ढोरपाटन । सुनसान गाउँ, जीर्ण घरहरु, बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन । एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ । बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ । कोही बिरामी पर्यो भने अस्पतालसम्म पुर्याउने मान्छेसमेत यस गाउँमा छैनन् । भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँनै रित्तो बन्दै गएको हो । यस गाउँका अधिकांश युवा विदेशिएका छन् । विदेश नगएका परिवार लिएर बजार झरे । यहाँका धेरै युवा जापानमा छन् । केही युरोपतिर । युवा विदेशिएपछि गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन् । स्थानीय रीता थापा भन्नुहुन्छ, “गाउँमा कोही बिरामी पर्यो भने तत्काल अस्पताल पुर्याउने मान्छे पनि पाइँदैनन्, गाउँका खेतबारी सबै बाँझो बनेका छन्, बूढाबूढी र केटाकेटी मात्रै छन् अहिले गाउँमा, केटाकेटी पनि बजारतिरै झर्न थालेका छन् ।” विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिदै गएको भन्दै कसैको जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने गरेको थापाले बताउनुभयो । दिनदिनै गाउँमा मान्छे घट्दै गएको भन्दै रित्तिएका घर जीर्ण अवस्थामा पुगेको उहाँको भनाइ छ । “बूढापाकाले जिउँदाको जन्ती, मर्दाको मलामी जानुपर्छ भन्ने गर्थे, अहिले गाउँमा कसैको विवाह भयो भने कसैको मृत्यु भयो भने जन्ती र मलामी पनि पाइँदैनन्”, थापाले भन्नुभयो, “सबैलाई सुविधा चाहिन्छ, गाउँमा भन्दा सहरमै राम्रो सुविधा भएर होला मान्छेहरु गाउँ छोड्दै जाँदै गरे, यहाँ भएका घर पूरै भत्किन थालिसकेका छन् ।” थापाले छिमेकी बसाइँसराइ गरेर बजार झरेपछि मेलापात, खेतीपातीसमेत खेतालाको अभाव हुने गरेको बताउनुभयो । उहाँ एक्लै धेरै खेतबारीमा काम गर्न नसक्दा खेतीयोग्य जमिन कालोपातीले भरिएको बताउनुहुन्छ । “पहिले गाउँमा धेरै मान्छे हुँदा काम गर्न सजलो हुन्थ्यो, अर्मपर्म गरेर काम गरिन्थ्यो, अहिले एक जना खेताला पनि पाइँदैन, एक्लैले धेरै बारीमा काम गर्न सकिँदैन, त्यही भएर बारीमा कालोपाती उम्रिएको छ”, थापाले भन्नुभयो । विदेशमा राम्रो कमाइ हुनेले बजारतिर बसाइँसराइ गरेपछि गाउँ सुनसान बनेको स्थानीय विष्णु थापा बताउनुहुन्छ । “१० वर्ष अगाडिसम्म त गाउँ निकै रमाइलो थियो, विदेश गए पनि साउदी, कतार जाने गाउँमै जग्गा जमिन किन्ने चलन थियो”, थापाले भन्नुभयो, “अहिले त जापानबाहेक अरु ठाउँमा यहाँका मान्छे छैनन्, उनीहरु सबैले गाउँ छोडेर गए, बजारमा जग्गा जमिन जोडेपछि परिवारनै उतै लगे, गाउँ सुनसना भयो ।” उहाँले सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सक्ने र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने बताउनुभयो । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो सुविधा नहुँदा गाउँ छाड्ने बढेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “युवा शक्ति सबै विदेशतिर हिँडे, गाउँमा रोजगारको अवसर छैन, विदेश गएपछि गाउँ बिर्सिन थाले, गाउँमा भएका पनि सुविधा खोज्दै बजार झरे, गाउँमा त उही हुँदा खानेहरु मात्रै छन् ।” बसाइँसराइका कारण यहाँ विद्यार्थीसमेत घटेको देउराली प्राथमिक विद्यालयका प्रधानाध्यापक केयरसिंह थापाले बताउनुभयो । कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा जम्मा १६ जना विद्यार्थी रहेको उहाँको भनाइ छ । प्रअ थापाका अनुसार कक्षा पाँचसम्म पढाइ हुने भए पनि कक्षा ३ र ४ मा विद्यार्थी छैनन् । विद्यालय दुई जना शिक्षकको भरमा चलेको