान्ति चाहन्छ त्यसैले बौद्ध धर्म र शिक्षाको महत्व बढ्दै छ, शान्तिबाट नै सबैको महिमा कायम हुन्छ ।’ पूर्वराज्यमन्त्री गुरुङले भने । त्यस्तै अन्नपूर्ण गाउँपालिका ७ का वडाध्यक्ष भरतमान गुरुङले बौद्ध विद्यालयको निर्माणले घान्द्रुकको विकासमा थप मद्दत पुग्ने बताए । ‘समाज परिवर्तन गर्न शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ । हत्या हिंसाले समाज परिवर्तन हुदैन शान्ति स्थापना गर्न सके मात्र समाजको विकास हुन्छ, उनले भने, ‘त्यसैले शान्ति पाउन बौद्ध ज्ञान अनिवार्य छ ।’ सो विद्यालय निर्माणका लागि तमु प्हे ल्हु संघका भुतपूर्व अध्यक्ष क्याप्टेन रुपबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै ५० हजार ५ सय ५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । अब विद्यालय निर्माण समितिले आर्थिक संकलनलाई तिब्रता दिने बताइएको छ ।
पोखरा : पोखरा महानगरपालिका वडा नंं २६ वडा कार्यालयले चाडपर्व लक्षित शान्ति सुरक्षाका बिषयमा सरोकारवालहरुसँग छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारीले चाडपर्वको समयलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई आग्रह गरे । उनले उपभोक्ताहरु चाडपर्वमा बढी ठगीन सक्ने भन्दै सचेत हुनु पर्नेमा जोड दिए । उपभोक्ताहरु बजारमा अखाद्य बस्तुको बिक्री बितरण, कम गुणस्तरिय सामाग्री र चर्को मुल्यको मारमा पर्न सक्ने भन्दै बजार अनुगमनलाई तिव्रता दिन समेत आग्रह गरे । इलाका प्रहरी कार्यालय डाँडाको नाक कास्कीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले चाडपर्वमा लामोसमयसम्म घरवाहिर रहने, घरमा चावी लगाएर लामो विदाा परिवार सहित घुम्न जाँदा चोरीका घट्ना बढ्न सक्ने उल्लेख गरे । दाहालले चोरी र अपराधका घट्ना नियन्त्रण गर्न समुदाय र प्रहरीका विचमा सहकार्य हुनु पर्नेमा जोड दिए । अपराध नियन्त्रणका लागि वित्तिय संस्था, बढी भिडभाड र आर्थिक कारोबार हुने व्यवसाय, चोकहरुमा सिसि क्यामेरा जडान गरी निगरानी गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासी र व्यवसायको सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे । उनले सवै बित्तिय संस्था र व्यवसायीहरुले सिसि क्यामेरा जडान गरेर संभावित अपराध नियन्त्रणमा सहयोग गर्न आग्रह गरे । चाडपर्व लक्षित गरी वडा कार्यालयले सार्वजनिक स्थल, चोक, मठमन्दिर, मुख्य राजमार्ग र भित्री बजार तथा सडकहरुमा पनि निगरानी बढाईने उल्लेख गर्दै, वडाको अभियानमा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे । राजमार्गमा हिट एण्ड रनका घट्ना हुने गरेको उल्लेख गर्दै, त्यस्ता घटनाका दोषी पत्ता लगाउन पनि सिसि क्यामेरा प्रभावकारी हुने बताए । उज्यालो वडाका लागि महानगरपालिका र विद्युत वितरणकेन्द्र सँग समन्वय भैरहेको समेत अध्यक्ष थापाले त्यस अवसरमा जानकारी दिए । कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बजार व्यवस्थापन समितिले स्थानीय प्रशासन र वडासँग सहकार्य गरी बजार सुरक्षा योजना बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुले बजारका समस्या, सुरक्षा चुनौती र सहकार्यका क्षेत्रका बिषयमा आफ्ना धारणाहरु राखेका थिए । वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, वडासचिव मिना भट्टराई भण्डारीले लगायतले बोलेका थिए । पोखरा महानगरपालका वडा नं. २६ स्थायी घर भई ईलाका प्रशासन कार्यालय लेखनाथमा सरुवा भएर आएका कार्यालय प्रमुख कमलराज भण्डारी र हंसपुर इलाका प्रहरी कार्यालय डाँडाको नाकमा सरुवा भै आएका प्रहरी नायव उपरिक्षक प्रकाश दाहाललाई सम्मान गरिएको थियो ।
