काठमाडौं । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय हुन्छन् आज र भोलि धेरै नै सक्रिय छन् जसले गर्दा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली गराएर पहाडी भू–भागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ ।” पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ । यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको थियो । बाँकी प्रदेश नं १ को मनसुन पनि आइतबार बाहिरिएको छ । अहिले नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिसकेको महाशाखाले जनाएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भू–भाग भएर नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन बाहिरिएपछि पछिल्ला दिनमा देशैभरको मौसम सफा रहेको छ । मौसम खुलेपछि राजधानी काठमाडौँबाट उत्तरी भेगमा देखिन हिमशृङ्खला र हरिय डाँडाको मनमोहक दृश्यले शरद ऋतृमा रौनक थपिएको छ । तीन दिनयता खुलेको मौसममा क्यामेरामा कैद गरिएका मनोरम दृश्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशैभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा गण्डकी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।
तनहुँ: तनहुँमा जारी थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगिताबाट त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको निर्धारित समयसम्म गण्डकी र आर्मीले ६÷६ अंकको बराबरी भएको थियो । थपिएको अतिरिक्त समयमा आर्मीका लागि सिवाङ्गी लिम्बू र जेनिसा श्रेष्ठ स्कोर गदै टोलीलाई ८–६ को अग्रता दिलाएका थिए । आर्मी लिग चरणमा दुवै खेल जितेर सेमीफाइनलको यात्रा तय गरेको थियो भने गण्डकी १ जित र १ हार संगै लिग चरणबाट सेमिफाइनलमा पुगेको थियो । अर्को सेमिफाईनलमा एपीएफ र बागमती प्रदेश बीच हुनेछ ।
बलेवा : उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ, बागलुङको बलेवा । विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाडौं र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको बलेवा विमानस्थल देशभर बागलुङवासीलाई जोड्ने माध्यम थियो । विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवाले जहाज देख्न पाएनन् । एकतीस वर्षयता यहाँ रहेको विमानस्थल राजनीति गर्ने थलो बन्दै आएको छ । कहिले गौचरण बनेको चर्चा त कहिले प्रयोगविहीन विमानस्थललाई अन्य कुनै काममा ल्याउनुपर्ने चर्चाहरू भइरहे । तर विमानस्थल न त उपयोग भएको छ न प्रयोग । विमानस्थलको झन्डै सात सय मिटर लामो धावनमार्ग पछिल्लो समय कालोपत्र गरिएको छ । चौबिस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत भएको विमानस्थल हवाईजहाजको पर्खाइमा छ । यो विमानस्थलको धावनमार्ग रु आठ करोड बढी खर्चेर बनेको हो । निर्माणका बेला हतार–हतार गरिए पनि बनेपछि सरोकारवालाले जहाज चलाउने पहल गरेका छैनन् । “हिजो गौचरण रहेको विमानस्थल अहिले टल्किने भएको छ, अब जहाज चलाउनुपर्छ”, पूर्व सांसद डा सूर्य पाठकले भन्नुभयो, “विमान चल्न यात्रु चाहिन्छन्, सडक राम्रो नहुँदा यात्रुको समस्या भएको हो ।” नागरिक उड्डयन प्राधिकरण, बागलुङ नगरपालिका र राजनीतिक दलका नेतृत्वले बनिसकेको विमानस्थलको सदुपयोगबारे चासो राख्नुपर्ने स्थानीय बताउँछन् । प्राधिकरणका कार्यक्रम व्यवस्थापक मीनराज ओझाले कालोपत्रपश्चात तत्कालै जहाज सञ्चालन गर्ने जनाउँदै आउनुभएको थियो । तर गत वैशाख–जेठमै विमानस्थलको धावनमार्गलगायतका संरचना तयार भएका भए पनि सहज सञ्चालनमा आउन सकेको छैन् । विमानस्थलबाट जहाज चल्ने सम्भावना अझै नभएको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । मालढुङ्गादेखि १० किमी दूरीमा पुग्न सकिने विमानस्थलका लागि दुईवटा सडक छन् । तर तीन वर्षदेखि खसेको पहिराले दुवै