उहाँको भनाइ छ । “बसाइँसराइले गर्दा विद्यार्थी घट्दै गएका छन्, स्थानीय सबै जापानतिर छन्, अहिले त बालबालिका पनि उतै लग्न थाले, यहाँ भएका पनि बोर्डिङतिर झारेका छन्, गाउँमा मान्छेनै कम छन्, विद्यार्थी धेरै हुने त झन कुरै भएन”, प्रअ थापाले भन्नुभयो, “कक्षा ५ सम्म पढाइ हुने भए पनि दुई वटा कक्षामा विद्यार्थीनै छैनन्, १६ विद्यार्थीलाई दुई शिक्षकले पढाउँछौँ, तीन वटा दरबन्दी थियो, विद्यार्थी घट्दै गएपछि गत वर्ष एउटा दरबन्दी घट्यो ।” उहाँले धेरै नागरिकले सेवा सुविधाको पछि लाग्दा आफ्नो जन्मभूमि छोड्दै गएको बताउनुभयो । बसाइँसराइले सिङ्गो गाउँनै रित्तो बन्न थालेको उहाँको भनाइ छ । पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घर परिवार रहेका थिए । अहिले १५ परिवार मात्रै बस्ने गरेका छन् । “मान्छेले सेवा सुविधा खोज्दै गए, गाउँ रित्तियो, यहाँ पनि पनि सहर बजारको जति सेवा सुविधा हुन्थ्यो भने बसाइँसराइ रोक्न सकिन्थ्यो, अहिले यहाँ भएका पनि विस्तारै बजार झर्ने तयारीमा छन्”, थापाले भन्नुभयो । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बसाइँसराइ रोक्न नगरपालिकाले ग्रामीण क्षेत्रमा सहजरुपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको बताउनुभयो । उहाँले पहिलेदेखिनै ग्रामीण क्षेत्रमा विकास हुन नसकेको भन्दै नगरपालिकाले गाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएको बताउनुभयो । “गलकोटमा बसाइँसराइ गर्नेको सङ्ख्या व्यापक छ, यसलाई रोक्न हामीले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणलाई जोड दिएका छौँ, शिक्षा, स्वास्थ्य, यातायात र पर्यटनलाई बाढी ‘फोकस’ गरेका छौँ”, प्रमुख गैरेले भन्नुभयो, “ढिला चाँडो बसाइँसराइ रोकिने छ, ग्रामीण क्षेत्रका नागरिकसँग बसेर छलफल गरेका छौँ, त्यहाँ चाहिने आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने योजनामा हामी छौँ ।” उहाँले सबै ग्रामीण क्षेत्रमा सडक सञ्जालले जोडिसकेको भन्दै अब ग्रामीण पर्यटनलाई जोड दिन थालेको बताउनभयो । ग्रामीण क्षेत्रममा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्नेसँगै बसाइँसराइ रोक्ने उहाँको भनाइ छ ।
सल्यान : सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका(३ मुलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले दुर्घटनामा ८ जना मृत्यु भएको बताए । मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् । उनीहरू सबैको सनाखत भने भइसकेको छैन । दुर्घटनामा सख्त घाइते भएका एक जनालाई उद्धार पछि उपचारका लागि दाङ तुलसीपुर लैजाने तयारी गरिएको छ । जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता नाललले बताए ।
काठमाडौं : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आज (असोज १२ गते बुधबार)देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ । आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ ।
तनहुँ । “अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि धान उत्पादन नहुने भयो”, तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी कोपिला नेपालीले भन्नुभयो, “वर्षभरि खाने अन्न उत्पादन नहुँदा अब के गर्ने भन्ने समस्या थपिएको छ ।” छ रोपनीमा लगाएको धान अधिकांश रोग लागेर मरेको छ । औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण नभएको उहाँको गुनासो छ । “गाउँपालिका, कृषि ज्ञान केन्द्रमा पनि समस्याका बारेमा जानकारी गरायौँ, रोगको पहिचान