लमजुङ : भूगोलविद् डा हर्क गुरुङका जन्मस्थलमा डा हर्क गुरुङ उद्यान निर्माण अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकार र मस्र्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा मस्र्याङ्दी–७ मा उद्यान निर्माण भइरहेको डा हर्क गुरुङ प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार साढे पाँच रोपनी जग्गामा हालसम्म समाधिमा ढुङ्गाको छपनी बिच्छाउने, प्याराफिट निर्माण सम्पन्न भएको छ, भने, बगैँचा निर्माण भइरहेको वृक्षरोपण लगाउने र दुबो लगाउने काम भइरहेको छ । आर्थिक वर्ष २०७४/२०७५ देखियता प्रदेश सरकारले रु १० लाख र गाउँपालिकाबाट रु १४ लाख गरी २४ लाख बजेटमा विनियोजन गरेको प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समाधिस्थलसँगै उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन९ डिपिआर० तयार भइसकेको छ भने, यस वर्ष सङ्घीय सरकाबाट १५ लाखको योजना परेको छ ।” यस रकमबाट शौचालय बनाउने र अन्य संरचना बनाउने भएको छ । उद्यान १० रोपनीमा निर्माण हुने भएको छ । उद्यान निर्माणका लागि रु छ करोड ३१ लाखको डिपिआर तयार भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा पुस्तकालय, डा गुरुङको शालिक, सङ्ग्रहालय, डा गुरुङका सामग्री प्रदर्शन कक्ष, सभा हल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने जनाएको छ । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते ९२००६, सेप्टेम्बर २३० को दिन हेलिकोप्टर दुर्घटना हुँदा डा गुरुङ सहित २४ जनाले एकै पटक ज्यान गुमाउनुपरेको थियो । डा गुरुङको १६ औँ स्मृति दिवसका अवसरमा आज लमजुङ बेँसीसहरमा निर्माण गरिएको शालिकमा विभिन्न व्यक्तिद्वारा माल्यार्पण गर्दै सम्झना गरिएको छ ।
कञ्चनपुर : जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् । बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन् । उनलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो । होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । “अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ”, उहाँले भन्नुभयो, “मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ ।” परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताउनुभयो ।
काठमाडौं : कलाकार बुद्धि तामाङले अनु थिङसंग वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । अनु विद्यार्थी समेत हुन् । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।
गोरखा : गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय जौवारीको टोलीले तीनैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका सीताबहादुरको घरबाट एकनाले सर्ट गनसहित त्यसमा प्रयोग हुने गोली २४ थान र ३४ थान गोलीको खोका बरामद भएको लामिछानेले बताउनुभयो । अन्य दुई जना माइला घलेको गोठबाट र कृष्णप्रसादको घरबाट बन्दुकसहित पक्राउ परेका हुन् ।
बागलुङ : एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्यो । विद्यार्थीको चाप र कक्षाकोठा र डेक्स बेञ्चको अभाव पनि उस्तै । अभावै अभावमा गुज्रिएको विद्यालय अहिले जिल्लाकै नमूना बनेको छ । अझै पनि विद्यालयमा समस्या छन्, नभएका होइनन् । तर अहिले विगतको तुलनामा निकै सुविधासम्पन्न भएको छ । निसीखोला गाउँपालिका–३ झिवाखोलामा रहेको यस विद्यालय पश्चिम बागलुङकै अग्रणी विद्यालयमध्येमा पर्छ । निसीखोलामा यस विद्यालयभन्दा अगाडि धेरै विद्यालय स्थापना भए पनि सबैभन्दा पहिले माध्यमिक तहसम्म पढाइ हुने पहिलो विद्यालय भने प्रभा मावि नै हो । विसं २०१७ मा स्थापना भएको विद्यालय २०२७ सालमा मध्यमिक तहसम्म पढाइ थालिएको थियो । विसं २०२८ मा नयाँ शिक्षा