सडक अवरुद्ध बनाउने गरेको छ । वर्षाका तीन महिना सडक ठप्पप्रायः हुन्छ । पहिरो पन्छाउने र सडक चलाउन नसक्दा यात्रीले पैदल हिँड्नुपर्ने बाध्यता छ । “वर्षाको समयमा सवारी चढेर सदरमुकाम पुग्नै कठिन छ, यहाँ जहाज चल्ने कुरामा कसरी विश्वास गरौँ”, बलेवा पैञ्युपाटाका भवानी रिजालले भन्नुभयो, “पहिले सडक मजबुद बनाउन लाग्नुपर्छ, जहाज नचलाएर त सुख होला र रु” सडकको पहुँच नभएसम्म जहाज चलाएर पनि यात्री लैजान नसकिने नरहेको उहाँको भनाइ छ । सरकारले मालढुङ्गाबाट बलेवासम्मको कालीगण्डकी करिडोरको १० किमी खण्ड कालोपत्र गर्न ठेक्का लगाएको छ । तर यो सडक कहिले कालोपत्र बन्छ भन्ने यकिन छैन । गत असोज १३ गते यो सडक कालोपत्रका लागि ठेक्का खुलेको भए पनि प्रक्रियागत काम बाँकी रहेको भन्दै करिडोर आयोजना कार्यालय पाल्पाले निर्माण व्यवसायीसँग चुनावपछिमात्रै सम्झौता गर्ने योजना बनाएको छ । “दसैँमा खुलेको बागलुङ–कुश्मीशेरा सडक तिहारमा खुल्छ कि खुल्दैन थाहा छैन”, जैमिनी नगरपालिका–४ सर्कुवाका तेजेन्द्र नेपाली भन्नुहुन्छ, “गाडीका पट्टा भाँचिने सडक हुँदै जहाज चढ्न यात्रु जाँदैनन् ।” काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनीले गत वर्ष रु आठ करोड २४ लाख ३४ हजारमा विमानस्थल कालोपत्र गरेको हो । विमानस्थलमा छ सय २० मिटर लामो पक्की नाली, एक हजार पाँच सय मिटर लामो घेराबार र एउटा मुख्य तथा अर्को आपत्कालीन गेट बनेको छ । मैदानको सबै भाग एक किमी दूरीको छ । तर हाल झन्डै सात सय मिटर कालोपत्र गरिएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्न सक्छन् ।
पोखरा । आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा सदस्य निर्बाचनका लागि नेकपा एमाले को तर्फबाट कास्की निर्बाचन क्षेत्र न ३(ख) का उम्मेदवार राजिव पहारीले विकास प्रेमी जनताको सपना साकार पार्न आफ्नों उम्मेदवारी भएको बताउनुभएको छ । ‘अघिल्लो कार्यकालमा पूर्णता दिन नसकेका योजना पुरा गर्न तथा त्यस क्षेत्रका जनतालाई दिएका वाचा पुरा गर्न फेरी पनि मैले यो क्षेत्रमा उम्मेदवारी दिएको हुँ’–प्रेस चौतारी कास्कीले उम्मेदवारसंग गरेको उम्मेदवारी परिचर्चा कार्यक्रममा उहाँले भन्नुभयो । जनचाहना अनुसार थुप्रै महत्वपूर्ण योजनाहरु अघि ल्याएको भएपनि सरकार फेरबदल भएकाले आफ्ना विकासे योजनाहरु अधुरै रहेको उम्मेदवार पहारीले सुनाउनुभयो । आफ्नों निर्वाचन क्षेत्र पर्यटन, साँस्कृती, धार्मिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएको बताउँदै पहारीले यसपटक निर्वाचित भएपछि अधुरा कार्यलाई पूर्णता दिंदै नयाँ विकासे योजना ल्याउने दावी गर्नुभयो । पहारीले प्रदेश सभा अन्तर्गत विधान सभा समिति र कार्यविभाजन समितिमा रहि सफल कार्य सम्पादन गरिसक्नुभएको छ ।
पोखरा । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए । टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । यस्तै, नेपाल आर्मीकी प्रभा थारुले न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जितिन् भने लुम्बिनी प्रदेशकी कृष्णकला बिष्टले कास्य जितिन् । उनले स्न्याचतर्फ ५६ र क्लीन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाउन सकिन् । उनी प्रभाको तुलनामा १ केजीमात्र भार कम उठाउँदा कास्यमा सीमित भएकी हुन् । प्रतियोगितामा १२ जना खेलाडीले भाग लिएका थिए । पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा दोस्रो दिन ४ स्वर्णको छिनोफानो हुनेछ । सोमबार नै महिला ५९, पुरुष ६७ र ७३ केजी तौल समूहमा खेल हुनेछ । कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हँुदैछ । उद्घाटनको दिन पुलिसका मुई लामाले भारत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरे । उनले ६१ केजी तौल समूहमा भएको स्पर्धामा