हुन सकेन”, उहाँले भन्नुभयो, “प्राविधिकले दिएको औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण भएन ।” सोही ठाउँ निवासी कृषक गङ्गा वाग्लेको चार रोपनी खेतमा लगाएको धानबालीमा पनि रोगको समस्या फैलिएको छ । “वर्षभरि खाने धान हो, दुःख गरेर लगायौँ, यो वर्ष त मल अभाव पनि ज्यादा भयो”, उहाँले गुनासो गर्नुभयो, “रोगको समस्याले धान उत्पादन नै घट्ने भयो, राज्यले कृषकको समस्या बुझिदिनुपर्छ ।” वर्षभरि खाने अन्न नष्ट हुने भएपछि सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने कृषक पुरुषोत्तम भण्डारीले बताउनुभयो । “वर्षभरि खाने अन्न हो, सबै नष्ट भयो, सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्छ”, उहाँले भन्नुभयो । तनहुँको म्याग्दे गाउँपालिका–७ मा पसाउने बेला धानमा रोग लागेपछि किसान चिन्तित भएका छन् । धान पसाउने समयमा रोग लागेर धान मर्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् । रोग लागेको धानलाई यसै छाडे अर्को वर्ष पनि यस्तै हुने हो कि भन्ने डरले समस्या फैलिएको ठाउँमा आगो लगाउने सोच बनाएको कृषकले बताएका छन् । यहाँका करिब ५० कृषकले तीन सय रोपनी क्षेत्रमा लगाएको धानबालीमध्ये एक सय ७० रोपनीमा रोगको प्रकोप फैलिएको छ । म्याग्दे गाउँपालिकाका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले धानमा ‘मेली बग’ को समस्या देखिएको जानकारी दिनुभयो । “झट्ट हेर्दा जिङ्कको कमीले हुने राते रोगको प्रकोपजस्तो देखिने भएता पनि सुरुमा जिङ्क हाल्दा पनि सुधार भएन”, उहाँले भन्नुभयो, “हामीले धानखेतको अवलोकनपश्चात नेपाल कृषि अनुसन्धान परिषद्को सल्लाहबमोजिम औषधि उपलब्ध गराएका थियौँ ।” औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको उहाँले बताउनुभयो । “सुधार भएको ठाउँमा थप विषादी छर्किने र पूर्ण क्षति भएको धानखेतको क्षतिपूर्ति दिने गाउँपालिकाले निर्णय गरेको छ”, उहाँले भन्नुभयो । यो रोगको समस्या तनहुँका अलवा चितवन र मोरङमा पनि देखिएको प्राविधिकले जनाएका छन् ।
पोखरा : कास्कीकोट दरवारमा रहेको गुप्तकालीका मन्दिरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । तान्त्रीक र वैदीक तरिकाले पुजाहुने गुप्तकालीका मन्दिरमा घस्थापना देखी दशमीसम्म पाणा पुजारीहरु मन्दिरमानैबसेर गुप्तकालीकाको पुजा गर्ने प्रचलन रहेको छ । वडा दशैमा नेपालमा नै लोप उन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनुभयो । कास्कीकोटमा दशैको वेलामा बजाइने नगरा , सत्रौ शताव्दीका ढाल तरवारहरु लगायत धोपहरुको समेत प्रर्दशन गरीने भएको छ । “संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ भन्ने नारा सहित दशै उत्सव गर्न लागीएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिले जनाएको छ । कास्की दरवारमा घटस्थापनाको दिन विधीवद तरिकाले मन्दिरमा प्रवेश गरिन्छ । सप्तमीको दिन पोखराको रामघाटवाट ल्याइएको फुल पत्र र कुँवर जातिको सरुङ खेल सगै मन्दिरमा भित्राइने प्रचलन रहेको छ । अष्टमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दिरमा टिका लगाए पछि विधीवत रुपमा फुल वास्पानीमा लगेर विसर्जन गर्ने गरिन्छ । दशै उत्सवमा भक्त-जनहरुको सजिलोको लागी विभिन्न उप-समिती निमार्ण गरिएको छ । गुप्तकालीका मन्दिरमा दशैको दश दिन दैनिक विभिन्न देवीको पुजाहुने गर्दछ । गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पुराहुने जन-विश्वास रहेको छ । यहाँ पुजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनीक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापना सगै यहाँ हरेक दशैमा विषेश पुजा हुदै आएको छ । यस ठाउँ वाट नै कास्की जिल्लाको नामाकरण भएको मान्ने गरीन्छ । । लामो सय सम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीहरुले दर्शन समेत गर्न पाएका थिएनन् यस पटक पुजालाई व्यवस्थीत वनाउन पोखरा २४ वडा कार्यालयले वडाको पहिचान बोकेको कास्कीकोट दरवारलाई आर्थिक सहयोग सगै प्रर्वद्धनात्मक सहयोग गरेको वडा अध्क्षय भरतबहादुर अधिकारीले बताउनुभयो ।
दाङ । तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै हुनुहुन्थ्यो । कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त हुनुहुन्छ । “कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छैन”, उहाँले भन्नुभयो, “बरु अहिले प्लेट र कपको माग बढेको छ ।” अहिले उहाँको दैनिकी त्यही प्लेट र कप बनाउनमै बित्ने गरेको छ । बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो मागअनुसार प्लेट, कपहरु पु¥याउनै गाह्रो हुने गरेको छ । “माग धेरै आउँछ, कोही होटलले त कोठा दिन्छौँ, यही आएर बनाइदिनुस् पनि भन्ने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर हामीले माग भएअनुसार पु¥याउन गाह्रो हुने गरेको छ ।” पछिल्लो समय गमला र माटोबाट घोडाका मूर्ति बनाउन पनि माग आउने गरेको छ । माटाका कप, प्लेटलगायत आधुनिक सामग्रीको माग बढेको भए पनि त्यसअनुसार जनशक्ति नहुँदा समस्या भएको उहाँको भनाइ थियो । नयाँ पुस्ताले माटोका भाडा बनाउने पेशाप्रति चासो नदिँदा पेशा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कविराम कुमालले बताउनुभयो । “माग धेरै छ, हामी पहिलेदेखि गर्दै आएका बूढापाकाले यो पेशा अँगालिरहेका छौँ, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेशा सङ्कट पर्ने हो कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “तर केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन् ।” माटाका भाडालाई ‘ग्लेजिङ’ गर्ने मेसिन पनि भएकाले त्यहीअनुसार कप बनाएर बजारमा पठाउने गरेकोसमेत उहाँले बताउनुभयो । गरिबी निवारण कोषले उक्त सामग्री प्रदान गरेपछि अहिले त्यहाँका कुमाल समुदायलाई सहज भएको छ । करिब ६० परिवार रहेको उक्त कुमालगाउँमा अहिले १०–११ जनाले मात्रै माटाका भाँडा बनाउने गरेका छन् । हस्तकला महासङ्घले तालिम दिएपछि कुमाल समुदायले आधुनिक प्लेट, कप बनाउन सिकेका हुन् । तर उनीहरुले बनाएका सामग्रीको मूल्य भने निर्धारण भएको छैन । “हामीले बनाएका माटाका भाँडाको मूल्य निर्धारण छैन”, कविरामले भन्नुभयो, “त्यसैले हामीले अहिले अनुमान र बार्गेनिङका आधारमा बिक्री गर्ने गरेका छौँ ।” नयाँ युवा युवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाँडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उहाँको भनाइ छ । अहिले दैनिक एक जनाले करिब एक सय कप निर्माण गर्दै आएका छन् । कुमाल समुदायलाई माटो पाउन पनि उत्तिकै समस्या हुने गरेको छ । अहिले तुलसीपुर–७ स्थित कालोखोलाको मटेराबाट माटो निकाल्ने गरेको भए पनि त्यहाँबाट ल्याउन पटक–पटक विवाद हुने गरेको छ । स्थानीयले त्यहाँबाट माटो निकाल्न नदिने गरेको कुमाल समुदायको गुनासो छ ।