नियम लागू भएपछि विद्यालयलाई माविबाट निमाविमा झारिएको थियो । विद्यार्थीको चाप र स्थानीयको मागपछि सरकारले १४ वर्षपछि पुनः २०४२ सालमा मावि तहमै रुपान्तरण गरी पठनपाठन सञ्चालन गरिँदै आइएको छ । निसीखोलामा प्रभा माविभन्दा अघि यस क्षेत्रमा माध्यमिक तहसम्म पढाइ हुँदैनथ्यो । साविक बोहरागाउँ, निसी र देवीस्थान गाविसअन्तर्गतका विद्यार्थी घण्टौँ लगाएर यस विद्यालयमा पुगेर अध्ययन गर्दै आएका थिए । तर पछि निसीमा ज्ञानेन्द्र मावि, देवीस्थानमा देवीस्थान माविमा १० कक्षासम्म पढाइ हुन थालेपछि यस क्षेत्रका विद्यार्थीलाई केही राहत पुगेको थियो । लामो समय माध्यमिक तहसम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा विसं २०६७ देखि बाह्र कक्षा सञ्चालनमा आयो । कक्षा १२ सम्म सञ्चालनमा आएपछि निसीखोलाका विद्यार्थीलाई सहज भएको छ । किसान मजदुरका छोराछोरीले पनि घरबाटै उच्च शिक्षा हासिल गर्न पाउने वातावरण तयार भएको स्थानीय बताउँछन् । झिवाखोलामा बाह्र कक्षा सञ्चालन नहुँदा यहाँका सयौँ विद्यार्थी उच्च शिक्षा लिन निसीखोला बाहिर जानुपर्ने बाध्यता थियो । निसीखोलाको केन्द्र भागमा रहेको हुँदा विद्यार्थीको चाप पनि उत्तिकै छ । विद्यालयमा स–साना टहरादेखि काठ र ढुङ्गाबाट बनेका भवनमा पठनपाठन सञ्चालन गर्दै आएको यस विद्यालयमा अहिले सुविधासम्पन्न भवन बनेका छन् । भौतिक संरचनाका हिसाबले सुविधासम्पन्न भएको र अब शिक्षालाई गुणस्तरीय बनाउनतर्फ लागेको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले बताउनुभयो । उहाँले पछिल्लो समय कक्षा ११ मा विद्यार्थीको चाप बढेपछि विद्यालय भवनसमेत आवश्यक परेको बताउनुहुन्छ । “वर्षौँसम्म भौतिक संरचना अभावमा विद्यार्थीलाई कहिले खुला चौरमा, कहिले जीर्ण भवनमा राखेर पठनपाठन गरायौँ, जोखिममै विद्यालय सञ्चालन गर्न बाध्य भयौँ, केही वर्ष अघिसम्म पर्याप्त विद्यालय भवन थिएन, पुराना र जीर्ण भवनमा कक्षा सञ्चालन गर्नुपर्ने अवस्था थियो, अहिले विभिन्न सङ्घसंस्था र सरकारको सहयोगमा भवन निर्माण भएका छन्, निकै सहज भएको छ”, आचार्यले भन्नुभयो, “अहिले भवन करिब–करिब अन्तिम चरणमा पुगेको छ, चारकोठे भवन बन्दै छ, यो बनिसक्यो भने भौतिक संरचानमा हामी कमजोर हुने छैनौँ, अहिले विद्यार्थीको चाप पनि बेढेको छ ।” आचार्यले भौतिक संरचनाको पर्याप्ततासँगै अब गुणस्तरीय शिक्षा प्रदानतर्फ जोड दिन थालेको बताउनुभयो । नयाँ–नयाँ प्रविधिको विकाससँगै शिक्षहरूलाई पनि सोहीअनुसारको तालिम प्रशिक्षण दिएर शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन थालेको आचार्यको भनाइ छ । “भौतिक संरचनाको विकाससँगै हामी अब कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छौँ भन्नेतर्फ केन्द्रित भएका छौँ, अहिलेसम्म भवन अभाव थियो, अब त्यति धेरै समस्या नहोला, विद्यार्थीको चाप पनि बढेकै छ, विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर शिक्षालाई प्रविधिसँग पनि जोडेर जाने लक्ष्य राखेका छौँ”, प्रअ आचार्यले भन्नुभयो । अहिले विद्यालयमा सात सय ५० विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउँदै उहाँले प्रावि तहमा पनि विद्यार्थीको आकर्षण बढ्दो रहेको बताउनुुभयो । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा प्रावि तहमा एक सय ३०, आधारभूत र मावि तहमा गरी छ सय २० विद्यार्थी अध्ययनरत छन् । उहाँले नमूना विद्यालयका रूपमा यस विद्यालयलाई अगाडि सार्न माग गरिरहेको बताउनुभयो । अहिले कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको उहाँको भनाइ छ । “विद्यार्थीको उत्साह निकै देखियो, यहाँ कहिल्यै पनि विद्यार्थीको कमी भएन, अहिले झन् विद्यार्थीको चाप बढेको छ, व्यवस्थापनलाई पनि हामीले चुस्त बनाएका छौँ, ११ कक्षा र साना कक्षामा देखिएको विद्यार्थीको चापले हामी पनि उत्साहित भएका छौँ”, उहाँले भन्नुभयो, “शिक्षाको गुणस्तर राम्रो भएर पनि हो कि जस्तो लागेको छ, विद्यार्थीको बाक्लो उपस्थितिले हामी पनि खुसी छौँ, अझै केही व्यवस्थापन गरिरहेका छौँ, चारकोठे भवन बनिसकेपछि हाम्रा धेरै समस्या समाधान हुने छन् ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशविक्रम शाहीले प्रभा मावि भौतिक संरचनाको विकाससँगै गुणस्तरीय शिक्षाका लागि आफूहरू लागिरहेको बताउनुभयो । उहाँले गोर्खा वेलफेयर ट्रसले १३ कोठे सुविधासम्पन्न भवन बनाइदिएपछि विद्यालयको भौतिक संरचनामा ठूलो परिवर्तन आएको भन्दै अब भौतिक संरचनामा विद्यालय कमजोर नरहेको बताउनुभयो । “अब विद्यालय पहिलेको जस्तो भौतिक संरचनाको अभावमा गुज्रिनु पर्दैन, विभिन्न सङ्घसंस्थाको सहयोगले विद्यालय भवन निकै राम्रो बनेका छन्, अझै केही कोठा थपिँदैछन्”, अध्यक्ष शाहीले भन्नुभयो, “निरन्नतर प्रयास गरिरहेका छौँ, अब गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित भएको छ ।” विद्यालयमा विज्ञानका प्रयोगशाला, कम्प्युटरलगायत अन्य आवश्यक सामग्रीको समेत व्यवस्थापन भएको अध्यक्ष शाहीको भनाइ छ ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरिएको उक्त समितिमा पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, सात प्रदेशका अध्यक्ष, केन्द्रीय सदस्य तथा विभागीय प्रमुखहरूलाई समावेश गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । यसैगरी प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । निर्वाचन आर्थिक समिति, केन्द्रीय निर्वाचन प्रचार समिति र भ्रातृ सङ्गठन परिचालन समितिसमेत गठन गरिएको छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार छनोट गर्न सम्बन्धित प्रदेशका जिल्लासँग समन्वय गरी सुझाव पेश गर्ने जिम्मेवारी प्रदेश अध्यक्षहरूलाई दिइएको छ । नेता पाण्डेका अनुसार पार्टीले मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि वैचारिक दृष्टिकोणले निकट तथा समान आदर्श बोकेका सङ्घसंस्थालाई एकता तथा सहकार्यका लागि आग्रह गरेको छ ।
सिन्धुपाल्चोक : बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थालेको छ । मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे । पर्यटकले खानेमात्रै होइन, किनेर पनि लैजाने गर्थे । तर गत वर्षको बाढीका कारण पाइन छाडेपछि उनीहरु मारमा परेका थिए । अहिले फेरि माछा पाइन थालेको छ । “माछा फेरि पाइन थालेको छ, खाने ग्राहक भने पहिला जस्तो आउने गरेका छैनन्”, होटल व्यवसायी चन्द्रमाया नेवार्नीले भन्नुभयो । काठमाडौँको जोरपाटीका रामचन्द्र श्रेष्ठ माछा पाउन थालेको थाहा पाएपछि मेलम्ची आउनुभएको बताउनुहुन्छ । मेलम्चीका माछा निकै स्वादिलो भएको उहाँ बताउनुहुन्छ । यहाँ असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन् । अहिले मेलम्ची, इन्द्रावती, तिपेनीलगायत खोलामा लगभग दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन् । माछा मारेरै जीविका चलाइरहेको माझी समुदायको पेशा बाढीका कारण सङ्कटमा परेको थियो । बाढीपछि अहिले माछा पाउन थालेको शम्भु माझीले बताउनुभयो । उहाँले दैनिक दुई किलोसम्म माछा मारेर बिक्री गर्दै आउनुभएको छ । प्रतिकिलो रु एक हजार एक सयसम्ममा बेच्ने गरेको उहाँले बताउनुभयो । माछा पुनः पाइन थालेपछि यहाँका व्यापारी, माझी, पर्यटकलगायत खुसी भएका छन् । बाढीका कारण माछा व्यवसायीको उठिबास भएपछि पछिल्लो समय मेलम्चीमा बाहिरबाट आयात गर्नुपर्ने स्थिति थियो ।