स्न्याचमा ९६ केजी भार बहन गरी उनले आर्मीका तुलाराम महताको रेकर्ड तोडेका हुन् । लामाले क्लीन एण्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जितेका हुन् । रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लीन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे । उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको हो । उनले स्न्याचतर्फ ८७ केजीसहित कुल २०८ भार बहन गरेका थिए । यसअघि, महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितिसकेका छन् ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक छ दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५४ दशमलब ५५ मा ओर्लिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६५ अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलब ७७ मा सीमित भएको छ । कूल दुई सय १८ कम्पनीका १५ लाख १८ हजार सात सय ७८ कित्ता शेयर रु ४८ करोड ७३ लाख ५३ हजार छ सय ४७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज पनि दुई उपसमूहको शेयर मूल्यमा झिनो अङ्कले वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ७२ अर्ब ५९ करोड ८४ लाख २३ हजार आठ सय ३२ बराबर रहेको छ । कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु दुई करोड ७९ लाख १९ हजार दुई सय १५ बराबरको कारोबार भयो । प्रभु बैंक रु दुई करोड ६१ लाख सात हजार पाँच सय २८, रिडी पावर कम्पनी रु दुई करोड २६ लाख ९९ हजार आठ सय तीन, हिमालयन डिस्टिलरी रु एक करोड ८० लाख ९५ हजार नौ सय ९२ र प्राइम बैंकको रु एक करोड ६२ लाख ८१ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । सयपत्री हाइड्रोपावर नौ दशमलब ९६, कुमारी धनबृद्धि योजना तीन दशमलब ८५, इन्फिनिटी लघुवित्त तीन दशमलब ८० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलब ६५ प्रतिशतले कमाएका छन् । त्यस्तै पिपल्प पावर नौ दशमलब ९७, बलेफी हाइड्रोपावर पाँच दशमलब १०, रिलायन्स फाइनान्स चार दशमलब ७२, स्ट्याण्र्डड चार्टड बैंक चार दशमलब ४३, बिन्दबासिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले चार दशमलब २३ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मतपत्र ढुवानी भएको छ । प्रदेश १, मधेस र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् । ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही र सिन्धुली जिल्लामा यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ । समानुपातिकतर्फ महिलाको सङ्ख्या ५५ प्रतिशत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ महिला उम्मेदवारको सङ्ख्या ५५ प्रतिशत बढिरहेको देखिएको छ । प्रतिनिसभातर्फ समानुपातिक उम्मेदवारको कूल सङ्ख्या दुई हजार चार सय दुई छ । यसमा महिला उम्मेदवारको सङ्ख्या एक हजार तीन सय १३ छ, भने पुरुष उम्मेदवारको सङ्ख्या एक हजार ८९ छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशसभातर्फ महिला समानुपातिक उम्मेदवारको सङ्ख्या दुई हजार चार सय २६ छ । प्रदेशसभाको समानुपातिकतर्फ पुरुष उम्मेदवारको सङ्ख्या एक हजार छ सय २९ छ । प्रदेशसभाको समानुपातिकतर्फ कूल चार हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेश १ मा चार सय छ महिला र दुई सय ५५ पुरुष, मधेसमा पाँच सय ७० महिला र तीन सय ७७ पुरुष, बागमतीमा चार सय ७१ महिला र तीन सय ५४ पुरुष, गण्डकीमा दुई सय २१ महिला र एक सय ४५ पुरुष, लुम्बिनीमा चार सय तीन महिला र दुई सय ५४ पुरुष, कर्णालीमा एक सय ३१ महिला र ९१ पुरुष तथा सुदूरपश्चिम प्रदेशमा दुई सय २४ महिला र एक सय ५३ पुरुष उम्मेदवार रहेका आयोगले जनाएको छ । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । सो निर्वाचनमा ९१ लाख ४० हजार आठ सय छ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य गरी कूल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले मतदान गर्दैछन् । देशभर १० हजार आठ सय ९२ मतदानस्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र रहनेछन् ।
भादगाउँ । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले अहिलेदेखि नै कामदार राखेर फूल टिप्ने गरेको भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा व्यावसायिकरुपमा पुष्पखेती गर्दै आएका युशव मताङ्गीले बताउनुभयो । उहाँले भन्नुभयो, “गएको वर्षमा भन्दा यसपाली फूलको माग बढी छ, तिहार आउन हप्ता दिनमात्र बाँकी छ, मागअनुसार बजारमा फुल पठाउन सकेको छैन, यसपाली बेमौसमी वर्षाले फूलखेतीमा धेरै क्षति पुगेको छ, त्यही भएर उत्पादन भएका फूलहरु समयमै टिपेर माला उनेर काठमाडौँ पठाएको हो ।” तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । तिहारमा नेवार समुदायले धनकी देवी लक्ष्मीको पूजा गर्दा लक्ष्मीलाई घरमा भित्र्याउन पालाको दियो राख्ने स्थानमा सयपत्री फूल, मखमली, गोदावरीलगायत पञ्चरङ्गीन फूलको टुक्रा, ताय, जुङ्गेधान र अबिर आसन राखेपछि मात्र दियो बाल्ने परम्परा रहेको छ । भक्तपुरको गुण्डु र ताथलीलाई मखमली, सयपत्री, गोदावरीलगायतका फूलको गाउँ भनिए पनि पछिल्लो समय भक्तपुरका चारै नगरपालिकामा व्यावसायिकरुपमा पुष्प व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । केही वर्ष पहिला तिहारका लागि भक्तपुरको बजारमा गुण्डु र ताथलीबाट मात्र फूल बेच्नका लागि आउँथे । अहिले यी दुई ठाउँका मात्र सीमित नभएर चारै नपाका विभिन्न ठाउँबाट बजारमा फूल बेच्ने व्यवसायीले बजार ओगटेको अर्को व्यवसायी श्रीमाया वनमाला बताउनुहुन्छ । पुख्र्यौली पेशा नै फूल व्यवसाय गर्दै आउनुभएका वनमालाले पछिल्लो समय तिहारमा आधुनिक फूलको मालाभन्दा सयपत्री फूलको मालाकै माग बढी रहेको बताउनुभयो । तिहारमा प्लाष्टिक र कपडाका रङ्गीचङ्गी फूलभन्दा किसानले उत्पादन गरेका सयपत्री र गोदावरी फूलको प्रयोग अत्यधिक हुने भएकाले माग झन झन बढ्दै गएको वनामाला बताउनुहुन्छ । “विभिन्न आधुनिक प्लाष्टिक र कपडाका रङ्गीन फूलभन्दा हामीले उत्पादन गरेका फूल चोखो, पवित्र र सुन्दर हुनुका साथै सुकेपछि यसलाई बीउकारुपमा पुनःप्रयोग गरी फूलको बोट उत्पादन गर्न मिल्ने भएकाले यसले बजार लिएको हो”, वनमालाले भन्नुभयो । भक्तपुरका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, पुष्पगुच्छा र विवाहमा गाडी सजाउन मिल्ने बाह्रमहिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेरा र कार्नेश फूलखेती गरेको देखिन्छ । भक्तपुरमा उत्पादन गरिएका फूल यहाँका बजारमा मात्र सीमित नभएर काठमाडौँका थोक व्यापारीलाई बिक्री गर्ने र त्यहीँबाट सहरका विभिन्न स्थानमा बिक्रीका लागि जाने गरेको छ । त्यसैगरी यहाँ उत्पादन गरेका अधिकांस सयपत्री फूल पशुपतिमा पठाउने व्यवसायी बताउँछन् ।
दमौली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा दुई वटा बास्केटबल कोर्ट निर्माण हुँदा यहाँ राष्ट्रियस्तरको खेल सञ्चालन हुनेमा कमैलाई मात्र विश्वास थियो । बास्केटबल कोर्ट निर्माण हुँदा यहाँका स्थानीय खेलाडीले खेल्न पाउनेमा भने धेरै खुसी थिए । राष्ट्रिय खेलकुद परिषद्को लगानीमा विसं २०७७ मा विद्यालय प्राङ्गणमा दुई वटा कोर्ट निर्माण भएका छन् । उक्त बास्केटबल कोर्टमा दमौलीकै खेलाडीले खेल खेल्ने अवसर पाएका छन् भने केहीले प्रशिक्षण लिने अवसर पाएका छन् । निर्मलमा बनेको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कोर्टका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल प्रतियोगिता तनहुँले गर्ने अवसर प्राप्त गरेको छ । यसअघि महिला बास्केटबल पनि पोखरामै गर्ने तयारी भइसकेको