काभ्रेपलाञ्चोक । ‘पञ्चकन्या झरना’ पछिल्लो समयमा धेरैको रोजाइको थलो बनेको छ । को पनौती नगरपालिका–१२ खारखोलास्थित मनमोहक सो झरनामा हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानी छ्याप्दै मनोरञ्जन लिन सकिन्छ । पनौती–मल्पी–रोशी भूमेडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । मान्छेको आवागमन बढ्दै गएपछि करिब डेढ वर्ष अगाडि वडाले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको थियो । घनाजङ्गलका छेउमा रहेको झरना पुग्नका लागि खोलाको बाटो हुँदै जानुपरेका कारण निकै रमाइलो र मनमोहक भएको स्थानीय बासिन्दा सन्तबहादुर तामाङले सुनाउनुभयो । “हरेक दिनजसो यहाँ घुम्न आउने गरे पनि प्रायःजसो बिदाका दिनमा पाइला टेक्ने ठाउँ हुँदैन”, उहाँले भन्नुभयो, “बजारबाट नजिकेको दूरीमा रहेको हरियाली जङ्गलछेउमा रमयणीयस्थल भएका कारण पनि मान्छेहरूको गन्तव्यको केन्द्र बनेको छ ।” धेरै टिपर गुड्ने समयमा आवागमनमा कमी आउने गरेको उहाँले बताउनुभयो । धेरै मात्रामा गाडी गुड्ने कच्ची मोटरबाटो भएका कारण खाल्डाखुल्डीका कारण साना सवारीसाधनलाई आवजावतमा समस्या हुने गरेकाले पनि मानिसको आवागमनमा समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । पनौती नगरपालिका–२ कुशादेवीका डिल्लीराम आचार्यले पनौती बजारबाट नजिकै रहेको पञ्चकन्या झरनामा जानेहरूले बाटोको समस्याका कारण यात्रा गर्न कठिन परिस्थिति खेप्नुपरेको बताउनुभयो । “पनौती बजारबाट जम्मा छ किलोमिटर मात्रैको दूरी हो”, उहाँले भन्नुभयो, “सो क्षेत्रमा धेरैजसो खानी र क्रसर उद्योग सञ्चालनमा ल्याएका कारण एकातिर शान्त वातावरणमा प्रदूषण बढाउन र अर्कोतर्फ बाटो बिगारेर समस्या पैदा गराएका कारण वितृष्ण पैदा गराइदिएको छ ।” पनौतीको मल्पिबाट कच्ची बाटो र खारखोलादोभानबाट खानी र क्रसरका कारण हिँड्न समस्या पैदा गराएकाले त्यहाँसम्म जान कठिन हुने गरेको झरना जानेहरू बताउँछन् । कुशादेवीकै हस्तबहादुर तामाङले भने पर्यटकीयस्थल झरनाको विकास संरक्षणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने जानकारी दिनुभयो । “ठाउँ निकै मनमोहक छ, तर त्यहाँसम्म जानका लागि सहज भए पनि बाटोघाटो र त्यहाँ सञ्चालित खानी र क्रसरले गर्दा दिक्क बनाउने गरेको अवस्थाबाट सो ठाउँलाई छुटकारा दिलाउन आवश्यक छ”, उहाँले भन्नुभयो । विशेषगरी कोरोना सङ्क्रमणका समयमा टाढा–टाढा घुम्न र भीडभाडा गरी बाहिर निस्कन नपाएका नजिकै रहेको रमणीयस्थल खोज्ने क्रममा सो झरनास्थल बढी रोजाइको गन्तव्य बनेको हो । पनौती– १२ का वडा सदस्य दीपक तामाङले झरना क्षेत्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्थापन गरेर काम गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । शौचालय निर्माण गर्न, फोहर व्यवस्थापन गर्न र सवारीसाधन पार्किङ गर्न यसै आर्थिक वर्ष रु एक लाख बजेट व्यवस्थापन गरिसकेको उहाँको भनाइ छ । “अब दशैँ–तिहारलगत्तै सो योजना अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “खानी र क्रसर उद्योग क्षेत्रको बाटो भएका कारण समस्या भएकाले त्यहाँ जाने पर्यटकको सहजताका लागि मल्पिबाट रोशीबजार निस्कने वैकल्पिक बाटोका लागि रु पाँच लाख बजेट व्यवस्था गरी मर्मतको काम अगाडि बढाउने र रोशीबजार क्षेत्रबाट झरनासम्म जाने अर्को वैकल्पिक बाटो छिचोल्नका लागि पनि प्रयन्त भइरहेको छ ।”
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन् । उनीहरूको कुटाइबाट मृतककी ७० वर्षीय आमा सुनमाया माझीको अवस्था गम्भीर रहेको छ । उनलाई घटनास्थलबाट उद्धार गरी हाल सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा सात जना महिलासहित २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैले आफूले मृतकलाई कुटपिट नगरी पितृ खुसी नहुने भएकोले कुटेर गरेको स्वीकारेका छन् । सोह्रश्राद्ध माझी समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व रहेको र उनीहरूको संस्कारअनुसार सोह्रश्राद्धमा मरेका पितृहरूलाई (नदी) घाटमा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शिरमा पितृ आउने (काम छुट्ने) र परिवारको कुनै एक सदस्यको शरीरमा पस्ने गर्छ भन्ने विश्वास छ । जसको शरीरमा पितृ पस्नेबित्तिकै ऊ काम्ने गर्दछन् । घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट एक दिन सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसे (उज्यालो नहुँदै) घाटमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने चलन छ । नदीमा बगाउने वेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन् । यसरी पितृ बगाउँदा उनीहरूको शरीरमा पितृ खुसी हुन्छन् भन्ने विश्वास माझी समुदायको छ । योसँगै उनीहरूको विशेष चाड सोह्रश्राद्ध सकिन्छ । तर, यसपटक पितृलाई बगाउँदासमेत काम्ने व्यक्तिलाई पितृले नछाड्दा कामी नै रहे । उनीहरूले पितृले गर्दा काम्न नछोड्नुमा यसको दोषी गाउँकै बिबी माझी रहेको निष्कर्ष युवायुवतीले निकालेका थिए । र, उनीहरूले पिट्न थालेको बताइएको छ ।
पाल्पा । आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उहाँलाई नजिकिँदै गरेको दशैँको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दशैँहरू सम्झँदा यस वर्षको दशैँ उहाँलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउँ गाउँपालिका–४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा गत वर्षदेखि तानसेन वडा नं १ भुँसालडाँडा स्थित निलसागर आश्रममा बस्नुहुन्छ । “अर्कैको घरमा बसेर मेलापात गरी खान्थ्यौँ”, फुलसा भन्नुहुन्छ, “पोहर मेरो आँखा दुख्यो, केही देखिन गाउँलेले आश्रममा ल्याएर छाडे ।” ती दम्पती सत्र वर्षदेखि अर्कैको घरमा बस्दै आएका थिए । घरपरिवार र अन्य आफन्त नभएका उहाँहरू दशैँमा आश्रममै बस्ने बताउनुहुन्छ । आश्रममा देशका विभिन्न स्थानबाट २५ असहाय र असक्त आश्रित छन् । उहाँहरुमध्ये अधिंकाशको घरपरिवार छैनन्, भएकाहरू पनि परिवारबाट अपहेलित हुनुपरेका जनाइएको छ । उहाँहरूलाई सबै दशैंको कुनै रौनक छैन । रामपुर–७ पाल्पाका ६४ वर्षीय रामचन्द्र आचार्य आश्रममा बस्न थालेको सात महिना भयो । आँखा धमिलो र कान कम सुन्ने उहाँ परिवारमा मनमुटाव भएपछि विरक्तिएर आश्रम आइपुग्नुभएको हो । दुई छोरा, दुई बुहारी र श्रीमती घरमा छन् । “छोराबुहारीलाई टीका लगाइदिने इच्छा त थियो, म आश्रममा छु, यहाँ उनीहरू आउदैनन् बाबु”, उहाँ भन्नुहुन्छ । दशैँ नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ । घर लिपपोत गर्ने मीठा परिकार पाक्ने र खाने क्रम सुरु भएको छ । तर आश्रममा बस्नेहरूलाई चहलपहलले छोएको छैन । मिस्त्री काम गरेर गुजारा चलाउनुभएका तिनाउ–४ मस्यामकै मनबहादुर पुन दुई महिनाअघि आश्रम आइपुग्नुभयो, “पाखुरीमा बल छउञ्जेलमात्र प्यारो होइन्छ”, गहँभरि आँशु पार्दै उहाँले भन्नुभयो, “क्षयरोग रोग लाग्यो, उपचार गर्न सकिन, आश्रममा आइपुगँे। ” निको नहुञ्जेल घर नजाने उहाँले बताउनुभयो । आश्रममा रहेका बिरामीको नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । आश्रमका हेरालु गणेश गिरीका अनुसार यहाँ उनीहरूलाई उपचार र खानेबस्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “मनकारीले कपडा र खानेकुरा दान गर्दछन्, त्यसैबाट आश्रम सञ्चालन गरिरहेका छौँ ।”