थियो । तर, अनेकौ प्रयासका बीच महिला बास्केटबल यहाँ सञ्चालन भएको छ । “विद्यालयमा बनेको कोर्टका कारण राष्ट्रकै गौरवका रुपमा रहेको नवौँ खेलकुदको एउटा खेल तनहुँले सञ्चालन गर्न पाउनु गौरवको कुरा हो”, निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले भन्नुभयो, “यसले समग्र तनहुँको इज्जत बढाएको छ, साथै विद्यालयको पनि नाम बढेको छ ।” देशभरका बास्केटबल खेलाडी तनहुँमा आएर खेल खेल्दा तनहुँको नाम विश्वमाझ परिचित हुन सक्ने बस्नेतले विश्वास व्यक्त गर्नुभयो । “निर्मलमा बनेको बास्केटबल कोर्ट तनहुँकै गहनाका रुपमा लिनुपर्छ, यसैका कारण आज देशभरका महिला खेलाडी तनहुँ आउने अवसर जुरेको छ, यसले गर्दा यहाँको प्रचारप्रसारमा पनि सहयोग पुगेको छ ।” राष्ट्रिय खेलकुद परिषद्को रु ४० लाख लगानीमा दुई वटा मापदण्डअनुसारको कोर्ट निर्माण भएको जिल्ला खेलकुद विकास समिति तनहँुका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । “पूर्वाधार नभएका कारण जिल्लामा अन्य खेल खेलाउनसक्ने स्थिति थिएन, यहाँको बास्केटबल कोर्ट मापदण्डअनुसारको थियो । तर, केही पूर्वाधार अभावका कारण खेल नहुने हो कि भन्ने चिन्ता थियो”, पाण्डेले भन्नुभयो, “स्थानीय सरकारको सहयोगमा केही पूर्वाधार बनाउन सहयोग पुगेपछि राष्ट्रियस्तरको खेल सञ्चालन गर्ने अवसर पायौँ ।” राष्ट्रिय खेलकुद परिषद्को टोलीले जिल्लामा विभिन्न पूर्वाधारको अनुगमन गरेको थियो । उक्त टोलीले निर्मलस्थित बास्केटबल कोर्टको निरीक्षण गरेको थियो । अन्य खेल जिल्लामा नहुने भएपछि महिला बास्केटबल खेलाउन सकिने निष्कर्ष निकालिएको थियो । परिषद्का सदस्य राजेश गुरुङले महिला बास्केटबल कोर्ट निरीक्षणका क्रममा भन्नुभएको थियो,“कोर्ट वरपरको मैदान सम्याउनका लागि व्यास नगरपालिकाले बजेट सहयोग गरोस्, खेल सञ्चालन हुन्छ ।” परिषद् र जिल्ला खेलकुद विकास समितिको आग्रहबमोजिम व्यास नगरपालिकाले कोर्टको वरपरको जमिन सम्याउन रु सात लाख बजेट सहयोग गरेको छ । सोहीबमोजिम कोर्टको नजिक रहेको जमिन ढलान गरी सम्याइएको छ । खेलमा सहभागी हुन आएका खेलाडी तथा प्रशिक्षकलाई जिल्लाका महत्वपूर्ण धार्मिकस्थल भ्रमणको व्यवस्था मिलाइएको छ । दमौली नजिक रहेका व्यासगुफा, छाब्दीवाराही मन्दिर, मानुङकोट भ्रमणको व्यवस्था मिलाइएको समितिका अध्यक्ष पाण्डेले बताउनुभयो । “नवौँ राष्ट्रिय खेलकुदले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याएको छ”, पाण्डेले भन्नुभयो । लुम्बिनी प्रदेशबाट अफिसियलको रुपमा आएका दाङका बिपिन केसीले गण्डकी प्रदेशको एउटा सानो जिल्लामा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कोर्ट बन्नु पनि निक्कै महत्वपूर्ण रहेको बताउनुभयो । खेलकुदको सामान्य पूर्वाधानर निर्माण हुदा पनि जिल्लालाइ राष्ट्रियस्तरमा खेलकुदमा चिनाउन र खेलक्षेत्रको गतिबिधी बढाउन सकिने उहाँले बताउनुभयो । बागमती प्रदेशबाट सहभागी खेलाडी अनुषा मल्लले आफ्नै जन्म ठाउँमा आएर खेल्न पाउँदा खुसी लागेको बताउनुभयो । “म जन्मेको तनहुँको भानुमा हो, अहिले काठमाडौँमा बस्दै आएको छु, अहिले पनि तनहुँमा मेरा आफन्तहरु हुनुहुन्छ”, उहाँले भन्नुभयो, “आफ्नै ठाउँमा आएर नवौँ खेलकुदमा सहभागी हुन पाउँदा खुसीको अनुभव भएको छ ।” अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँका निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ नर्वौँ खेलकुदको एउटा खेल तनहुँमा हुनु गौरवको कुरा रहेको बताउनुभयो । बास्केटबल खेलाडी एवं प्रशिक्षक कृष्णकुमार श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले तनहुँको नाम देशभर चिनिन सहयोग पुगेको बताउनुभयो । श्रेष्ठले यहाँ रहेको कोर्टमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण सञ्चालन गर्दै आउनुभएको छ ।

